जति सकें, त्यति लेखें

जति सकें, त्यति लेखें

जति सकें, त्यति लेखें

अन्नपूर्ण पोस्ट् मंसिर १, २०७५ शनिबारको परिशिष्टांक ‘फुर्सद’मा ‘सतीप्रथाको अपव्याख्या’ शीर्षकमा सुजित मैनालीको एक महत्वपूर्ण खोजमूलक लेख पढेँ। २०५७ सालमा मैले लेखेको नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्यको सायद (२०५८ साउन-असोज) अंकमा पहिलोपल्ट प्रकाशित भएको कथा ‘झोला’लाई आधार बनाई उक्त लेख तयार पारिएको छ। सो लेखमा सतीप्रथा बारेको इतिहास, तत्कालिक कानुनी व्यवस्था, भारत र बंगालमा हुने गरेका सती विधि, निर्णयसिन्धु, शुद्धितत्वलगायत इतिहासका महत्वपूर्ण सामग्रीलाई सन्दर्भका रूपमा लिएर ‘झोला’ कथामा देखिएका नमिल्दा कुरामाथि प्रश्नजस्ता केही जिज्ञासा उठेको भेटेँ। मलाई धेरै खुसी के कुरामा लाग्यो भने यो कथा छापिएको झन्डै १८ वर्षपछि कुनै पाठकले यसमाथि गम्भीर प्रश्न गरेका छन्। प्रशंसाको उचाल्नै नसक्ने बोझले थिचिएको ‘झोला’लाई सायद केही हलुका बनाउन मद्दत गरिएको होला।

प्रत्येक व्यक्ति, विचार, समूह वा कृति निर्विवाद, निर्विकल्प र अप्रश्नीय हुनै सक्दैन। अनि हरेक प्रश्न तिनका मस्क्यौटाहरू पनि हुन्। त्यस लेखमा उठेका केही जिज्ञासालाई बुँदागत रूपमा चर्चा गर्दा सजिलो पर्ला भन्ने लागेको छ।

जिज्ञासा १ : झोला राखेर फर्किने पात्रको उमेर र नाता

कथा २०५७ सालमा लेखिएको हो। त्यसबेला ६०, ६५ वर्ष उमेरको मानिस ती महिलाको छोरा नभएर पनाति हुनुपर्छ भन्ने लेखकले गरेको कल्पना हो। किनकि त्यो झोलाबाट निस्किएको कागजको मुठो र त्यसमा लेखिएका अक्षर एकदम नै पुराना र कतै-कतै त अक्षरका ठाउँमा प्वाल पनि परेका थिए भनिएको छ।

त्यो कथाको रचनागर्भबारे मैले निकै ठाउँमा बोलेर वा लेखेर चर्चा गरिसकेको छु। त्यसलाई फेरि यहाँ संक्षेपमा दोहोर्‍याउनै पर्ने भो। खासमा त्यो कथा लेखनको पृष्ठभूमिमा मेरी मावलकी हजुरआमा पर्नुहुन्छ। उहाँको मृत्यु २०४२ सालमा हुँदा उहाँको उमेर ८९ वर्ष थियो। त्यसको अर्थ उहाँको जन्म वि.सं. १९५३ सालमा भएको हुनुपर्छ। त्यस कथामा उल्लेख भएका चिताबाट भागेर बाँच्न सकेको र मारेर चितामै फालिएका दुवै घटना उहाँका आफ्नै नाताभित्रका महिलाको थियो र ती दुवै घटना उहाँ नौ वर्षकी हुँदा भएका थिए। त्यसो भए ती घटना वि.सं. १९६२ साल तिरका हुन् र ती दुवै घटना आठराईका हुन् जसको फेदमा तमोर नदी बग्छ।

