फट्के तर्दै नेपाल प्रज्ञा प्रतिष्ठान

फट्के तर्दै नेपाल प्रज्ञा प्रतिष्ठान

फट्के तर्दै नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान यतिबेला पदाधिकारीविहीन छ। प्रज्ञाले विगतमा के गर्‍यो भन्दा पनि अब कस्तो नेतृत्व आउला र र तिनले के गर्लान् भन्नेमा सबैको ध्यान तानिएको छ। पछिल्ला वर्षमा प्रज्ञालाई आफ्नो वर्चस्व बचाउन मात्र हम्मे परिरहेको छ। वैरागी काइँलापछि कुलपतिकै रूपमा गंगाप्रसाद उप्रेतीको चारबर्से कार्यकाल पनि सकिएको छ। संरक्षक प्रधानमन्त्री हुने व्यवस्थाले अबको नेतृत्व र प्राज्ञ परिषद् एवं प्राज्ञ सभाको टुंगो चाँडै लाग्ने अपेक्षा गर्न सकिन्छ।

प्रज्ञाको भविष्य कोर्न पनि यसको विगत र वर्तमानलाई बुझ्न जरुरी छ। कार्यभार सम्हाल्नुअघि पूर्वकुलपति उप्रेतीले भनेका थिए, ‘प्रज्ञा प्रतिष्ठानलाई प्रज्ञा प्रतिष्ठान बनाउने लक्ष्य र ध्येय हुनेछ।’ तर पनि उनले आफ्नो चारबर्से कार्यकालमा सबै लक्ष्य पूरा गर्न सकेनन्।

नेपाल प्रज्ञा प्रतिष्ठान २०१४ असार ९ गते नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन र सर्वाङगीण विकासका निम्ति स्थापना गरिएको संस्था हो। नेपाली साहित्य कला एकेडेमी, रोयल नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै अहिले नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा परिचित छ यो। जसमा ११ सदस्यीय प्राज्ञ परिषद् र ३६ सदस्यीय प्राज्ञ सभा छन्।

पद्य, गद्य आख्यान, समालोचना–निबन्ध, लोकवार्ता–बालसाहित्य, मातृभाषा साहित्य, अनुवाद, नेपाली भाषा कोश व्याकरण, मातृभाषा, संस्कृति, दर्शन र सामाजिक शास्त्र गरी ११ वटा प्राज्ञिक विभागमार्फत अनुसन्धानलगायतका काम भएका छन्।

अनुसन्धानमूलक प्राज्ञिक काम

सामान्यतः अन्यत्र नपाइने पुराना कृतिले बाँचेको छ, प्रज्ञा। तर विगतमा जे भए पनि पछिल्ला चार वर्ष प्रतिष्ठान अनुसन्धानमा केन्द्रित रहेको कुलपति उप्रेतीको भनाइ छ। ‘पौरस्त्य दर्शनमा भौतिकवाद’, ‘चाडपर्वको घर नेपाल’, ‘नेपाली उपन्यासमा गणतान्त्रिक चेत’, ‘लेख्य नेपालीको एकरूपीकरण’, ‘नेपाली वर्णविन्यासको मानकीकरणको इतिहास’ जस्ता दर्जनौं अनुसन्धानात्मक कृति प्रकाशित छन् भने ‘लोपोन्मुख खुना भाषाः एक अध्ययन’, ‘समकालीन पाश्चात्य साहित्य समालोचना सिद्धान्तका प्रणेताहरू’, समकालीन नेपाली कविताको समाजशास्त्र’ जस्ता पुस्तक प्रकाशोन्मुख छन्।

यस्तै अनेकौं शब्दकोष, दर्शन विधाका पुस्तक तथा मातृभाषाका थुप्रै कृति पनि प्रकाशित र प्रकाशोन्मुख छन्। ‘पछिल्लो कार्यकालमा विभिन्न विधाका १०५ महत्वपूर्ण कृतिहरू प्रकाशन भइसकेका छन्’ तत्कालीन सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले जानकारी दिए, ‘अढाई दर्जन कृति छापाखाना पठाइएका छन्। यसरी नै करिब दुई दर्जन अन्य कृति सम्पादनपश्चात् प्रकाशनमा पठाइने तयारीमा छन्।’

अनुसन्धानमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’, अनुसन्धानमूलक अंग्रेजी अर्धवार्षिक ‘जर्नल अफ नेपलिज लिटेरेचर, आर्ट एन्ड कल्चर’ लगायत एक दर्जन पत्रिका निरन्तर प्रकाशित छन्। प्रज्ञाको यो कार्यावधिमा भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित अनुसन्धान परियोजनाअन्तर्गत जम्मा एक सय ८३ अनुसन्धान प्रतिवेदन पनि तयार पारिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध

