नेप्से वर्गीकरण कति वैज्ञानिक ?

नेप्से वर्गीकरण कति वैज्ञानिक ?

नेप्से वर्गीकरण कति वैज्ञानिक ?

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले गत असोज २९ गते सूचीकृत कम्पनीहरुलाई चार समूहमा वर्गीकरण गर्‍यो । यस अघि दुई समूह रहने गरेकामा कम्पनीहरुलाई चार समूहमा वर्गीकरण गरिएपछि पुँजी बजारसँग सम्बन्धित व्यक्ति तथा संस्थामाझ तर्क–वितर्क चलिरहेको छ ।

स्टक एक्सचेन्जमा संस्थागत कारोबार अर्थात खरिद तथा बिक्रीका लागि कम्पनीद्वारा जारी धितोपत्र सूचीकरण गरिन्छ । धितोपत्र सूचीकरण गर्ने कम्पनीलाई सूचीकृत कम्पनी भनिन्छ । धितोपत्र सूचीकरण गरी कारोबार गर्दा अर्थतन्त्रका विभिन्न पक्षमा प्रभाव पर्छ । जस्तो– लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र तुरुन्त बिक्री गरी आर्थिकोपार्जन गर्ने अवसर पाउँछ भने कम्पनीले संकलित पुँजीको स्थायित्व प्राप्त गर्छ । अर्थतन्त्रको ऐना मानिने पुँजी बजार पुँजी संकलनको विश्वसनीय र बलियो स्रोतका रूपमा मानिन्छ । कुनै नीति, नियम तथा प्रणाली अंगिकार, प्रयोग र स्वीकारोक्ति तत्कालीन परिस्थिति, स्रोतसाधन तथा सरोकार पक्षहरुको क्षमतामा भर पर्छ । यही आधारमा नेप्सेको नयाँ वर्गीकरणलाई विश्लेषण गर्नुपर्छ ।

कम्पनी वर्गीकरण किन ?

सूचीकृत कम्पनी कस्तो हो भनी सेयर लगानीकर्तालाई बुझाउन आधारभूत तथ्य र मापदण्ड निर्धारण गरी वर्गीकरण गरिन्छ । नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ र धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण गरेको हो ।

विश्वमा सूचीकृत कम्पनीहरुको वर्गीकरण स्टक एक्सचेञ्ज आफैले तोकेको सर्त तथा प्रावधान बमोजिम नियमक निकायको नियमन अनुसार गर्ने चलन छ । द स्टक एक्सचेञ्ज अफ थाइल्यान्ड (एसइटी) ले समान प्रकृतिका व्यवसाय भएको सूचीकृत कम्पनीहरुलाई ‘इन्डस्ट्री ग्रुप’ र ‘सेक्टर’मा राखी वर्गीकरण गर्छ । लगानीकर्ताले सूचीकृत कम्पनीको तुलनात्मक अध्ययन गरी विवेकशील निर्णय गर्न सकुन् भनेर वर्गीकरण गरिएको हुन्छ । सामान्यतया: समान व्यवसायलाई एकै वर्गमा राखिन्छ ।

ढाका स्टक एक्सचेञ्जले नियमित साधारण सभा गरेको र कम्तीमा दस प्रतिशतका दरले लाभांश घोषणा गरेको कम्पनीलाई ए वर्गमा राख्छ । नियमित साधारण सभा गर्ने र कम्तीमा दस प्रतिशत लाभांश घोषणा गर्न नसकेका कम्पनीहरुलाई बी वर्गमा राखिन्छ । ग्रिन फिल्ड बाहेकका नयाँ सूचीकृत कम्पनीहरु एन वर्गमा पर्छन् । साधारण सभा गर्न नसकेका वा वार्षिक कार्य सम्पादनका आधारमा लाभांश घोषणा गर्न नसकेका वा छ महिनाभन्दा बढीमा अविछिन्न सञ्चालनमा नरहेका वा आय मिलानपश्चात् सञ्चित नोक्सान चुक्ता पुँजीभन्दा बढी भएका सूचीकृत कम्पनीहरुलाई जेड वर्गमा राखिन्छ ।

नेपालमा सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा यस आर्थिक वर्षदेखि वर्गीकरण गर्न थालिएको छ । यो वर्गीकरण त्रैमासिक रूपमा अद्यावधिक गरिन्छ । आफू परेको वर्गमा चित्त नबुझे कम्पनीले कारणसहित पैंतीस दिनभित्र दाबी गर्न सक्छ । चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको तीन वर्ष भएको, तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथि रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको र आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको कम्पनी ए वर्गमा पर्छ ।

