दोषी समाज !

दोषी समाज !

दोषी समाज !

दीपक ठकुरी

विश्वेश्वरप्रसाद कोइराला (१९७१–२०३९) मनोवैज्ञानिक कथाकार हुन् । उनको पहिलो प्रकाशित कथा चन्द्रवदन (१९९२) हो । उनका दोषी चश्मा (२०३२) र श्वेत भैरवी (२०३९) कथा संग्रह प्रकाशित छन् । यी दुई कथा संग्रहमा २० वटा कथा समाविष्ट छन् । दोषी चश्मामा केशवराजले चाकरीका क्रममा गरेको सामान्य गल्तीका कारण उसका मनमा उत्पन्न विविध मनोभाव प्रस्तुत गरिएको छ ।

वर्गीय सीमान्तीयता

दोषी चश्मा कथामा केशवराज, केशवराजकी दुलही, चाकरीबाज र सइसजस्ता पात्र वर्गीय रूपम सीमान्तकृत पात्र हुन् । उनीहरू दैनिकी चलाउन जर्साबको चाकरी गर्न बाध्य छन् । जर्साबको कृपादृष्टि उनीहरूमाथि नपर्ने हो भने घरपरिवार भताभुंग हुन्छ । उनीहरू आर्थिक रूपमा जर्साबमा निर्भर छन् । यसका साथसाथै उनीहरू हरतरहले जर्साबबाट शासित छन् । तसर्थ, उनीहरू वर्गीय रूपमा किनाराकृत पात्र हुन् ।
किनाराकृत पात्रका रूपमा रहेको केशवराज निम्न वर्गीय पात्र हो । ऊ आर्थिक रूपमा निकै कमजोर छ । केशवराजको दैनिक र आर्थिक हैसियतका सन्दर्भ प्रस्तुत साक्ष्य यस प्रकार छ ः
तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैंको जस्तो चाकरीमा गएका थिए तर ५ नबज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरैबेरसम्म आशाले बसिरहे ।

माथिको साक्ष्यमा केशवराजले जर्साबको चाकरी गरेर जीविका चलाउने गरेको सन्दर्भ पाइन्छ । ऊ सधैं जर्साबको चाकरी गर्न जान्छ । एक दिन जर्साबको सवारी ढिला हुने भएकाले अरू चाकरीयाहरू घर फर्के पनि ऊ जर्साबलाई कुरेर बसिरहेको छ । ऊ जर्साबको असल चाकरीयाका रूपमा प्रस्तुत भएको छ । ऊ जर्साबको इसारामा चलेको र जर्साबबिना बाँच्न नसक्ने पात्रका रूपमा प्रस्तुत भएको छ । केशवराजले राणाकालीन नेपाली समाजमा निमुुखा जनताले उच्च वर्गको चाकरी गर्ने गरेको प्रवृत्तिको प्रतिनिधित्व गरेको छ । ऊ जर्साबमा अधीनस्थ छ । तसर्थ, ऊ सीमान्तीय पात्र हो । केशवराज जर्साबमा कति परनिर्भर थियो भन्ने सन्दर्भको साक्ष्य यस प्रकार छ ः
केशवराजलाई बडो गाह्रो प¥यो । तिनका सारा आशा भरोसा मौसूफ जर्साब होइबक्सन्थ्यो र वहाँले यस्तो भूल धारणा मनमा लिइबक्स्यो भने त तिनको बासै उठ्थ्यो ।

दोषी चश्मा कथामा केशवराज, केशवराजकी दुलही, चाकरीबाज र सइस जस्ता पात्रहरू वर्गीय रूपम सीमान्तकृत पात्र हुन् । उनीहरू आफ्नो दैनिकी चलाउन जर्साबको चाकरी गर्न बाध्य छन्

लैंगिक सीमान्तीयता

केशवराजकी दुलही लैंगिक रूपमा सीमान्तीय पात्र हो । ऊ जर्साब र आफ्नै पति केशवराजबाट शासित छे । उसको घरगृहस्थीमा रहेको हैसियताका सन्दर्भमा प्रस्तुत साक्ष्य यस प्रकार छ ः
ननिदाएर छटपटाएको देखेर तिनकी पत्नीले सोधिन्,
‘किन निद्रा परेन ? केको दुःख छ ? मर्जी होस् न ।’ पहिले त केशवराजलाई यो प्रश्नमा रिस उठ्यो, काम न काज सबै कुरो जान्न खोज्छे । तर आफ्नो क्रोध काबूमा राखेर केबल ‘केही होइन’ भन्ने मात्र उत्तर दिए ।
माथिको साक्ष्यमा केशवराजकी दुलही निरीह पात्रका रूपमा प्रस्तुत भएकी छे । जोईपोइ एकै रथका दुई पांग्रा हुुन् भन्ने नेपाली उखान उसको जीवनमा चरितार्थ हुन सकेको छैन । पोइका बारेमा चासो राख्दा केशवराजले ठीकसँग प्रतिक्रिया दिएको छैन, केशवराज पितृसत्तात्मक सोचले ग्रस्त पात्र हो । उसले नारीले पुरुषको बारेमा चासो राख्नुहुँदैन भन्ने मानसिकता पालेको छ । त्यसैले ऊ दुलहीको जिज्ञासा मेट्न चाहँदैन । यसका साथसाथै उसले पुरुषका समस्या नारीले समाधान गर्न सक्दैनन् भन्ने पनि सोचेको छ । त्यसैले ऊ दुलहीसँग समास्याबारे छलफल गर्दैन । यसरी दुुलही आफ्नै पतिबाट शासित छे । उसको निर्णय प्रक्रियामा खासै स्थान देखिँदैन । तसर्थ, ऊ लैंगिक रूपमा सीमान्तीय पात्र हो ।

