देवीका मन्त्र र मान्यजनले दिने आर्शिवादका मन्त्र

देवीका मन्त्र र मान्यजनले दिने आर्शिवादका मन्त्र

बडादशैँका बेला मान्यजनका हातबाट टीका , जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गाभवानीको प्रसाद स्वरुपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्रहरु उच्चारण गर्ने गरिन्छ । मन्त्रहरुसँगै विभिन्न आर्शिवाद पनि दिने चलन छ । संस्कृतका मन्त्रहरुमा धन , मान , ऐश्वर्य , बल , आयु , स्वास्थ्य , ज्ञान , शान्ति मनोकामना पुर्ण लगायतका सुभेच्छा सहित आर्शिवाद दिने गरिन्छ । विभिन्न मन्त्रहरु भएपनि नेपाली समाजमा दुईवटा मन्त्र बढि प्रचलित छ । आयु द्रोणसुते श्रीयो दशरथे भन्ने मन्त्र पुरुषहरुलाई टीका लगाइदिदा उच्चारण गर्ने मन्त्र हो । यसैगरी जयन्ति मंगला काली भद्रकाली कपाली भन्ने मन्त्र महिलालाई टीका लगाइदिदा उच्चारण गर्ने गरिन्छ ।
पुरुषलाई टीका लगाईदिदा उच्चारण गर्ने दिने मन्त्र या आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो । अष्ट चिरन्जीवी मध्ये एक पर्ने अस्वत्थामाको आयु यो ब्रम्हाण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ । मन्त्रका क्रममा श्रीयो दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो । यसैगरी शत्रुक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्रु नाश होस् भन्ने हो । रामका शत्रु सबैको नाश भएजस्तै टीका थाप्नेहरुको पनि शत्रुहरु नाश होउन् भन्ने शुभेच्छा हो । ऐश्वर्यं नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो । जिवनमा सधै हाँसी खुसी रहनुपरोस् , दुख नपरोस् , मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ । यसैगरी गतिश्च पवने भन्नाले पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो । हनुमानको गति यति छिटो थियो की उनले आफ्नो गतिमा लाखाँै कोस समुन्द्रपारी लंका पुगेर माता सीताको पत्ता लगाएका थिए ।

अहिलेको आधुनिक युगमा पनि उनै हनुमानको जस्तो गतिका साथ हामी मानव अगाडी बढ्नुपर्छ । टीका थाप्ने मन्त्रमा मानञ्च दुर्याेधने पनि भनिन्छ । यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो । दुर्योधनले आफुले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ । यसैगरी दानं सूर्यसुत भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो । अहिलेको युगमा दान महत्वपुर्ण छ । कसैका लागी सानो दान पनि महत्वपुर्ण हुनसक्छ तसर्थ द्धापर युगमा कर्णले दान गरेजस्तै हुनु भनेर आर्शिवाद दिइने चलन छ । कर्णले आफुलाई जस्तै दुख पर्दा पनि दान गर्न छोडेका थिएनन् । बलं हलधरे भन्नाले हलो बोकेर हिड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ । बल वीना कसैको अस्तीत्व हुँदैन । अहिलेको समाजमा मुडे बल मात्र नभई बुद्धि सहितको बल चाहीन्छ । यसैगरी सत्यञ्च कुन्तीसुत भनेर टीका जमरा लगाउँदा मान्यजनले आशीस दिन्छन् । यसको अर्थ कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो । सत्य बलवान छ , सत्य कहिल्यै लुक्दैन र सत्य जसले गर्छ त्यो सफल हुन्छ । युधिष्ठीरले पनि जिवनमा सत्य मात्रै बोले र ब्यवहारमा पनि उतारे । जसका कारण असत्यका प्रतिक कौरब पराजीत भए । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाटआशीवाद दिने गरीन्छ ।
महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद
ॐ जयन्ति मंगला कालि,भद्रकालि कपालिनि ।
दुर्गा क्षमा शिवा धात्रि, स्वाहा स्वधा नमोस्तु ते ।
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने मान्यता नेपाली समाजमा छ । पुर्व या पश्चिम फर्किएर टीका ग्रहण गर्दा राम्रो हुने मान्यता छ । दशैँमा रातो टीका र जमरा लगाउने गरिएपनि कुनै कुनै समुदायले भने सेतो टीका पनि लगाउने गर्छन् । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । यसपाली टिकाको उत्तम साइत अशोज १४ गते शनिबार विहान ११ बजेर ५५ मिनेटमा रहेको छ ।

देवी विसर्जन मन्त्र
नवरात्रभर देवीलाई पुजा आजा गरि विजया दशमीका दिन विसर्जन गरिन्छ । देवी विर्सजन १४ अशोज शनिबार विहान ८ बजेर १ मिनेटमा उत्तम साइत रहेको छ । देवी विसर्जनका बेला पनि निम्न मन्त्र उच्चारण गरिन्छ ।
’आवाहनं नजानामि नजानामि विर्जसनम् ।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। घरका जेष्ठ ब्यक्तिले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई प्रसाद तथा दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यजनकहाँ दसैँको टीका लगाउन जाने परम्परा छ ।
नवदुर्गा पूजा गर्दा भनिने श्लोक
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चंद्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।
पंचमं स्कन्दमातेति, षष्टम कात्यायनीति च।
सप्तमं कालरात्रीति, महागौरीति चाष्टमं ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।