चुक्ता पुँजी कम्तीमा पचास करोड रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको तीन वर्ष भएको, विगत तीन वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको, क्रेडिट रेटिङ कम्तीमा औसतभन्दा एक तह मुनि प्राप्त गरेको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको र सञ्चित नोक्सान नरहेको कम्पनी बी वर्गमा पर्छ । सूचीकरण भएको दुई वर्ष पुरा नभएका जी वर्गमा राखिन्छन् भने जेडमा ए, बी र जी वर्गमा नपरेका सूचीकृत कम्पनी पर्छन् । नेप्सेले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा वर्गीकरण गर्दा ए र बी वर्गमा कुनै कम्पनी परेनन् भने जीमा २२ र जेड मा १७४ वटा कम्पनी छन् ।

सामान्यतया: ए वर्गमा पर्ने कम्पनी आर्थिक तथा संस्थागत सुशासनका दृष्टिले सबल मानिन्छन् । जेड वर्गका कम्पनीहरु आर्थिक अवस्था, सुशासन, व्यवसाय आदिका दृष्टिकोणमा नराम्रा मानिन्छन् । नेप्सेको वर्गीकरणमा ए र बीमा कुनै पनि कम्पनी नपर्नुले के सूचीकृत कम्पनीहरु खराबमात्र हुन् वा नेप्सेको वर्गीकरणका सर्त कति व्यावहारिक र वैज्ञानिक छन्, के यो वर्गीकरण औचित्यहीन हो भन्नेजस्ता गम्भीर प्रश्न भने उब्जाएको छ ।

वर्गीकरणका सर्त

सूचीकृत कम्पनी र नेप्सेले तोकेको वर्गीकरण मापदण्डमा केही कमी–कमजोरी रहेको तथ्य नकार्न सकिँदैन । कुनै पनि विषय आफैमा निपुण हँुदैन, त्यसमा सुधारका पक्ष हुन्छन् । नेप्सेले वर्गीकरणका सर्तहरु सशक्त र वैज्ञानिक बनाउन परिस्कृत गर्नुपर्छ । जस्तो– जेड वर्गमा पर्ने कम्पनीहरु सामान्यतया आर्थिक अवस्था, सुशासन कमजोर भएका नराम्रो कम्पनी भनेर अन्तर्राष्ट्रिय स्तरमै चिनिन्छन् । तर नेप्सेमा जेड वर्गमा पर्ने कम्पनीको मापदण्ड नतोकी बी र जीमा पर्न नसकेकालाई राख्नु न्यायोचित होइन । अधिकांश कम्पनी क्रेडिट रेटिङ संस्थाबाट तोकिएको रेटिङ प्राप्त नगरेका कारण नेप्सेको ए र बी वर्गमा परेनन् । कुनै कम्पनी लगानीकर्तामा राम्रो छाप छाड्न सफल भए पनि पुँजीका कारण ए वर्गमा पर्न नसक्ने देखिए ।

वर्गीकरण गर्ने पक्षलाई कुन सूचीकृत कम्पनी कुन वर्गमा पर्छ भन्ने चिन्ता हुनुहुँदैन । वर्गीकरण तटस्थ र इमानदार भएर गरिनुपर्छ । कुनै कम्पनी कुन वर्गमा पर्‍यो भन्ने चिन्ता सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्ति, सेयरधनी तथा शुभचिन्तकको मात्र हो ।

निष्कर्ष

सम्पूर्णता र परिपूर्णता एकैपटक आउँदैन । कानुनको सामान्य चरित्र नै सुधारोन्मुख हुनु हो । कानुन जहिल्यै संशोधनीय हुन्छ । सूचाकांक परिस्कृत गर्दै वर्गीकरणका सर्तहरु औचित्यका आधारमा संशोधन गरी अझ सशक्त तथा अर्थपूर्ण बनाउन सकिन्छ, बनाउनुपर्छ । सूचीकृत कम्पनीहरुले अहिलेको वर्गीकरणबाट हतोत्साहित हुनुहँदैन । सम्बन्धित निकाय र सरोकार पक्षहरू सहकार्य गरी सुधारको मार्गमा जानुपर्छ ।

लेखक नेप्सेकी कामु उपप्रबन्धक हुन् ।

prabinpandak@gmail.com
-Kantipur

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account