त्यसो भए वि.स. १९६२ मा ११ वर्ष उमेरको बच्चा २०५७ सालमा ६०, ६५ वर्षको त्यसै पनि हुन सक्दैन। किनभने सुरुमै कथावाचकले आमाको उमेर २७ वर्षको हुँदा आफ्नो उमेर ११ वर्षको थियो भनेका छन्। मेरो विचारमा त्यो झोला लिएर आउने व्यक्ति त्यो कथामा आफूलाई ११ वर्षको थिएँ भन्नेको नाति हुनुपर्छ। किनकि १९६२ मा ११ वर्ष पुगेको मान्छेको जन्म १९५१ मा भएको हुनपर्छ। त्यसो भए ती व्यक्ति २०५७ सालमा १०६ वर्षका हुन्छन्।

जिज्ञासा २ : सती पठाउने प्रक्रियाबारे

सतीप्रथा कहिले-कहाँबाट सुरु भएको हो कुनै ऐतिहासिक तथ्य भेटिँदैन। नेपालको इतिहासमा लिच्छविकालीन राजा मानदेवकी आमा राज्यवतीले सती नजाने निर्णय गरेको भेटिएकोले धेरै पुरानो चलन रहेछ भन्ने बुझ्न सकिन्छ। जहिलेदेखि चलेको भए पनि सतीप्रथा हिन्दु धर्मसँग जोडिएर आएको पाइन्छ। हिन्दु धर्म विभिन्न पुराण र आख्यानमा अडिएको पाइन्छ। वैदिककाल प्रकृतिपूजक र मातृसत्तात्मक थियो। जब पुराणकाल सुरु भयो, अनि पितृसत्ता सशक्त हुँदै गयो। पितृसत्ताको स्थापनापछि महिलामाथि अनेकौं हिंसा हुन थाले र तिनै हिंसाको चरम रूप हो यो- सती प्रथा। मृत्युसंस्कारको बारेमा गरुड पुराणमा सती विधिबारे यसरी उल्लेख गरिएको छ-

(गरुड पुराणको अध्याय १० को श्लोक ३५ देखि ४० मा सती विधिबारे यस्तो वर्णन गरिएको छ- पतिव्रता नारी यदि पतिसँग परलोक जान चाहेमा आफू नुहाइधुवाइ पवित्र भएर आफ्नो शरीरलाई अनेक सुगन्ध तथा सुन्दर वस्त्रभूषणदिले अलंकृत गरून्। ब्राह्मण र बन्धुबान्धवलाई दान दिऊन्। गुरु तथा मान्यजनलाई प्रणाम गरी घरबाट बाहिर निस्किऊन्। त्यसपछि मन्दिरमा पुगेर भक्तिपूर्वक भगवान् विष्णुलाई प्रणाम गरून्। त्यहाँ सबै आभूषण समर्पण गरी त्यहाँबाट श्रीफल अर्थात् नरिवल लिएर लज्जा र मोह त्याग गरी श्मशानमा जाउन्। त्यहाँ पुगी सूर्यलाई नमस्कार गरी चिताको परिक्रमा गरेर पुष्पशैयारूपी चितामा चढी पतिको शवलाई काखमा राखी अग्नि दाहाका लागि स्वीकृति प्रदान गरून् र शरीर दाहालाई गंगाजलमा स्नानको समान मानेर आफ्नो शरीर जलाऊन्।)

गरुड पुराणमा उल्लेखित यही विधि सामान्य फेरबदल हुँदै ठाउँठाउँमा प्रयोग हुने गरेको पाइन्छ। सुजित मैनालीको जिज्ञासा सती लैजाँदा त्यसरी नांगो पार्ने गरिन्नथ्यो भन्ने छ। यसै पनि मन्दिरमा आभूषण समर्पित गरी लज्जा र मोह परित्याग गर्नु भन्ने भनाइले निर्वस्त्र हुन प्रेरित गरिन्थ्यो भन्ने स्वतः बुझिन्छ। नत्र मन्दिरमै लज्जा किन त्याग्नुपर्ने ? लज्जा भन्ने कुरा निर्वस्त्रतामा मात्रै हुने हो।

