पार्टीभित्र बोल्नै नपाइने हो र ?

पार्टीभित्र बोल्नै नपाइने हो र ?

पार्टीभित्र बोल्नै नपाइने हो र ?

डा. वेदुराम भुसाल
अहिले अर्को कुनै सरकार खोज्नुपर्ने अवस्था पनि छैन, आवश्यकता पनि छैन, र कसैले त्यो खोजेको पनि छैन, चाहेको पनि छैन ।

कुनै पनि सरकारले जनताको चित्त बुझ्ने गरी, जनताले कुनै गुनासो गर्नु नपर्ने गरी काम गर्नुपर्छ । तर, वर्तमान सरकारले त्यो ढंगले काम गर्न सकेको छैन । शान्ति सुरक्षा भएन, मूल्यवृद्धिमा नियन्त्रण भएन, विकास निर्माणका कुनै राम्रा योजना आएनन्, चुनावको वेलामा जति प्रतिबद्धता जाहेर गरिएको थियो, त्यसअनुसार काम भएन भनेर आमजनताले गुनासो गरिरहेका छन् । मिडियाले लेखिरहेका छन् ।

हामी पनि जनताभित्रै पर्छौं । जनतामध्ये कोही एउटा क्षेत्रमा काम गर्छन् त कोही अर्कै क्षेत्रमा । आखिर जसले जहाँ जेसुकै काम गरे पनि सबै जनता नै हुन् । सबैको भावना उही हो । यत्रो लामो लडाइँ लडेर देशमा जुन खालको परिवर्तन ल्याइयो, त्यसको परिणाम दिने वेला आएको छ ।

यही वेला वामपन्थीको दुईतिहाइसहितको सरकार छ । जनताले बलियो सरकार सञ्चालन गर्न मत दिएका छन् । त्यसकारण जनताको भावना समेटिने गरी, चुनावका वेला जनतासामु जे बोलिएको थियो, त्यसैअनुरूप गरिनुपर्छ भन्ने जनताको अपेक्षा हुन्छ नै ।

सोही अपेक्षाअनुसार काम हुन नसकेपछि जनतामा निराशा छाएकाले सबैले सरकारको आलोचना गरिरहेका छन् । हामी पनि यही समाजका सदस्य हौँ । आमजनता जहाँ छन्, हामी पनि त्यहीँ भित्रै छौँ, म पनि त्यहीँ छु । त्यसकारण आज जनताले जे भनिरहेका छन्, हामी पनि त्यही भनिरहेका छौँ ।

विकल्प आवश्यकता होइन

सरकारले जनभावनाअनुसार काम गर्नुपर्छ । अहिले अरू धेरै कुरा गर्नेतर्फ लाग्नु हुँदैन । आजसम्मका कमी–कमजोरीलाई हटाएर सरकारले काम गर्नुपर्छ । अर्को कुनै विकल्पको कुरा होइन, अर्को कुनै खोजीको कुरा होइन । अहिले अर्को कुनै सरकार खोज्नुपर्ने अवस्था पनि छैन, आवश्यकता पनि छैन, जरुरी पनि होइन र कसैले त्यो खोजेको पनि छैन, चाहेको पनि छैन ।

भनेको यति मात्र हो कि यो सरकारले काम नगर्दा स्थिति बिग्रने भयो । स्थिति बिग्रन दिनु हुँदैन । यही सरकारले राम्रोसँग काम गर्नुपर्छ । गर्न सकिन्छ, गर्नुपर्छ, काम गर्ने सन्दर्भमा केही समस्या छन् भने पार्टीमा छलफल गरेर ती समस्याको समाधान निकाल्न सकिन्छ ।

यावत् सम्भावना छँदाछँदै दूरगामी नकारात्मक प्रभावबारे किन जाने ? नेकपाले काम गर्छ, काम गरेरै आएको पार्टी हो । सरकारले फेरि पनि काम गर्नैपर्छ । आजसम्मका कमीलाई हटाउनुपर्छ, काम गर्नुपर्छ । योभन्दा अर्को विकल्प सोच्नुपर्ने वा भएन भने के होला भनेर आत्तिनुपर्ने कुनै कारण छैन ।

