कक्षा क्रान्तिका लागि ३ ‘प’

कक्षा क्रान्तिका लागि ३ ‘प’

कक्षा क्रान्तिका लागि ३ ‘प’

हाम्रा पाठ्यक्रम निकै ‘बोरिङ’ छन्, यो ‘बोरिङ’ कक्षा अनि पाठ्यक्रममा हामीले ‘प्रोजेक्ट वर्क’, भ्रमण, अनुसन्धानजस्ता विषय जोड्न जरुरी छ

एउटा चल्तीकै कथाबाट सुरु गरौँ । एउटा गाउँमा निकै सुक्खा लागेपछि गाउँलेहरूले इनार खन्ने निधो गरे । सबैजना मिलेर इनार खन्न निस्किए । एउटाले जंगलनजिक खन्ने भनेछ । सबै मिलेर त्यहीँ खन्न सुरु गरे । ५ फिट खनियो, १० फिट खनियो, १५ फिट खनियो, २० फिट खनियो तर पानी निस्केन । फेरि, अर्को ठाउँमा खाल्डो खन्ने निधो गरियो । फेरि ५, १०, १५ हुँदै २० फिटसम्म खनियो, फेरि पानी निस्केन ।

यसपालि खोलाको नजिक खन्ने भनियो, खनियो पनि, तैपनि पानी निस्किएन । अर्को ठाउँ खनियो, निस्किएन । यसरी पाँच ठाउँमा खन्दा पनि पानी निस्केन । उनीहरू निरास भएर थकित मुद्रामा चौतारीमा बस्दै थिए । यत्तिकैमा एकजना गाउँकै काका आएर सबैलाई के भयो भनेर सोध्छन् । सबै कुरा सुनेपछि उनले मुस्कुराएर भनेछन्, ‘केटा हो, तिमीहरूले हरेक ठाउँमा २०–२० फिट खनेछौँ । यदि ५ ठाउँमा २०–२० फिट खन्नुको सट्टा कुनै एक ठाउँमा एक सय फिट खनेको भए जुनसुकै ठाउँबाट पनि पानी निस्कन्थ्यो ।’

आज हाम्रो शिक्षा पनि छरिएको छ । कतै बाटोमै हराएको छ । यसले हाम्रा विद्यार्थीलाई एउटा दिशा दिन सकिरहेको छैन । आज विद्यार्थी दिशा र रुचि पहिल्याउन नसक्दा अलिकति डाक्टर, अलिकति इन्जिनियर, अलिकति सिए भएर बसेका छन् । आफ्नो विधामा उत्कृष्ट गर्न सकिरहेका छैनन् । त्यसको प्रमुख दोष हाम्रो शिक्षालाई नै जान्छ । हाम्रो कक्षाकोठालाई नै जान्छ । यसलाई सुधार्नका निम्ति हामीले तीन ‘प’मा ध्यान दिन जरुरी छ । यी तीन कुरामा त, कक्षामा क्रान्ति नै ल्याउन जरुरी छ ।

पहिलो, पाठ्यक्रम 
व्यक्तिगत, सामाजिक अनि राष्ट्रिय दूरदर्शितालाई हाम्रो शिक्षा नीति अनि पाठ्यक्रमले सम्बोधन गर्न सकेको छैन । हामीले कल्पेको भविष्यका लागि आवश्यक रहेको जनशक्ति यो पाठ्यक्रमले पूर्ति गर्न सक्दैन । दुःख लाग्छ, हाम्रो पाठ्यक्रम अरू कुनै देशबाट ‘कपी पेस्ट’ गरिएको पाठ्यक्रम हो । हाम्रोमा विद्यार्थी अनि समाजको आवश्यकतालाई हेरेर हाम्रो पाठ्यक्रम बनाइएको छैन । तपाईंले, म यो पाठ्यक्रम किन पढ्दै छु भनेर सोध्नुहोस्, यसको उत्तर शिक्षकलाई थाहा हुँदैन । विद्यार्थीलाई थाहा हुँदैन । पाठ्यक्रम बनाउनेलाई पनि थाहा हुँदैन ।