सती प्रथाको सांस्कृतिक कानुन भनेकै गरुड पुराण थियो। कालान्तरमा राजनीतिक रूपमा यस प्रथाको अन्त्य भएपछि गरुड पुराणवाचन गर्दा यो प्रसंगलाई मौन राखिन्छ।

मैले यो कथा लेख्ने क्रममा गरुड पुराण र त्यसबेलाका झापाका प्रखर पण्डित स्व. कृष्णप्रसाद मि श्रसँग निकै जिज्ञासा राखेको थिएँ। पूर्वमा चलेका सतीका प्रक्रियाबारे उहाँले मलाई लामै व्याख्या गर्नुभएको थियो। उसो त मेरी हजुरआमा आफ्नो बुढ्यौलीलाई बिर्सिंदै कुनै चाडपर्वका बेला घरमा जम्मा भएका महिलालाई हरेकपल्ट भनिरहनुहुन्थ्यो, ‘तिमीहरू अचेलका आइमाईलाई के-को दुःख छ र ? उहिले-उहिले त लोग्ने मरेपछि लासको पछिपछि रुवाउँदै लैजान्थे। तल वरपीपलको चौतारीमा पुर्‍याएर सबै गरगहना र लुगा खोलेर नांगै पारी झ्याम्लो कपालमा लफ्फै हुने गरी तोरीको तेल खन्याएर त्यहाँबाट लासको अघिअघि घाटतिर लैजान्थे। मन नहुँदा नहुँदै पनि जबर्जस्ती डढाउँथे। त्यतिबेला म नौ वर्षकी थिएँ।

राणाकालमा सतीप्रथाबारे के-कस्ता कानुन थिए वा थिएनन् भन्नेबारे सामान्य अध्ययन मात्र गरेको थिएँ। तिनलाई सोधकै तहसम्म पर्‍याउने आवश्यकता महसुस गरिएनछ होला। मलाई त्यो हदसम्म अध्ययन गर्ने आवश्यकता महसुस भएन।

हाम्रा मामाकी बुहारीलाई त्यसैगरी घाटमा लैजाँदा चिताबाटै भागेर ओढारमा लुकिछन् र पछि छोराले भेटेर उतैबाट आसाम भागेछन्। कान्छी फुपूकी नन्दलाई त भाग्दै गरेको बेला बगरमै ढुंगैढुंगाले हानेर मारेर चितामा हालेछन्। अरूले हानेको ढुंगाले लागेन अरे ! देवरले हानेको ढुंगाले मात्र लागो अरे ! मर्ने बेलामा तिनले तेरो खरानी उडोस् भनेर सरापेकी थिइन् अरे ! पछि त्यो देवरको परिवार सबै पहिरोमा परेर बग्यो रे ! अचेलका तिमेरुलाई केको पिर छ र ? ’

हजुरआमा यो कुरा बारम्बार भनिरहनुहुन्थ्यो। उहाँको मुखबाट अनेकपल्ट सुनेका तिनै दुई घटनालाई आधार बनाएर त्यो कथा लेखेको थिएँ। अझ हजुरआमाले त त्यो छोरो ११ वर्षको होइन, उसको छोराछोरीसमेत भइसकेको थियो भन्नुहुन्थ्यो। मैले आख्यानमा त्यो छोराको उमेर घटाइदिएको पो !

