डिभोर्स– एक अध्याय

डिभोर्स– एक अध्याय

डिभोर्स– एक अध्याय

सुमित्रा, मेरो कलेजकी साथी । एक हप्ताअघिको एउटा धमिलो साँझमा उसले मलाई फोन गरी । फोनले म पुराना स्मृतिहरूबाट घेरिएँ । मानिससँग बाँच्ने भनेकै स्मृतिहरू हुन्, जसले वेलाकुवेला दंश गराउँछन् ।

सुनीता खनाल  

आरआर कलेजमा सँगै पढ्थ्यौँ । मास्टरको थेसिसपछि उसको र मेरो भेट निकै पातलिएको थियो । बिए पढ्दा आफ्नै क्लासमा पढ्ने मोहनसँग प्रेमजस्तो कुनै सम्बन्धमा बेरिएकी थिई । त्यो सम्बन्ध यस्तो भइदियो कि उसको जिन्दगी नै फरक धारमा बहन थाल्यो ।

बाफलमा एउटै घरमा डेरा बस्दा उनीहरूको प्रेम फल्यो, फुल्यो । एक–अर्कालाई भेट्न कुनै दिवस वा शनिबार कुर्नु नपर्ने ! उनीहरूले एकदमै चाँडो प्रेमलाई विवाहमा परिणत गरे । त्यसवेलासम्म सुमित्रा राजनीति गर्थी, बिस्तारै छोडी । भावुक थिई, वेला–वेला कविता पनि लेख्थी । मोहनसँगको प्रेमले जीवनबाट राजनीति र कविता दुवै छुट्यो । प्रेमको मसिनो डोरो त बाँकी थियो नै ।

कसैसँग बसेर चिया पिई भने, कसैको फोन कल आयो भने मोहन अति शंका गथ्र्यो । सुमित्रामाथि शंका त ऊ बिहेअघि पनि गथ्र्यो । बिहेपछि शंकाको ग्राफ बढ्दै गयो । प्याच्चै भनिदिन्थ्यो, ‘को नाठोसँग बसिस् ?’ वा ‘कोसँग लाडिएको ?’ मोहनको यस्ता डायलगले निकै पिरोलिन्थी । त्याग्नु पनि प्रेम हो– एक साँझको यस्तो बोधपछि उसले ‘प्रिय लोग्ने’लाई मन नपर्ने सबै काम गर्न छाडिदिई । शंकाको औषधि के हुन्छ ? उसले फेला पारिनँ । ऊ चाहन्नथी– मोहनसँगको वैवाहिक जीवन धरापमा परोस् ।
०००
शंका, सम्बन्ध र काँचका चुरा उस्तै–उस्तै हुन्छन् । सम्बन्धको मसिनो डोरी कहाँनिर चुँडिन्छ ? अनेक सवालको भारी बोकी बबरमहलको बाटो हिँडिरहेकी छु । सडक त खाँदाखाँद छ । तर, म एक्लोे छु । भिड र भारले थिचिएको सडकले मलाई हेर्छ । म सडकतिर नजर हुत्याउँछु । कसैलाई राम्ररी देखिरहेकी छैन । अदालतमा देखिएको धमिलो दृश्यले मेरो मनमा विचारका घोडा उफ्रिरहेका छन् ।
०००
त्यो फोनवार्ताले तीन वर्षपछि हाम्रो त्यस दिनको भेट जुराइदिएको थियो । उसलाई पहिलेझैँ चम्किली र हँसिली देखिनँ । स्कुल छँदै राम्रा कविता लेख्ने सुमित्रा वास्तवमा कलेजमा पनि उत्तिकै अब्बल र निडर थिई । तर, त्यो कवि, त्यो निडर सुमित्राका आँखाबाट सम्पूर्ण रङ निख्रिएको थियो । पहिलेको उसको निडरताका चिह्न अनुहारबाट उडेर कतै गइसकेको थियो ।

