बैंगलोरको मञ्चमा राजेन्द्रलक्ष्मी

बैंगलोरको मञ्चमा राजेन्द्रलक्ष्मी

बैंगलोरको मञ्चमा राजेन्द्रलक्ष्मी

नृत्यनाटिका ‘राजेन्द्रलक्ष्मी’ भारतको बैंगलोरमा जारी रंगशंकरा थिएटर फेस्टिभलमा प्रदर्शनीका लागि छानिएको छ। यो नाटक एस्थेटिक डान्स स्टुडियोको प्रस्तुति हो।

दक्षिण भारतको प्रतिष्ठितमध्येको एक मानिने यो नाट्य महोत्सवमा नेपालबाट पहिलोपटक नाटक छानिएको हो। राजेन्द्रलक्ष्मीलाई रंगशंकरा महोत्सवको ‘यसअघि मुस्किलले मञ्चन भएका नाटकहरू’ शीर्षकअन्तर्गत छनोट भएको हो।

२८ अक्टोबर साँझ साढे ७ बजे जेपीनगरस्थित रंगशंकरा प्रेक्षालयमा राजेन्द्रलक्ष्मी मञ्चन हुनेछ। महोत्सव आयोजक रंगशंकरा दक्षिण भारतमा निजीस्तरबाट हरेक दिन नाटक मञ्चन गर्न, विविध भाषाभाषीका नाटक मञ्चन गर्न र न्यूनतम शुल्कमा स्थानीय नाट्य दललाई नाट्यशाला उपलब्ध गराउन परिचित छ।

‘राजेन्द्रलक्ष्मी’ नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित नाट्य प्रस्तुति हो। पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तार अभियानकी एक अभियन्ताका रूपमा उनले गरेको योगदानलाई नेपाली इतिहासमा छिटफुट अध्ययन गर्ने गरेको पाइन्छ। यद्यपि, पुरुष प्रधान समाजमा पुरुष दृष्टिकोणबाट हेर्दा उनको योगदान एकदमै धमिलो देखिन्छ।

यो नाट्य प्रस्तुतिमा राजेन्द्रराज्य लक्ष्मीको जीवन संघर्षलाई स्वयम् उनकै र समकालीन महिलाको दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको छ। यो नृत्यनाटिकालाई यसअघि मण्डला नाटकघरमा दुई हप्तासम्म नियमित मञ्चन गरिएको थियो।

नेपाली दर्शक तथा समीक्षकबाट पर्याप्त प्रंशसा बटुल्न सफल यो नाटकलाई नृत्यंगना नम्रता केसीले निर्देशन गरेकी हुन्। महोत्सवमा सहभागिताका लागि नाटकका १३ सदस्यीय कलाकार टोली स्थलमार्गबाट भारतको लखनउसम्म र त्यहाँबाट हवाईमार्ग हुँदै बैंगलोरसम्म यात्रा गर्दैछ।

नाटकमा कलाकारहरू निश्मा घिमिरे, नम्रता केसी, रिगा घिमिरे, कुन्ती सिमाली, मनीषा बस्नेत, पवन पाठक, निशा कार्की र ऋतु दर्शनधारीको अभिनय रहनेछ भने अशेष राई र उत्सव बुढाथोकीको प्रत्यक्ष संगीत रहनेछ।

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account