सरिताको आत्मकथा

सरिताको आत्मकथा

सरिताको आत्मकथा

बाटाको छेउमा रसाएर ससानो खाल्टामा जम्मा हुँदै थिएँ र सोच्दै थिएँ, अलि ठूली हुन्छु, तल खोलामा जान्छु। त्यहाँ मजस्ता थुप्रै साथी जम्मा भइरहेका छन्। मैले ऊ पारि भीरबाट हामफाल्दै आइरहेकी झरनालाई देखिरहेकी छु। त्यसैको दायाँतर्फका डाँडाको खोंचबाट पनि सानो खोलो उफ्रिँदै आइरहेको छ। कलकलकल गुनगुनाउँदै पनि होला ! झरनाको बायाँतर्फ अलि परको खोल्साबाट ठक्कर खाँदै आइरहेको छ खहरे। ऊ, परको हिमालबाट हिउँ पग्लेर आइरहेको देखिन्छ। अहो, कस्तो चिसो होला त्यो ? हाहाहा ! खोलामा पुगेपछि नयाँ साथीहरूलाई भेटेर कति धेरै कुरा सुन्न र जान्न पाउँछु होला !

अचानक स्याँस्याँ र फ्याँफ्याँ गर्दै एउटा पथिक आयो, हतार हतार घोप्टे पर्‍यो र चियायो। त्यसको मुखमा जमेको थुक, पहेँला दाँत देखेर तर्सें। उसले चनकचनक पारेर मलाई खाइदियो। त्यसपछि ऊ चंगा भएछ, गीत गुनगुनाउँदै हिँडेर एउटा खोल्सामा पुग्यो। त्यसको भित्री शरीरको मैलो पखाल्दा मेरो स्वरूपै पहेँलो र गनाउने भइसकेको थियो। पथिक, त्यो मान्छे ! जब म कञ्चन थिएँ, आँखै चिम्लेर चन्कायो ! त्यसको प्यास बुझाएर आन्द्रा र किड्नी सफा गर्दै मूत्रथैलीमा पुगेपछि त्यसका निम्ति सायद बेकामकी भइछु म ! मलाई त्याग्दा लाज होलाझैं मल्याकमुलुक गर्‍यो ! फेरि मलाई हेर्‍यो। घिन मानेजस्तो नाक खुम्च्यायो र आफ्नो बाटो लाग्यो।

खोल्साको चिस्यानले मलाई अगाडि बढ्न सहयोग गर्‍यो। बाटामा कहीँकतै खोल्सो रसाएर थोपा थोपा भेटिन्थे। तिनलाई पनि बटुल्दै अगाडि बग्दै रहेँ। मेरो पहेँलो रङ र त्यसको गन्ध हराउँदै गयो। थोपा थोपाले गर्दा पनि मेरो आकार बढेर कलकल सुसाउँदै बग्ने भइसकेकी थिएँ। चर्को स्वरमा गीत गाउँदै ठूलै बाल्टी समाएकी महिला आई ! चेप्टो ढुंगामा बाल्टी घोप्ट्याई। थुप्रै कपडा ल्याएकी रहिछ। मलाई बाल्टीमा भरी र कपडा धुन थाली। निकै फोहोर थिए, त्यसका कपडा ! कपडा धोएपछि उसको पनि नुहाउने पालो आएछ ! साबुन दली दली नुहाई ! फोहोर र साबुनको फिँजले मेरो रङरूप बदलियो। न आँखा हेर्न सकिरहेकी थिएँ, न त केही सोच्न सकिरहेकी थिएँ। ओरालोमा छामछुम पार्दै अगाडि बढ्दा कहीँ कतै चिप्लिन पुग्थेँ। ढुंगाले पनि निकै हेप्थे मलाई ! रङ न ढंगका ढुंगाहरू बीच बाटामा तेर्सिएका हुन्थे र भन्थे, म त देउता हुँ ! वरिपरि घुमेर जा।