सुमित्रा दाहाल ! एक समयकी निर्भीक सुमित्रा यही हो ? जसलाई म सामुन्ने देखिरहेकी छु ? ऊ त उही थिई । तर, आँखाबाट सपना झरिसकेका थिए । ऊ त उही थिई । तर, शरीरबाट सम्पूर्ण जाँगर बेपत्ता थिए । ऊ त जीवनका सम्पूर्ण इन्द्रधनुषी रङबाट भुइँमा झरेकी, एउटा प्रेमी गुमाएकी मैनाजस्ती देखिएकी थिई । रुँदारुँदा आँसु सिद्धिइसकेका जस्ता निर्जन थिए आँखा । मलाई देख्नासाथ बेस्सरी अँगालो हालेर रोई । सडकमा त भिड छ । तर, हामी भिडभित्र थिएनौँ । हामी मात्र ‘हामी’ भएका थियौँ । ऊ र म । ऊ बोलिरही । म सुनिरहेँ । उसको कथा कुनै पेन्टरले पोतेको एउटा उदास चित्रजस्तै थियो । कुनै गायकले गाएको उदास गीतजस्तै ।
०००
उसको (मोहनको) शंकालु बानीले आजित बनायो । ऊसँग बिहे नगर्ने सोचेकी थिएँ । तर, ब्ल्याकमेलिङ गर्न थाल्यो । भन्थ्यो– ‘म सुसाइड गर्छु । मेरो आत्महत्याको सम्पूर्ण दोष तँलाई लगाउँछु ।’ उसले मेरो चरित्रमै प्रश्न उठाएपछि आत्तिएँ । मैले प्रतिवादको शक्ति गुमाएँ । सायद, त्यस वेला पुरुष अहंलाई जिताइदिएँ । मैले गल्ती गरेँ । अन्ततः मैले हारेँ । ऊसँग जिन्दगीको सम्झौता गरेँ ।

परम्परागत संस्कारअनुसार बिहे भयो । प्रेममा त थियौँ । तर, अब त्यहाँ प्रेम बाँकी थिएन । त्यो सकिएर विवाह मात्रै बाँकी बचेको थियो । मामाले त सुनाउनुभएको थियो– लभ म्यारिज डिभोर्समा परिणत भएका थुप्रै कथा ।

कसैलाई सुनिनँ । बिहेको भोलिपल्टै सासूआमाले दाइजोको बखेडा झिकिन् । उनका गाली सुईको टुप्पाले घोचेको ‘चस्स’ भन्दा पनि कडा थिए । सासूको भद्दा गालीले साह्रै नमिठा घाउहरू दिएका छन्।

बिहेको पर्सिपल्टै ससुराले स्वयंवरको औँठी र मंगलसूत्र फिर्ता मागेका थिए । समाजमा सम्पत्तिपिपासु अझै रहेछन् भन्ने सम्झनाले पनि दुःख दिन्छ । सोच्थेँ– लोग्नेले त पक्कै माया गर्छ । उसको इज्जतका खातिर दुःखका हजार नदी तर्न तयार थिएँ । तर, उसको रक्तनलीमा पनि उही रगत बग्थ्यो । माइतीमा कसैलाई केही भनिनँ । सहनशीला भइदिएँ । सहनु अपराध रहेछ, आज बुझ्दै छु । आमा फोन गर्नुहुन्थ्यो । भन्थेँ, ‘मेरो घर स्वर्ग छ, देउता छन् परिवार ।’ फोनविच्छेद भएपछि बेस्सरी रुन्थेँ । म त आमाको मुहारमा सधैँ घाम फुलेको हेर्न चाहन्थेँ ।

