सुरेखाको सुर

सुरेखाको सुर

सुरेखाको सुर

भारतको आसामस्थित गुवाहाटी सहरको एउटा कुनामा छ, नेपाली बस्ती। तीन करोड जनसंख्या भएको आसाममा १६ लाख नेपाली छन्, छरिएर बसेका। ती लाखौं नेपालीको सेलिब्रिटी बनेकी छन्, सुरेखा क्षेत्री।

आफ्नो कति पुस्ताले आसामको त्यो नेपाली बस्तीमा जीवन गुजारे, सुरेखालाई त्यसको हेक्का छैन। कति पुस्ताअघि आफ्ना बाउबाजे आसाम आइपुगे त्यो पनि उनलाई थाहा छैन। आफ्नो पुर्खा सयौं वर्षअघि नेपालबाट आसाम आइपुगेको मात्र सुनेकी छन् उनले। उतै बित्यो पुस्तौं पुस्ता। नेपाली भाषा, संस्कृति र नेपालीपनले पछ्याउन पनि छाडेन। गीत, संगीत र साहित्य बनेर त्यो पुरानो चिनारी आज पनि बेलाबेला झल्किरहेकै छ। आसामको रस्तीबस्तीमा गुञ्जिने भाकामा उनले नेपाली भाका मिसाएर गीत गाइन्, ‘मायाको सुवास छर्न खोज्छु म, नेपाली भए नि असमिया हुँ म…।’

भारतीय संगीत भन्नेबित्तिकै बलिउड नगरीको तामझामपूर्ण गीत दिमागमा आउन सक्छ। तर, सुरेखाले गाएको गीतमा चौबन्दी चोली, हरियो पोते, शिरमा शिरबन्दी, कानमा ढुंग्री र कुण्डल लगाएर आसामका डाँडापाखामा उनी आफैं मोडेल बनेर नाचिन्। उनको गीत नेपालमै गुञ्जिने टिपिकल नेपाली गीतझैं लाग्छ। भिडियो हेरेपछि प्रश्न सोध्न मन लाग्छ, ‘यस्तो पनि भारतीय संगीत हुन्छ र !’ त्यही गीतले युट्युबमा ७२ लाख भ्युअर्स बटुल्यो। भ्युअर्स बढ्ने क्रम अझै जारी छ। त्यो गीत बज्न थालेपछि सुरेखा सेलिब्रिटी बनिन्।

भारतका ठाउँठाउँमा नेपालीभाषीको बाक्लो बसोबास छ। इतिहासकारका अनुसार त्यहाँ पुगेका नेपाली सयौं वर्षअघि नेपालबाटै गएका हुन्। भारतसँगै बर्मा र भुटानसम्म पुगेका छन् नेपाली। ब्रिटिसको कब्जामा भारत पर्नुअघि र पछि समयसमयमा नेपाली त्यहाँ पुगेको इतिहासविद्को भनाइ छ। त्यही सिलसिलामा थुपै्र नेपाली बसाइँ सरी आसाम पुगे। त्यहीँ बन्यो बस्ती। त्यहीँको नागरिक भने। त्यही नेपालीभाषी बस्ती र आसामीभाषी सुरेखाको सुमधुर आवाजको फ्यान बनेका छन्।

साउने झरीले काठमाडौं भिजेको थियो। सडकमा धुलो थिएन। बरु हिलाम्मे थियो सडक। गाडीको चर्को आवाज कानमा ठोक्किन आइपुग्थ्यो। सडकका खाल्टाखुल्टीमा पानी जमेको थियो। भिज्दै हिँडेका थिए बटुवा। साउनको अन्तिम साता यस्तै वातावरणबीच पुतलीसडकको एक संगीत कला केन्द्रमा हार्मोनियमअघि आलाप तानिरहेकी भेटिइन्— सुरेखा।

संगीत सिक्न काठमाडौंभन्दा मुम्बई उपयुक्त सहर हो। सम्भावना, संघर्ष र उपलब्धि काठमाडौंभन्दा मुम्बईसँग धेरै छ। तर, उनी काठमाडौंको एक संगीत कला केन्द्रमा हार्मोनियमअगाडि पलेँटी कसेर गीत गाउँदै थिइन्। बीचबीचमा लामो आलाप तान्थिन्। भन्छिन््, ‘काठमाडौंमा अझै एक साता बस्छु। त्यतिन्जेल यहाँ गायनको नयाँ टेक्निक सिक्दैछु। रमाइलो लागिरहेको छ।’

शिक्षक कि सिंगर ?