मलाई तल नाभीखोलामा पुग्न थुप्रै दिन लाग्यो। खोलाले मलाई फोहोरी देखेर मिसिन नै दिएन। छेउछेउ भएर बगिरहेकी थिएँ, खोलाको छालले धकेल्दै तान्दै गर्दा अलिअलि गरेर मिसिँदै थिएँ। मेरो त्यो मैलो रङ र पिसाबको गन्ध लगभग हराइसकेको थियो। बिस्तारै बिस्तारै आफ्नो पीडा पनि बिर्सिंदै गइरहेकी थिएँ।

खर्साङखुर्सुङ जंगलका स्याउला बजाउँदै निकै वेगसँग आयो बाघ र छेउमै मुख गाड्यो। म बिचरी त्यहीँ त थिएँ, बाघको डरले आँखा चिम्लिएँ। उसले हतारहतार मलाई खायो, जंगलमा पस्यो र वनै थर्किने गरी गज्र्यो। केही बेरपछि म त्यस बाघद्वारा पनि मूत्रको रूपमा त्यागिएँ। उस्तै गन्धले भरिएकी रङ न ढंगकी ! ठूली भए त जता ओरालो छ, त्यतै हाम फाल्दै खोलामा पुगिहाल्थेँ। सानी भएकीले जो कोही हेप्थे मलाई। माटो भन्थ्यो, आऊ, अब अँगालामा बाँधिएर एक भइहाल्यौं ! अर्कोतिर रूखका जराहरू प्यास बुझाउन पाउने भयौं भनेर हाँस्न थाले। यत्तिकैमा आकाशबाट झरी बर्सियो। म त्यसैसँग टाँसिएर फेरि खोलामा पुगेँ।

नाभीखोलाको दुवै तीरबाट झरना, धारा र ससाना खोल्साखाल्सी आएर मिसिइरहेका थिए। जसरी खोलो अगाडि बग्दै थियो, त्यसरी नै आकार पनि बढ्दै गइरहेको रहेछ। नाभीखोलो बग्दै गएर छामघाटमा मिसिएको थियो। छामघाट ठूलै रहेछ, त्यसमा रंगीबिरंगी माछाहरू खेलिरहेका थिए। माछा खेल्दै आउँदा सुरुसुरुमा त मलाई काउकुती लाग्यो। हेर्दै जाँदा ती माछाको निर्दोषपन, पुच्छरले नाइँनाइँ गर्दै छलिने लुकामारी खेल, साँझको लालिमा र शीतल हावामा माथिमाथि उफ्रिने तिनको रहर ! त्यसले भ्यागुताको ट्यारट्यार गर्ने झर्कोलाग्दो स्वर पनि बिर्सिएँ मैले।

सायद ठूलै हुनका निम्ति होला, छामघाटले पनि वल्तिर पल्तिरका ससाना खोलाहरू बटुल्दै बगिरहेको थियो। बग्दैबग्दै त्यो नदीमा मिल्दो रहेछ। नदी समथल भूमिमा बगिरहेको थियो। त्यसैले कुनै सोरगुल गर्दैनथ्यो र ज्ञानीजस्तो बिस्तारै बगिरहेको थियो। नदी पनि समुद्रमा मिल्दो रहेछ। अहो, हातखुट्टा पसारेर सुतेजस्तो थियो समुद्र ! जता हेर्‍यो समुद्रै देखिन्थ्यो ! यति धेरै कि अब उसका निम्ति बग्नु वा भरिनुपर्ने कतै ठाउँ नै छैन जस्तो ! त्यसैले महादेवजस्तो सर्वव्यापी ठानेर तपस्याको निहुँमा सधैं सुतिराख्थ्यो ! कैयौं दिनसम्म त मैले पनि आँखा चिम्लेँ र ढलपल ढलपल दायाँबायाँ हल्लिइरहेँ। बेलाबखत आहरा खोज्ने र खेल्ने क्रममा भाँतीभाँतीका प्राणीहरू वरपर गरेर हाम्रो एकाग्रता बिथोल्थे। त्यसबाहेक समुद्रमा मिसिएपछि लगभग दुःखको अन्त्य नै भएको थियो।

