त्रिवि पनिकामा दिनहुँ हैरानी

त्रिवि पनिकामा दिनहुँ हैरानी

त्रिवि पनिकामा दिनहुँ हैरानी

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी विद्यार्थीको भविष्यसँग जिस्कन्छन्


‘रेजिस्ट्रेसन नम्बर छैन। भरेर अर्को पटक आउनू। आज हुँदै हुँदैन तपाईंको काम।’ झ्यालभित्रबाट बोल्ने कर्मचारीको स्वर रवाफपूर्ण थियो। झ्यालबाहिर उभिएका युवकले अनुनय गरे, ‘मेरो आदरणीय दाजु। लौन मिलाउनु पर्‍यो।’ छेउमा हेलमेट बोकेर उभिरहेकी युवती खितिती हाँसिन्।

कर्मचारी र युवती गफिन थाले। बेलाबेलामा जिस्किन्थे। बेस्सरी हाँस्थे पनि। युवालाई कुममा हिर्काउँदै युवतीले भनिन् ‘म फोन गरेर भाउजुलाई भन्दिन्छु नि।’ युवा मस्किन थाले। कर्मचारी पनि मस्किन थाले। कार्यालय बन्द हुने समय भइसकेको थियो। तर हँसिमजाक जारी थियो।

कर्मचारी र युवकबीच खासखुस चल्यो। त्यसपछि ती युवकले सानो कागजमा फोन नम्बर लेखेर झ्यालभित्र दिए। एकछिन अघि अर्को दिन आउनु भन्दै थिए तर खासखुस पछि करिब ५÷७ मिनेटमा ट्रान्सक्रिप्ट आयो। झ्यालबाहिरका युवकयुवती खुसी भए। ती युवकले कर्मचारीलाई भने, ‘म दाइलाई अप्ठेरोमा पार्दिनँ। ढुक्क हुनुस्।’

तर त्यो ट्रान्सक्रिप्ट उनीहरूको थिएन। ट्रान्सक्रिप्ट हरिबहादुर खड्काको थियो। उनीहरू हाँस्दै बाहिरिए। झ्यालमै उभिएर काम मिलाइदिने ती युवक थिए सानोठिमी क्याम्पसका विद्यार्थी नेता गोरख केसी।


‘यहाँ आउँदा मलाई आफ्नै देशमा आएजस्तो पटक्कै लाग्दैन। कस्तो लाग्छ भने म अचानक अर्कै मुलुकमा आएको छु।’ कोठा नम्बर २० अगाडि उभिरहेका पर्साका इब्राहिम अन्सारी निरास थिए। उदास थिए। हातमा फाइल बोकेर एक्लै टोलाइरहेका उनी भन्दै थिए, ‘मान्छे हेरेर व्यवहार गरिन्छ यहाँ। यहाँ आउँदा आफ्नोपन महसुस नै हुँदैन। मधेसी मूलको देख्नेबित्तिकै झपार्छन्।’

दुई दिनदेखि कलंकीको गेस्ट हाउसमा बस्दै आएका उनी भन्दै थिए, ‘नाम मिस्टेक भएछ ट्रान्सक्रिप्टमा। दुई पटक भयो आएको। आज पनि काम बन्ला जस्तो छैन।’


कोठा नम्बर १८ को झ्याल नजिकै आँसु पुछिरहेकी थिइन् विनिता बस्नेत। ट्रान्सक्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो। आँसु बग्यो कार्यालय परिसरभित्रै। कर्मचारी रिसाउँदै भन्दै थिए, ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ? ’

आफूभन्दा एक हप्तापछि बुझाएको साथीले ट्रान्सक्रिप्ट पाए। तर उनले पाइनन्। उनी धेरै बेर आँसु झार्दै झ्यालछेउमै उभिरहिन्। कर्मचारी फेरि झर्कंदै भने, ‘जानुस्, डिन कार्यालयमा गएर भन्नुस्।’ झ्याल नजिकै बसेर आफ्नो पीडा साथीहरूलाई सुनाउन थालिन्। भन्दै थिइन्, ‘एकातिर ट्रान्सक्रिप्ट नभएर जागिर पाको छैन। अर्कोतिर टीयूका कर्मचारीले मान्छे गन्दैनन्।’

लाखौं विद्यार्थीको परीक्षा लिने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा देखिएको यी तीन दृश्य प्रतिनिधि घटना मात्रै हुन्। यस्ता घटना विगतमा पनि थिए। आज पनि उस्तै छ।