हाम्रो पाठ्यक्रमले एउटा विद्यार्थीको सोच्ने तरिका नै विकास गर्न सकेको छैन । पाठ्यक्रमले सिकाइको दायरा घटाउने होइन, बढाउने हो । तर, आज हाम्रो पाठ्यक्रमले सिकाइको दायरा एउटा पाठमा सीमित गरिदिएको छ । लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको चित्र किन उत्कृष्ट भयो ? किनकि त्यो चित्रमा, चित्र मात्र थिएन । कला थियो । विज्ञान थियो । चित्रमा प्रकाश कता छ र त्यसले कस्तो–कस्तो कति उज्यालो दिन्छ भन्ने विज्ञान पनि झल्किएको छ । नारीको हाउभाउबारे पनि उत्कृष्ट हिसाबमा प्रस्तुत गरिएको थियो ।

त्यतिवेलाको समाजको रहनसहन र आभूषणलाई पनि दर्साएको छ । उक्त चित्रमा एउटा विषयले तमाम विषयलाई छोएको थियो । पाठ्यक्रम कति छर्ने, कति गहिरो बनाउने हामीले राम्रोसँग काम गर्न सकेका छैनौँ । एक दिन केही व्यक्ति मिलेर अबबाट ‘म्याथ’ पढ्नुपर्दैन भन्ने निर्णय हुन्छ अनि बाँकी सबै रमिते बन्छन् । हिजो किन आवश्यक थियो अनि आज किन गणित अनिवार्य गरिएको छैन । यसको उत्तर कसले दिने ? हाम्रो पाठ्यक्रम छरिएको हुँदाहुँदै पनि विद्यार्थीलाई रुचि भएको विषयमा गहिरोमा पुग्न सकिने हुन जरुरी छ । गणित, विज्ञान, सामाजिक विषय फरक–फरक होइनन् । एक–अर्कासँग सम्बन्धित छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।

सेफले बनाएको तरकारी किन मीठो हुन्छ ? किनकि, सेफले नुन हाल्छ, चाख्छ । पुगेन भने फेरि थप्छ । आवश्यकताअनुरूप मर–मसला हाल्छ, चाख्छ । मिलाउँछ अनि बनाउँछ । बुझाइको मापन भनेको वर्षको एक दिनको परीक्षा होइन, यो त निरन्तरको प्रक्रिया हो ।

अहिलेको नेपाल सरकारको पाठ्यक्रममा एउटा विद्यार्थी सिर्जनशील हुनै सक्दैन । यसले सोच्ने, विश्लेषण गर्ने क्षमताको निर्माण गर्न सकिरहेको छैन । हाम्रो पाठ्यक्रमले विद्यार्थीको रुचिको विषयलाई समेट्न सकेको छैन । हप्तामा दुई घन्टा पनि बच्चाले आफ्नो रुचिको विषय खोज्ने, पढ्ने प्रावधान हाम्रो पाठ्यक्रममा कहाँ छ ? तसर्थ, हाम्रो पाठ्यक्रमले विद्यार्थीको रुचिको विषयमा गहिरो जान सक्ने अवसर प्रदान गरिरहेको छैन । मलाई राजनीतिमा रुचि छ । मेरा निम्ति निर्वाचनको डाटा, नारा, विधि, प्रविधि, इतिहास सबै आवश्यक छ । तसर्थ, एउटा विषयको गहिराइमा पुग्न मलाई विज्ञान, समाज, गणित, व्यवस्थापन सब बुझ्न जरुरी छ । किनकि, मलाई मेरो रुचि पहिल्याउँदै लक्ष्यमा पुग्नु छ । अब म गणित पढ्छु, गणित पढ्न होइन । मेरो रुचि वा लक्ष्यलाई गणितले सहयोग पुर्‍याउँछ भनेर ।