सीमान्तीय वर्गको आवाज

प्रस्तुत कथामा केशवराज र केशवराजकी दुुलही सीमान्तीय पात्रका रूपमा उपस्थित भएका छन् । केशवराज जर्साबप्रति निकै श्रद्धाभाव राख्दछ । उसले जर्साबलाई ठीकसँग स्वस्ति नगर्दा उसका मनमा खेलेका भावहरूको साक्ष्य यस प्रकार छ ः
यत्तिका दिन चाकरी गर्दा पनि केही बन्दोबस्त जर्साबबाट नहुँदा केशवराजले यस्ता जर्साबलाई के टेर्नु भनेर नटेरेको भन्ने जर्साबका मनमा प¥यो होला । ठूला मानिसहरू इज्जतका कुरामा बडा इखालु हुन्छन् र पछिसम्म सम्झिरहन्छन् ।
माथिको साक्ष्यमा सीमान्तीय वर्गको शासक वर्गप्रतिको आवाज प्रस्तुत भएको छ । सीमान्तीय वर्गले मनमा रिस उठे पनि शासक वर्गलाई खुसी तुुल्याउन दिनरात खटिएको सन्दर्भ पाइन्छ । सीमान्तकृतहरू प्रभुत्वशाली वर्गलाई रिजाए मात्र आफ्नो दैनिकी सञ्चालन हुने सोच्दछन् । उनीहरू प्रभुत्वशाली वर्गको विकल्पको खोजीमा लाग्दैन । बरु, जुुनसुकै अपमान र तुच्छता सहन बाध्य छन् भन्ने आवाज प्रस्तुुत भएको छ ।

सीमान्तीय वर्गप्रतिको लेखकीय दृष्टिकोण

लेखकको सीमान्तीय वर्गप्रति सहानुभूति रहेको छ । लेखकले तत्कालीन शासक वर्गले सीमान्तकृत वर्गलाई कसरी अधीनस्थ बनाएको छ भन्ने सन्दर्भ केशवराजका माध्यमबाट प्रस्तुत गरेका छन् । ठीकसँग स्वति नगर्दा नै गुजाराको माध्यम खोसिने जस्ता प्रसंगद्वारा लेखकले प्रभुत्वशाली वर्गको ज्यादती र क्रूरताप्रति व्यंग्य गरेका छन् । प्रभुत्वशाली वर्गले सत्ता र शक्तिका आडमा सीमान्तीय वर्गमा सन्त्रास फैलाएका छन् । यसका कारण सीमान्तीय वर्ग परनिर्भर भएका छन् । तसर्थ, सीमान्तीय वर्गको मानवअधिकार हनन गर्नुुहुँदैन र उनीहरू आत्मनिर्भर बन्नका लागि प्रजातान्त्रिक शासन व्यवस्था हुनुपर्छ भन्ने सीमान्तीय वर्गप्रतिको लेखकीय दृष्टिकोण रहेको छ ।

निष्कर्ष

दोषी चश्मा सीमान्तीय पात्रको मनोविश्लेषण गरिएको मनोवैज्ञानिक कथा हो । यस कथामा केशवराज, केशवराजकी दुलही, चाकरीया र सइसलगायताका सीमान्तकृत पात्रको उपस्थिति रहेको छ । केशवराजले तत्कालीन समयको सीमान्तीय वर्गको प्रतिनिधि गरेको छ । केशवराज सीमान्तीय वर्गको प्रतीक हो । यस कथामा वर्गीय र लैंगिक रूपमा सीमान्तकृत पात्रको उपस्थिति रहेको छ । लेखकले सीमान्तीय वर्गप्रति सहानुभूति प्रकट गरेका छन् । दोषी चश्मा कथामा केशवराजको चश्मालाई दोषी देखाइएको व्याख्या तथा विश्लेषण नेपाली साहित्यमा हुँदै आएको छ । तर, सीमान्तीयता दृष्टिले अध्ययन गर्दा केशवराजको चश्मा नभएर उनी बाँचेको समाजका कारण उनमा मानसिक तनाव सिर्जना भएको देखिन्छ ।

admin

leave a comment

Create Account



Log In Your Account