राजपालाई सरकारमा ल्याउन पहल

राजपालाई सरकारमा ल्याउन पहल

प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ । त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सुरु भएको छ ।

संसद्मा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो । तर संविधान संशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । गत साता फोरम सरकारमा सहभागी भएपछि राजपासमेत सरकारमा जान सक्ने गरी छलफलमा जुटेको छ ।

‘संविधान संशोधन कहाँबाट कसरी गर्न सकिन्छ भन्ने हिसाबले नेकपा र राजपाबीच घनीभूत छलफल भइरहेको छ, राजपालाई पनि सरकारमै सामेल गराएर लैजाने ढंगले लागेका छौं,’ नेकपा अध्यक्ष पुष्पकमल दाहालले आइतबार एक कार्यक्रममा भने, ‘संसद्मा रहेका सबैजसो दललाई समेटेर विकास र समृद्धिका लागि सबै सँगै हिँड्ने वातावरण तयार गर्दैछौं ।’ प्रधानमन्त्री केपी ओली र नेकपाका नेताहरूले राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहित नेताहरूसँग कुरा गरेका छन् ।

सरकारमा सहभागिताबारे छलफल चलिरहेको ठाकुरले समेत आइतबार खुलासा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला महोत्तरी पुगेका ठाकुरले सरकारमा सहभागिताबारे सकारात्मक अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री ओलीसहितका नेताहरूले औपचारिक र अनौपचारिक रूपमा सरकारमा सामेल हुन आह्वान गरिरहेको जानकारी उनले दिए । तर संविधान संशोधन हुनुपर्ने अडान आफूहरूले नछाडेको उनले प्रस्ट पारे ।

फोरम सरकारमा सहभागी हुने बेला संविधान संशोधनबारे जस्तो भाषामा सहमति गरिएको छ, त्यही भाषामा सहमति गर्न नेकपा नेताहरू तयार छन् । फोरमले उठाएका मागलाई आवश्यकताका आधारमा संविधान संशोधनमार्फत समेट्ने व्यहोराको सहमति फोरम र नेकपाबीच भएको थियो । यस्तै भाषामा राजपासँग पनि छुट्टै सहमति गर्न सकिने धारणा नेकपा नेताहरूले राख्दै आएका छन् । मधेस आन्दोलनको मुख्यमध्येको दल नै विश्वास गरेर सरकारमा सामेल भएकाले राजपालाई पनि मिलेर जान प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका छन् ।

राजपाभित्र सरकारमा सामेल हुने/नहुने भन्नेमा नेताहरूको दुई धार छ । ठाकुरलगायत नेताहरू सरकारप्रति सकारात्मक ढंगले अघि बढ्नुपर्ने मत राख्छन् । पछिल्लो केन्द्रीय बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने केही नेताले कुरा उठाएपछि ठाकुरलगायत नेताहरू त्यो दिशामा जान नहुने भन्दै सरकारको समर्थन यथावत् राख्ने निष्कर्षमा पुगेका थिए ।

केन्द्रको समर्थन फिर्ता लिँदा प्रदेश २ मा फोरम र राजपाको गठबन्धन टुटेर नयाँ गठबन्धन बन्ने सम्भावनासमेत देखिएपछि राजपा सरकारमा सहभागी हुने विषयमा सकारात्मक बन्दै गएको छ।

स्रोत- कान्तिपुर

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account