एउटा कविताको कथा

एउटा कविताको कथा

एउटा कविताको कथा

काभ्रेको हाक्से भन्ने एउटा गाउँ । जहाँ हरेकले घरमा जस्ताको छाना लगाएका छन् । उनीहरूको घरको छानोबाट पानी चुहिँदैन । किताब–कापी भिज्दैन, छोराछोरीले टुकी बालेर भविष्यको रेखाचित्र कोर्न पाउँछन् । धुवाँसँग निस्सासिँदै चिसो दाउराबाट दालभात पाक्छ र मृत्युले अर्को दिनसम्म कुर्नुपर्छ । तर, यसको लागि एउटै सर्त छ, उनीहरूले पेट चिरेर मृगौला बेच्नुपर्छ । र, मात्र हाक्सेमा सुख आइपुग्छ ।

इतिहासकै कुरा गर्दै गयो भने तिब्बतका राजा स्रङचङ गम्पोसम्म जोडिएर आउने तामाङ समुदायको एउटा गाउँको विवशताको कुरा भयो, यो । योभन्दा पनि अर्को ठूलो पहाडजस्तो कुरा त तामाङ चेलीहरूले बम्बई (अहिले मुम्बई)सम्म गर्ने यात्राको हुने गर्छ । भलै अहिले त्यो कम भएको होला, तर, आजभन्दा दशकअगाडि उनीहरूका लागि जिउँदै पुग्नुपर्ने नर्क थियो, त्यो बम्बई । हुन त सबै अन्य कतिपय नेपाली चेलीहरूका लागि नै नर्क थियो, त्यो ।

कवि बिना थिङ तामाङले तिनै तामाङ चेलीहरूको आँसुलाई मसी बनाएर कविता लेखिन्, ‘कालो गुराँस’
जुँगा मुसार्दै मुसुमुसु हाँसेर छड्के नजर लाउँदा
लाजैले हो ढोकाको कुनामा
म रातो गुराँस
रातै गुराँस मनभरि फुलाउँदै झन् राती
भएकी थिएँ
यसरी तामाङ चेलीको मनभरि बग्ने प्रेमको हिमनदीलाई कवि बिनाले टिपेर कविता लेखिन् । जुन हिमनदी सम्बन्धको खोलैखोला सपनाको समुद्र पुग्नलाई हिँड्थ्यो । जब माइतीघरको सँघार तरेर बाहिर निस्किन्थिन्, तब प्रेमको हिमनदी सुक्दै–सुक्दै जान्थ्यो र सम्बन्धको खोलामा डर, सन्त्रासको झ्याउँकीरी कराउन थाल्थ्यो ।

यसो भनेको एक महिना नबित्दै
साँच्चै जून बनायौ साराले हेर्न सक्ने…
अनि आफ्नो मुटु झिकेर यस्तै ३० हजारमा साटेर गयौ
हो, त्यही दिनदेखि म कालो गुराँस भएकी छु

यसरी सुन्दैमा किंवदन्तीजस्ता लाग्ने तामाङ चेलीहरूको कथालाई कवि बिना थिङले टिपिन् । त्यो दर्दनाक पल जब कि आफ्नै श्रीमान्ले आफूलाई बेचेर हिँड्दै गर्दा एउटी महिलाले के सोच्छिन् होलिन् । ऊभित्र आउने भूकम्पले उसलाई कसरी क्षतविक्षत बनाउँछ होला ।

महिलाहरूको जिन्दगीको तौल यस्तो तराजुमा राखेर जोखिन्छ, जहाँ मूल्य होइन, मात्र उपभोग खोजिन्छ । उनीहरूलाई भावुकतासँग जोडिन्छ र कमजोर हुन्छन् भन्ने सत्यको निर्माण गरिन्छ, त्यही कुरा उनले कवितामा लेखिन् । र, त्यही सत्यको बर्को ओढेर यो समाज अहिलेसम्म यहाँ आइपुगेको उनी बताउँछिन् ।

महिलाहरूले बाँचेको समय यति अँध्यारो थियो र छ कि जहाँ आफ्नै छाया हेर्नका लागि पनि एक जुनीले पुग्दैन । उज्यालोबाट वञ्चित उनीहरूको सपना आकाशबाट खसेको पुच्छ्रेताराजस्ता हुन्छन्, जो एकछिन भ्रमित बनाएर बिलाउँछन् । अझैसम्म पनि छाउगोठमा बसेर कहालीलाग्दो समय कटाउनुपर्छ, जहाँ जीवनको कुनै ग्यारेन्टी हुँदैन । हरेक पल मृत्यले घुरेर हेर्छ । छाउगोठबाट निस्केको दिन पुनर्जीवन पाएँ भनेर खुसी हुनुपर्छ ।

जब कि छाउगोठ बस्नुपर्ने कारण सृष्टिको निरन्तरताको सबैभन्दा सुन्दर सूचक हो । तर, यीभन्दा पनि खतरनाक त बम्बईको कोठीमा बसेर आफ्नै आँखाबाट निस्केको जिउँदो मृत्युको आँसु थियो । तिनै कुरालाई कवि बिना थिङले ‘कालो गुराँस’ कविताको फम्र्याटमा उतारिन् । उनको यो कविता जताततै छापियो, चर्चित बन्यो ।

यस कविताबारे कवि बिना थिङ भन्छिन्, ‘बम्बईबाट फर्केर आएका दिदीबहिनीहरूको कथा सुन्दा म आफैँ बिथोलिएँ, केही समय । पछि आफ्नै मनलाई सम्झाउनका लागि मैले यो कविता लेखेकी हुँ ।’

-नयाँ पत्रिका

admin

leave a comment

Create Account



Log In Your Account