सतीप्रथा कहिले पनि बाध्यकारी थिएन भन्ने कुरा गरुड पुराणमै स्पष्ट छ। त्यहाँ प्रस्ट लेखिएको छ, ‘पतिव्रता नारी यदि पतिसँग परलोक जान चाहेमा’ भनेर। मानदेवकै पालामा पनि यो प्रथा बाध्यकारी नभएको थाहा हुन्छ। ‘झोला’ कथामा पनि सतीप्रथा बाध्यकारी थियो भनिएको छ जस्तो लाग्दैन। जुनसुकै कारणले पनि सती पठाउँदा कसरी पठाइन्थ्यो र त्यो विधि कस्तो थियो ! समाजभित्र त्यसलाई मन नपराउनेहरू किन विरोध गर्न सक्दैनथे भन्ने मात्र कथामा हेरिएको हो।

‘झोला’ कथा इतिहासलाई साबित गर्न लेखिएकै होइन। यसले इतिहासका तथ्यहरूसँग मिल्नु वा बाझ्नुपर्छ जस्तो लाग्दैन। इतिहासका घटनालाई टेकेर एउटा आख्यानको निर्माण मात्र गरिएको हो। उसो त सुजित मैनालीले त्यो लेखमा उठाएका धेरै विषय मेरो सरोकारका थिएनन्। मैले यो कथा मन र भावनाले लेखेको हुँ। बुद्धिले लेखेको भए यो कथा ‘कथा’ नभएर एउटा सोधको आख्यान मात्र हुन सक्थ्यो कि !

मैले राणाकालमा सतीप्रथाबारे के-कस्ता कानुन थिए वा थिएनन् भन्नेबारे सामान्य अध्ययन मात्र गरेको थिएँ। तिनलाई सोधकै तहसम्म पर्‍याउने आवश्यकता महसुस गरिएनछ होला। मलाई त्यो हदसम्म अध्ययन गर्ने आवश्यकता महसुस भएन।

जिज्ञासा ३- परचक्रीले जबर्जस्ती घिच्याएर लगे लोग्नेबाट त्यागिने अवस्था थिएन भन्ने मतमा

अझै पनि पहाडमा त्यस्ता धेरै हजुरआमा भेटिन्छन् जसलाई गाउँका ठुलाबडा, धनी, महाजनले गोठपँधेराबाट, खेत र बाटाहरूबाट जबर्जस्ती घिसारेर आफ्नो घरमा भित्र्याएको भित्र्यायै पारेका थिए। उनीहरू पछिसम्म पनि अघिल्लो लोग्नेलाई सम्झिरहन्थे। कानुनमा त्यस्तो व्यवस्था थिएन, हँदैन पनि तर कानुनलाई कहाँ कति मानिन्छ ? फेरि कानुनले उजुरी माग्छ। त्यस्ता धनी र शक्तिशाली जसले आफ्नी स्वास्नी सबैले देखीदेखी घिसारेर लग्यो, त्यसका विरुद्ध उजुरी कसले हाल्न सक्छ ? उजुरी नै नपरेपछि कानुन कहिले कसरी सक्रिय हुन्छ ? कानुनलाई समातेर जिज्ञासा राख्नु स्वाभाविक छ। तर, व्यवहारमा उसबेला मात्र होइन, आज पनि कानुन कुनै अत्याचारपछि उजुरी पर्खिएर किताबभित्रै चुपचाप बसिरहन्छ।

जिज्ञासा ४- झोला कथामा सम्पत्ति हत्याउने उद्देश्य राखेर बालकको आमालाई सती पठाएको संकेत पाइँदैन

कथामै भनिएको छ, ‘पिताजीले एक दिन आमालाई भन्दै गरेको सुनेँ- म मरी गएँ भने तँ सती नजानू, यो छोरालाई हुर्काउनू।’ तर, पछि छोरो वस्तुलाई चरनमै छोडेर घर पुग्दा आमालाई सतीका निम्ति तयारी गरिँदै थियो। त्यस बीचमा के-के भयो, कसले सती जान बाध्य बनायो भन्ने कुरा केटाले थाहा पाएन। त्यो कथा यदि उपन्यास हुन्थ्यो भने ती सबै कुरा विस्तृत रूपमा आउँथे पनि होलान्। एउटा कथामा त्यहाँभन्दा धेरै आउन गाह्रो हुन्छ। तैपनि त्यहाँ पाठकले बुझ्नुपर्ने के हुन्छ भने जेठीतर्फका सबै छोराहरू छुट्टिएका थिए र बाबुले अर्की महिला बिहे गरेकोमा हुर्किएका छोराहरू नाखुस थिए। त्यसको अर्थ उनीहरूलाई सम्पत्तिको लोभ थिएन होला भन्न सकिन्न।

