अन्तर्राष्ट्रिय महिला दिवस : उचाइ लिँदै महिला आन्दोलन

अन्तर्राष्ट्रिय महिला दिवस : उचाइ लिँदै महिला आन्दोलन

अन्तर्राष्ट्रिय महिला दिवस : उचाइ लिँदै महिला आन्दोलन

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस आइतबार विश्वभर मनाइँदै छ । अन्तर्राष्ट्रिय  महिला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । अधिकांश देशमा यस दिवसका अवसरमा महिलालाई सार्वजनिक बिदा दिइने घोषणा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट गुज्रिएको चीनमा महिला दिवसका अवसरमा आइतबार विभिन्न कार्यालयमा आधा कामपछि छुट्टी दिइने घोषणा गरिएको छ । रसियामा पनि महिला दिवस भव्य रूपमा मनाइने भएको छ । महिला दिवसको पूर्वसन्ध्यामा रसियामा फूलको बिक्री दोब्बर भएको छ ।

पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा नै महिला आन्दोलनले अप्रत्यासित उचाइ लिएको छ । सन् २०१७ को अक्टोबरमा लाखौँ महिलाले आफूहरूमाथि भएको यौन दुव्र्यवहारविरुद्ध सामाजिक सञ्जालमा ‘मि टु’ अभियान सुरु गरेका थिए । सन् २०१८ मा मि टु अभियान विश्वव्यापी बनेको थियो । भारत, फ्रान्स, चीन र दक्षिण कोरियालगायतका महिला सो अभियानमा सहभागी भए । सन् २०१८ मा अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा ठूलो संख्यामा महिला निर्वाचित भएका थिए ।

त्यस्तै, गत वर्ष उत्तरी आयरल्यान्डमा गर्भपतनलाई वैधता दिइएको थियो । सार्वजनिकस्थलमा महिलाको पोसाकमाथि नियन्त्रण गर्ने कानुनलाई सुडानले यसै वर्ष खारेज गरेको छ । धार्मिक रूपमा कट्टर मानिने देश साउदी अरेबियाले पनि महिलामाथि लाद्दै आएका नियमलाई क्रमशः खुकुलो बनाउँदै आएको छ । महिलालाई पनि सवारीसाधन चलाउन र हलमा नै गएर फिल्म हेर्न छुट दिइएको छ । विश्वमा भएका कतिपय आन्दोलनको नेतृत्व पनि महिलाले नै गरेका छन् । स्विडेनकी किसोरी ग्रेटा थन वर्गले जलवायु परिवर्तविरुद्ध आन्दोलनको अग्र मोर्चामा उभिएकी छिन् ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अभियानले ‘समानतका लागि हरेक’ भन्ने नारा छनोट गरेको छ । ‘हामी एउटा समग्रको सम्पूर्ण अंश हौँ,’ अभियानले भनेको छ, ‘हाम्रो व्यक्तिगत कार्य, वार्ता, स्वभाव र दृष्टिकोणले हाम्रो समाजमा बृहत् असर पार्न सक्छ ।’ सामूहिक रूपमा नै लैंगिक समानतारूपी संसार बनाउन सकिन्छ । ’

‘लैंगिक समानता छैन’
राष्ट्रसंघको महिला मामिलासम्बन्धी कार्यकारी निर्देशक फुमजीले मालाम्बो नुकुकाले महिलाको प्रगतिका बाबजुद कुनै पनि देशमा लैंगिक समानता नभएको धारणा व्यक्त गरेकी छिन् । शक्तिको टेबुलमा एक चौथाइ सिट छुट्टाउँदैमा समानता नहुने बताउँदै उनले भनिन्, ‘महिलालाई निश्चित कोटा छुट्टाउनु अहिलेको यथार्थ हो ।’ विभिन्न देशका सरकारले महिलालाई समान अधिकार दिने प्रतिबद्धता जनाए पनि अधिकांश देशमा संसद्को कुल सिटको ७५ प्रतिशत सिटमा पुरुष हाबी हुने  उनको भनाइ छ । ‘अहिलेको अवस्थामा हामीकहाँ समान विश्व छैन र महिला आफ्नो भविष्यबारे दुखित छन्,’ उनले भनिन् ।

निराशाजनक अवस्था
राष्ट्रसंघका अनुसार विश्वमा हरेक पाँच महिलामध्ये एक महिला आफ्नो नजिकको पाटर्नरबाट दुव्यर्वहार भोग्न वाध्य छन् । अझै पनि ३ करोड २० लाख छात्रा स्कुलबाट वञ्चित छन् । संसद्मा अझै पनि तीन चौथाइभन्दा बढी सिटमा पुरुषको हाबी छ । त्यस्तै, ठूलो संख्याका महिला नीति निर्माताको तहबाट वञ्चित छन् ।

कहिलेदेखि मनाउन थालियो ?
एक शताब्दीभन्दा लामो समयदेखि ८ मार्चमा विश्वभर महिला दिवस मनाइदै आएको छ  । सन् १९०८ मा अमेरिकाको न्युयोर्क सहरमा १५ हजार महिलाले विभिन्न माग राख्दै र्‍याली निकालेका थिए । वास्तवमा सोही र्‍यालीले नै महिला दिवसको बीज रोपेको थियो । काम गर्ने समयमा कटौती, उपयुक्त ज्याला,  निर्वाचनमा महिलाको अधिकारलगाय माग महिलाले सडकमा र्‍याली निकालेका थिए । त्यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले महिला दिवस घोषणा गरेको थियो ।

त्यस्तै, जर्मनकी महिला अधिकारवादी  क्लारा जेटकिनले  सन् १९१० मा कोपनहेगनमा आयोजित अन्तर्राष्ट्रिय महिला सम्मेलनका क्रममा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सम्मेलनमा १७ देशका एक सय महिला सहभागी थिए । उनको प्रस्तावलाई सबै सहभागी महिलाले सर्वसम्म स्विकृति जनाएका थिए । सुरुमा सन् १९११ मा अस्ट्रिया, डेनर्माक, जर्मनी र स्विट्जरल्यान्डमा यो दिवस मनाइएको थियो । त्यसपछि विश्वभर मनाउन थालिएको थियो । यस वर्ष विश्वभर १०९ औँ महिला दिवस मनाइँदै छ ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account