एक कविको लोभलाग्दो स्टारडम : वाह, क्या क्रेज छ !

एक कविको लोभलाग्दो स्टारडम : वाह, क्या क्रेज छ !

एक कविको लोभलाग्दो स्टारडम : वाह, क्या क्रेज छ !

समय मिल्यो, साँझको ७ बजे । स्थान शंकरदेव क्याम्पस नजिकैको क्याफे । समय तोकेका थिए आधा घण्टा । दिमागमा प्रश्नका जालो गुजुल्टिएका थिए । आधा घण्टामा ती सबै जालो खुल्लान् र ! क्याफे सामान्य नै थियो । भिडभाड जमेको । तस्बिर देखिरहेकाले  चिनिहाले कवि नवराज पराजुलीलाई । भिडको कुनातिर झ्याप्प दाह्री, नीलो हुक्स अनि खरानी रङको पेन्टमा थिए उनी ।  उनी मुसुक्क हाँसे ! ‘तपाईं नै हो ?’ सोधे ।  भनेँ, ‘अँ ।’  ……………. २०४३ माघ २८ मा झापाको मंगलबारेमा जन्मिएका पराजुलीको बाल्यकाल झुम्राको बल र गुच्चा खेल्दैमा बित्यो । परिवारको आयस्रोत कृषि ।

प्रारम्भिक अक्षर धनुषा निमाविबाट सुरु गरे र ७ सम्म पुगे । एसएलसी दिन भने हल्दीबारी मावि पुगे । फस्ट डिभिजन पक्का भनेर बसेका उनी ४ नम्बरले गुल्टिएर एसएसलीमा दोस्रो डिभिजनमा झरे । स्नातकसम्म  झापाकै कन्काई बहुमुखी क्याम्पस पढे ।

‘एसएलसीको रिजल्टपछि अब सेकेन्ड डिभिजन आउने गरी पढ्दिनँ भनेर आफैँलाई प्रमिस गरेँ,’ उनले भने, ‘भाग्यवश मास्टर्ससम्मै फस्ट डिभिजन आयो ।’

अन्तर्मुखी स्वभावका पराजुलीको साथी त्यत्ति थिएनन् रे ! आफ्नो दामली भन्दा कम उमेरसँग मिल्थे उनी । ०६६ मा स्नातक सकियो अनि अंग्रेजीको घघडान मास्टर बन्न उक्लिए काठमाडौं । मास्टर बन्न आएका उनी कवि पो भए !

उनी अहिले काठमाडौँको ओलम्पिया स्कुलमा अङ्ग्रेजी विभागका प्रमुख त छन् तर अंग्रेजी मास्टरको परिचयलाई कविको परिचयले थिचिसकेको छ ।

‘स्नातक सकिएपछि राम्रो अङ्ग्रेजी पढाउन सक्ने हुन्छु भनेर काठमाडौं आएको थिएँ,’ उनले स्पष्टीकरण दिँदै भने, ‘त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर भर्ना पनि भएँ तर यात्रा भने अन्तै मोडियो ।’
उनी बोलिरहँदा पनि कविता नै वाचन गरिरहेझैँ लाग्ने ।
……………..
धेरै भएको छैन उनको कविता यात्रा सुरु भएको । फाट्टफुट्ट गजल लेख्ने उनलाई कविताले तानेको सात वर्षजति भएछ । कवितातिर ढल्काउने पात्र रहेछन्, अर्का कवि मनु मञ्जिल ।

‘एउटा थिएटरमा मनु मञ्जिलले कविता वाचन गरिरहेका थिए । म दर्शकदीर्घामा,’ सात वर्षपछाडि फर्किए उनी, ‘वाचन गर्ने शैली र कविताको भावले तान्यो मलाई अनि कविता लेखौं–लेखौं लागेर आयो ।’

