संखुवासभाका ३१ ठेकेदारको नाम गृह मन्त्रालय पठाइयो

संखुवासभाका ३१ ठेकेदारको नाम गृह मन्त्रालय पठाइयो

नवीन गुरुङ
पूर्वी पहाडी जिल्ला संखुवासभाको विकास निर्माणको जिम्मा लिएर निर्धारित समयमा काम सम्पन्न नगर्ने ३१ ठेकेदार र निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाइएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले निर्माणको जिम्मा लिएर बिचैमा काम छोड्ने र निर्धारित समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको नाम गृह मन्त्रालय पठाएको जानकारी दिएको हो ।

गत जेठ १९ गते जिल्ला प्रशासन कार्यालय संखुवासभाको नवनिर्मित भवन उद्घाटन गर्न र किमाथाङ्का नाका भ्रमणका क्रममा संखुवासभा आईपुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा आमनागरिकहरुले दुःख पाएको गुनासो गरेका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जिल्ला भित्र कामको जिम्मा लिने तर समयमा नै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुको नामावली मन्त्रालय पठाउन निर्देशन दिएका थिए ।

गृह मन्त्रालय पठाईएको लिष्ट मध्ये केही काम सम्पन्न गर्नेहरुको पनि सूची पर्न आएकोले अझै एक पटक ‘रिचेक’ गरेर पुनः मन्त्रालय पठाईने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । पेश भएका सूचीमा पुरानादेखि नयाँ निर्माण कम्पनीहरुको नाम समावेश भएको प्रजिअ अधिकारीले बताए । संखुवासभामा लापरबाही गर्ने ठेकेदारहरुसंग सडक विभागको मिलेमतो हुन सक्ने आशंका गरिएको प्रजिअ अधिकारीको भनाई छ । जिल्लामा आधा दर्जन पक्की पुल अलपत्र रुपमा वर्षौँ देखि छाडिएका छन् भने सडक बिस्तार स्तरोन्नतीको काम समेत समय भित्र नहुने गरेको छ । स्थानीयहरुले पटक–पटक आवाज उठाएपनि सुनुवाई नहुने गरेको स्थानीयहरुको दुःखेसो छ ।

स्रोत-नया पत्रिका

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account