पार्टीमा छलफल, बहस स्वाभाविक

अवश्य पनि पार्टीभित्र विचार र कार्यशैलीमा विविधता हुन्छ । कसैले यस्तो विविधता हुँदैन भन्छ भने त्यो मनोगत मात्र हो । वास्तविकता भनेको जहिले पनि दुनियाँमा जहिलेदेखि राजनीतिक पार्टी जन्मिए, तबदेखि नै पार्टीभित्र विचारका विविधता देखिँदै आएका छन्, त्यहाँ छलफल हुन्छ, बहस हुन्छ ।

त्यसैले त बहुमतले निर्णय गर्नुपर्छ भन्ने मान्यता स्थापित भएका हुन् । सबैको धारणा एउटै हुने भए त बहुमत, अल्पमतको सिद्धान्त नै प्रतिपादन हुने थिएन । नेपालमा विचारमा विविधता नेकपा बनेपछि मात्र भएको हो र ? यो त जबदेखि पार्टीहरू जन्मिए, तबदेखि नै चल्दै आएको छ । फेरि एकपटक विविधता भएपछि सधैँ सबै विषयमा विविधता हुन्छन् भन्ने पनि होइन ।

आज एउटा समूहमा भएकाहरू भोलि अर्कै समूहमा पर्न सक्छन् । नेकपा बनेपछि हिजोको समीकरण नहुन सक्छ । त्यसकारण हिजोको आँखाबाट फलानो गुटबाट परे कि परेनन् भन्ने ढंगले हेर्नु हुँदैन । यदि त्यसरी हेरियो भने अधुरो, अपरिपक्व विश्लेषण हुन्छ । अहिलेको नयाँ अवस्थालाई नबुझी गरिएको विश्लेषण  हुन जान्छ ।

पार्टी भनेको केही बोल्नै नपाउने, भन्नै नपाउने भन्ने हुन्छ र ? पार्टी भनेको त्यस्तो हो र ? पार्टीमा आफ्ना कुरा राख्न पाइन्छ । मिडियामा आएजस्तो यो गुटको पर्‍यो, त्यो गुटको परेन भन्ने ढंगले छलफल भएका छैनन् । हाम्रो छलफल भनेको व्यक्तिले व्यक्ति छान्ने ढंगले पार्टी चल्ने होइन, विधि, पद्धति र मापदण्डका आधारमा संस्थागत ढंगले जाऔँ भन्नेमा हो, हाम्रो जोड त्यसमा हो ।

को व्यक्तिबारे के हुन्छ भन्ने ढंगले छलफल हुँदैन र हुनु पनि हुँदैन । हिजोका समूहका धारणाका आधारमा आदि, इत्यादि केही पनि होइन । पार्टीभित्र समूहगत स्थिति पनि होला तर अहिले त्यसलाई केन्द्रमा राखेर छलफल गरिएको छैन ।

पार्टीमा समस्या कहाँ ?

हामीले एकता गरेर जब ठूलो पार्टी नेकपा बनायौँ, अब हामी यो पार्टीलाई कसरी चलाउँछौँ ? भन्ने प्रश्न यतिवेलाको मूल प्रश्न हो । यद्यपि हिजो पनि हामी ठूला पार्टी (एमाले र माओवादी केन्द्र) थियौँ । हामीले यो पार्टीलाई निश्चित विधि, पद्धति र मापदण्डका आधारमा संस्थागत निर्णय गर्ने तरिकाले चलाउँछौँ अथवा यो पार्टीलाई व्यक्तिले व्यक्ति छनोट गर्ने विधिबाट चलाउँछौँ भन्ने यतिवेलाको सबैभन्दा मूल प्रश्न हो ।

बाँकी एकता प्रक्रिया कसरी अगाडि बढाउने, एकतापश्चात् पार्टीलाई कसरी चलाउने भन्ने प्रश्न अहिलेको मुख्य प्रश्न हो । त्यस प्रश्नमा हामीले विभिन्न ढंगबाट छलफल चलाइरहेका छौँ । त्यही छलफलका क्रममा मापदण्डका कुरा उठिरहेका छन् ।