कविता लेखौं लेखौं लागे पनि लेख्न भने सकेनन् । गजलमै रमाइरहे उनी । काठमाडौंमा आएपछि पनि गजललाई नै निरन्तरता दिए । स्रोत थिए टियुका क्लासमेट । उनीहरुले सुनेर वाहवाह भनिदिन्थे, उनी मक्खिन्थे त्यसैमा ।

उनको जीवनको टर्निङ पोइन्ट बनेको रहेछ, अल नेपाल पोयट्री स्ल्याम प्रतियोगिता । त्यसमा सहभागी भएर उनले सत्यदेवीको गाण्डिव र सगरमाथाको गहिराई शीर्षकको कविता सुनाए । प्रतियोगितामा उनी प्रथम भए ।

त्यही प्रतियोगितामा सञ्चारकर्मीको भूमिकामा थिए कवि नवराज लम्साल । लम्साललाई पराजुलीको कविताले तान्यो स्वाट्टै । काम गर्ने कार्यालय बिबिसी नेपाली सेवामा आएर पनि भुल्न सकेनन् लम्सालले ।

‘एउटा नयाँ कवि रहेछन्, बढो जादुमयी कविता वाचन गरे !’ लम्सालको मुखबाट प्रशंसा सुनेलगत्तै बिबिसीका तात्कालीन प्रमुख रवीन्द्र मिश्रले नम्बर लिएर फोन डायल गरिहाले ।

‘मलाई तपाईंको कविता पढ्ने अनुमति दिनुहुन्छ ?’ मिश्रको प्रस्तावमा गद्गद् हुँदै उनले सररर सगरमाथाको गहिराईमा शीर्षकको कविता लेखेर पठाए । मिश्रले त्यो कविता सामाजिक सञ्जालमा सेयर गरिदिए ।
क्या बात् ! अनि सुरु भयो उनको फ्यान बढ्ने क्रम ।

‘पहिला फेसबुकमा तीन सय जना जति साथी थिए, कविता सेयर गरेको ३–४ घण्टामा ४ हजार भन्दा बढी भयो,’ पराजुलीले भने, ‘यो नै मेरो लागि टर्निङ पोइन्ट बन्यो ।’

सगरमाथाको गहिराईमा, खोया, मैझारो, यसपालि यस्तै भयो, सत्यदेवीको गाण्डिव, ब्रह्माजीको राजश्वला यस्तै यस्तै ४० कविता लेखेका छन् उनले ४ वर्षमा । तर सब एकाएक !

‘कविता सुनाएर सयौँ श्रोताहरुलाई मन्त्रमुग्ध बनाउने उनको कुशलतालाई प्रशंसा गर्नैपर्छ,’ डा. नेत्र एटम भन्छन्, ‘सहजतासित बिम्ब बनाएर पाठकको अचेतन मनका अतृप्तिलाई उद्घाटन गर्दै सन्तुष्ट पार्न सक्ने उनको काव्यिक सामथ्र्य गज्जब छ ।’
………………
क्याफेमा ग्राहक आउजाउको क्रम जारी थियो । हामी भने प्रश्नोत्तरमै मग्न ।

उनी नलेखिएको कवितामा सबैभन्दा बढी मजा हुने बताउन छुटाउँदैनन् । त्यसो हो भने कविता किन लेखेको त ? उनले सरल उत्तर दिए, ‘मनको हुटहुटी पोख्न । मनको कुरा जस्ताको त्यस्तै भन्न पाउने हो भने कविता लेखिँदैनथ्यो । त्यस्तो व्यक्ति भेटिँदैन । त्यस्तो बेलामा अक्षर साथी बन्छन् र कविताको रुप लिन्छ ।’

उनका कवितामा बिम्बको प्रयोग प्रशस्तै हुन्छन् तर सरल र शक्तिशाली हुन्छन् ती बिम्ब ।
खोया शीर्षकको कविताको एक टुक्राः