संसार नै हाम्रो किताब हो । किताबमा मात्र ज्ञान छैन । किताबकै पाठ्यक्रम पढाउनुपर्छ भन्ने पनि छैन । अनि, हाम्रा पाठ्यक्रम निकै ‘बोरिङ’ छन् । यो ‘बोरिङ’ कक्षा अनि पाठ्यक्रममा हामीले ‘प्रोजेक्ट वर्क’, ‘भ्रमण’, ‘अनुसन्धान’जस्ता विषय जोड्न जरुरी छ, ताकि विद्यार्थीले वास्तविक सिकाइको अनुभूति गर्न सकून् । शिक्षक वा स्कुलले पाठ्यक्रममा इनोभेसन ल्याउन जरुरी छ । कक्षामा हामीले एउटा कुनै विद्यार्थीको हजुरबुबा ल्याएर ‘हजुरबुबा’को कथा किन सुरु नगर्ने ? यस्ता सिकाइलाई पाठ्यक्रममा नै किन नहाल्ने ? यसले जति ज्ञान दिन्छ । समाज बुझाउँछ, सायद रटेर विद्यार्थीले नबुझ्लान् । १० वटा गाउँको बारेमा पढाउनुभन्दा एउटा गाउँमा लगेर त्यहाँको जीवन कस्तो छ भनेर छोटो अन्तर्वार्ता, अन्तर्क्रिया वा अनुसन्धान गर्न विद्यार्थीलाई लगाउने हो भने उनीहरूले धेरै कुरा सिक्छन् । यस्ता कुरा गर्न पाठ्यक्रम जस्तो भए पनि शिक्षक अनि विद्यालय स्वतन्त्र छन् । तसर्थ, पाठ्यक्रममा छैन भन्नु भनेको हामी पनि हाम्रो दायित्वबाट पन्छिनु वा हामीले पनि आधारभूत कुरा नबुझ्नु हो ।

दोस्रो, पढाउने विधि 
कक्षा कोठाभित्र अर्को समस्या पढाउने विधिमा छ । हामीले पढाइरहेका छौँ, तर विद्यार्थीले बुझिरहेका छैनन् । शिक्षकले कक्षामा गएर एकोहोरो पढाएर कोर्स सिध्याएर मात्र पढाइ पूरा हुन्न । विद्यार्थीले कति बुझ्यो त्यो महत्वपूर्ण छ । अझ जीवनमा कति उतार्‍यो, त्यो झन् महत्वपूर्ण छ । शिक्षकले कक्षामा पढाएको अधिकांशले बुझ्दैनन् । किन बुझ्दैनन् ? किनकि, पहिलो, शिक्षकले आफ्नो स्तरमा रहेर पढाउँछन्, विद्यार्थीको स्तरमा होइन । दोस्रो, शिक्षक मात्र शिक्षक हो भन्ने हाम्रो गलत बुझाइ छ । शिक्षक मात्र शिक्षक होइन, एउटा विद्यार्थीका लागि प्रत्येक अर्को व्यक्ति अनि वस्तु शिक्षक हो । उसले त्यहाँबाट सिक्न सक्छ । हामी एउटा खलासी, डाक्टर वा चिया पसले साहुजीसँग गफ गरेर सिक्न सक्छौँ । एउटा कृषकसँग सिक्न सक्छौँ । तसर्थ, हामीले सिकाइको शिक्षकदेखि विद्यार्थीसम्म एकोहोरोपन तोड्नैपर्छ ।

