हुलाक सेवाको आधुनिकीकरण

हुलाक सेवाको आधुनिकीकरण

हुलाक सेवाको आधुनिकीकरण

सुधा रेग्मी

हुलाक सूचना र सञ्चारको पुरानो माध्यम हो  । आफ्ना सन्देश चिठीमा अभिव्यक्त गरी परेवामार्फत सम्बन्धित स्थानमा पुर्‍याउने प्रचलनलाई भरपर्दो र व्यवस्थित बनाउने क्रममै आधुनिक हुलाक सेवाको विकास र विस्तार भएको हो  ।अहिले विकसित देशमा हवाइजहाज र ड्रोनसमेत प्रयोग गरी छिटोछरितो रूपमा हुलाक सेवा सञ्चालन गरिएका छन् । नेपाल लगायत कतिपय देशमा भने यो सेवा मानवीय शक्ति/साधनमै निर्भर छ ।

प्रविधिको विकासले सूचनाका लागि हुलाक सेवामा मात्रै भर पर्नुपर्ने बाध्यता हटे पनि हुलाकप्रति चासो र विश्वास कायमै छ । विकसित देशले सूचना प्रविधिको क्षेत्रबाट उत्पन्न हुनसक्ने जोखिम आंँकलन गरेर हुलाकलाई भरपर्दो विकल्पका रूपमा लिएका छन् । नेपालमा १९३५ सालमा हुलाक घरका नाममा हुलाक सेवा सुरु भएको हो । स्थापनाको डेढ सय वर्ष पुग्नलाग्दा हामीकहाँ हुलाकको काममात्र होइन, साखसमेत घट्दै गएको छ । हुलाक सेवामा करिब
१९ हजार कर्मचारी छन् ।

सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भयो । यस संघमा १९२ सदस्य राष्ट्र छन् । संघले हुलाक प्रशासनलाई एकीकृत गरी साझा एजेन्डा, क्रियाकलाप र रणनीतिमार्फत हुलाकको विकास, व्यवस्थापन, व्यवसायीकरण र प्रगतिमा टेवा पुर्‍याउँदै आएको छ । यसले हुलाक सेवाले आत्मसात गर्नुपर्ने सिद्धान्त र नीतिमा अडिग रहन सिकाएको छ । बिभिन्न हुलाक प्रशासनबीच सहकार्य र असल अभ्यासलाई समेत प्रबद्र्धन गरेको छ ।

सन् १९५६ मा युनिभर्सल पोस्टल युनियन र सन् १९८५ मा एसियन प्यासिफिक पोस्टल युनियनको सदस्यता प्राप्त गरेपछि नेपालले हुलाक सेवालाई समय–सापेक्ष बनाउने अवसर पाएको हो । ती संस्थाले हुलाक सेवाको सुधार र सुदृढीकरणका लागि तालिम, परामर्श र आर्थिक सहयोग दिइरहेका छन् । हुलाक क्षेत्रमा नयाँपन भित्र्याउन सजिलो भएको छ । युनिभर्सल पोस्टल युनियनको प्राविधिक, आर्थिक सहयोगमा नेपाल हुलाकले काँचुली फेर्ने प्रयास गरेको छ । आफ्नै ट्रक, कन्टेनरमार्फत सामान पुर्‍याउन प्रयास गरेको छ । हुलाक सेवालाई प्रविधिमैत्री बनाउने खोजिएको छ । जेजति भएका छन्, ती पर्याप्त छैनन् ।

जापान, अमेरिकाजस्ता देशमा हुलाक राम्रोसंँग चलिरहेका छन् । इमेल, इन्टरनेटको जमानामा हुलाकको कामै छैन भन्नु आलोकाँचो ठम्याइमात्र हो । सूचना प्रवाह गर्ने संयन्त्रलाई वस्तु र सेवा प्रवाह गर्ने संयन्त्रमा विकास गर्नसके हुलाक जनताका लागि राहतको माध्यम बन्न सक्छ । जापानमा हुलाकले घर–घरमा दूध पुर्‍याउनेसम्म काम गर्छ ।

मुलुकका कुना–कुनासम्म सञ्जाल भएको नेपाल हुलाकले अन्य देशका हुलाकको सफल पद्धति अनुशरण गर्न सक्नुपर्छ । जनताका दैनिक आवश्यकताका सामग्रीलाई बजारबाट सहज रूपमा घरदैलोसम्म पुर्‍याउनसके हुलाकले आर्थिक क्रियाकलापलाई टेवा पुर्‍याउन सक्छ । चिठी, पार्सलजस्ता परम्परागत सेवाका साथै द्रुत डांँक सेवा, धनादेश, विप्रेषण, फिलाटेलि, हुलाक बचत बैंकजस्ता सेवा तथा ई–कमर्सलाई राम्रोसंँग चलाउन सक्नुपर्छ । सूचना प्रविधि उपयोग गरेर सेवाको व्यवसायीकरणमा टेवा दिने, ठूलो संरचना र जनशक्तिलाई अधिकतम उपयोग गर्दै सेवा, सीप र उत्पादनलाई कुनाकन्दरासम्म पुर्‍याउने रणनीति अनुसार बढ्नुपर्छ ।

परिवर्तित वातावरणमा चलायमान भइरहन आफू पनि आन्तरिक रूपबाटै परिवर्तन भइरहनुपर्छ । नयाँ–नयाँ चुनौती बुझेर आन्तरिक क्षमता विकासमा जोड दिनुपर्छ । नेपाल हुलाकका सन्दर्भमा समय–सापेक्ष ऐन, नियमको अभाव छ । अनुभवी कर्मचारीको स्थायित्व र व्यवसायिक कार्ययोजनाको अभावले हुलाक सुधारमा तगारो सिर्जना गरेको छ । सञ्चार मन्त्रालय सरकारको विशेष प्राथमिकतामा पर्छ । तर त्यस मातहतको हुलाक सेवा सधैं उपेक्षित छ । हुलाक सुधारको विकल्प छैन । हुलाकका कर्मचारी परिवर्तन र समृद्धिको उत्प्रेरक, संवाहक र सारथी बन्न आतुर छन् । उनीहरू आफ्नो कामप्रति गर्व गर्ने आधारको खोजीमा छन् ।

लेखक हुलाक सेवा विभागकी शाखा अधिकृत हुन्।

-Kantipur

admin

leave a comment

Create Account



Log In Your Account