 म सोच्थेँ, जाडो भगाएर समुद्रलाई सहयोग गर्दैछ होला, तर मेरो अड्कल गलत रहेछ। सूर्यको तातोले मलाई नै बाफ बनाएर उडाइदियो ! म झन् त्यही सूर्यतर्फ तानिँदै थिएँ।

एक दिन म समुद्रको सतहमा गएँ, त्यहाँको वातावरण र आकाश हेर्नलाई। समुद्र र आकाश मिलेर नीलिमय बनाएका थिए। समुद्रको छेउछाउमा पनि आकाशै टेकेजस्तो ! अहो, त्यो साँझ बिहानको बदलिँदो मौसमको आनन्द र सूर्यको रक्तिम किरणले चिप्लेटी खेलेको रोचक दृश्य ! त्यसको बयानै गर्न सक्दिनँ। माछालगायत अन्य जीवहरू समुद्रको सतहमा आएर त्यस क्षणलाई अविस्मरणीय बनाइरहेका देखिन्थे। कहिलेकाहीँ बादलका टुक्राटुक्री पनि समुद्रलाई छोलान्झैँ गरेर लुकामारी खेल्न थाल्थे।

दिनमा सूर्य समुद्रसँग रिसाएजस्तो नजिकै आएर भएभरको तातो फ्याँक्दै दृष्टि गाड्थ्यो। म सोच्थेँ, जाडो भगाएर समुद्रलाई सहयोग गर्दैछ होला, तर मेरो अड्कल गलत रहेछ। सूर्यको तातोले मलाई नै बाफ बनाएर उडाइदियो ! म झन् त्यही सूर्यतर्फ तानिँदै थिएँ। त्यसको नजिकै पुग्दा तातोले डढेर कालीकलौटी हुन्छु होला। खरानी नै बनाइदिने हो कि ! डरले मेरो छटपटी बढ्दै थियो। हावाले मलाई जतिजति माथि लग्यो, त्यति नै घामले पोल्नुपर्नेमा जाडो हुन थाल्यो ! आकाश पनि त्यति सफा थिएन, जति तलबाट हेर्दा देखिन्छ ! त्यहाँ त धुवाँधुलो व्याप्त थियो ! म पनि त्यही धुवाँधुलोमा मिसिएपछि बादलमा परिणत भएँ।

आकाशमा निकै दुःख थियो ! चिसोले गरुंगो भएर तल आउँदा पहाडमा ठोक्किने हो कि ? ढुंगामा खसेर टाउको फुट्ने हो कि ? ढाड भाँचिने हो कि ? कुनै भीरमा खसेर क्षत्विक्षत भइने हो कि ? आँधीमा फँसिने हो कि ? भन्ने डर लाग्थ्यो भने हल्का भएर माथि जाँदा आगोको डल्लाजस्तो सूर्यमा गएर पोलिइन्छ कि भन्ने डर ! डरै डरले कामिराख्थ्यो जीउ।

कहिलेकाहीँ आँधी तुफानलाई के सन्का चढ्थ्यो खै ? बित्थामा वरपर दौडाएर, बादललाई जुझाएर जात्रै गराउँथ्यो। झिलिलिली बिजुली चम्कने र गड्याङगुडुङको स्वर आउने पनि हाम्रै टाउका जुधेर हो ! त्यो टाउकाको झनझनाहट हाम्रो मुटुसम्म पुग्थ्यो ! आँधी-तुफान भन्ने कुरा त नजाति नै रहेछ ! आकाशबाट हेर्दा समुद्रमा पनि ताण्डव मच्चाएको देखेकी छु मैले। कहिलेकाहीँ समुद्री आँधीले छाल उठाउँदै पहाडजस्तो बनाउँथ्यो र बस्तीमा पुगेर प्राणीहरूको बिचल्ली बनाइदिन्थ्यो।