कक्षामा विद्यार्थीलाई संलग्न गराउन हामी चुकिरहेका छौँ । पढाउने विधिमा सबैभन्दा महत्वपूर्ण कुरा विद्यार्थीको संलग्नता छुटेको छ । कक्षामा विद्यार्थी अनि शिक्षकको छलफल निकै महत्वपूर्ण छ । पढाउनु भनेको सूचना वा तथ्यलाई विद्यार्थीको कानसम्म पुर्‍याउनु मात्र होइन । पढाउनु भनेको विद्यार्थीको व्यवहार अनि आचरणसम्म सुधार्नु हो । पढाउनु भनेको वितरण प्रणाली मात्र होइन । कला हो, ज्ञानलाई विद्यार्थीसम्म पुर्‍याउने कला । वितरण प्रणाली मात्र रहने हो भने भोलि हाम्रा शिक्षकलाई युटुब, अनलाइन साइटलगायत प्रविधिले विस्थापित गरिदिनेछ । तसर्थ, प्रविधिको यो चमत्कारसँगै कक्षा–कोठालाई जोगाउन पनि हामीले शिक्षकमा व्यापक परिवर्तन गर्न जरुरी छ ।

हामी सुरुमै गाह्रो कुरा पढाउँछौँ । अनि, विद्यार्थीलाई तर्साउँछौँ । पढाउने विधि भनेको सुरुमा गाह्रो होइन । सुरुमा सजिलो प्रश्न गराउँदै, विद्यार्थीको मनोबल अनि आत्मविश्वास बढाउँदै सिकाउने हो । मलाई ‘खान एकेडेमी’लगायत केही संस्थाले गर्दै आएको तरिका पनि निकै महत्व्पूर्ण अनि उपयोगी लाग्छ । ‘खान एकेडेमी’ले विद्यार्थीलाई पाठको भिडियो अगाडि नै दिन्छ अनि विद्यार्थीले भिडियो घरमै हेरेर आउँछन् । कक्षामा विद्यार्थीले खोजेर ल्याएको सूचना वा नयाँ कुरासहित त्यसलाई प्रस्तुत गर्छन् । शिक्षकले त्यो वातावरण बनाउँछन् । कहीँ कमजोरी भयो भने सच्याइदिन्छन्, सहयोग गर्छन् । विद्यार्थीभित्रको सिर्जनशीलतालाई आगोझैँ ठोस्छन् । हामी अहिले कक्षामा हरेक वर्ष हरेक ब्याचमा शिक्षकको त्यही २० वर्षअघिको बुझाइको त्यही ‘ब्ल्याक एन्ड ह्वाइट’ भिडियो प्ले गरेर बसेका छौँ ।

‘विद्यार्थीले विद्यार्थी पढाउने’ मोडेल नै अबको शिक्षाको महत्वपूर्ण अंश हो । यो शिक्षकका लागि पनि चुनौतीपूर्ण छ । किनकि, शिक्षकले अब नयाँ भूमिकाका लागि नयाँपन ल्याउन जरुरी छ । शिक्षकले अब कक्षामा राम्रो तयारी गर्न जरुरी छ । विद्यार्थीलाई सहभागी गराउँदै कक्षाको नेतृत्व सुम्पने गरी तयार पार्न आवश्यक छ । विद्यार्थीलाई संलग्न गराउने विषयमा चाहिँ शिक्षकले चटके, बाटोको कलाकारबाट पनि सिक्न सक्छन् । एउटा चटकेले जसरी सबैलाई आकर्षण गर्न सक्छ, जेबाट त्यो आकर्षण सुरु गर्छ, यस्ता विषय मेरा लागि सधैँ पाठ हुने गरेको छ । कतिपय वेला त म उनीहरूको कलालाई टिपेर कक्षामा उतार्छु । यत्ति गर्न सके, अहिले मरेका कक्षा जाग्नेछन् । कल्पना अनि सपना बिउँझनेछन् ।

