बलात्कार: पितृसत्तात्मक सोचको परिणति

बलात्कार: पितृसत्तात्मक सोचको परिणति

बलात्कार: पितृसत्तात्मक सोचको परिणति

बबिता थापा
धेरै महिला र पुरुषले पितृसत्तात्मक सोचका आडमा कहीँ न कहीँ हजारौँ निर्मलालाई हिंसामा पार्न अप्रत्यक्ष रूपमा सघाएका छन्।

निर्मलाको नाम मात्र सुन्दा पनि अनायासै श्रीया सुनार, सम्झनाकुमारी दास, वसन्ती परियार, संगीता पुलामी मगर, माया विक हुँदै भारतकी निर्भयासम्मले भोगेका पीडाको बोध हुन्छ । भर्खरै ज्यान गुमाएकी श्रीया सुनारदेखि कैयौँ वर्षअगाडि ज्यान गुमाएका नमिता–सुनिताको घटनाक्रमले आमजनमानस वेला–वेलामा झस्किरहन्छ ।

दिनरात आउने समाचारले दण्डहीनताले पराकाष्ठा नाघेको भान हुन्छ, अपराधीहरू शक्तिकेन्द्रको आडमा झनै हौसिएका हुन् कि झैँ लाग्छ । दण्डसजाय दिने निकाय नै अपराधीका मनोबल हुन् झैँ लाग्न थालेको छ । अब यो कहिलेसम्म ? कति बालिका, किशोरी, वृद्धा र आममहिला यस्ता हिंसाको सिकार भइरहने ?

हाम्रो सामाजिक संरचनामा बलात्कारको घटनादेखि एसिड आतंकसम्मका कथामा महिला पीडित र पुरुष पीडकका रूपमा देखिन्छन् । यस्ता घटना प्रायः जाँडरक्सी, लागुऔषध दुव्र्यसन, व्यक्तिगत रिसइबी आदिका कारणबाट हुने गरेको प्रत्यक्ष रूपमा देखिए पनि कहीँ न कहीँ यो पितृसत्तात्मक मानसिकतासँग जोडिएर आउँछ र यस्ता अधिकांश घटनामा सिंगो पुरुष समुदाय नै लज्जित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । सबै पुरुष बलात्कारी वा अपराधी पनि हुँदैनन् र सबै महिला निर्दोष पनि हुँदैनन् ।

तर, वास्तवमा पुरुषसँग जोडिएर आउने यस्ता घटनामा पितृसत्तात्मक सोचका महिलाको व्यवहार र भनाइले मलजल गरेको पक्कै छ । कतिपय अवस्थामा सिर्जित मान्यतामा यसको जरो छ । घोर्ले छोरा पाऊँ भनी स्वस्थानीको व्रत बसेर श्रीमान्को खुट्टा ढोग्दै गरेका फोटाहरूले सामाजिक सञ्जाल रंग्याउने महिला वा त्यसलाई हेरेर ताली पिटने महिला, मर्दकी पाँचवटी भन्नेहरू, तिजमा श्रीमान्को खुट्टाको पानी खाई श्रीमान्की प्यारी हुँ भन्नेहरू, या कैयौँपटक गर्भपतन गराई छोरा नै जन्माउनुपर्ने आमाहरू हुन्, यी सबै पितृसत्तात्मक सोचका उपज हुन्, धरोधर हुन्, मेरुदण्ड हुन् ।

यस्तै धेरै महिला र पुरुषले पितृसत्तात्मक सोचका आडमा कहीँ न कहीँ हजारौँ निर्मलालाई हिंसामा पार्न अप्रत्यक्ष रूपमा सघाएका छन् । लाग्ला, कसरी यी महिला तथा पुरुषका क्रियाकलाप निर्मलासँग आएर जोडियो त ? तिनका क्रियाकलापले एउटा प्रवृत्ति बसेको छ, पुरुषले जेजस्तो गरे पनि पूजनीय छन् र मर्दले त हो नि पाँचवटी ल्याउने वा पाँचवटीलाई मर्दपन देखाउने भनी हौस्याएका छन्, पुरुषलाई जताततै गएर यौन उत्तेजना बिसाउन सहज बनाइदिएका छन् ।

अनेक बहानामा परस्त्रीगमन, बालिका तथा किशोरी बलात्कार गर्न सहज बनाइदिएका छन् । चरित्रका सवालमा महिला र पुरुषलाई दुईथरीका व्याख्या र परिभाषा समाजमा सिर्जना गरिएको छ । पुरुषले यति त गरिहाल्छ नि, के नै नौलो भो र ? सबैले गरेकै छन्, ऊ मात्र हो र ? भन्ने गरिन्छ । श्रीमतीले यौनसुख दिइन, अनि त परस्त्रीगमन गर्‍यो भनेर उसका हरेक जघन्य अपराधलाई सामान्य गल्तीका रूपमा लिइन्छ ।

हाम्रो समाजमा बलात्कारपछि अपराधी निर्धक्क हिँड्ने अवस्था यस्तै सोच र भनाइका उपज पनि हुन्। त्यसैले निर्मलाहरूको न्यायका लागि कानुन अत्यन्त कडा बन्नुका साथै यसलाई जघन्य अपराधका रूपमा परिभाषित गरिनुपर्छ । आज धेरै महिला तथा पुरुषले निर्मलालाई न्याय दिन पैरवी गरिरहेका छन्, अपराधी उम्कन नदिन लागिपरिरहेका छन्, पितृसत्ताभन्दा माथि उठेर औँला उठाइरहेका छन् ।