जिज्ञासा ५- धरावासीले श्रीमान्को मृत्युपछि श्रीमतीले सती जानु बाध्यकारी रहेको बताएका छन्

त्यो कथा नै सती पठाएको कथा हो। समाजमा बाध्यकारी नभए पनि सती पठाउने चलन बाक्लै थियो। सती पठाइने चलन बाध्यकारी नभए पनि छन् चाहिँ थियो र त्यसमध्ये कुनै महिलालाई सती पठाएकै कारणले लेखिएको हो, अन्यथा त्यो कथै लेखिने थिएन। कैयौंलाई सती पठाइएन होला तर बिचरा ती मेरी हजुरआमाका नाताका माताहरूलाई चाहिँ पठाएछन्। त्यो कुरा लेख्नु लेखकको कुनै दोष हो जस्तो लाग्दैन।

जिज्ञासा ६- चिताबाट भागेकी महिलालाई मलामीले मारेर चितामा राखिएको प्रसंगमा

चिताबाट भागेपछि महिलालाई मलामीले मारेर चितामा राखेको प्रसंगमा मैनालीको मत पढेँ, ‘धरावासीलाई नेपालमा अभ्यास हुने सती प्रथाबारे अति सामान्य ज्ञानसमेत रहेनछ भन्ने देखिन्छ। आफूले ठ्याम्मै नबुझेको विषयमा कलम चलाउने उनको आत्मविश्वासलाई भने सम्मान गर्नैपर्छ।’

त्यसरी मारेर चितामा हालिएको कुरा मेरी हजुरआमाले सुनाउनु भएको संस्मरण हो। नियम-कानुनमा के थियो, त्यो हजुरआमालाई पनि थाहा थिएन, सायद। मलाई पनि त्यसको खाँचो किन परेन भने त्यो यदि भएकै घटना हो भने पनि वि.स. १९६२ मै भएको हो। कथा लेख्न त्यति धेरै कुरा जानी नराखे पनि फरक पर्दैन। कथालाई इतिहासको प्रमाणका रूपमा सायद लिइरहनै पर्दैन। कथालाई इतिहासको प्रमाणका रूपमा लिइँदैन पनि होला। आत्मविश्वास भएकै लेखक कालान्तरमा लेखक बन्न सक्ला ! म त्यो यात्रा मन पराउँछु।

जिज्ञासा ७- चन्द्रशमशेरको फोटोको सम्बन्धमा

चन्द्रशमशेरको त्यो फोटो पृथ्वीनारायण, त्रिभुवन, महेन्द्र र बीपीका लस्करमा चाहिँ मैले एकदम नै सचेतनापूर्वक राखेको हुँ। मलाई लाग्छ, नेपालको इतिहासमा आजसम्म चन्द्रशमशेर मात्र त्यस्ता प्रधानमन्त्री हुन् जसले मानवताको पक्षमा सबैभन्दा ठूलो निर्णय गरेका छन्। जुनसुकै कारणले उनी प्रभावित भएका भए पनि इतिहासले त्यो यश उनैलाई दिन्छ जसले हजारौ वर्षदेखि चलेर आएको ‘जिउँदी आमा डढाउने चलनको’ एकै घोषणामा अन्त्य गरे र उनी तिनै सामन्त थिए जो आफैं कमाराहरूका मालिक पनि थिए। कमाराको मालिकले नै कमरा मुक्तिको घोषणा मात्र गरेनन्, तिनका मालिकलाई राज्यकोषबाट क्षतिपूर्तिसमेत दिएर मुक्त गरी अमलेखगन्जमा लगेर थातबास र गरी खानेभूमिको समेत व्यवस्था गरिदिए।