एक महिना एक जुग बनिदियो । सासू–ससुराको जंगलबाट फुत्किएर मोहन र म काठमाडौं आयौँ । त्यसवेला तातो तावाबाट फुत्केको माछाजस्तै ठानेँ, आफूलाई । दाजुले बिदाइमा दिएको अलिकति पैसा थियो । त्यही पैसाले उसलाई मोटरसाइकल किनिदिएँ । ऊ मोबाइल पसलमा काम गर्न थाल्यो । म दिनैभरि घरमा, जेलजस्तो जीवन बिताउन थालेँ ।

एकजना अंकल पर्नेले सुनाउँथे– ऊ मोटरसाइकलमा फरक–फरक स्त्री राख्दै दौडिन्छ । सुन्धाराको ती अंकलकै होटेलमा उसले पटक–पटक फरक–फरक युवती लैजाँदो रहेछ । आँखाले नदेखी कसरी विश्वास गर्नु ! मसँग उप्रति चट्टानी विश्वास थियो । तर, म त अन्धो बनिरहेकी रहेछु । ऊसँगको मनको दूरी बिस्तारै बढ्दै थियो ।

ऊ बिस्तारै समयमा घर आउन छाड्यो । बेस्सरी रक्सी पिउन थाल्यो । मलाई जे–जे मन पर्दैनथ्यो, त्यही गर्न थाल्यो ।

विवाहको भएको एक वर्षमै उसमा देखेको भयानक परिवर्तनले म डराइसकेकी, आत्तिइसकेकी थिएँ । मेरो आँखामा डरको रङ भरिँदै थियो । र, उसलाई यसको हेक्का थियो सायद ।

म पुरानिएकी थिएँ, एकै वर्षमा । मेरो शरीर, मेरो मन उसलाई पुरानो लाग्न थालेको थियो । एक दिन ऊ कस्तोे पाशविक बनेको थियो भने उसको यौनशक्ति बढेर पशुतुल्य भएको थियो र त्यसमा हार खाएकी म निकै निरीह भएकी थिएँ । उसको पिटाइपछि एक हप्तासम्म घरबाट बाहिर निस्कन सकिनँ । ऊ नशामा लठ्ठ भएर पटक–पटक मेरो शरीर चिथोथ्र्यो ।

उसको मोबाइलमा एक रात अचानक बजेको एसएमएसले झसंग भएँ । लेखिएको थियो, ‘हाउ आर यु माई डार्लिङ ? आज हजुरले ल्याइदिएको घडी त पहिलेको भन्दा पनि महँगो रहेछ है ! अनि भोलि हस्पिटल जाऔँ है ! मिन्स रोकिएको धेरै दिन भयो ।’

रक्सीको नशामा लठ्ठ परेको मोहनले एसएमएसको हेक्का गरेन । ऊ कतिसम्म थियो भने बाथरुम जाँदा पनि मोबाइल बोकेरै जान्थ्यो । पहिलोपटक उसको मोबाइल छोएकी थिएँ र यस्तो देख्नुप-यो । त्यस रात मेरो शरीर पूरै काँप्यो । ऊबारे चलेका अनेक हल्ला सहेकै हुँ । बाइकमा केटी राखेर दौडिनु, होटेल पुगेर रमिता देखाउनुजस्ता उसका सुध्रिन नसक्ने बानी पनि सहेकै थिएँ । यहाँसम्म पनि सहनु ? म त उसकी स्वास्नी हुँ ।

अग्निसाक्षी राखी सिन्दुर हालेर ल्याएकी स्वास्नी ! यो के ? घरमा तरकारी किन्ने पैसा छैन भन्थ्यो, जो पायो उसलाई घडी किनिदन्छ । अनि हस्पिटल ? उफ् ! यो के सुन्नुप-यो ! हजार सिँढीबाट एकैपटक तल खसेको अनुभूतिले निकै दुखायो । अब उदाउने सूर्य मेरा लागि अँध्यारो हुनेछ भन्ने लाग्यो । एउटा जिम्मेवार पुरुष कसरी यत्ति खस्न सक्छ ? यो कस्तो लत ? स्वास्नी पुरुषको ओछ्यान तताइदिने मेसिन मात्रै हो ? आक्रोशले निकै हतप्रभ भएँ । ऊ त रक्सीको मातमै थियो । केही भन्नुको कुनै अर्थ रहेन ।

