कार्टुन : नाक भाँच्ने कला

कार्टुन : नाक भाँच्ने कला

कार्टुन : नाक भाँच्ने कला
रविन सायमी, रवि मिश्र, वात्स्यायन।
author-image

अजवी पौड्याल
राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका केही कार्टुन चर्चामा रहे। वरिष्ठ कार्टुनिस्ट वात्स्यायनको एउटा पुरानो कार्टुन तिनैमध्ये एक थियो जो सामाजिक सञ्जालमा व्यापक सेयर भयो। त्यो कार्टुनमा दुई गरिब वृद्ध सडकपेटीमा भिक्षा माग्न बसेको दृश्य छ। प्रहरीले उनीहरूलाई भन्छ, ‘यो मोदी आउने बाटो ! याँ बस्नु भएन।’ बूढीआमै जवाफ दिन्छिन्, ‘को बस्छ त भाइ याँ ? प्रधान्मन्त्री ? ’

रविन सायमीको एउटा कार्टुन पनि उस्तै चर्चित रह्यो। त्यो कार्टुनको माथिल्लो कुनामा लेखिएको छ— मोदी भ्रमण ः मास्क लगाउन नपाउने। अनि एक व्यक्ति साथीहरूसँग भन्दैछ, ‘राष्ट्रवादीहरूले अनुहार केले छोप्छन् त ? ’ मोदी भ्रमणको सिलसिलामा जनकपुरमा मास्क लगाउन नपाइने सुरक्षा प्रबन्धलाई यो कार्टुनले व्यंग्यको पृष्ठभूमि बनाएको छ।

राष्ट्रवाद नै त्यो बेला व्यंग्यको विषय बनेको थियो। यसै सन्दर्भमा रवि मिश्रको एउटा कार्टुन पनि उस्तै हिट भयो। त्यो कार्टुनमा एउटी युवती आफूलाई खुसी पार्न चिल्लो कुरा गर्ने युवकलाई भन्दैछिन्— के विश्वास तिम्रो ? हेर्दै ‘राष्ट्रवादी’ जस्तो देखिन्छौ !

यी त केही उदाहरण मात्र हुन्। दैनिक मिडियामा आउने कार्टुन रुचिपूर्वक हेरिने र पढिने सामग्रीमा पर्छन्। ‘अखबारको चटपटे भन्नाले के बुझिन्छ ? ’ भन्ने हाजिरजवाफ वा गाउँखाने कथाको प्रश्न हुन्थ्यो भने उत्तर फ्याट्टै आउँथ्यो— कार्टुन।

नाक भाँच्ने कला

भनिन्छ, हजार शब्दले व्याख्या गर्न नसक्ने कुरा एउटा चित्रले एकै नजरमा भन्नसक्छ। त्यसमा पनि कार्टुन चित्रले त हास्य र व्यंग्यसमेत मिसाएर चित्रलाई चट्किलो बनाइदिन्छ।

राजनीतिका विसंगति हुन् कि समाजमा विद्यमान किसिमकिसिमका ढोंग, कार्टुनिस्टका आँखा सबै प्रकारका बेथितिमा परिरहेकै हुन्छ। विसंगति र बेथितिका अप्ठ्यारा कुरालाई पनि उनीहरू कार्टुनमा यसरी देखाइदिन्छन् कि पाठकका आँखामा हाँसो र व्यंग्यको झटारो एकैपटक चम्किन थाल्छ।

व्यंग्यकला भएकाले कार्टुनले नसमेट्ने कुनै क्षेत्र हुँदैन। कार्टुनिस्ट रविन सायमीका शब्दमा सत्ता र शक्तिको बलमा नाक फुलाएर हिँड्नेहरूको नाक कार्टुनिस्टको निशानामा पर्ने गर्छ। उनी भन्छन्, ‘सत्ता, पैसा, भ्रष्टाचार, आश्वासन, बाहुबलको आडमा समाजमा नाक फुलाएर हिँड्नेहरूको नाक भाँच्ने विधा नै कार्टुन हो।’

