परशु प्रधानको अधुरो सपना

परशु प्रधानको अधुरो सपना

परशु प्रधानको अधुरो सपना

‘बानेश्वरको ठूलो खरिकोबोट नजिकै मेरो घर छ । यहीँ आउनुस् है त ।’ शुक्रवारकर्मीले भेट्न समय मागेपछि साहित्यकार परशु प्रधानले लोकेसन दिँदै आफ्नै घरमा निम्त्याए । उनले फोनमा आफ्नो लोकेसन प्रस्टै भनेका थिए । त्यहाँ पुग्दा उनी चोकमै बसेका रहेछन् मलाई लिन । ठेगाना प्रस्टै भने पनि घर ठम्याउन हम्मे होला भन्ने चिन्ता रहेछ ।

बिहान आफूै पत्रिका पसलसम्म नियमित आउने गरेका उनलाई बुढ्यौलीले मज्जैले छोएछ । उनको हिँडाइको चालले त्यही देखायो । तर, आत्मविश्वास भने उस्तै ।

‘म धेरै स्वस्थ थिएँ । २०७२ मा प्रोस्ट्रेट ग्रन्थीको अप्रेसन गरेपछि भने अलि कमजोर भएँ, आडैमा रहेकी श्रीमतीलाई हेर्दै उनले भने, ‘मर्छु कि भन्ने थियो भगवान्ले बँचाए ।’

२०१६ सालमा उनको पुस्तक छापिइसकेको थियो । कविता, कथा, उपन्यास र अन्य पुस्तक गरी ४० वटा पुस्तक प्रकाशित भइसकेका छन् । ७५ वर्ष टेकिसकेका साहित्यकार प्रधान अहिले पनि कथा लेखिरहेका छन् ।

‘एउटा पुस्तक निकालेपछि लेखनमा रस बस्दो रहेछ,’ उनले भने ।

ससुराली जाँदा फुरेको कथा
०२६ सालमै लोकसेवा जाँच दिएर टप गर्दै उनले शाखा अधिकृतमा नाम निकाले । त्यसपछि उनको जागिरे यात्रा सुरु भयो, स्थानीय विकास मन्त्रालयबाट । सरकारी जागिरे भए पनि उनको लेखनकर्म भने टुटेन, जागिरसँगै जारी रह्यो ।

०३६ मा प्रमुख जिल्ला अधिकारी भएर ससुराली गाउँ खोटाङ पुगे प्रधान । त्यहाँ डल्ले नामको खोला रहेछ । खोला सबैको कमाइ खाने भाँडो थियो । कसैलाई पैसा चाहियो कि डल्ले खोला देखाउँदै बजेट लिन्थे ।
सिंचाइ, पुल बनाउनेलगायतको बहानामा पैसा निकासा लियो खायो । उनले त्यही प्रवृत्तिलाई आधार बनाएर कथा लेखे ‘डल्ले खोला’ । त्यो कथा निकै रुचाइयो ।

‘त्यो कथा लेख्दा डर नलागेको होइन, धन्न त्यतिबेला केही गरेनन्,’ उनले भने, ‘समाजमा जे देखिन्छ त्यसलाई नै उतार्ने हो । कथाका विषयवस्तु सजिव पात्र हुनुपर्छ ।’

रियल पात्र 
उनका अनुसार साहित्य लेखनमा पात्र वास्तविकै लिन रुचाउँछन् । कहिले आफैंले भोगेको, कहिले समाजमा देखेको विषय र पात्र नै उनको साहित्यका विषय र पात्र हुन् रे ।

‘लीला’ नामक कथाको कथावस्तु उनकै जीवनको घटना हो । प्रधानका अनुसार उनको एक महिला साथीसँग राम्रो सम्बन्ध थियो । एकदिन ती साथीले उनलाई भेट्न बोलाइन् । भेटमा टिकट देखाउँदै २ महिनाका लागि मुम्बई जाने कुरा भनिन् । प्रधान पूरै सिरिङ भए ।

‘त्यतिबेला घर परिवार सबै सम्झिए अनि उनलाई जान्न भनेर फर्किएँ,’ प्रधानले भने, ‘त्यही पात्रलाई ‘लीला’ भन्ने कथामा उतारेँ ।’

‘राइटर भिलेज’ को सपना 
उनी विराटनगरमा ०५२ देखि ०६८ सम्म साहित्य सिर्जना गरेर बसे । त्यही बेला नै हो उनले वाणी प्रकाशनको सुरुवात गरे । ‘त्यहाँ मैले पूर्वाञ्चलमा रहेर साहित्य सिर्जना गर्ने लेखकलाई बाहिर घुमाउनेदेखि पुरस्कार वितरण गर्नेसम्म काम गरेँ,’ प्रधान भन्छन्, ‘त्यतिबेला वाणी प्रकाशनको त्रेज लायकको थियो । धेरै काम गरियो ।’