भोलिपल्ट फेरि उसको मोबाइल हेरेँ । मेसेज डिलिट गरिसकेको थियो । कल रजिस्टर हटिसकेको थियो । उसलाई थाहा थिएन– मैले त्यो नम्बर नोट गरिसकेकी थिएँ । फोनमा ‘निर्जला’को नाम सेभ थियो ।

निर्जला !!! पहिरोले पुरैझैँ भयो । ऊ त मेरै साथी पो ! अर्को मनले भन्यो– सायद अर्कै निर्जला होली ! को हो निर्जला ? के उसलाई थाहा थिएन, मोहन विवाहित पुरुष हो ! भोलिपल्ट मोहनलाई सोधेँ, ‘को हो निर्जला ?’ उसको अनुहारको रङ बदलियो । त्यो बदलाव म बुझ्न सक्थेँ । लाजमिश्रित बदलाव हो त्यो ।
ऊ बिस्तारै सहज भयो । भन्यो, ‘अहँ चिन्दिनँ म !’ फोन गर्दा निर्जला नामको फोन उठेन । आन्टीले फोन गर्दा त्यो नम्बरले भन्यो, ‘मोहन मेरो लोग्ने हो, कृपया मलाई कल गरेर डिस्टर्ब नगर्नुहोला ।’

कस्तो अचम्म ! स्वास्नी त म हुँ ! कसरी भन्न सक्छे– कोही स्त्रीले यस्तो कर्कश डायलग ! पागलझैँ भएँ । मस्तिष्कले उही रफ्तारमा काम गर्न छोडेको अनुभूतिले गाँज्दै ल्यायो ।

उसले झुट बोलिरह्यो । म दुःखी भइरहेँ । मैले पहिलोपटक साहसले बोलेँ । पहिलोपटक चेतावनी दिएँ, ‘यो नम्बर लिएर चौकी जान्छु ।’ बल्ल देखावटी नम्र भयो । उसले भनिरह्यो– माफ गर ! सोचेँ– भूल सुधार्न एउटा मौका दिनुपर्छ, मैले माफी दिएँ ।

तर, उसको लत न थियो, कहाँ छुटथ्यो ! ऊ झन् पतित, झन् भ्रष्ट हुँदै थियो । रात अबेर रक्सीले मात्तिएर ढुनमुनिँदै आउनु, मलाई जथाभावी गिजोल्न खोज्ने प्रयास गर्नु उसको सधैँको कर्म थियो । म निरन्तर प्रतिकार गर्थें । बिस्तारै ऊ अलग कोठामा सुत्न थाल्यो । प्रेमविना त मलाई पनि केही चाहिन्नथ्यो । प्रेमविना वासनाको रहरमा एउटै ओछ्यानमा लास बन्न मलाई पनि मन्जुर थिएन ।

ऊ कस्तो भयो भने मोटरसाइकल बेचेरै रक्सी पिउँथ्योे । मोबाइल पसलको काम छाड्यो । म आइएमईमा काम गर्न थालेँ । एक दिन सुटुक्क ऊ डेरा छोडेर तराई पुगेछ । मलाई कल गरेर भन्यो, ‘इन्डियाबाट एउटा राम्रो कामको अफर आएको छ, म त्यहीँ सेटल भएर तिमीलाई बोलाउँछु ।’ आधा पत्याएँ । आधा पत्याइनँ । त्यसपछि उसले लामो समय फोन गरेन ।

निकै पछि एक महिनाअघिदेखि उसले लगातार फोन गरिरह्यो । भन्न थाल्यो, ‘मलाई डिभोर्स देऊ ।’ उसमा कत्ति छिटै आएछ बदलाव ! हिजो बिहे नगरे मर्छु भन्थ्यो । उही आज भन्दै छ, ‘डिभोर्स नदिए मर्छु ।’ मान्छेका मर्ने कारण कत्ति छिटै बदलिँदा रहेछन् ।