तिमी अहिले बाहेक जहिले आएको भए पनि हुन्थ्यो ।
अहिले त हेर आफ्नो ओठमा चेप्नका लागि मसँग
एक खिल्ली खुसी पनि छैन ।
अहिले त हेर आफ्नो फोक्सोमा भर्नका लागि मसँग
एक सर्को शान्ति पनि छैन ।
ऊ चाहँदैन कि म सपना देखूँ ।
त्यसैले निन्द्रा पनि जुत्ता खोल्नुपर्ने बहाना गर्दै
मेरो ओछ्यानमा नचढी भाग्छ ।
त्यसैले अहिले म
रातलाई खुट्टा बोकाएर
खाटमा पल्टिरहेछु ।
तिमी अहिलेबाहेक जहिले आएको भए पनि हुन्थ्यो ।

जति प्रभाव उनको बिम्ब र भावमा हुन्छ, त्योभन्दा प्रभावकारी छ उनको वाचन शैली । उनको दाबी पत्याउने हो भने उनको वाचन शैली स्वस्फुर्त हो रे ! त्यसमा हल्का प्रभाव बाबुको परेको बताए उनले ।
‘बुबाले कविता पढेर सुनाउनुहुन्थ्यो, त्यसले वाचनकलाबारे केही ज्ञान भयो,’ उनले भने ।
संगीतको कन्सर्टझैँ उनी कविताको कन्सर्ट गर्छन् । कवितासँग संगीतको फ्युजन गराउँछन् ।
यस्तो सोच कताबाट आयो ?

‘अरुभन्दा केही फरक गरौँ भन्ने सोच्दासोच्दै आइडिया फु¥यो । परीक्षण गर्दा स्रोताले मन पराएपछि निरन्तरता दिएँ ।’

कन्सर्ट बोकेर उनी जर्मनी र अस्ट्रेलियाका पाँच सहर, झापाको दमक, बिर्तामोड, पोखरा पुगिसकेका छन् । जहाँ जान्छन्, पैसा लिन्छन् । एक साेमा जति कविता वाचन गर्याे त्यत्ति रेट हुन्छ । एउटा कविता वाचन गरेकाे १० हजार रेट ।

आफैंलाई कविभन्दा पर्फर्मर आर्टिस्ट भनेर परिचय दिन रुचाउँछन् । यसैबाट उनको वाचन क्षमता र महत्व देखिन्छ नै । साहित्य अनुरागी र जानकार पनि उनको कविता पढ्नभन्दा सुन्न मजा आउने बताउँछन् ।

‘उनका कविता यत्तिकै  सर्सर्ती पढ्दा रमाइलो नलाग्ला, भावनात्मक नभइएला,’ नेपाली साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले भने, ‘तर उनले जुन कविता भन्ने शैली अपनाएका छन्, त्यो  राम्रो छ ।’

 ……………………..
उनी भन्छन्, ‘कविता के हो, कसैलाई थाहा छैन । नत्र यसको थ्योरी हुन्थ्यो र सबै कवि हुन्थे ।’ उनको यो अभिव्यक्ति आलोचकको सूत्रधार बनेको छ ।

कविताको सूत्र नहुने उनको दाबीको खण्डन गर्ने स्थापित कविको संख्या बाक्लै छ । आलोचक उनमा कविको गुण भएको स्वीर्काछन् तर गुण रहेको स्वीकार्दैनन् ।

नेपालमा कविता पढ्ने र लेख्ने दुवैमा काव्यचेत कम रहेको र त्यो दोष पराजुलीमा पनि उत्तिकै रहेको दाबी गर्छन्, आलोचक ।

कविता एवं सिर्जना अर्काे भाषामा अनुवाद गर्दा आफ्नो देशको  प्रतिनिधित्व गरेको हुनुपर्ने तर उनको कविता अनुवाद गर्याे भने कुनै अर्थ नलाग्नेसम्म दाबी छ आलोचकहरुको ।

