क्याटोगरी बाहिरका पावरफुल कवि

क्याटोगरी बाहिरका पावरफुल कवि

क्याटोगरी बाहिरका पावरफुल कवि

कृति अधिकारी अनि युक्ता बज्राचार्य शब्दमार्फत् आगो ओकल्छन् । सामाजिक विकृति, राजनीतिक विचलन अनि समाजमाथि चोटिलो प्रहार गर्छन्, यी दुई चेली । ‘वर्ड वारियर्स’ समूह हो उनीहरुको परिचय । नामझैँ लडाकु छन् उनीहरुको शब्द पनि । वाचन शैलीको त के कुरा, गजबै हुन्छ !

स्ल्याम पोइट्रीको शैलीमार्फत पत्याउनै नसकिने गरी युवापुस्तालाई कविताको रसमा घोल्न सक्रिय छन् र उनीहरुसँगै उज्ज्वला महर्जन लगायतका अन्य धेरै युवा पनि यसमा आफ्नो उपस्थिति जनाइरहेका छन् । विकृती विरुद्धको प्रहारमा उत्तिकै सक्रिय छन् उनीहरु तर समाजले कवि र कविताको क्याटागोरीलाई जे जसलाई राखेका छन्, त्यो क्याटागोरीमा उनीहरु पर्दैनन् ।

आठ वर्ष भयो उनीहरु एकीकृत हुन थालेको । यी आठ वर्षमा उनीहरुको समूहमा रहेका युवा समूह हेर्दा पत्याउनै मुस्लिक पर्छ, यिनीहरु पनि कविता लेख्लान् भनेर । उनीहरुको कविता मात्रै लेख्दैनन्, वाचन गर्दा आगो ओकल्छन् शब्दमार्फत ।

युवा समूह बढोस् र आवाज फराकिलो बनाउन सकियोस् भनी उनीहरु  प्रतियोगितासमेत आयोजना गर्छन् । यस्तै प्रतियोगिताबाट सार्वजनिक भएकी प्रतिभा हुन्, कृति ।

उनीहरुको कविताका शब्द बुझ्न त्यत्ति धेरै माथापच्ची पनि गर्नु पर्दैन । सरल हुन्छन् शब्दहरु । अपाच्य नै किन नहोस्, चलन चल्तीका शब्द प्रयोग गर्छन् तर ती शब्द घोच्ने काँडाजस्ता तिखा हुन्छन् ।
२०७२ मा संविधान जारी हुनुभन्दा अगाडि आमाको नामबाट नागरिकता दिने नदिने विषयमा चर्काचर्की हुँदै गर्दा युक्ता वज्राचार्यको समूहले सामूहिक कविता वाचन गरे । जसको अन्तिम लाइन थियोः

‘यदि नेपाल आमाको सन्तानलाई नेपाली भनिन्छ भने
नेपाली आमाको सन्तानलाई किन नेपाली भनिदैन ?’

युक्ताले त्यस बेलाको कुरा सम्झँदै भनिन्, ‘बाबुको माया ममता नपाएका भनौँ वास्ता नगरिएकाहरुसँग भेटेर कुरा गरियो । यो ठूलो समस्या रहेछ । आमा र बाबु बराबर किन हुन सक्दैनन् ? मनमा यही खट्कियो र हामीले कवितामार्फत आवाज उठायौँ ।’

उनीहरुले ३ वर्ष अगाडिदेखि नागरिकताको सवालमा आमा–बाबु एकै हुन् भन्ने आवाज उठाइरहे पनि समस्या समाधान भने भइसकेको छैन तर कवितामार्फत बहस बढाउन उनीहरुले कुनै कसर छाडेका छैनन् ।
युक्ता  नेपालीमा भन्दा अंग्रेजी भाषामा कविता लेख्न सहज मान्छिन् । फाट्टफुट्ट नेपाल भाषामा पनि लेख्छिन् तर खुल्ने भाषा अंगे्रजी नै भएको उनी बताउँछिन् ।