सास्ती नै सास्ती

स्नातक तह उत्तिर्ण गरेकी बाग्लुङकी कविता न्यौपाने ट्रान्सक्रिप्ट लिन बल्खु परीक्षा नियन्त्रण कार्यालय पुगिन्। एक हप्ताअघि नै ट्रान्सक्रिप्ट निकाल्न आवश्यक पर्ने कागजात र पैसा पनि बुझाइसकेकी थिइन् उनले। त्रिविका कर्मचारीले कागजको चिर्कटो थमाइदिँदै उनलाई भनेका थिए, ‘अब तपाईं एक हप्तापछि यो कागज र नागरिकता लिएर आउनुस्। ट्रान्सक्रिप्ट लिएर जानुस्।’ कागजको चिर्कटो हात पर्दा अनिता खुसी थिइन्। तर, उनले सोचेजस्तो सजिलै हात परेन ट्रान्सक्रिप्ट।

एक हप्ता बित्यो। न्यौपाने शुक्रबार बिहान ९ बजे नै कार्यालय पुगिन्। कार्यालय खुल्नेबित्तिकै झ्यालमा गएर कागजको चिर्कटो देखाइन्। भित्रबाट कर्मचारीको प्रतिक्रिया आयो, ‘रजिस्ट्रेसन नम्बर मिलेको छैन। हेर्न पर्दैन ? ट्रान्सक्रिप्ट हुँदैन आज।’

न्यौपाने छाँगाबाट खसेजस्तै भइन्। प्रमाणपत्र लिएर घर फर्कने योजना चकनाचुर भयो। उनले कर्मचारीलाई भनिन्, ‘अस्ति चाहिँ के आधारमा ट्रान्सक्रिप्ट लिन आउनु भनेको ? ’ उनको कुरा कर्मचारीले सुने-नसुनेझैं गरी टारिदिए। उनी झ्यालमा बसेर बिलौना गरिरहिन्।

देब्रे हात नभएकी चिजमाया विश्वकर्मा स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट लिन पुगिन्। १० दिनअघि सबै ‘डकुमेन्ट’ बुझाएकी थिइन्। ढुक्क भएर ट्रान्सक्रिप्ट लिन पुगिन्। तर कर्मचारीले भनिदिए, ‘रजिस्ट्रेसन नम्बर छैन। आज बन्दैन काम।’ उनले कर्मचारीलाई प्रश्न गरिन्, ‘अस्ति चाहिँ किन नभन्नु भएको त ? ’ कर्मचारीबाट उनले पनि कुनै चित्त बुझ्दो प्रतिक्रिया पाइनन्। त्रिविप्रति वितृष्णा पोख्दै उनले भनिन्, ‘बरु पढ्न सजिलो छ। तर प्रमाणपत्र पाउन गाह्रो। मेरा छोराछोरीलाई टीयू कहिल्यै पढाउँदिन म।’

पौन १२ बजे परीक्षा नियन्त्रकको कक्षबाहिर भेट्न आउने विद्यार्थीको लर्को थियो। पर्खिरहेका विद्यार्थीको मतलब नै नगरी एकजना कर्मचारी फाइल बोकेर सरासर कोठाभित्र छिरे। उनको पछिपछि एकजना नेपाली सेनाको पोशाक लगाएका व्यक्ति छिरे। उनी फोनमा कतै भन्दै थिए, ‘एकदमै तनाव भइरहेको छ सर।’

करिब ५ मिनेटपछि बर्दीधारी सैनिक र कर्मचारी हाँस्दै बाहिरिए। त्यसपछि नियन्त्रकको पछाडिको कोठामा गए। एकजना महिला कर्मचारीले फोनमा भन्दै थिइन्, ‘डिन सापलाई सही गराएर तुरुन्तै पठाइदिनू है दिदी। पूरै सिलबन्दी गरेर पठाइदिनू।’ बर्दीधारी खुशी देखिए। ती महिलाले ती सैनिकलाई भनिन्, ‘त्यहाँ गएर अमिता राजभण्डारीलाई भेट्नू। रजनी दिदीले पठाको भन्नू।’ बर्दीधारी हतारहतार परीक्षा शाखाबाट केन्द्रीय क्याम्पसतर्फ दौडिए।

कर्मचारी चौरमा, विद्यार्थी कार्यालयमा

कार्यालयका कोठाहरू फराकिला छन्। कर्मचारीका लागि सुविधायुक्त कोठा छ। टेबुल, कम्प्युटर छ तर कर्मचारी छैन। कोठामा हिटर, पानी तपाउने भाँडा छ। तर कर्मचारी छैन। यता विद्यार्थीले सास्ती पाइरहेका छन्। उता कर्मचारी घाम तापेर बसिरहेका छन्। कार्यालय समयमा कर्मचारी कार्यकक्षमा भेटिँदैनन्। झुण्डझुण्डमा घाम तापिरहेका भेटिन्छन्। कतिपय कर्मचारी त दिनभरि नै चौरतिर घुमिरहेका भेटिन्छन्।