तेस्रो, परीक्षा प्रणाली
सन्दीप लामिछाने कुनै सर्टिफिकेट देखाएर राम्रो क्रिकेटर बनेका होइनन् । राजेश हमाल सर्टिफिकेट बोकेर सफल हिरो बनेका होइनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले सर्टिफिकेट देखाएर महाकवि बनेका होइनन् । महाकवि बन्छु भनेर कविता लेख्न सुरु गरेका पनि होइनन् । हाम्रो शिक्षाले अर्को रोपेको भ्रम भनेको ‘सर्टिफिकेट’कै हो । अहिले मानिस पढेको देखिन सर्टिफिकेट किन्दै छन् । शिक्षा सर्टिफिकेटमै सीमित हुनु शिक्षाको सबैभन्दा ठूलो असफलता हो । सिकाइ जहाँ पनि हुन सक्छ । बाटोमा, खेलमा, टिभीमा वा किताबमा । इनारबाट पानी तान्नु विज्ञान हो । तरकारी किन्नु नेगोसिएसन । आफ्नो तर्क बिकाउनु मार्केटिङ । तसर्थ, सिकाइको मापन होइन, सिकाइमा सुधार हुन्छ । मापन भएछ भने पनि केका लागि ? मापनपछि सुधारको बाटोमा त हाम्रो शिक्षा छैन । हाम्रो शिक्षाले यही सुधारको प्रक्रियालाई अनुसरण गर्न सकेको छैन ।

बुझाइ जाँच्ने दुई विधि हुन्छन्– रचनात्मक मूल्यांकन अनि सारांशित मूल्यांकन । सारांशित विधिबाट पाठ्यक्रम वा पाठको अन्यमा परीक्षा लिइन्छ । यो त्यति प्रभावकारी देखिएको छैन । अर्को, रचनात्मक विधिबारे हामीले खासै काम गरेका छैनौँ । यो विधिअनुरूप, वर्षको अन्तिममा होइन न कि प्रत्येक पाठ वा सिकाइमा प्रतिक्रिया लिइन्छ र सुधारिन्छ । सुझाब अनि सुधारको प्रक्रियाले नै सिकाइलाई बलियो बनाउने हो । सेफले बनाएको तरकारी किन मीठो हुन्छ ? किनकि, सेफले नुन हाल्छ, चाख्छ । पुगेन भने फेरि थप्छ ।

‘विद्यार्थीले विद्यार्थी पढाउने’ मोडेल नै अबको शिक्षाको महत्वपूर्ण अंश हो । यो शिक्षकका लागि पनि चुनौतीपूर्ण छ । किनकि शिक्षकले अब नयाँ भूमिकाका लागि नयाँपन ल्याउन जरुरी छ । शिक्षकले अब कक्षामा राम्रो तयारी गर्न जरुरी छ ।

आवश्यकताअनुरूप मर–मसला हाल्छ, चाख्छ । मिलाउँछ अनि बनाउँछ । बुझाइको मापन भनेको वर्षको एक दिनको परीक्षा होइन । यो त निरन्तरको प्रक्रिया हो । मापन विधिको एउटा प्रश्न, अझै त्यो पनि सबैका लागि नहुन सक्छ । हामीले सबैलाई एउटा समान प्रश्न सोधेर उसले ल्याएको नम्बरभन्दा पनि उसको बुझाइलाई बुझेर त्यहीअनुरूपको सिकाइलाई अघि बढाउन जरुरी छ । ग्रेडिङभन्दा पनि एउटा बच्चाको ज्ञान अनि विचार प्रक्रियाको विकास गर्न जरुरी छ । एउटा विद्यार्थीले वर्षको ४० घन्टा सेवामूलक सामाजिक काम गर्नुचाहिँ उसको मूल्यांकन हो कि होइन ? यस्ता कुरा पनि हाम्रो मापन विधिमा समावेश गरिन जरुरी छ ।