प्रतिष्ठानले यसबीच चीन, भारत, पाकिस्तान र बंगलादेशसँग प्राज्ञिक आदानप्रदान सम्झौता गरेको छ भने श्रीलंका र इजरायलसँग सम्झौताको तयारी हुँदैछ। चीन लेखक संघ र चाइना एन्ड साउथ एसिया लिटरेचर फोरमसँग सहकार्य भइरहेको छ। त्यस्तै देवकोटा, समदेखि वर्तमान पुस्तासम्मका प्रतिनिधि कविता छनोट गरी पाँचवटा देशबाट अनुवाद गरी प्रकाशन हुँदैछ। पूर्वकुलपति उप्रेती भन्छन्, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा खासै अघि बढ्न नसकेकाले हामीलाई चुनौती थियो, तर अब धेरै काम भएका छन्, अरू देशका लागि पनि बाटो खुलेको छ।’

इ–लाइब्रेरी र संग्रहालय

यसै कार्यकालमा नेपाल–भारत मैत्री भवनमा अत्याधुनिक पुस्तकालय सञ्चालन गरिएको छ। यसलाई इ–लाइब्रेरीमा विकास गर्न भइरहेको ‘क्याटलगिङ’ को काम अन्तिम चरणमा पुगेको छ। हालसम्म यस पुस्तकालयमा २७ हजार तीन सय १२ पुस्तक छन्। सरकारले प्रेस र भवन गरी १५ करोड र भारतले पाँच करोड खर्चिएर पुस्तकालय भवन बनेको छ। ‘क्याटलगिङको काम सकेलगत्तै प्रतिष्ठानमा रहेका सबै पुस्तक अनलाइन पढ्न सक्ने बनाउँछौं’ उप्रेती भन्छन्, ‘यससँगै सम्झौता भएका देशका पुस्तकालयका कृति पनि अनलाइनबाटै पढ्ने व्यवस्था गरेका छौं।’

सरकारले प्रज्ञालाई वार्षिक १२ करोड रुपैयाँ दिन्छ, आन्तरिक आय एक करोड छ। २० करोडमा अहिले प्रतिष्ठानको भवन रेट्रोफिटिङ अन्तिम चरणमा छ। यो भवन २०२६ सालदेखि तत्कालीन राजा महेन्द्रले एक करोड १५ लाख खर्चिएर सञ्चालनमा ल्याएका थिए। प्रज्ञा आफ्नो खाली जग्गामा बहुद्देश्यीय व्यापारिक कम्प्लेक्स बनाउने तयारीमा पनि जुटेको छ। पुस्तकालयछेउमा अर्को साततले प्रशासनिक भवन बनाउने तयारी पनि छ, जसमा हालका सबै काम सारेपछि अहिलेको भवनमा ‘साहित्यिक संग्रहालय’ बनाउने गरी काम अघि बढाएको उप्रेतीको भनाइ छ।

१२५ जात र १२३ भाषा भएको मुलुकमा सबै भाषा, साहित्य र संस्कृतिको प्राज्ञिक विधाको संरक्षण, संवद्र्धन र विस्तार गर्न सकेको छैन।

तीनवटै प्रज्ञा एकै ठाउँ

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने तयारी अघि बढाएको छ। यसअघि पनि यस्ता पहल भएका थिए तर सम्पत्ति र आन्तरिक आयजस्ता विषय मिल्न नसक्दा काम अघि बढ्न सकेको थिएन।

संघीय सरकारले चालु आवको नीति तथा कार्यक्रममा यसबारे प्रस्ट बोलेको छ। ‘प्रधानमन्त्रीज्यूले तीनवटै प्रज्ञा प्रतिष्ठानलाई एक बनाउने गरी काम अघि बढाउन वातावरण मिलाउनुभएको बुझेको छु’ पूर्वकुलपति उप्रेती भन्छन्, ‘अब यसले चाँडै गति लिनेछ।’

अबको चुनौती

‘नेपालीभाषीको प्रज्ञा प्रतिष्ठान भन्थे, सबैको बनाउनुपर्ने चुनौती थियो’, पूर्वकुलपति उप्रेती भन्छन्, ‘त्यसमा धेरै हदसम्म सफल भयौं।’ कुलपतिको दाबी जे भए पनि प्रतिष्ठानले अझै लेखक तथा साहित्यकारहरूलाई अपनत्वको आभास दिलाउन सकेको छैन। जेजति लगानी गरेर विगतदेखि प्रतिष्ठानले हजारौं कृति प्रकाशन गरेको छ, तिनलाई पाठकसाम्म पुर्‍याउन सकेको छैन। पाठक तिनै पुस्तकको खोजीमा छन् तर पुस्तक गोदाममा छन्।

बजेट अभाव देखाउँदै प्रज्ञा कैयन् जिल्लामा पुगेको छैन। १२५ जात र १२३ भाषा भएको मुलुकमा सबै भाषा, साहित्य र संस्कृतिको प्राज्ञिक विधाको संरक्षण, संवद्र्धन र विस्तार गर्न सकेको छैन। कतिसम्म भने प्रज्ञाले चीन र भारतमा समेत नेपाली पुस्तक पुर्याउन नसकेको अवस्था छ।

-Annapurna Post

admin

leave a comment

Create Account



Log In Your Account