उनको कवितामा हुने बिम्बको आलोचक पनि भेटिए ।

‘कवितामा बिम्ब आउनु ठीक हो तर सानो कुरालाई पनि एकदम ठूलो बिम्बीकरण गर्नु राम्रो कुरा होइन, त्यो मिल्दैन,’ कवि गीता त्रिपाठीले भनिन्, ‘अस्वाभाविक रुपमा बिम्ब प्रयोग गर्ने प्रवृत्ति आइरहेको छ ।’
पराजुली आफ्नो आलोचनाबारे जानकार देखिए ।

उनले भने, ‘कविता गह्रौँ हुनुहुन्न । गह्रौँ मात्र भयो भने डुब्छ ।’
………………
प्याट्टपट्ट चप्पल पड्काउँदै हिँड्ने, झुस्स दाह्री पालेका, हेर्दै निरस लाग्ने कविको छवि केही हदसम्म बद्लिइदिए, कवि विप्लव प्रतीक, मनु मञ्जिल र भूपिनहरुले ।

यस समूहमा जब पराजुली मिसिए ‘ओई कवि’ भन्ने सम्बोधन ‘हाई कवि’मा पुग्यो । चिया पसल, भट्टी, जता कवि भेटिए पनि ल सुनाइहाल् त भन्ने संस्कार बिस्तारै बद्लिँदैछ ।

उनले कविको आधुनिक छविलाई थप एक कदम अगाडि लगिदिए । कविको पनि गायक–गायिका अनि नायक–नायिकाझैँ दमदार छवि बन्न सक्छ, उनीहरुको पनि दह्रो फ्यान फलोइङ हुनसक्छ, अनि गायक गायिकाको सःशुल्क कन्सर्टझैँ कविको पनि शुल्कसहितको कविता कन्सर्ट हुनसक्छ भन्ने स्थापित गराइदिए ।

कवि र कविता भन्नासाथ नाक खुम्च्याउने नयाँ पुस्ता सामाजिक सञ्जालमा रहेका पराजुलीको कवितामार्फत् नेपाली कवितामा भिज्दैछन्,  रमाउँदैछन् ।

उनी मञ्चमा उभिएर कविता वाचन गर्दाताकाको दृश्य हेर्दा लाग्छ, नवराज कविता वाचन गरिरहेका छैनन्, हिप्नोटाइज गर्न मन्त्र उच्चारण गरिरहेका छन्

उनमा कमजोरी पक्कै छन् तर प्रतिभा र सम्भवना पनि उत्तिकै छ ।

अब क्याफेकै दृश्यतिर फर्किऊँ ।
………..
तोकेको आधा घण्टा समय कट्यो तर संवाद टुंगिएन । उनी पनि केही हतारमाझैँ देखिएका थिए तर संवाद अगाडि बढाउने मोहमा उनको हड्बडाहट नदेखेझैँ गरेँ । उनले पनि ढिला भो भन्न सकेनन् ।
क्याफेको भिडका बीच वार्ता सुरु भएको थियो । अहिले साहुजीबाहेक हामी दुई जना मात्र थियौं ।
बन्द गर्न हतारमा देखिए क्याफे सञ्चालक । उनले हामीलाई जाऊ भन्न नसकेर सटर घार्रघुर्र गर्नतिर लागे । कुर्सी मिलाउन थाले ।
बिट नमारी सुखै पाइएन । दुवै जना क्याफेबाट बाहिरियौँ ।
छुट्टिँदाछुट्टिदै सोधेँ, ‘तपाईं विवाहित कि अविवाहित ?’
उनले भने, ‘विवाहित ।’

 

चार कविताको कथा

ह्यापी बड्डे 

यो कविता मैले पहिल्यै लेखेको थिएँ । दुई वर्ष अगाडितिर आफ्नै आमाको जन्मदिनमा मैले ‘विस’ गर्न बिर्सिएँ । साह्रै नरमाइलो लाग्यो । अनि पुरानो कवितालाई पुनर्लेखन गरेँ ।

सत्यदेवीको गाण्डिव
तराईतिर दाइजोमा मोटरसाइकल नदिएको निहुँमा सासू र पति मिलेर एक महिलालाई आगो लगाएको समाचार सुनेपछि यो कविताको थिम फुरेको हो ।