यस अर्थमा कार्टुनकलाले तीन पक्षलाई समेट्छ— नाक भाँच्ने कार्टुनिस्ट, नाक भाँचिने पात्र (जस्तै, नेता) र हेर्ने पाठक। कार्टुनिस्ट र पाठकले त मनोरञ्जन लिने नै भए, नाक भाँचिने पात्रले कसरी मनोरञ्जन लिन्छ त ? सायमीको जवाफ छ, ‘त्यसैले नाक भाँचिने पात्र अर्थात् नेतामा पनि ‘सेन्स अफ ह्युमर’ चैं हुनुपर्छ।’ सेन्स अफ ह्युमर अर्थात् ठट्यौलो स्वभाव भयो भने सबै पक्षले कार्टुनबाट मनोरञ्जन र व्यंग्य ग्रहण गर्न सक्छन्।

विख्यात भारतीय कार्टुनिस्ट आरके लक्ष्मणको कार्टुन चरित्र ‘द कमन म्यान’ अत्यन्त लोकप्रिय कार्टुन चरित्र थियो। यसको हुलाक टिकट पनि निस्किएको छ। लक्ष्मण भन्ने गर्थे, ‘कार्टुन भनेको निन्दा र उपहासको कला हो। कार्टुनिस्टले महान् मान्छेमा होइन, हास्यास्पद मान्छेमा आनन्द पाउँछ।’

कार्टुन नै किन ?

वरिष्ठ कार्टुनिस्ट वात्स्यायनका अनुसार कार्टुनले जनभावनाको कदर गर्छ। उनी अगाडि थप्छन्, ‘मानिसका गुनासा, असहमति र चित्त नबुझेका कुरा नै कार्टुनमा व्यक्त हुन्छ।’ अर्का कार्टुनिस्ट रवि मिश्र पनि यो तर्कसँग सहमत छन्। उनको भनाइमा कार्टुनले इतिहास बन्न लागेको वर्तमान समयलाई प्रतिनिधित्व गर्छ।

सचेतना र मनोरञ्जन दुवै कार्टुनको विशेषता भएको बताउँछन् कार्टुनिस्ट वासु क्षितिज। उनी भन्छन्, ‘समाजमा व्यप्त विकृति विसंगतिलाई हास्यरस मिश्रित चित्रमा उतार्ने कला नै कार्टुन हो।’ यसमा मिश्र थप्छन्, ‘कल्पनाशक्ति र कलाकारिताको उच्चतम प्रयोग कार्टुनमा गरिन्छ।’

समाजको असली अनुहार हेर्नुप¥यो भने दैनिक प्रकाशित हुने कार्टुन हेरे पुग्छ। कार्टुनले समाज र यहाँका पात्रहरूको अनुहारबाट पालिस पुछेर यथार्थ देखाइदिन्छ। सायमी नेताको उदाहरण दिएर भन्छन्, ‘नेताहरूको वास्तविक अनुहार ऐनामा होइन, कार्टुनमा देखिन्छ।’

उनका अनुसार प्रायःजसो राजनीतिको बेथिति नै कार्टुनको मुख्य विषय हुने गर्छ। जनतालाई यथार्थको ऐना देखाउँदै मनोरञ्जन दिन र नेतालाई उनीहरूकै असली अनुहार देखाइदिन कार्टुन बनाउने गरेको उनको दाबी छ।

कार्टुनिस्टको क्लिक

कार्टुनिस्टलाई कस्ता विषयले क्लिक गर्छन् भन्ने कुरा त माथि थाहा भयो। तर, कार्टुनिस्टलाई कार्टुनिस्ट केले क्लिक गरेर बनायो त ?

वरिष्ठ चित्रकारसमेत रहेका वात्स्यायनलाई कार्टुनमा रुचि जाग्नुभन्दा पहिला उनको बेहद प्रेम चित्रकलामा थियो। त्यसैले २०२२ सालमै फाइन आर्ट पढ्न उनी काठमाडौं आएका थिए। उनलाई कार्टुन कलातिर लम्कायो २०४६ सालको जनआन्दोलनले।

प्रजातन्त्र स्थापनाका लागि लडिरहेका पत्रकारहरू २०४५–४६ तिर मिसन पत्रकारिता गरिरहेका थिए। समाजलाई केही योगदान दिन चाहने वात्स्यायनले पनि मिसन पत्रकारिताकै क्रममा कार्टुन बनाउन थालेका थिए। प्रजातन्त्र स्थापनाका लागि कार्टुन कोर्दाकोर्दै उनी २०५१–५२ सालतिरबाट उनी व्यावसायिक रूपमै कार्टुन बनाउन थाले।

कार्टुनकलाले तीन पक्षलाई समेट्छ— नाक भाँच्ने कार्टुनिस्ट, नाक भाँचिने पात्र (जस्तै, नेता) र हेर्ने पाठक। कार्टुनिस्ट र पाठकले त मनोरञ्जन लिने नै भए, नाक भाँचिने पात्रले कसरी मनोरञ्जन लिन्छ त ?