एक दिन वायुमण्डलमा निकै उथलपुथल सुरु भयो। चिसोले जमेर वरपर ठोक्किँदै तल झर्न थालियो। पृथ्वीको नजिक तापक्रम बढी हुँदो रहेछ, बादलको ढिक्काबाट पग्लेर असिनामा परिणत भइयो। असिनाबाट पनि पग्लिएर थोपा थोपामा परिणत भइयो। बत्तासिएर पृथ्वीमा खस्न लाग्दा लामालामा काँडा देखिए। मैले कुन पाप गरेकी रहेछु, काँडामा पो खस्ने भएँ ! डरले थरथरी काम्न थालेँ। काँडाहरू भने हात जोडेर भन्न थाले, ‘गंगे माता ! हजुरलाई स्वागत छ। हामीलाई जीवनदान दिनुस् आमा !’ झारपात र जमिनका अन्य जीवहरू पनि खुसी मनाउन थाले। त्यो देखेर मेरो मनमा एकाएक माया पलायो। अहो, म त जीवनदायिनी माता रे ! ममतामयी भएँ म ! एकछिन अघिसम्म काँडा भनेर डराइरहेकी म एकाएक तिनलाई आफ्ना सन्तान ठानेर मायास्वरूप बर्सिन थालेँ।

‘माता ! तपाईं जहाँ हिँड्नुहुन्छ, त्यो सफा भइहाल्छ, मायास्वरूप जहाँ बर्सिनुहुन्छ, त्यो हराभरा भइहाल्छ।’ जताततै मेरो गुनगान गुञ्जिन थाल्यो।

साँच्चीकै मेरो स्पर्र्शले पातहरू बयली खेल्दै नाच्न थाले, चराहरू चिरबिर चिरबिर गाउन थाले। मेरो मायाले बोटबिरुवाहरूले टाउका उठाए, किसानहरूले बाली लगाए।

यस खुसीले मलाई अतीततिर पुर्‍यायो, पथिकको पेटमा पस्दाको पीडा बिर्सेर उसको प्यास बुझ्दाको सन्तुष्टि र त्यस पथिकमा देखिएको उत्साह सम्झेँ। जंगलमा महिलाले फोहोर पखाल्दा उसको जीउमा आएको पूmर्ति, मनको आनन्द र कपडाको चमक ! अनि जुन बाघलाई देखेर डरले आँखा चिम्लेकी थिएँ, सायद मलाई खाएपछि त्यस बाघको गर्जन बनेकी थिएँ म ! अँ चराको आहारा पनि बन्न पुगेकी थिएँ ! मलाई खाएपछि चरो भुर्र उडेर रूखको डालीमा गएर बस्यो र ‘कोहो कोहो ? ’ बास्न थाल्यो। यदि अहिले भए ‘म तेरी माता हुँ माता !’ भन्थेँ हुँला ! तर त्यस बखत मलाई खाइदिन थाले भनेर रोइरहेकी थिएँ।

आज मलाई लाग्दै छ, सायद म जीव र वनस्पतिहरूलाई जीवन दिन समुद्रबाट बाफ भएर आकाशमा पुगेकी थिएँ ! त्यहाँ अनेक हन्डर खाएर आकाशैभरि फिँजिएँ र सबैलाई आफ्नो माया पुर्‍याउन थोपाथोपा भएर जमिनमा झरेँ ! अब म ती काँडाहरूमा तिखारिएर रक्षक बनेकी छु र पूmलहरूमा पनि हाँसिरहेकी छु। अनि बासनामा फैलिरहेकी छु। म ती जलथलमा भएका उड्ने, हिँड्ने, घस्रिने जीव र वनस्पतिहरूको शरीरमा सबैभन्दा ठूलो भाग ओगटेर बसिरहेकी छु। मलाई निको लाग्छ, प्राणीहरूलाई हँसाउँदा, नचाउँदा र हर्षित तुल्याउँदा, तर मलाई ननिको लाग्छ, कसैको आँसु बनेर पुछिनुपर्दा, कसैको आँसु बनेर खस्नुपर्दा !

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account