ब्रह्माजीको राजश्वला 
छाउगोठमा बसेको महिलामाथि बलात्कार भएको समाचार सुनेपछि उकुसमुकुस भयो । छाउगोठबारे बुझ्न थाले । समाचार पढ्न थालेँ । जानकार साथीहरुसँग सोध्न थालेँ र कविता लेखे ।

सगरमाथाको गहिराई
पशुपति आर्यघाटमा काठको बाकसमा आएको मामाको छोराको शव देख्दा उकुसमुकुस भयो । शव लिन मृतकका बाबु मेरो मामा आउनुभएको थियो । मामा एकदमै आत्तिएर २८ वर्षको छोराको खुट्टा ढोग्नुभयो । बुबाले छोराको खुट्टा ढोगेको देखेको थिइनँ । मन अमिलो भयो र सगरमाथाको गहिराई शीर्षकको कविता लेखेँ ।

 

टिप्पणी

कवितामा नयाँ आयाम

डा.नेत्र एटम

समिक्षक

तिम्रो जिब्रोलाई मेरा कविता
समयलाई पिसेर बनाएको सातुजस्तै लाग्नेछन्…
नवराज पराजुलीले नेपाली कवितालाई संवेदनाको सतहमा पौडी खेलाएर लोकप्रिय बनाएका छन् । प्रचलनमा रहेकाभन्दा पृथक् ग्रामीण जनजीवनका बिम्बहरुको स्वतन्त्र साहचर्यमा उनका कविताको आधार खडा भएको छ । नयाँ पुस्ताको आशा समेटिएको छ । त्यसैले उनका कविता समयलाई पिसेर बनाएको सातुजस्तै नोस्टाल्जिक, पुष्टिबद्र्धक र अर्गानिक छन् ।

बाहिरबाट देख्दा उनका कवितामा अतिशयोक्तिको व्यापकता छ, विचलित संवेगको लदाबदी छ तर तिनको अन्तरमा माटोसित जोडिएको आत्मीयता अनि जीवनलाई सुन्दर बनाइरहने पर्याप्त मात्राका ‘प्याराडक्स’ छ ।
सगरमाथाको गहिराइ यस्तै सङ्केत हो, पुँजीवादी सभ्यतामा प्रकृति र मानवजीवनको असन्तुलनले निम्त्याइरहेको भयानक सन्त्रासको अभिव्यञ्जना हो ।

‘हार’ कवितामा उनले प्रस्तुत गरेको सामान्य लाग्ने तर यो पुस्ताको चरम विडम्बनाले छोइहाल्छ पाठकको हृदयको तारः ‘हाँस्ने ठाउँ खोज्न घर छोडेको म÷रुने ठाउँ खोज्दै घर फर्किएँ ।’ कविताकै क्रममा उनले ‘हामी’ कवितामा सम्बन्धहरुको निष्कर्ष निकालेका छन्ः ‘हामी जोसँग रुन सक्दैनौँ, कसरी उसको हुन सक्छौँ ?’ आत्मीयताको यो परिभाषा आफैँमा एउटा काव्यिक उपलब्धि हो ।

समकालीन नेपाली कविता केवल हार्डकोर राजनीतिको भरिया मात्र बनिरहेको बेला नवराज पराजुलीका कविताले पाठकहरुलाई एउटा नयाँ र प्रभावकारी क्षेत्र दिएका छन् ।