पञ्चायतविरुद्ध आन्दोलनमा लाग्ने क्रममै सायमी पनि कार्टुनकलामा प्रवेश गरेका थिए। चित्रकार भएकै हुनाले कसोकसो कार्टुनकलातिर आइपुगेको उनको स्वीकारोक्ति छ। तीन दशक भइसक्यो उनी कार्टुनको माध्यमबाट परिवर्तनको आन्दोलनमा लागिरहेकै छन्। नाक भाँच्ने पात्र र प्रवृत्तिको उनलाई कहिल्यै कमी महसुस भएको छैन।

मिश्रलाई चाहिँ कार्टुन बनाउनेले कसरी सोच्छन् होला भन्ने खुल्दुलीले लखेट्दा लखेट्दै आफैं त्यसैगरी सोच्ने बनाइदियो। मन परेका कार्टुन संकलन गरेर नक्कल गर्दागर्दै कार्टुन कोर्ने लतमा फँसेको उनलाई पत्तै भएन। नयाँ पुस्ताका यी कार्टुनिस्ट २०६२–६३ को जनआन्दोलनपछि व्यावसायिक रूपमै कार्टुनकलामा प्रवेश गरे।

त्यसैगरी सानै उमेरदेखि चित्र र हास्यव्यंग्यमा रुचि राख्ने क्षितिज १५ वर्षदेखि कार्टुन बनाइरहेका छन्। समाजमा तुरुन्तै प्रभाव पार्ने कार्टुनकलासँग उनको गहिरो प्रेम हालसम्म जारी छ।

सबै कार्टुनिस्टलाई कुनै न कुनै रूपमा समाजमा पैदा भइरहने व्यंग्यात्मक स्थितिले क्लिक गर्छ। चित्र र हास्यव्यंग्यको लतले नै उनीहरूभित्रको कार्टुनिस्टलाई क्लिक गरिदिएको उनीहरूको साझा अनुभव छ।

कार्टुनमा महिला ‘क्यारेक्टर’

कार्टुनमा अक्सर पुरुष पात्रको बोलवाला रहेको पाइन्छ। त्यसो त सबैजसो कार्टुनिस्ट पनि पुरुष नै छन् र कार्टुनमा प्रस्तुत गरिने पात्र र चरित्र पनि पुरुष नै आइरहनुलाई स्वाभाविक मान्न पनि सकिन्छ। तर, कुरा त्यति मात्रै होइन। समाजका बेथिति, विभेदलाई चित्रण गर्ने कार्टुनिस्टकै आँखामा पनि महिला किन पर्दैनन् त ? नाक भाँच्ने कलाले किन महिलाको नाक देख्दैन ?

वात्स्यायनको शब्दमा कार्टुन पत्रकारिताकै एक रूप हो। जसरी पत्रकारिता सत्ताकै वरिपरी घुम्छ, त्यसैगरी कार्टुन पनि सत्ताकै समाचार वरिपरि घुम्छ। उनको तर्क छ, ‘मुख्य तहमा पुरुष हुन्छन्। महिलाहरू चर्चामा आएकै छैनन्। त्यसैले कार्टुनमा पनि पुरुषकै चरित्र बढी आउँछ। जसको चर्चा बढी हुन्छ त्यसकै कार्टुन बन्नु यसको विशेषता नै हो।’

सायमीको पनि सोझो जवाफ छ— सत्तामा महिलाहरू कम पुगेर त्यस्तो भएको हो। ‘कार्टुनिस्ट एकदम निष्पक्ष हुनुपर्छ। महिला प्रायः निष्पक्ष हुँदैनन्, भावुक हुन्छन्’, उनी थप्छन्, ‘महिलालाई पात्र बनाउँदा पनि नारीवादीहरू कार्टुनको समग्र सन्देशलाई छाडेर महिला पात्रलाई कसरी प्रस्तुत गरियो भन्नेमै बढी चासो दिन्छन्। विवाद गरिहाल्छन्।’ तर कार्यकारी पदमा पुगेपछि भने महिला पनि पुरुषजस्तै खराब हुने उनको दाबी छ।