हिन्दूहरूका विभिन्न चाडमध्ये प्रमुख चाड दशैँ देशभर सबै भन्दा धेरै मानिसले मनाउने गर्छन् । विजया दशमी र ठूलो दशैँका नामले पनि चिनीने दशैँमा शक्तिको उपासना गरिन्छ । शक्ती स्वरुपा देवीको ध्यान र पुजा आजा गर्नाले ज्ञान , सम्पत्ति र सुख सन्तोष बढ्ने विश्वास छ । नेपाल भाषामा मोहनीका नामले चिनिने दशैँलाई हिन्दीमा नवरात्री भन्ने गरिएको छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म विभिन्न देवीको पूजापाठ, ब्रत र उत्सवकासाथ मनाइने चाड भएका हुनाले यसलाई ’दशैँ’वा ’विजया दशमी’ का नामले पनि चिनिन्छ ।
बडादशैँका बेला नवदुर्गाको पुजा गरिन्छ । नौ दिनमा हरेक दिन छुट्टाछुट्टै देवीको पुजा अर्चना गर्ने चलन छ । विभिन्न दानबमाथी देवीले विजय प्राप्त गरेको खुसीयालीमा दशै मनाउने गरिएको किम्बदन्ति छ । नवदुर्गा भवानीले चण्ड मुण्ड , सुम्भ निसुम्भ , रक्तविज सहित दानव महिषासुरलाई बध गरेको खुसीयालीमा दशैँ मान्ने गरिएको कथन छ । विभिन्न नौदेवीले दानवलाई मारेको स्मरणमा नवरात्रका नौदिन अर्थात घटस्थापना देखी नवमीसम्म देवीको पुजा गरिन्छ । विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको नौरूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

नवरात्रका नौ देवी

शैलपुत्रि : दशैको पहिलो दिन अर्थात घटस्थापनाका दिन यी देवीको पुजा गरिन्छ । शैलपुत्रिलाई हिमालय पर्वतकी पुत्रि पार्वतीको रुपमा लिने गरिएको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधीवत रुपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रिको पुजा अर्चना गरीने चलन छ ।

ब्रम्हचारीणी : दशैका नौ दिनलाई नवरात्र भनिन्छ । हरेक दिन विभिन्न देवीको पुजा गरिएझै , दोस्रो दिन ब्रम्चारीणीको पुजा गरिन्छ । यिनलाई शैलपुत्रिको अर्को रुप पनि मानिन्छ । सतिदेवीले पार्वतीको रुप धारण गरेपछि उनले महादेवलाई पाउन पुन तपस्या गरेकीले उनको नाम ब्रम्हचारीणी रहेको हो । यी देवीले दाहीने हातमा जपमाला र देव्रे हातमा कमन्डलु लिएकी हुन्छिन् ।

चन्द्रघन्टा : बडादशैँको तेस्रो दिन पुजिने देवी चन्द्रघन्टा हुन् । सिंहमाथी आसिन देवीको ५ मुख र १० हात छ । हातमा घन्टा लिएकी देवीसँग दानवहरु त्रसित हुन्छन् । उनिहरु देवीको सुर्वण रुपबाट त्रसित भएका हुन् ।

कुष्मान्डा : आठ हात भएकी देवी कुष्मान्डाको चौथो दिन विशेष पुजा अर्चना गरिन्छ । सुर्य मण्डलामा वस्ने यी देवीको तेज सुर्यको जति नै हुने देवी भागवतमा उल्लेख छ । उनको अट्टाहसमा ब्रम्हान्डको उत्पत्ति देखी विनास गर्न सक्ने क्षमता रहेको छ ।

स्कन्दमाता : बडा दशैँको पाँचौँ दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पुजा गरिन्छ । श्वेत वर्णकी स्कन्दमाताको तीन आखाँ , चार भुजा छन् । देवी कमलको फुलमाथी आसिन छिन् ।

कात्यायनी : कात्यायनी देवीको तीन आँखा र आठ हात छन् । बडादशैँको छैटौ दिन पुजिने यी देवीको नामका सन्र्दभमा पौराणिक कथन छ । कात्यायनबाट भएको देवी माताले कात्यायनको छोरीको रुपमा जन्म लिएकाले यी देवीको नाम कात्यायनी भएको उल्लेख छ ।

कालरात्री : बडादशैँको सातौ दिन कालरात्री देवीको पुजा गरिन्छ । कालो वर्ण भएकी कालरात्री देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् । चार हात भएकी देवीको चारै हातमा तरवार, मसाल र वरमुद्रा लिएकी हुन्छिन् । फुलपातीका दिन पुजिने देवी यहि हुन् ।

महागौरी : अष्टमीका दिन पुजा गरिने देवी महागौरी हुन् । गोरुमाथी चढ्ने कालो वर्ण , श्वेत बस्त्रधारण गरेकी देवीको ३ आखाँ र ४ हात छन् । यस दिन घरघरमा बोका , हास , कुकुरा, घिरौलाको वलि दिइन्छ ।

सिद्धिदात्री : विजया दशमीको अघिल्लो दिन सिद्धिदात्री देवीको विशेष पुजा गर्ने चलन छ । भगवान शिवले यिनै देवी आराधाना गरेर सिद्धी प्राप्त गरेकोले यिनलाई सिद्धदात्री प्राप्त गरेकाले यिनीलाई सिद्धदात्री भनिएको हो । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ । विभिन्न शक्ति स्वरुपा देवीका मन्दिरहरुमा देवीको दर्शन गर्नाले शक्ति प्राप्त गर्ने जनविश्वास छ ।
यसैगरी भगवान रामले रावणमाथी विजय पाएको उत्सवका रुपमा दशैँ मनाउन थालिएको धार्मीक ग्रन्थमा उल्लेख छ । रावणको हत्याचारलाई परास्त गर्न मर्यादा पुरुषेत्तम रामले नौदिन सम्म विभिन्न नौदेवीको उपासना गरि दशौँ दिन रावणलाई बध गरेको खुसीयालीमा दशैँ मनाउन थालिएको हो ।

स्रोत-राजधानी दैनिक

admin

leave a comment

Create Account



Log In Your Account