अपराधी मनोवृत्तिका पुरुषले आफ्नो कामवासनाको सिकार ६ वर्षकी बालिकादेखि ७० वर्षकी हजुरआमालाई बनाइरहेका छन् । किनकि उनीहरूले यस्ता कुकृत्यलाई दण्डनीय अपराधका रूपमा स्विकारेकै छैनन् । पत्रपत्रिकामा बालिका वा किशोरी बलात्कारपछि समाचारसँगै आउने दुई हातले अनुहार छोपिएका चित्रले पनि बलात्कारीलाई भन्दा पनि पीडितलाई थप पीडित बनाउने कार्य गरिरहेको देखिन्छ । यस्ता चित्रले बलात्कृत हुनु लाजको विषय हो भनी बिस्तारै स्थापित गर्दै लगेको छ।

बलात्कारपछि पीडकले पाउने वा पाएको कानुनी तथा सामाजिक सजायको चर्चा कम र बलात्कारको व्याख्या बढी गरिन्छ । बलात्कारका घटनाको चर्चा गर्दा बलात्कृतको चरित्रमाथि बढी नै प्रश्न उठाइन्छ। केही समय अगाडिसम्म वैवाहिक बलात्कारलाई सामान्य मान्ने हाम्रो समाजमा अहिले कानुनले यसलाई दण्डनीय भनी परिभाषित गरेको छ, मनदेखि जरो गाडेर रहेको पितृसत्तात्मक सोचले यसलाई मानेको छैन, त्यसैले पनि प्रायः वैवाहिक बलात्कारका मुद्दामा सामाजिक सञ्जालमा व्यक्त भावनाले यौनचाहना पुरुषको मात्र अधिकार हो र महिला भोग्या मात्र हुन् भन्न्ने आशय व्यक्त भएको देखिन्छ ।

आज धेरैले आफ्ना छोरी, बहिनीका अनुहार सम्झेर निर्दोष निर्मलाको न्यायका लागि आत्मबोध गरेका छन्, न्याय प्रशासनमाथि औँला उठाएका छन् । निर्मलाहरूका पीडामा मलम लगाउने हातहरू आज पनि आवश्यक छन् र भोलि पनि चाहिन्छन् । अपराधी प्रवृत्तिका पुरुषले पितृसत्ताका धरोहर महिला तथा पुुरुषलाई छहारी बनाई शक्तिकेन्द्र र प्रशासनको आडमा अपराध लुकाउन वा गर्न नसकून् भन्नेमा सजग हुनु आवश्यक छ ।

अपराधी उम्किन नपाओस् भन्ने सजगता आवश्यक छ । अर्कातिर शक्तिकेन्द्रको आडमा यस्ता अपराधी उम्काउन र निर्दोषलाई बलीको बोको बनाउन अनेकौँ प्रपञ्चसमेत रच्ने गरिएको देखिन्छ । यस्ता घटना, परिघटनाले समाजमा दण्डहीनता बढ्दो छ र यस्तो स्थितिमा अपराधी मनोवृत्ति चलमलाएको छ, हौसिएको छ ।

जब बालिका र किशोरी बलात्कृत हुन्छन्, यहाँ पीडित र उनको पूरै परिवारको चरित्रमाथि नै प्रश्न उठाइन्छ । हामी कता जाँदै छौँ ? अपराधीलाई बचाउन नाटक रचिन्छ । एउटी किशोरीलाई यौन सम्बन्धको प्रस्ताव स्वीकार नगर्दा एसिड आक्रमण गरिन्छ, मारिन्छ । अर्की किशोरीलाई प्रेम प्रस्ताव स्वीकार नगर्दा उस्तै तरिकाले एसिड आक्रमण गरिन्छ, पूरै अनुहार जलाइन्छ, अंगभंग बनाइन्छ ।

अपराधी कानुनको घेरामा पुग्दासमेत, तिनै किशोरीले अपशब्द बोलिन्, जातीय भेदभाव गरिन् भनी उनैमाथि थप आरोप लगाइन्छ, पीडा दिइन्छ र अपराधीलाई राहत दिइन्छ र जेलबाट निस्किएपछिका लागि सामाजिक प्रतिष्ठा कायम गर्ने वातावरण बनाउँदै लगिन्छ ।

विदेशबाट श्रीमान्ले पठाएको पैसा कुम्ल्याएर श्रीमती अर्कैसित गई भनेर डंका पीटिन्छ तर श्रीमती विदेश गएका वेला परस्त्रीगमन गरी बच्चालाई जिउँदै नदीमा फालेका वा श्रीमतीले पठाएको पैसाले रासलीला गरेका कुराको चर्चा कम गरिन्छ ।

कानुनको कठघरामा आइपुगेका अपराधीलाई पनि अनेक बहानामा ढाकछोप गरिन्छ । कैयौँ निर्मलालाई न्यायका लागि अपराधीलाई कडा सजायको भागी बनाउने र अपराधीको मन काँप्ने गरी पूरा अवधिको सजाय काट्ने स्थिति सिर्जना भएमा आपराधिक मनोवृत्ति अवश्य कम हुन्थ्यो होला।

(थापा काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गर्दैै छिन्)

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account