त्यहीँको बसाइमा उनले कल्पना गरेका थिए राइटर भिलेजको । करिब सयभन्दा बढी साहित्यकारले एक कठ्ठाको दरले जग्गा समेत किने । तर सपना भने पूरा हुन पाएन ।

‘त्यतिबेला साहित्यकारहरुले २० देखि ३० हजारसम्म नगद हालेर जग्गा किनेका थिए,’ नजिकै रहेकी प्रधानकी श्रीमती एवं बाल साहित्यकार कल्पना प्रधानले भनिन्, ‘तर तत्कालीन विद्रोही माआवादीले गरिखान दिएन त्यसै छुट्यो ।’

लेखक कुञ्जका लागि किनेको जग्गामा माओवादीले झण्डा गाडेपछि प्रधानको सपनामा ब्रेक लागेको रहेछ ।
पहिलेका कथाका तुलनामा प्रधानलाई अहिलेका कथाहरु बौद्धिक लाग्छन् । अहिलेका कथा बढी ज्ञान बद्र्धक रहेको उनको ठम्याइ छ । सहज सूचनाको सुविधाका कारण देश विदेशको कुरा सहजै थाहा पाउँदा त्यसले साहित्यमा गुणस्तरियता बढाएको उनको निष्कर्ष छ ।

‘पहिलेजस्तो अहिले पढ्न सकिँदैन, आँखा कमजोर भए, ‘प्रधानले भने, ‘कहिले कल्पनाले, कहिले मैले पत्रिका पढेर एकअर्कालाई सुनाउँछौँ ।’

पुरस्कारका लागि लबिङ
पुरस्कारका लागि धाउने, एउटा कविता लेखे पनि स्वघोषित साहित्यकार हुनेजस्ता प्रवृत्तिले भने उनको चित्त दुखाएको रहेछ । उनले सिद्धिचरण पुरस्कार समितिमा रहँदाको अनुभव सुनाए, ‘पुरस्कारका लागि धेरै साहित्यकार लबिङ गर्न आउँथे, पैसा, खानेकुरा बोकेर आउँथे ।’

अहिलेको अवस्था झन् खराब भएको उनको निष्कर्ष छ । राजनीतिसँगै साहित्यमा समेत भ्रष्टाचार, नातावाद, कृपावाद र घुसखोरी छिरिरहेको उनको ठहर छ ।

कोही माक्र्सवाद, कोही प्रजातान्त्रिक । प्रधानको धारणामा साहित्यमा कुनै वाद हुन्न ।
‘कसैले साहित्यमा वाद हुन्छ भनेर छुट्टाउँछ भने म त्यसलाई साहित्य मान्दिन । साहित्य जीवन्त हुनुपर्छ । बाँधिएर लेख्ने सहित्य होइन । साहित्य चरित्र हो, वाद होइन ।’

उनी क्रान्तिका लागि साहित्य लेख्ने भन्ने तर्कप्रति सहमत छैनन् । लेख्दै जाँदा दर्शन र विचार जन्मनसक्ने भए पनि साहित्य क्रान्तिका लागि नभई जीवनका लागि लेखिने उनको दृष्टिकोण छ ।

‘क्रान्तिका लागि त दस्तावेज लेखिन्छ साहित्य होइन,’ उनले भने ।

उनी यौन मनोविश्लेषणवादी कथाकारका रूपमा परिचित छन् । तर उनको नजरमा उनी विसंगति र सामाजिक प्रथाविरुद्ध कलम चलाउने लेखक हुन् ।

बीपी कोइराला, भवानी भिक्षु, शंकर लामिछाने र दौलतविक्रम विष्टबाट धेरै प्रवाहित भएको उनले लुकाएनन् । उनमा पुस्तकको बढो लगाम छ । उनको घरमा रहेको करिब ७ हजार पुस्तकले नै उनको पुस्तक प्रेम देखाउँछ । उनले ती सबै पुस्तकका पाना सुम्सुम्याइसकेका रहेछन् ।

कुराकानी लामै भयो । विट मारे । उनी लिन आएझैँ पु¥याउन पनि आफैँ अग्रसर भए । उनी घरको गेटसम्म आइपुगे बिदाइ गर्न ।
जाँदाजाँदै गेट नजिकै बन्द रहेको सटर देखाउँदै भने, ‘यहाँ मैले प्रिन्ट प्रेस पनि राखेको थिएँ, अहिले त बन्द भयो । जे कुरा पनि अस्थायी रहेछन् । जीवनै अस्थायी हो । यही बुझेर काम गर्नुपर्ने रहेछ बा ! जिन्दगीमा ।’

-Nagarik News

admin

leave a comment

Create Account



Log In Your Account