रंगमञ्चमा राम्रो सम्भावना छ : संयोग

रंगमञ्चमा राम्रो सम्भावना छ : संयोग

रंगमञ्चमा राम्रो सम्भावना छ : संयोग

‘समयले भुइँको धूलोलाई पनि कहिलेकाहीँ पातसम्म पु-याइदिन्छ’ यो उक्ति संयोग गुरागाईंको जीवनमा पनि मेल खान्छ । इलामका संयोग गुरागाईं धुलोबाट उठेका रंगकर्मी हुन् । चाहना, दृढता र साधनाको वेगसँगै उडेका उनी कसैको आँखामा बिझाएनन् बरु रंगमञ्चबाट दर्शक/श्रोताको आँखा, मन, मस्तिष्कमा बसेका छन् । सडक नाटक, मञ्च, थिएटर हुँदै अगाडि बढिरहेको उनको रंगयात्रा अहिले युट्युब सिरिजसम्म आइपुगेको छ ।

यहाँसम्मको यात्रामा उनले धेरैलाई आफ्नो अभिनयले हँसाएका छन्, रुवाएका पनि छन् । जीवन्त अभिनयमार्फत दर्शक/श्रोताको मन जित्न सफल उनको सपना रंगमञ्चमा मात्र सीमित छैन । उनको लक्ष्य नेपाली सिनेजगत्मा आफूलाई स्थापित गराउनु पनि हो ।

कच्चा उमेरका उनको रंगयात्राको सफलतामा लगाव, मिहिनेत, संर्घष र विद्रोह सबै छ, जसरी एउटा नाटकमा विभिन्न रस मिसिएका हुन्छन् । इलामका संयोग गुरागार्इंलाई सानोमा छरछिमेक र साथीभाइले ‘सानो पण्डित’ भनेर सम्बोधन गर्थे । कारण उनका बाबु–बाजे पण्डित्याइँकै कारण जिल्लामा चिनिएका थिए ।

पण्डित परिवारको आचरण र अनुशासनमा हुर्किए पनि उनी भने सानैदेखि नाच्न, गाउन र अभिनय गर्नतिर आकर्षित हुन थालेका थिए । उनले बाबु–बाजेले गर्दै आएको पण्डित्याइँ पेसाभन्दा कुलले नै नगरेको रंगयात्रा रोजे । ‘गाउँघरमा नामुद पण्डितमा दरिएको गुरागाईं परिवार । म नाच्न, गाउन र नाटक भन्दै साथीसंगी भेला पारेर हिँड्न थालेँ,’ उनले सम्झिए । ‘छरछिमेकले ‘पण्डित परिवार बिगार्ने भयो’ भनेर कुरा समेत काटेको यनले बताए ।

सानैदेखि ‘बी एक्स्ट्रा, बी युनिक’को मान्यता उनको मनमा थियो । लक्ष्य प्राप्त गरिछाड्ने अठोट गरे । उनी भन्छन्, ‘घर परिवार र छिमेकीले चाहेजस्तो पण्डित्याइँ गरेको भए आफ्ना ‘जजमान’बाहेक मलाई कसले चिन्थ्यो र ? संघर्ष धेरै गर्नुपरे पनि धेरैले चिन्ने भएको छु ।’

उनको रंगकर्म इलाम सदरमुकामको क्याम्पस अध्ययनसँगै थप झाँगिन पायो । आफूजस्तै रंगकर्ममा लाग्न चाहने साथीभाइ, स्वतन्त्रता अनि रंगकर्म बुझेकाहरूको प्रेरणाले उनको पाइला मञ्चतिर उचालिन थाल्यो । औपचारिक सुरुवात नृत्य कक्षा (डान्स क्लास)बाट भयो । त्यहाँ पनि धेरैले ‘संस्कत पढ्न छाडेर के नाच्ने काम गरेको ?’

भनेर हतोत्साहित गरे । तर, उनी हारेनन् । मिहिनेतकै कारण उनले विभिन्न प्रतियोगितामा विभिन्न पुरस्कार हात पार्दै गए, मान्छेको मन जित्दै गए ।उनको सफलता देखेर ‘बरु संस्कृत पढ्नू नि’ भन्नेहरू र ‘संयोगले कुल बिगा-यो’ भन्नेहरूले नै अहिले आफ्ना छोराछोरीलाई नाच्न र अभिनय सिकाइदिन आग्रह गर्न थालेको संयोग सम्झिन्छन् ।

एक दिन संयोग गुरागाईंले पत्रिकामा कलाकार चाहिएको विज्ञापन पढे । अनि त्यही विज्ञापन छापिएको पत्रिका च्यापेर काठमाडौं हानिए ।

अब उनलाई इलाम साँघुरो लाग्न थाल्यो । फराकिलो परिवेशमा संघर्ष गर्नुपर्छ भन्ने ज्ञान उनमा आयो । एक दिन उनले पत्रिकामा कलाकार चाहिएको विज्ञापन पढे । अनि त्यही विज्ञापन छापिएको पत्रिका ब्यागमा च्यापेर काठमाडौं हानिए । काठमाडौंको छोटो साक्षात्कारपछि उनी आफ्नो रंग सपना पूरा गर्न मण्डला थिएटरमा अभिनय सिक्न थाले ।

इलाम छँदा दर्जनाैं सडक र स्टेज नाटक गरिसकेका उनलाई मण्डला थिएटरले नाटक खेल्ने अवसर दियो । उनी अहिले थिएटर आर्टिस्टका रूपमा चिनिएका छन् । थिएटरमा नाटक मात्र गर्दैनन्, युटुब सेरिज हाइस्कुल, टवान्टी फस्ट लभजस्ता सेरिजमा समेत अभिनय गरिसकेका छन् । नाटक नसा भएको बताउने उनी नाटकमा गरिने विभिन्न भूमिकाले आफूलाई सन्तुष्टि दिने बताउँछन् । नेपालको सिनेजगत्को इतिहास रंगमञ्चबाटै उठेको बताउँदै उनी भन्छन्, ‘रंगक्षेत्रको विकासका लागि सरकारले पनि थप प्रभावकारी काम गर्नुपर्छ ।’

सरकारले रंग क्षेत्रको विकासका लागि देशका विभिन्न ठाउँमा व्यवस्थित रंगमञ्च, पाठशाला स्थापना गर्दै प्रतियोगितासमेत गराउनुपर्ने संयोग सुझाउँछन् । विगतमा रंगमञ्चबाट पेट पाल्न नसकिने अवस्था रहे पनि अहिले मिहिनेत गर्न सक्नेका लागि परिस्थिति बदलिएको संयोग सुनाउँछन् । उनी भन्छन्, ‘रंगमञ्चमा पनि आशाको किरण देखिन थालेको छ ।’

-Naya Patrika

admin

leave a comment

Create Account



Log In Your Account