अन्ततः उसलाई काठमाडौँ बोलाएँ । हिजो हामी वकिलकहाँ गयौँ । आज हामी विधिवत् रुपमै छुट्टिँदै छौँ । हाम्रो लोग्ने–स्वास्नीबीचको सम्बन्ध एउटा कागजको टुक्रामा लेखिएका केही अक्षरले समाप्त पारिदिनेछ । सम्बन्ध सकिएको साक्षीका रुपमा तिमीलाई बोलाएँ ।
०००
हामी दुवै रोइरहेका रहेछौँ । उसको आँसुको धर्कोले घाँटी हुँदै भुँइ भिजाएछ । डिभोर्स हुँदै गरेको खबर घरमा कसैलाई रहेनछ ।

११ बजे मोहन आयो, निकै ठाँट्टिएर । उसको आँखामा कतै पश्चात्तापको धर्सो देखिएन । सुमित्राका आँखा भने रसाइरहेकै थिए । अदालतमा डिभोर्स गर्नेको लाइन देखेर म आत्तिएँ । लाग्यो, यो लोकसेवा आयोगको जागिरका लागि फर्म भर्ने लाइन हो । डिभोर्सको लाइनमा २० देखि २५ उमेरका धेरै देखिन्थे । विशेष हैरानीले छोप्यो । सुमित्रालाई भनेँ, ‘एकपटक सोच ।’

अदालत सुमित्राका लागि अन्तिम गन्तव्य बनेको थियो । ऊ मेरो आग्रह मान्ने मनस्थितिमा थिइनँ । मैले साक्षीको  भूमिका निभाएँ ।

डिभोर्सपछि जुलुसमा सहभागी कुनै योद्धाझैँ विजित मुद्रामा ऊ भट्टीतिर पस्यो । सुमित्रा आँसु झार्दै कोठातिर पसी । सोचेकी थिएँ– सुमित्राको जिन्दगीको जाँतो अब एउटै स्पिडमा बग्नेछ । र, कथा यहीँ टुंगिनेछ । तर, कथाको अन्त्य यत्ति सजिलै हुन्न रहेछ ।
०००
आज आइतबार । उनीहरूको सम्बन्धमा पूर्णविराम लागेको ठ्याक्कै एक हप्ता भयो । सुमित्राको अनुहार पटक–पटक मेरो आँखामा नाच्न आइपुग्थ्यो । वेलावेला रिस उठ्थ्यो– मोहनको ज्यादती र उसकोे प्रतिवादशून्य अवस्था सम्झेर ।

निर्जला कलेजकै साथी हो । उसले अचानक फोन गरी । भनी, ‘मेरो आज अदालतमा बिहे हुँदै छ । तिमी आइदेऊ न !’ फेरि कसैको बिहेमा साक्षी बस्नुपर्ने भयो ।

११ बजे अदालत पुगेँ । निर्जला खुब सजिएर आएकी थिई । कस्ति राम्री भएकी ! ‘खोइ त दुलाहा राजा ?’ अचानक मेरो प्रश्न फुत्क्यो ।
‘आउँदै छन्, उः पछाडि हेर न,’ उसले भनी ।
फर्केर हेर्दा मैले जे देखेँ, त्यो पत्याउन नसकिने दृश्य थियो । सुमित्राले मसँगको एकालापमा सही अनुमान गरेकी थिई । उही मोहन ठाँटिएर एक सातापछि फेरि अदालत आइपुगेको थियो । कत्रो धोका छि…! अदालतबाट निस्कँदै गर्दा मेरो दिमाग गलिरहेको छ । मन गलिरहेको छ । सिंगै म गलिरहेकी छु । बबरमहलको भिडमा विचारशून्य म कतै पुग्न हतारिएकी छु ।

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account