करोडौं बक्यौता नतिरी बिदा भयो एयर एसिया

करोडौं बक्यौता नतिरी बिदा भयो एयर एसिया

करोडौं बक्यौता नतिरी बिदा भयो एयर एसिया

मलेसियाको जेट एयरलाइन्स एयर एसियाले नेपाल सरकारको करोडौं रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ। काठमाडौं–क्वालालम्पुर उडान भर्दै आएको एयर एसियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो।

उक्त कम्पनीले एक वर्षका लागि काठमाडाैं गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई रु १३ करोड बक्यौता तिर्न बाँकी छ। यो विलम्ब शुल्क हो। कम्पनीले हालसम्म करीब रु ३० करोड रकम बुझाइसकेको विमानस्थलले जनाएको छ।

एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ। एयर एसियाले वाइड बडी ए ३३० बाट दैनिक यहाँ उडान भर्दै आएको थियो। बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ। विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आशयसहित विमानस्थललाई पत्राचार गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ।

नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्क बापतको रु सात करोडभन्दा बढी रकम तिर्न बाँकी छ। नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा साेमबार हस्ताक्षर भएको छ। दुई देशबीच भएको श्रम सम्झौतापछि उक्त एयरलाइन्सले पुनःसेवा शुरु गर्नसक्ने महाप्रबन्धक क्षेत्रीले बताए। वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्ष्य गरी उडान भर्न शुरु गरिएको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निर्णय गरेको थियो।

बोर्डलाई रु सात करोड तिर्न बाँकी
एयर एसियाले नेपाल पर्यटन बोर्डलाई रु सात करोेड २३ लाख बक्यौता तिर्न बाँकी छ। कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ। विगत एक वर्षदेखि उक्त वायुसेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका सूचना अधिकारी रोहिणीप्रसाद खनालले जानकारी दिए। एयर एसियाको उक्त रकम जरिवानासहितको हो। बोर्डले बक्यौता रकम तिर्न सो कम्पनीलाई पटक पटक आग्रह गरे पनि अटेर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत रकम असुलका लागि पहल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए। रासस

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account