इतिहास बहस गर्ने होइन, अध्ययन गर्ने विषय हो। अब हामीले चन्द्रशमशेरले के गरे, के गरेनन् भनेर समय बर्वाद गर्नुभन्दा उनले गरेका ती कामले त्यसपछिको समयलाई के प्रभाव पार्‍यो भनेर हेर्ने हो।

निरपेक्ष भएर हामीले हाम्रो आजको वर्तमानलाई हेर्‍र्यौं भने चन्द्रशमशेरले दासप्रथा उन्मूलन गरेको झन्डै सय वर्षपछि हलिया, कमैया र बँधुवा मजदुर मुक्तिको घोषणा शेरबहादुर देउवाको सरकारले आजभन्दा झन्डै २० वर्ष अघि गर्‍र्यो। उनीहरूलाई साहुका घरबाट त निकाल्यो तर तिनको बास र रोजगारीको के व्यवस्था गर्‍र्यो ? आजसम्म पनि ती मुक्त कमैयाहरू मुक्त छन् ? एउटा चन्द्रशमशेरले सय वर्षअघि गरे जति काम पनि आजको अत्याधुनिक प्रजातन्त्र, लोकतन्त्र र जनतन्त्रका कुरा गर्ने पार्टीबाट बनेका प्रधानमन्त्रीहरूले गर्न सकेका छैन। मलाई लाग्छ, पृथ्वीनारायण शाहले देशको एकीकरण गर्नु, त्रिभुवनले राणाविरुद्ध पलायनी विद्रोह गर्नु, बीपीले प्रजातान्त्रिक आन्दोलनको शंखघोष तथा पूर्णता दिनु र महेन्द्रले राष्ट्रवादको चेतना स्थापित गर्नु जत्तिकै दह्रो काम चन्द्रशमशेरले गरेका हुन्। त्यसको लागि हामीले जति पूर्वाग्रह बोके पनि इतिहासले उनलाई सदैव सम्मान गरेकै छ, गरिरहनेछ।

यीभन्दा अझ धेरै जिज्ञासा उठ्ने ठाउँ प्रशस्त होलान् ‘झोला’ कथामा। ती सबै जिज्ञासाको जवाफ अब कथा आफैंले दिँदै जानुपर्छ। हुन त यी उत्तर पनि लेखकले दिइरहनु नपर्ने हो तर यी जिज्ञासा मैनालीमार्फत धेरै पाठकबाट आएका हुन् भन्ने ठानेर एकपल्टलाई कठघरामा उभिएको मात्र हुँ।

सबै युगमा राज्यले समसामयिक कानुनहरू बनाइरहन्छ। बनेका सबै कानुन सक्रिय पनि हुँदैनन् र बनाउनेले नै चाहेरै पनि तिनलाई सक्रिय गराउँदैनन्। कानुनहरू राज्यमाथि प्रश्न उठेका खण्डमा देखाउनको लागि मात्र भए पनि बनाइएका हुन्छन्, जसलाई विशेष स्वार्थपूर्ण अवस्थामा प्रयोग गर्न सकियोस्। उति पुराना कानुनको कुरा किन गर्नु, आजकै हाम्रा आधुनिक कानुन नै कति सक्रिय छन् ?

के आजको हाम्रो कानुनमा जातीय विभेद र छुवाछूत गर्न पाइन्छ ? कसैले त्यो भेद गरेमा त्यो दण्डित हँदैन ? तर, के हाम्रो सामाजिक व्यवहारमा त्यो कानुन सक्रिय भएको छ ? आज दलितले किन दलित भइरहनुपरेको छ ? के कुनै पनि उपल्लो जात भनिने वर्गले आज खुल्लम खुल्ला कुनै- दमाई, कामी, सार्की, पोडे भनिनेहरूले छोएको पानी खान थालेका छन् ? तिनले पानी नखाएको माथि उजुर परिरहेका छन् ? परेको भए पनि कारबाही भएको छ ?