सर्कुलर जारी हुँदैमा विधिसम्मत ढंगले काम भएको भन्ने हुँदैन । त्यसअघि कुनै मापदण्ड बने कि बनेनन् र त्यस्ता मापदण्डमा टेकेर संस्थागत निर्णय भयो कि भएन भन्ने हेर्नुपर्छ । कसैले निर्देशन गर्‍यो, त्यही मापदण्ड र विधि भयो भन्ने हुँदैन ।

म प्रस्टसँग भन्न चाहन्छु– सचिवालयमा मापदण्डको कुरा टुंगिएको छैन । केही साथीलाई विभिन्न पद (प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव) मा मनोनीत गर्दा पहिला तोकिएको आंशिक मापदण्डबाहिर गएर निर्णय गरिएको छ । थप मापदण्ड बनाएर जाऔँ भन्ने जुन छलफल चलिरहेको थियो, ती छलफल बीचैमा रोकिए । मापदण्ड नटुंगिई अर्को निर्णय भएकाले केही विवाद सिर्जना भएको हो ।

समाधान के ?

पार्टी भनेको समूह हो, व्यक्ति होइन । पार्टी व्यक्ति–व्यक्ति मिलेर बनेको हुन्छ । पार्टीको निर्णय सामूहिक हुन्छ । व्यक्तिले व्यक्ति छान्ने तरिका संस्थागत हुँदैन । त्यो व्यक्तिगत मात्र हुन्छ । संस्थागत ढंगले निश्चित विधि, पद्धति र मापदण्डका आधारमा जानेबित्तिकै सम्पूर्ण समस्याको समाधान हुन्छ । त्यो विधि, पद्धति र मापदण्डभित्र सबै काम पर्छन् र त्यसपछि सिस्टमले काम गर्न थाल्छ ।

त्यो अवस्थामा कसैले पनि चिन्ता गर्नुपर्ने स्थिति आउँदैन । को व्यक्ति कहाँ पर्छ भन्ने ढंगबाट हामीले मापदण्ड निर्धारण गर्छाैं भने समस्या हुन्छ । व्यक्ति नहेरी मापदण्ड बनाएर अगाडि बढ्ने हो भने फलानो हुन्छ कि हुँदैन, ढिस्कानो हुन्छ कि हुँदैन भनेर चिन्ता गर्नैपर्दैन । अहिले त विधि, पद्धति र मापदण्डतिर होइन कि फलानो नेता कि ढिस्कानो नेता भन्नेतिर लागेर बिग्रिएको हो ।

स्थितिलाई योभन्दा बढी बिग्रन दिनु हुँदैन । हामीले निश्चित मापदण्ड, विधि र पद्धतिका आधारमा संस्थागत निर्णय गरेर अगाडि बढ्नुपर्छ । त्यसरी जाने हो भने कसैले पनि गुनासो गर्नुपर्ने अवस्था बन्दैन, काम पनि फटाफट हुन्छन् । छलफल गरेर कमी–कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ । पहिला विधि, मापदण्ड तयार पार्नुपर्छ । त्यसैको आधारमा काम अगाडि बढाउनुपर्छ । त्यसपछि जो–जो पर्छन्, पर्छन्, त्यसमा विरोध पनि हुँदैन र गुनासो पनि हुँदैन ।

अन्त्यमा

फेरि पनि पार्टीलाई संस्थागत ढंगले चलाउने हो । निश्चित विधि, पद्धति र मापदण्डका आधारमा चलाउने हो । कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिलाई छान्ने तरिकाबाट जान हुँदैन । त्यो पार्टीगत, संस्थागत हुँदैन, व्यक्तिगत मात्र हुन्छ । जब संस्थागत हुँदैन भने त्यो संस्था हुँदैन । संस्था भएन भने पार्टी हुँदैन । त्यसकारण हामी पार्टीको पक्षमा, संस्थाको पक्षमा हुनुपर्छ । सबै संस्थागत ढंगले चल्नुपर्छ।

(डा. भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्)

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account