ओली–मोदी वार्ता १५ भदौमा

ओली–मोदी वार्ता १५ भदौमा

ओली–मोदी वार्ता १५ भदौमा

प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा भाग लिने आउने भारतीय समकक्षी नरेन्द्र मोदीसँग १५ भदौमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ । वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको थियो । मोदीको नेपाल भ्रमणका वेला यसबारे छलफल भए पनि समझदारीपत्रमा हस्ताक्षर भएको थिएन । ‘यसपटक सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

उनका अनुसार भारतबाट रक्सौलसम्म बल्क कार्गोसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । मोदीले भारतका तर्फबाट निर्मित पशुपतिनाथ धर्मशाला हस्तान्तरण गर्नेछन् । श्रीलंकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले १६ भदौमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ । ‘श्रीलंकाको एक थिंकट्यांक र नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ,’ ज्ञवालीले भने ।

आज परराष्ट्र सचिवस्तरीय बैठक
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन तयारीका क्रममा मंगलबार परराष्ट्र सचिवस्तरीय बैठक बस्दै छ । सोमबार साँझ सदस्य मुलुकका परराष्ट्र सचिव काठमाडौं आइपुगेका छन् । बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ भने बिहीबार सम्मेलनको औपचारिक उद्घाटन हुनेछ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले मंगलबारको बैठकको अध्यक्षता गर्नेछन् । परराष्ट्रका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार बैठकका लागि भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका परराष्ट्र सचिव काठमाडौं आएका छन् । उनीहरूलाई सोमबार साँझ सचिव वैरागीले रात्रिभोज दिएका छन् ।

होटल सोल्टीमा सम्मेलन र रिट्रिट
मंगलबार परराष्ट्र सचिवस्तरीय बैठकले तय गर्ने कार्यसूचीमाथि बुधबार परराष्ट्र मन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकको अध्यक्षता गर्नेछन् । बैठकले बिमस्टेक घोषणापत्रमा हस्ताक्षर गर्ने समझदारीपत्रलाई अन्तिम रूप दिनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार होटल सोल्टीमा बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री एवं बिमस्टेक अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सोही बिहान १२ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिमस्टेकका कार्यकारी प्रमुखहरूले सामूहिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि दिवाभज खाएर सम्मेलन उद्घाटनका लागि शीर्ष नेता सोल्टी होटल पुग्नेछन् ।

प्रधानमन्त्री ओलीले उद्घाटन भाषण गरेपछि सबै कार्यकारी प्रमुखले उद्घाटन मन्तव्य दिनेछन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ६ः३० देखि ९ः३० सम्म होटल हायातमा रात्रिभोज दिने कार्यक्रम छ । परराष्ट्रका अनुसार सबै सदस्य मुलुकका सांस्कृतिक नाचगान प्रदर्शन हुनेछन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाहुनाको सम्मानमा होटल सोल्टीमा बिहान ९ देखि १२ बजेसम्म रिट्रिट दिनेछन् । यसअघि गोकर्ण रिसोर्टमा रिट्रिटको तयारी थियो । तर, चुच्चेपाटी जोरपाटी बाटो मर्मत नभएपछि रिट्रिट सोल्टीमै तय गरिएको हो । त्यसलगत्तै बिमस्टेक काठमाडौं घोषणापत्र जारी हुनेछ । बिमस्टेक विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौता (बिमस्टेक ग्रिड इन्टर कनेक्टिभिटी सम्झौता)लगायतमा सदस्य राष्ट्रबीच हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि नेपालले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

अतिथि को कहिले आउँदैछन् ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओचा १४ भदौ बिहान आउने तय भएको छ । भुटानका प्रधानन्यायाधीश एवं सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्त १३ भदौमा आउँदै छन् । बिमस्टेक सचिवालयका महासचिव सहिदुल इस्लाम पनि सम्मेलनमा सहभागी हुनेछन् । विन र श्रीलंकाका राष्ट्रपति सिरिसेनाले भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गर्नेछन् ।

यस्ता छन्बिमस्टेकका १४ एजेन्डा आज परराष्ट्र सचिवस्तरीय बैठक

यस्ता छन् बिमस्टेकका १४ एजेन्डा
नयाँदिल्लीमा मे १० र ११मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको प्रतिवेदन ।
ढाकामा २०१७ नोभेम्बर १३ र १४मा सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो बैठकको प्रतिवेदन ।
नयाँदिल्लीमा २०१७ नोभेम्बर २७ र २८मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन ।
नयाँदिल्लीमा २०१८ अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन ।
श्रीलंकाको कोलम्बोमा २०१७ नोभेम्बर २१ र २२ मा सम्पन्न बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञसमूहले तयार गरेको प्रतिवेदन ।
बंगलादेशको ढाकामा २०१८ मार्च २८ बिमस्टेकका सुरक्षा प्रमुखहरूको दोस्रो बैठकले तयार गरेको प्रतिवेदन ।
बंगलादेशको ढाकामा २०१८ अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन ।
थाइल्यान्डको चियाङ रायमा २०१७ नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञसमूहको छैठौँ बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन ।
गरिबी निवारणसम्बन्धी २०१७ नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न वरिष्ठ अधिकारीहरूको बैठकले तयार गरेको प्रतिवेदन ।
२०१८ डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलम्बोमा गरिबी निवारणसम्बन्धी बैठकले तयार गरेको प्रतिवेदन ।
२०१७ अक्टोबर २४ र २५ मा नयाँदिल्लीमा परम्परागत औषधिसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो बैठकले तयार गरेको प्रतिवेदन ।
बंगलादेशको ढाकामा २०१८ अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष बैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा २०१८ जुलाई १० को बैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा ।
बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणापत्र मस्यौदा, समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी विषयको तयारी ।
श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति र स्थान ।

-Naya Patrika

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account