महिला केन्द्रित ‘सेरोफेरो’

महिला केन्द्रित ‘सेरोफेरो’

महिला केन्द्रित ‘सेरोफेरो’

‘महिला हरेक पल स्वतन्त्रताको सास फेर्न चाहन्छन्। संस्कारको चौघेराबाट फुत्किन चाहन्छन्। निश्चित टार्गेट लिएर त्यसको प्राप्तिका लागि निरन्तर कुदिरहन्छन्। तर पनि सुध्रिन सकेको छैन उनीहरूको सामाजिक हैसियत। क्याक्टस जस्तै छ उनीहरू बाँचेको जिन्दगी।’

यो उल्झनबाट जो निस्कन सक्यो उनीहरू समाज परिवर्तनका एक हिस्सा हुन सक्छन्। महिलाका यस्तै भोगाइ र अनुभवलाई अनेक चित्रमा उतारेकी छन् प्रमिला वज्राचार्यले। महिलाका मुद्दामा कुची चलाउँदा उनलाई मज्जा आउँछ। उनले पहिलो पटक कोरेको चित्र पनि एक युवतीकै थियो।

सुन पसलबाट निस्कने टुकटुक आवाज सुनेर हुर्केकी हुन् उनी। सुन तथा चाँदीका गहनाका आकार प्रकार र सुन्दर बुट्टा हेरेरै उनी चित्रकलातिर ढल्किएकी हुन्। ललितपुरको गाबहालमा जन्मेकी प्रमिला ३० वर्षदेखि अनवरत रङ र कुची चलाइरहेकी छन्। स्कुल पढ्दाताका कापीका अन्तिम पानामा उनले युवती र हात्तीका चित्र कोर्ने गर्थिन्। सन् १९९१ मा कलेज पढ्दा उनले बनाएको चित्र २५ सयमा बिक्री भएको थियो। यो उनको चित्रले दिएको पहिलो कमाइ थियो। भन्छिन्, ‘त्यो बेलाको २५ सय मेरा लागि करोडांै मूल्यको थियो।

पेन्टिङले मलाई नाम, दाम र इज्जत दियो।’ ‘मलाई रङहरूको बास्ना निकै मनपर्छ, घन्टौंसम्म पोट्रेटमा घोत्लिरहँदा जिन्दगी केही विशेष हो भन्ने लाग्छ’, उनी मुस्कुराउँछिन्। दमकल चोकमा रहेको जिजी मचानमा उनको एघारौं पटकको एकल चित्रकला प्रदर्शनी चलिरहेको छ। ‘मेरोसेरो फेरो’ शीर्षक दिइएको चित्रकला प्रदर्शनीमा उनका २८ चित्र समावेश छन्।

फाइन आर्टमा मास्टर्स गरेकी प्रमिला काष्ठमण्डप आर्ट स्टुडियोकी संस्थापक सदस्य हुन्। यो स्टुडियोको स्थापना सन् १९९४ सालमा भएको हो। सुरुआतदेखि यसै संस्थासँग आबद्ध रहेर उनले चित्रकारितामा छलाङ मारेकी छन्।

केही समय उनी फिगर नभएका ‘ल्यान्डस्केप’ दृश्य चित्रतिर लागेकी थिइन्। पछिल्लो समय विभिन्न सिरिजमा महिलाका आकारप्रकारलाई क्यानभासमा उतारिरहेकी छन्। एउटा आर्ट क्याम्पमा उनी श्रीलंका पुगेकी थिइन्। वर्कसपका लागि उनीहरूलाई त्यहाँका गाउँगाउँँमा लगिएको थियो। गाउँमा पुग्दा उनी मक्ख परिन्। लामालामा चुल्ठो बाटेका महिलाले लगाउने सारी पनि विशेष प्रकारको थियो। ती नेवारी हाकुपटासीजस्ता देखिन्थे। बाटैभरि नरिवलका रूख थिए। ढुंगाका प्लेटमा हात्तीका चित्र यत्रतत्र कोरिएका थिए। त्यहाँको दृश्य निकै दिनसम्म उनको मनमा बस्यो। भन्छिन्, ‘त्यहाँको सुन्दरता देखेर म निकै मन्त्रमुग्ध भएकी थिएँ।’

नेपाल फर्किएपछि धेरै प्रकारका महिलालाई चित्रमा उतारिन्। कोही भूकम्पमा सर्वस्व गुमाएर पनि बाँच्ने आसमा रहेका पात्र छन्। कोही अप्ठ्यारो समय फेरिने विश्वासमा हातमा घडी लिएर उभिएका छन्। सूर्यको शक्ति आफूले लिने प्रयासमा लागेकी एउटी आशावादी युवती पनि उनको एक चित्रमा सजिएकी छन्। उनले बनाएका चित्रमा महिलाका समस्या मात्र छैनन्, जीवन जिउने कला, आशा र विश्वासका प्रतिविम्ब पनि छन्। भन्छिन्, ‘मेरा चित्र हेरेर हरेक दर्शकले केही नयाँ आशा प्राप्त गर्न सकून्।’

विभिन्न प्रदर्शनी र कार्यशालाका लागि उनी थाइल्यान्ड, भियतनाम, अमेरिका, मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेशजस्ता देश पुगेकी छन्। नेपालको प्रतिनिधित्व गर्दै उनी दुई पटक सार्क आर्ट क्याम्पमा सहभागी भइन्।

विभिन्न देश जाँदा देखेका फरक दृश्यले उनलाई चित्र कोर्न प्रेरित गर्छ। अमेरिका पुगेर आएपछि उनले लामो समयसम्म बिल्डिङका दृश्य मात्र पेन्टिङमा उतारिन्। ‘म निकै सेन्टिमेन्टल छु, साना दृश्यले पनि मलाई छुन्छ। भूकम्प गएपछि लामो समय मैले चित्र बनाउन सकिनँ’, उनी तीन वर्ष अगाडिको दृश्य सम्झन्छिन्। अनगिन्ती चित्र कोरिसकेकी प्रमिला पेन्टिङ पेसा पछिल्लो समय फस्टाउँदै गएकोमा खुसी छिन्। विदेशीसँगै नेपालीले पनि पेन्टिङ किनेर सजाउने चलन सुरु भएको उनको अनुभव छ। थप्छिन्, ‘पछिल्लो दस वर्षयता आर्ट कलेक्टरको संख्या निकै वृद्धि भएको छ।’

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account