कार्टुनको इतिहास कोट्याउँदै मिश्र थप्छन्, ‘कार्टुनको सुरुआत पप आर्टबाट भएको हो। पप आर्ट पपुलर व्यक्तिहरूका बारेमा बनाइन्छ।’ पाठकले तुरुन्तै बुझ्ने विषय र चिनेको पात्रलाई पछ्याउनु कार्टुनको विशेषता भएको उनको ठम्याइ छ। ‘जसको पछाडि समाचार दौडिन्छ, सामान्यतया कार्टुन पनि त्यसैको बनाइन्छ’, उनी भन्छन्, ‘जसको मन लाग्यो त्यसको कार्टुन बनाएर त कसैले चिन्दैन नि। साधारण विषयको पनि खासै चर्चा हुन्न।’

क्षितिजको बुझाइमा चाहिँ विकृति र विसंगतिको कारक पनि पुरुष भएकाले कार्टुनका पात्र पनि पुरुष नै धेरै हुन्छन्। ‘कार्टुन पात्रभन्दा पनि बढी प्रवृत्तितिर लक्षित गरिन्छ’, उनी अगाडि भन्छन्, ‘समाजमा भइरहने विकृति, विसंगति, भ्रष्टाचार, ढिलासुस्ती, कुशासन, अपराध आदिमा पुरुषकै हालिमुहाली देखिन्छ। त्यसैले पुरुष पात्रलाई नै धेरै व्यंग्य गरिन्छ।’

महिलाको मुद्दामा कार्टुनिस्टको ध्यान नपुगेको स्वीकार गर्छन् वात्स्यायन। त्यसैगरी क्षितिज नेपालको समाचार र मिडिया प्रायः पुरुष पात्रको पछाडि दौडिने गरेको आरोप लगाउँछन्। जसले बजारमा चर्चा पाउँछ, उसैको चरित्र कार्टुनिस्टको दिमागमा हावी हुने गरेको पनि उनी स्वीकार्छन्।

कार्टुनको कच्चापदार्थ नै मिडियाको समाचार हुने मिश्रको दाबी छ। मिडियामा राजनीति र पुरुष पात्रकै बोलवाला हुन्छ। अनि कार्टुनमा महिला पात्र कसरी आउन् ? ‘महिलालाई आरक्षण सिटमा बसाइन्छ तर एक्टिभ बनाइन्न’, मिश्र तर्क गर्छन्, ‘जुन दिन महिलालाई आरक्षण दिन पर्दैन, हरेक ठाउँमा बराबर मात्रामा पुग्छन्, त्यसपछि कार्टुनमा पनि बराबरी भूमिकामा महिला आउँछन् भन्नेमा म ढुक्क छु।’

अन्त्यमा,

लामो समय बिनापारि श्रमिक कार्टुन बनाएका वात्स्यायन हाल यो पेसामा आशलाग्दो प्रगति भएको ठान्छन्। मिडियामा लगानी व्यापक रूपमा बढ्न थालेपछि कार्टुनको माग पनि बढेको उनको अनुभव छ। कार्टुनिस्टको पनि अच्छा–खासा करिअर हुन्छ भन्ने कुरा प्रमाणित भएको छ।

वात्स्यायन, सायमी, क्षितिज र मिश्रजस्तै अरू कैयौं कार्टुनिस्टले पत्रकारितामा आफ्नो ठाउँ सुरक्षित देख्न थालेका छन्। अनलाइन र प्रिन्ट मिडियाको व्यापक वृद्धिसँगै कार्टुनिस्टको पेसा पनि सुरक्षित महसुस गरिएको छ।

तर मिश्र भने अझै ढुक्क भइसकेका छैनन्। यसो भन्दाभन्दै पनि उनले सम्भावना भने देखेका छन्। क्षितिज पनि यो पेसामा सन्तुष्ट नै देखिन्छन्। सायमीचाहिँ व्यंग्यकै शैलीमा भन्छन्, ‘ओलीजीको समृद्धिले केही गर्ला कि ?’

स्रोत- अन्नपूर्ण पोष्ट

admin

leave a comment

Create Account



Log In Your Account