खाजा खाने समय दिउँसो १ः३० देखि २ः३० बजेसम्म भनिएको छ। यो सूचना अन्य सूचनाभन्दा प्रस्ट बुझिने गरी हरेक झ्यालमा टाँसिएको छ। साढे १ बज्दानबज्दै कर्मचारी बाहिर निस्कन थाले। कोही चमेना गृहतिर लागे। कोही चौरमा घाम ताप्न निस्किए।

एक हुल कर्मचारी कार्यालयको दक्षिणी भागमा निस्किए। गोलो घेरा बनाएर बसे। एकजनाले कार्यालयमा प्रयोग हुने कागज च्यातेर दुना बनाउन थाले। कोही भोगटे छिल्न थाले। कोही सुन्तला छोडाउन थाले। कोहीले पानी बोकेर ल्याए। एक महिला कर्मचारी बडेमानको भाँडामा नुन, मसला र दही लिएर आइन्, अनि भोगटे र सुन्तला हालेर मोल्न थालिन्। भोगटेको अचार तयार भयो। कागजको दुनामा सबैलाई बाँडे। केही विद्यार्थीलाई पनि दिए। कर्मचारीहरू कोही भन्दै थिए, ‘बेसारै पुगेन छ।’ कोही भन्दै थिए, ‘नुन खै नुन।’ कोही भन्दै थिए, ‘ए पानी ल्याओ न पानी।’

कर्मचारीहरू सवा तीन बज्न लाग्दासम्म घाम ताप्दै गफिरहे। कार्यालयभित्र गएनन्। अमिलो अचार स्वाद मानीमानी खाइरहे। विद्यार्थीहरू उनीहरूलाई कुर्दै चौरमा बसिरहेका थिए। कोही सुतिरहेका थिए। कोही हतारिँदै थिए। एकजना विद्यार्थीले भने, ‘यहाँ हामीलाई हतार भइराछ। उता उनीहरूलाई वनभोज चलिराछ।’

कर्मचारी-विद्यार्थी भनाभन

कागजपत्रको बीचमा कर्मचारीले मोटरसाइकल कोचेर राखेका छन्। कागजपत्र कार्यालयभित्रै हराउने गरेको विद्यार्थीको दाबी छ। कर्मचारी गल्ती विद्यार्थीकै भएको आरोप लगाउँछन्। काम हुने बेला कर्मचारी-विद्यार्थी दोषारोपण गर्दै गलफत्ती गरिरहेको भेटिन्छन्। कतै झगडा नै गर्छन्।

कोठा नम्बर ९ मा विद्यार्थी र कर्मचारी गलफत्ती गरिरहेका थिए। झ्यालमा उभिएकी विद्यार्थी भन्दै थिइन्, ‘मैले यहीं बुझाएको हो। तपाईंहरूले हराउनु भयो।’ कर्मचारी भन्दै थिए, ‘यहाँ बुझाएको भए यहीं हुन्थ्यो।’ विद्यार्थीले फेरि भन्दै थिए, ‘तपाईंहरू हराउने अनि हामीलाई दोष दिने ? ’

कर्मचारीले राम्रोसँग बोल्दैनन्। सोधपुछ कक्षमा विद्यार्थीले केही जानकारी पाएपछि पनि झुक्किन्छन् उनीहरू। कर्मचारीलाई सोध्दा राम्रोसँग भनिदिँदैनन्। रुखो स्वरमा जवाफ दिइरहेको सुनिन्छ जताततै। विद्यार्थी रनभुल्लमा परेर निन्याउरो अनुहार लिएर टोलाइरहेका भेटिन्छन्।

नमिता पौड्याल विगत १ महिनादेखि परीक्षा नियन्त्रण कार्यालय धाइरहेकी छिन्। स्नातक पहिलो र दोस्रो वर्ष राम्रै नम्बर ल्याएर पास गरिन्। तेस्रो वर्षको परीक्षामा एउटा विषयमा ‘एब्सेन्ट’ आयो। भन्छिन्, ‘परीक्षा दिएकै थिएँ, तर कसरी एब्सेन्ट ? हाजिर कपीमा सही गरेको प्रस्ट याद छ।’

मार्कसिट लिएर उनी परीक्षा नियन्त्रण कार्यालय पुगिन्। तर उनको काम बन्ने कुनै छाँट छैन। सामान्य भनाभन भयो कर्मचारीसँग। भन्छिन्, ‘विद्यार्थीको जीवनमा पास÷फेलले सबैभन्दा ठूलो महत्व राख्छ। यो जिस्किने विषय हैन। तर, टीयूले हाम्रो जीवनमा खेलाँची गरिरहेको छ।’