‘नेपाली र नेपाल भाषामा पनि लेख्छु तर मलाई अंग्रेजी भाषामा बढी खुल्न सक्छु जस्तो लाग्छ,’ उनले भनिन् ।

युक्ता बज्राचार्य

कृति भने नेपाली भाषामा बढी कविता लेख्दा र वाचन गर्दा रमाउँछिन् । उनी सन् २०१५ को क्युसी अवार्डकी विजेता हुन् । त्यो बेलादेखि उनी यो समूहसँग जोडिएकी हुन् । त्यसयता यही समूहमा रमाइरहेकी छन् ।
‘कविता सुनाउँदा रमाइलो लाग्छ,’ कृतिले भनिन्, ‘शब्दमार्फत आफ्नो भाव व्यक्त गर्दा जत्तिको रमाइलो अरुमा हुन्न ।’

विषयको छनोट र कविता लेखन शैली पनि फरक छ उनीहरुको अन्य कविको तुलनामा । बाटोमा हिँड्दा हिँड्दै, मनोरम प्राकृतिक छटा हेर्दाहेर्दै  उनीहरुलाई कविता फुर्दैन ।

उनीहरुका कविता त रिसर्चमा आधारित हुन्छ ।

कविता लेख्नुअघि उनीहरु विषयको छनोट गर्छन् । एकल कविता कि संयुक्त ? छिनोफानो गर्छन् । कविता वर्कसप चलाउँछन् अनि मात्र तयार हुन्छ उनीहरुको कविता ।

‘एउटा कोठामा अथवा जंगलमा प्रकृतिको बीचमा पूरा ध्यान दिएर मात्र कविता फुर्छ भन्ने छैन,’ दुवैले भने, ‘रिसर्च गरेर पनि कविता लेख्न सकिन्छ । हामीले त्यसैको अभ्यास गरिरहेका छौं ।’

कृति अधिकारी

पढ्दा खै कस्तो कस्तो लाग्छ । कतै छन्द नमिलेझैँ, कतै अनुप्रास नमिलेझैँ तर सुन्दा गजबको प्रभाव पर्छ । उनीहरुको कविता शब्दभन्दा प्रस्तुतिमा दमदार हुन्छ । परर्फमेन्समा आधारित कविता हुन्छ उनीहरुको ।
युक्ता आफूले देखे–भोगेको दृश्य कवितामा उतार्दा समाज बोल्ने बताउँछिन् । युवापुस्तालाई आकर्षित गर्न र छ्या कविता भन्ने पुस्तालाई समेत यसैमा समेट्न उनीहरुले कवितालाई संगीतमा समेत लयबद्ध गरेर  वाचन गर्ने गरेका छन् । कुटुम्ब ब्यान्डमार्फत संगीतमा कविता भन्दा छुट्टै अनुभूति भएको युक्ताको अनुभव छ ।

उनीहरुको  कवितामा  विद्रोहको भाव मात्र होइन प्रेमिल भावना पनि प्रकट हुने गर्छ तर अधिकांश भाव भने समाजको विकृतिमाथि तेर्सिने गरेका छन् यसरी, सरल रुपमा :

‘रोटी’
मेरो रोटी फुलेन
फुल्यो तर रोटी गोलो बनेन
बन्यो तर रोटी नरम भएन
भयो तर रोटी अलि साइड साइडमा पाकेन
हर दिन मेरो रोटी तपाईंलाई रोटी लागेन ।
धेरै दिनको प्रयासपछि
जब रोटी फुर्रर्र तकियाझैँ फुल्यो
पूर्णिमाको जून बन्यो
दुई औंलाले टुक्रिने कमलो मन बन्यो
र मिडियम, रेयरलाई बिर्सिएर वेल डन बन्यो
तब भने तपाईंले केही बोल्नु भएन
कि अझ रोटी मेरो रोटी भएन
कि अब तरकारीतिर लाग्ने हो ?

-Shukrabar

admin

leave a comment

Create Account



Log In Your Account