एकजना साथी भन्दै थिए– स्कुलले शिक्षकलाई विश्वास गर्दैन, त्यसैले परीक्षा लिन्छ ।’ यो कुरामा केही हदसम्म सत्यता छ । अभिभावकलाई स्कुलको विश्वास छैन । स्कुललाई शिक्षकको अनि शिक्षकलाई विद्यार्थीको । परीक्षाभन्दा पनि सुरुमा शिक्षामा यो हराउँदै गएको विश्वास जोड्न जरुरी छ । अविश्वासमा टेकेर शिक्षा सफल हुन सक्दैन । अनि फेरि, बुझाइलाई मापन पनि त गर्न सकिँदैन नि ! सधैँ सही र गलत भन्ने पनि हुँदैन । तपाईं कसैको पेन्टिङ हेर्दै हुनुहुन्छ वा कसैको कविता पढ्दै हुनुहुन्छ वा गीत सुन्दै हुनुहुन्छ भने तपाईं ती कुरामा बग्नुहुन्छ । समर्पित हुनुहुन्छ । कतिपय विषय अभिव्यक्त गर्न पेपर र कलम मात्र पनि असमर्थ हुन सक्छ । तसर्थ, शिक्षामा जति परीक्षाले महत्व् पाइरहेको छ, त्यो अनावश्यक छ ।

अन्त्यमा,
कक्षामा छिर्दै गर्दा, पाठ मात्र होइन । शिक्षकले विद्यार्थीको मनोविज्ञानमा समानुभूति पनि राख्न जरुरी छ । कसैको आज घरमा बुबा–आमाको झगडा परेको छ । कसैको बुबाले विदेशबाट पैसा नपठाएकाले शुल्क तिर्न सकेको छैन । कसैको युवाअवस्थामा पुग्दै गरेकोमा धेरै प्रश्न अनि शारीरिक परिवर्तन हुँदै छन् । केही भाइ–बहिनीले घरको कामले गृहकार्य गर्न सकेका छैनन् । परीक्षामा तपाईंले खोजेको राम्रो नम्बर ल्याउन सकिरहेका छैनन् । यी कुरा शिक्षकले अनुभूति गर्न जरुरी छ । विद्यार्थीलाई ‘तैँले जिन्दगीमा केही गरेर खाँदैनस्’ वा ‘तेरो भविष्य छैन’ भन्ने अधिकार कुनै पनि शिक्षकलाई छैन । त्यो वातावरण बनाउनका लागि दुईटा सर्त छन् । पहिलो, शिक्षक अनि विद्यार्थीको एक–अर्काप्रतिको आदर अनि विश्वास । दोस्रो, हाम्रो शिक्षा प्रणाली प्रतिस्पर्धामा होइन कि एक–अर्काको सहकार्यको मोडेलमा स्थापित हुन जरुरी छ ।

‘काठमाडौं फ्लाइङ स्कुल’ पढेर चराले उड्न सिकेको होइन । ‘नेपाल इन्टरनेसनल स्विमिङ स्कुल’ पढेर माछाले पौडिन सिकेको होइन । सिकाइ प्राकृतिक हो । शिक्षालय त सहायक मात्र हो । कुनै स्कुलले स्विमिङ पुल बनाउँदैमा त्यहाँ पढ्ने स्वतः पौडी खेल्न सिपालु हुने होइन, त्यसका लागि त विद्यार्थी आफैँ पोखरीमा हामफाल्नुपर्छ । कलेजै नपढेका मानिस पनि धेरै सफल भएका छन् भने विश्वविद्यालयमा धेरै अंक ल्याएका कैयौँ विद्यार्थी बेरोजगार छन् । हाम्रा विद्यालयले यो कुरा बुझ्न जरुरी छ । हामीले यो शिक्षाको इकोसिस्टमबारे गहिरिएर सोच्ने वेला आएको छ । हाम्रो शैक्षिक पथको पुनर्निर्माण आवश्यक छ । अब हामीलाई वैकल्पिक शिक्षा आवश्यक छ ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account