जातीय, क्षेत्रीय, थरीय, लैङ्गिक आदि मुद्दाहरुमा केन्द्रित भएर कविताबाट उछिट्टिएका कविताहरुलाई प्रस्तुतिको भिन्नताबाट उनले कवितालाई मानवीय संवेदनाको विशाल क्षेत्रमा थुपुक्क राखिदिएका छन् ।
किताबमा पढ्दा पुनरुक्ति र आयोजित नाटकीय बिम्बहरुको आधिक्यले उनका कवितामा आशङ्का, सूक्तिमय पङ्क्तिहरुको स्रोतमा बात लगाउन सकिएला, उनका कवितालाई आँसुको पसल खोलिएको आरोप पनि लाग्ला, तर आफ्नै देशका राजनीतिज्ञहरुको स्वार्थी खेलका कारण सालनाल गाडिएको धर्ती र जीवनको मौन आवेग जोडिएकी आमासँग बिछोडिन बाध्य भएको परास्त पुस्ताको चिन्तनलाई कलात्मक रुपले अभिव्यञ्जित गर्न यसले खेलेको भूमिकालाई कम आँक्न सकिन्न ।

कविता सुनाएर सयौँ श्रोताहरुलाई मन्त्रमुग्ध बनाउने उनको कुशलतालाई प्रशंसा गर्नैपर्छ, सहजतासित बिम्ब बनाएर पाठकको अचेतन मनका अतृप्तिहरुलाई उद्घाटन गरेर सन्तुष्ट पार्न सक्ने उनको काव्यिक सामथ्र्यलाई धन्यवाद दिनैपर्छ ।

हरेक कलामा लोकप्रियता, सामयिकता र काल्पनिकतामा क्षणिकता हुन्छ तर स्तरीयताको मापनमा खरो उत्रनेले मात्र परम्परामा विश्वास सिर्जना गर्न सक्छ भन्ने तथ्यतर्फ पराजुलीको चिन्तन जागरुक हुनु आवश्यक छ ।

पराजुलीका कविताहरु संरचना गत रुपमा हेर्दा अलि लामा भाकामा राखिएका छन् । भावहरु दोहोरिएका छन् । एउटै भावलाई पुष्टि गर्नका  निमित्त केही कवितामा धेरै बिम्बहरु प्रयोग गरेको देखिन्छ ।
कविता भित्रका विधानहरु हुन्छन् । कविता विधानलाई अवलम्बन गर्नुपर्छ । कवि मनु मञ्जीलले भन्नुहुन्थ्यो, ‘निधारमा लाउनु पर्ने टीका घुँडामा  लगायो भने सौन्दर्य दिँदैन । त्यसैले भएका मानकहरुलाई अपनाएकै ठीक ।

कवितामा कोरियोग्राफी बढ्यो

गीता त्रिपाठी
कवि तथा समालोचक

नवराजजीका कविता राम्रा छन् । मन छुने छन् । उहाँले कवितालाई पनि फरक बाटोमा हिँडाउने कोसिस गर्नु भएको छ । बिम्बहरुको नयाँ प्रयोग ल्याउने गर्नुभएको छ ।

तर अस्वाभाविक रुपमा बिम्ब प्रयोग भएको छ । कविताको भाषामा अलिकति फरक भइरहेको प्रयोग गर्दा कविताको भाषामा अस्वाभाविक  विचलन आइरहेको देखिन्छ ।

अस्वाभाविक बिम्बको प्रयोग गर्ने प्रवृत्ति आइरहेको छ । कवितामा बिम्ब आउनु ठीक हो तर सानो कुरालाई  पनि एकदम ठूलो बिम्बीकरण गर्नु ठीक हैन ।

कविता र नाटक बीचको जुन फरक विधा थियो, त्यो साघुँरिएको छ । कविताको बढी कोरियोग्राफी भइरहेको छ । कविको प्रतिभा भनेको स्वस्र्फुत भाव हो । त्यो भावलाई ओझेलमा पार्ने काम भइरहेको छ ।
कविता रुढतामा हिँडेको समाजलाई निश्चत रुपमा उज्यालोतर्फ लैजाने माध्यम हो । पराजुलीको कविताको सशक्त पाटो समाजमा भइरहेको, घटिरहेको घटनालाई जस्ताको त्यस्तै चित्रित गर्नु हो ।

-Shukra Saptahik

admin

leave a comment

Create Account



Log In Your Account