लेखा शाखाका ६ वटा कोठा छन्। ती कोठाहरूमा शुक्रबार दिनभरि दुई जना मात्रै कर्मचारी देखिए। एकजना विद्यार्थी लेखा शाखा अघि उभिएर भन्दै थिए, ‘खै यहाँका सर म्याडम कहाँ हुनुहुन्छ ? ’ कार्यालय सहयोगी भन्दै थिए, ‘यतै बाहिरतिर हुनुहुन्छ होला। बस्दै गर्नुस् आउनु हुन्छ।’

पारससिंह लेखा शाखा धाउन थालेको एक हप्ता बितिसक्यो। तर उनको काम बनेको छैन। शुक्रबार पनि उनी लेखा शाखा बाहिर दिनभरिजसो कुरेर बसिरहे। घन्टौं कुरेपछि एक महिला कर्मचारी आइपुगिन्। उनले पारसका सबै कागजात हेरिन्। एकैछिन हेरेर रुखो स्वरमा पत्र हुर्‍याउँदै भनिन्, ‘तपाईंको निवेदन लेख्ने तरिकै भएन।’ पारसले के नमिलेको हो त्यो बुझ्न चाहे। तर महिला कर्मचारीले कुनै सुझाव दिइनन्। रिसाउँदै भनिन्, ‘तपार्इंको कागजात केही मिलेको छैन।’ पारसले निरास हुँदै फेरि सोधे, ‘मैले अब पैसा फिर्ता पाउँदिन त ? ’ ती कर्मचारीले झर्किंदै भनिन्, ‘राजस्वमा गइसकेको पैसा पाउन त्यति सजिलो छ ? ’ पारस अलमल भए। पैसा पाउन के-के गर्नुपर्ने हो, त्यो थाहा पाएनन्। कर्मचारीले थप कुरा सुन्न पनि चाहिनन्। पारस निरास हुँदै बाहिरिए।

परीक्षा नियन्त्रक पुष्पराज जोशी विद्यार्थी आफ्नै कारणले दुःख पाइरहेको बताउँछन्। भन्छन्, ‘फर्म भर्दा ध्यान दिँदैनन्। आफू नआई अरुलाई पठाउँछन्। यही कारण विद्यार्थीले बाराम्बर दुःख पाइरहेका छन्।’ छात्राको विवाहपछि थर परिवर्तन हुँदा समस्या थपिएको उनको भनाइ छ। साथै उनले कामको चाप धेरै भएकाले कर्मचारीले रुखो व्यवहार गर्नु परेको स्वीकार्छन्। तर पहिलेको तुलनामा अहिले कम भएको उनको दाबी छ। भन्छन्, ‘पहिलेको तुलनामा अहिले कम भएको छ।’

कार्यालय समयभित्र कुनै पनि कर्मचारी घाम ताप्न ननिस्किएको उनको दाबी छ। भन्छन्, ‘फर्म शाखामा कामको चाप कम हुन्छ। त्यसैले त्यहाँका कर्मचारी बाहिर निस्केको हुन सक्छन्।’ कर्मचारीको कार्यनिरीक्षण गर्न सबै शाखामा सीसी क्यामेरा राखिएको उनले बताए।

दैनिक १२ देखि १५ सय विद्यार्थी बल्खु शाखा आउँछन्। २ सय २७ जना कर्मचारीको दरबन्दी रहेकोमा १ सय ७२ जना मात्रै रहेको नियन्त्रक जोशी बताउँछन्। कर्मचारी अभावका कारण कार्य सञ्चालनमा ढिलाइ भइरहेको उनको भनाइ छ। कार्यालयका सम्पूर्ण काम कम्प्युटर प्रणालीमा गएपछि चाप कम हुने उनले ठोकुवा गरे। उनले भने, ‘भवन अभावका कारण महत्वपूर्ण कागजात समेत बाहिर टेन्टमा राख्नुपरेको छ।’

कार्यालयको गेटमा कुनै सूचना बोर्ड तथा नागरिक बडापत्र छैन। त्यसको ठाउँमा विदेश पढ्न जाने सुर्वण अवसरहरू बग्रेल्ती टाँसिएका छन्। पहिलो पटक पुगेका विद्यार्थी झुक्किन्छन्। नियन्त्रक जोशी भन्छन्, ‘नागरिक बडापत्र बनाउँदैछौं। यसका लागि अझै डेढ-दुई महिना लाग्छ।’

-Annapurna

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account