अढाई दशकअघि आसामको गुवाहाटीस्थित वीरकुचीमा जन्मिइन् सुरेखा। संगीतमय पारिवारिक माहोलमा हुर्किन्। बुवा कृष्ण क्षेत्री पनि गीत गाउँछन्, गीत लेख्छन्। आमा गोमादेवी क्षेत्री नृत्य गर्छिन्। दिदी र भाइ पनि संगीतमै छन्। सानैदेखि बुवासँगै स्टेजमा गाउन सिकिन् सुरेखाले।

मध्यमवर्गीय परिवारमा हुर्किएकी सुरेखाले फाइनान्समा स्नातकोत्तर पास गरिन्। पढाइ सकिएपछि कलेज पढाउन कयौं ठाउँबाट अफर आयो। उनको जीवनमा दुई बाटा देखिए— शिक्षक बन्ने कि सिंगर ? अन्ततः सिंगर बन्ने निष्कर्षमा पुगिन् उनी। सुरेखालाई क्याम्पसका कोठामा लेक्चर दिँदै हिँड्न मन लागेन। संगीतमै केही गर्ने सपनाले शिक्षक बन्ने बाटो त्यागिन्। रोजिन् सारेगमपको बाटो। भन्छिन्, ‘कलेजमा पढाउने अफर त्यागिदिएँ। किनकि मलाई संगीत क्षेत्रमै केही गर्नु छ। सिंगिङमा नलागेको भए सायद शिक्षक बन्थेँ।’ क्याम्पस पढाउन थालेको भए अहिलेको भन्दा स्ट्यान्डर्र्ड लाइफ बिताइरहेको हुन्थेँ भन्ने उनलाई लागेकै छ।

सानैदेखि संगीत सिकिरहेकी सुरेखाले पढाइ पूरा गरेपछि संगीतको नयाँ उडान भर्न सुरु गरिन्। आसामदेखि परपरसम्म उनको माग बढ्न थाल्यो। म्रिनाल वैष्णवको शब्द, चन्दन दासको संगीत र सुरेखाको स्वरमा नेपाली लोक भाका मिसिएको गीत सार्वजनिक भइसकेपछि उनको चर्चा चुलियो। अघिपछि दसैंतिहार, तीज र भानुजयन्तीमा मात्रै माग हुने सुरेखाको त्यो गीतपछि जताजतै माग बढ्यो। महिनैपिच्छे स्टेज प्रोग्राममा व्यस्त हुन थालिन्। जब उनी स्टेजमा माइक समाएर उभिन्छिन्, तलबाट हुटिङ सुरु हुन्छ। एउटै स्टेजमा एउटै गीत पटकपटक गाइन्। सुनाउँछिन्, ‘जतिपटक गाए पनि वान्स मोर, वान्स मोर आउँछ। एउटै स्टेजमा ६ पटकसम्म गाएकी छु।’

नेपालको सिमानाबाहिर नेपाली मन जोड्ने रसायन बनेको छ यो गीत। फ्यानहरू उस्तै हौसला दिन्छन् उनलाई। भन्छिन्, ‘गीत मन पराएर सुन्नेहरूले ‘कहिल्यै नहराउने गीत’ भनिदिँदा असाध्यै खुसी लाग्छ।’ गीतले सुरेखालाई आसाम, दार्जिलिङ, सिक्किम, नेपालमा मात्रै चिनाएन; मुम्बईमा समेत चिनायो। भन्छिन्, ‘बुम्बईमा बलिउडका म्युजिसियन प्रीतमको स्टुडियोमा पनि यो गीत बच्छ भन्ने सुनेकी छु।’

करिब एक दशकको संगीत यात्राले सुरेखालाई केही अवार्ड पनि दिलायो। उनले त्यही चर्चित गीतबाट ‘बेस्ट फिमेल डेब्यु सिंगर अवार्ड’ हात पारिन्। आसामकै एक ठूलो एफएम रेडियोबाट उनले त्यो अवार्ड हात पारेकी हुन्। त्यसपछि सोही रेडियोबाट यसै वर्ष उनको अर्को गीतबाट पनि ‘बेस्ट फिमेल सिंगर अवार्ड’ जितिन्। उनी एक दर्जनभन्दा बढी भाषामा गीत गाउन पनि सक्छिन्। कैयौं भाषामा गीत गाइसकिन्। भन्छिन्, ‘नेपाली, आसामी, हिन्दी, राजस्थानी, बिहारी, मणिपुरी, बेङ्गोली, भोजपुरी, पन्जाबी लगायतका भाषामा गीत गाइसकेकी छु।’

काठमाडौंमा दिदीको घरमा बस्दै आएकी सुरेखा अचेल गीत रेकर्डिङमा व्यस्त छिन्। केही फिल्मसँगै तीजको गीतमा समेत स्वर दिइसकिन् उनले। भन्छिन्, ‘थुपै्र अफर आएका छन्। नेपालमा पाएको मायाले हौसला मिलेको छ।’

-Annapurna Post

admin

leave a comment

Create Account



Log In Your Account