बहुविवाह गर्नेहरूलाई जेलमात्र होइन, छुट्ट्यााइदिने समेत कानुनी व्यवस्था छ। आज तर के समाजमा बहुविवाह रोकिएको छ ? उजुरीहरू कति प्रतिशत पर्छन् ?

बलात्कार गर्नेको लागि कस्तो दण्ड व्यवस्था छ ? तर, के त्यो रोकिएको छ ? बलात्कारीलाई कति थुनिएको छ र कति मेलमिलाप गराइएको छ ? हाम्रो युगको आजको कानुन कति सक्रिय छ ? यसले समाजमा कति सहयोग पुर्‍याएको छ ?

दहेज प्रथाका विरुद्ध कानुन निकै बलियो छ। तर, के दहेज प्रथा रोकिएको छ ? दहेज नपाएका कारण बुहारी मार्ने वा त्याग्ने काम बन्द भएको छ ? देशका ठूलाठूला नेता र भूपूप्रधानमन्त्रीहरू समेत आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्दा श्रीमतीको दाइजोबाट आएको भनेर खुल्लम् खुल्ला व्यान दिन्छन्। यसरी दाइजो लिनेलाई कानुनमा के व्यवस्था छ ?

बनिएका कानुन त्यो युगमा मात्र होइन, यो युगमा पनि निष्क्रिय छन्। दूरदराज गाउँमा आज पनि उत्तिकै अन्याय, अत्याचार भइरहेको छ। जसलाई कानुनले थाहा नपाई वकिलको कार्यालयमा वा अदालतमा उजुर पर्खिएर बसिरहेको हुन्छ। गाउँगाउँमा बोक्सीको आरोपमा, दहेजको निहुँमा, अपहरण र बलात्कारमा महिलाहरू कति हिंसाग्रस्त छन्। अछूतका नाममा दलितहरू कति तिरस्कृत छन्। धर्म संस्कृतिका नाममा, छाउपडीका नाममा कति अन्धकार छ समाज। सिंहदरबार र संसद् भवनमा कानुन बनाउनेहरूले नै ती कानुनलाई कति सक्रिय गराएका छन् ?

मैले आजभन्दा १८ वर्षअघि लेखिएर सबैभन्दा बढी चर्चित र लोकप्रिय भइसकेको यो सानो १५ पृष्ठको कथाको वचाउको लागि खासै पैरवी गर्नु छैन। खाली यसको रचनागर्भलाई दोहोर्‍याएको मात्र हुँ। जहाँसम्म मेरो ज्ञान र जानकारीको सीमाको प्रश्न छ, त्यसको लागि म क्षमा चाहन्छु, वास्तवमा मलाई धेरै कुराको जानकारी छैन। जे जतिले काम चलिरहेको छ यसैले टारिरहेको छु।

म सबैभन्दा खुसी के कुरामा छु भने ‘झोला’ कथालाई टेकेर सुजित मैनालीले सतीप्रथामाथि जे-जति खोज गरेका छन् त्यो अत्यन्त प्रशंसनीय कार्य हो। यसमाथि अझ धेरै काम गर्न सके एउटा शोधग्रन्ध नै बन्न सक्नेछ। अनुसन्धानको यो पक्षमा उनका अन्य लेखको पनि म मुक्त प्रशंसक छु। ‘झोला’ कथा एक सन्दर्भ मात्र हो, उनले उठाएका जिज्ञासा इतिहासको अध्ययनमा देखिएका हाम्रा कमजोरीमाथिको प्रहार हो। धन्यवाद, सुजितजी।

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account