गणित बेगर ज्ञान !

गणित बेगर ज्ञान !

गणित बेगर ज्ञान !

सरकारले यसै वर्षदेखि लागु गर्ने भनेर माध्यमिक तहको कक्षा ११ र १२ मा गणित विषयलाई इच्छाधीन मात्र बनाउन खोजेपछि चौतर्फी आलोचना भयो । नयाँ पाठ्यक्रम लागु नभइहाले पनि यस विषयमा बहस चलिरहेको छ ।

गणित विद्यालय तहमा पाठ्यक्रमको अभिन्न अंग हो । नेपालमा कक्षा १० सम्मको पाठ्यक्रममा यो अनिवार्य विषय छ । सरकारले कक्षा ११ र १२ लाई विद्यालय तहमा ल्याइसकेको छ । विद्यालय तहको पाठ्यक्रमका आधारभूत तत्त्व भाषा, गणित, विज्ञान प्रविधिजस्ता अनिवार्य रहनुपर्छ । विद्यालय तहको पाठ्यक्रममा पढाइ, लेखाइ र गणित प्रमुख तत्त्व मानिन्छन् । यसका अलावा अरु विषय समावेश हुँदै जान्छन् । विद्यालय तहमा गणित अनिवार्य रहनुपर्ने धेरै कारण छन् ।

प्राचीन समयमा गणित र ज्यामिति परिपूरक थिए । आज पनि वैज्ञानिक अनुसन्धान तथा अन्वेषण गणितको जगमा मात्र सम्भव छ । समाज झन्–झन् प्रविधिमा आधारित बन्दै गइरहेको छ । प्रविधिको विस्तारसँगै ‘स्टेम’ (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) धेरै मानिसको पेसा–व्यवसाय बन्दैछ । स्टेम शिक्षाको विस्तार तीव्र रूपमा भइरहेको छ । विकसित तथा विकासशील मुलुकले स्टेम शिक्षा अनुरुप पाठ्यक्रम परिमार्जन गरिरहेका छन् ।

कुनै देशको विकास, आर्थिक वृद्धिको एउटा सूचकका स्टेम शिक्षा अन्तर्गत भर्ना हुने विद्यार्थीको प्रतिशतलाई लिन थालिएको छ । चीनमा ४१ प्रतिशत विद्यार्थी उच्च शिक्षामा स्टेम पढ्छन्, अमेरिकामा यो ३६ प्रतिशत छ । २०७४ सालको तथ्याङ्क अनुसार हाम्रो देशमा यो १४ प्रतिशत हाराहारी मात्र छ ।

विश्व आर्थिक मञ्चका अनुसार सन् २०१६ मा चीनमा ७७ लाख, भारतमा २६ लाख र अमेरिकामा ५ लाख ६८ हजारजना विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका ग्राजुएट्स उत्पादन भएका छन् । प्राय: सबै देशमा यी विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दो छ । हाम्रो देशमा पनि यसप्रति आकर्षण बढिरहेकै छ । यो प्रवाहलाई ध्यान दिँदामात्रै पनि गणित विद्यालय तहमा आवश्यक छ कि छैन भन्ने प्रश्नको उत्तर आउँछ ।

अमेरिकाका पिटर ड्रकरको सन् १९६९ मा प्रकाशित ‘दि एज अफ डिस्कन्टिन्युटी’ पुस्तकमा अर्थतन्त्रको नयाँ आयाम ज्ञान अर्थतन्त्रबारे चर्चा छ । उत्पादन र उपभोग बौद्धिक पुँजीमा आधारित हुने अर्थतन्त्रलाई उनले ज्ञान अर्थतन्त्र भनेका थिए । यसको मतलव ज्ञान अर्थतन्त्र ज्ञान र सूचना प्रविधिमा आधारित हुन्छ । आज सूचना तथा सञ्चार प्रविधिमा आधारित ज्ञान र सिकाइ अर्थतन्त्र र सामाजिक विकासका सबै प्रक्रियाका इन्जिन बन्न पुगेका छन् ।

आधुनिक अर्थतन्त्रको विकास तथा विस्तार, उत्पादन तथा व्यवस्थापनको नयाँ तरिकासंग सम्बन्धित ज्ञानको विस्तार निर्भर छ । विश्वका सबै प्रकारका अर्थतन्त्र ज्ञान अर्थतन्त्रमा आधारित बन्दैछन् । कृषि, पर्यटन, श्रम लगायत सबै उद्योगको उत्पादन तथा बजारीकरणमा प्रविधिको प्रयोग प्रचुर मात्रामा हुने गरेको छ । आज ज्ञान अर्थतन्त्र, अन्य सबै अर्थतन्त्रहरुको मियो बन्न पुगेको छ ।

गणित विज्ञानको भाषा हो । गणित विना विज्ञानले आफ्नो कुरा बोल्न सक्दैन । जहाँ विज्ञान बोल्दैन, त्यहाँ प्रविधिको विकास र यसको परिणाममुखी प्रयोग असम्भव छ । जहाँ प्रविधिको विकास र प्रयोग हुँदैन, त्यहाँ ज्ञान अर्थतन्त्र हुँदैन । ज्ञान अर्थतन्त्रको विकासविना अन्य अर्थतन्त्र कामयावी बन्न सक्दैनन् । ज्ञान अर्थतन्त्रको प्रमुख आधारशिला विज्ञान र प्रविधि हो । त्यसको जग गणित हो । तीव्र विकास गरिरहेका र गर्नलागेका देशहरुले स्टेम शिक्षालाई प्राथमिकता दिने कारण पनि यही हो ।

२१ औं शताब्दीलाई विज्ञान र प्रविधिको युग भन्दै गर्दा त्यही अनुरुप अनुकूलन हुनसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । विद्यालय तहमा गणितलाई स्वेच्छिक बनाएर उल्टो यात्रा गर्नु हुँदैन ।

लेखक अमृत साइन्स कलेजका उपप्राध्यापक हुन् ।
-Kantipur

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account