सहरको साहित्य : मन्दीमा पुस्तक बजार

सहरको साहित्य : मन्दीमा पुस्तक बजार

सहरको साहित्य : मन्दीमा पुस्तक बजार

०६० को दशकअघि नेपाली लेखकहरू आफ्ना किताब हात–हातमा बाँड्दै हिँड्थे । तर, ०६० को दशकको मध्यतिरबाट साहित्यको बजार फस्टायो । नारायण वाग्ले, राजन मुकारुङ, बुद्धिसागर, अमर न्यौपाने, सुविन भट्टराईका किताब भटाभट बिक्री हुन थाले । किताब बिक्री हुन थालेपछि लेखकहरू ‘फुल टाइटमर’मा दरिन थाले । प्रकाशक पनि च्याउसरी उम्रिए । नयाँ लेखक पनि उस्तै मात्रामा जन्मिए । प्रकाशक–लेखक सबैको ध्येय एउटै थियो, आख्यान आउनुपर्छ, त्यो पनि उपन्यास ।

राम्रो कविता लेखिरहेका कविहरू पनि भटाभट आख्यानतिर लागे । चलेका कविले एड्भान्सस्वरूप पारिश्रमिक लिन थाले । उपन्यासका लागि सुरुमै एड्भान्स लिएकाले वर्षौं बितिसक्दा पनि किताब तयार गर्न नसकेको कवि–लेखकहरूकै स्वीकारोक्ति छ । पुस्तकको बजार राम्रैसँग चलिरहेको थियो । लेखकहरू पनि राम्रै आम्दानी गरिरहेका थिए । यसैबीच प्रकाशकहरू आत्मकथातिर लागे । अवकाशप्राप्त कर्मचारी, राजनीतिज्ञ, कलाकार सबैका आत्मकथा आए । सुरुवातमा राम्रै चलिरहेको पनि थियो । तर, बीचमा पाठकहरूको प्रतिक्रिया आउन थाल्यो, ‘आत्मरति मात्र पढिरहेर कुनै काम छैन ।’ यसपछि आत्मकथाको बजार पनि बिस्तारै ओरालो लाग्यो ।

०७० को दशकमा त पुस्तकको बजार झनै शान्त छ, पाठक मौन छन् । चलेका र अपेक्षा गरिएका लेखकबाट पनि गतिलो किताब नआएको गुनासो पाठकको छ । ‘राम्रा पुस्तक नै आएनन् । आशा गरिएका लेखकको किताब पढ्दासमेत निराश हुनुपर्छ,’ हातमा अमृता प्रितमको ‘रसिदी टिकट’ बोकेर रत्न पुस्तक भण्डारमा भेटिएका बाग्लुङका बाबुराम चालिसे भन्छन्, ‘मदन पुरस्कार विजेता प्रायः लेखकका दोस्रो पुस्तक त कभर पल्टाउन र र्‍याकमा सजाउनका लागि मात्र हुन् ।’ यस्तै, मण्डला बुक प्वाइन्टमा भेटिएका कपिल चौलागाईं कविता पनि लेख्छन् । युवल नोह हरारीको ‘सेपियन्स : अ ब्रिफ हिस्ट्री अफ हुमन काइन्ड’ हातमा च्यापेको अवस्थामा भेटिएका उनी प्रायः किताब भारतबाट झिकाउँछन् । ‘पछिल्लोसमय नेपाली साहित्यलाई आत्मरतिवाला आत्मकथाले सकायो । राम्रा किताब पनि आएनन्, आएका पनि छायाँमा परे,’ उनी भन्छन् ।

मण्डला बुक प्वाइन्टमा भेटिएका कपिल चौलागाईं भन्छन्, ‘पछिल्लो समय नेपाली साहित्यलाई आत्मरतिवाला आत्मकथाले सिध्यायो । राम्रा किताब पनि आएनन्, आएकासमेत छायामा परे ।’

लगातार किताब लेखिरहेका लेखकहरूको मत भने फरक छ । अहिले पनि बजारमा फाट्टफुट्ट राम्रा किताब आउने गरेको उनीहरू बताउँछन् । तिनीहरूको राम्रोसँग समीक्षा र छलफल नहुँदा बजार अलि सुस्त हुँदै गएको उनीहरूको बुझाइ छ । युवालक्षित पुस्तक लेखेर चर्चामा आएका सुविन भट्टराई आउँदो दसैँमा नयाँ कितब ल्याउने तयारीमा छन् । ‘पुस्तक बिक्रीमा कमी आएको भन्ने मैले त कमै महसुस गरेको छु । तर, पुस्तक बिक्री हुन छाडेपछि पुस्तक पसलेहरू मदिरा पसल चलाउन थालेको भन्ने पनि सुन्छु,’ उनी भन्छन्, ‘प्रकाशकहरूको पनि यस्तै कुरा आइरहेको छ ।’

साहित्यकार अमर न्यौपाने पनि पुस्तकको बजार पहिलेको तुलनामा एकदमै सुस्त हुँदै गएको स्वीकार्छन् । ‘अहिले प्रविधि र सामाजिक सञ्जालले गर्दा मानिस खाना खाँदा पनि व्यस्त रहन्छन्,’ उनी भन्छन्, ‘बजारमा धेरै किताब आए पनि सस्तो किताबका कारण पाठक झुक्किएका हुन सक्छन् ।’ यस्तो अवस्था सधैँ नरहने न्यौपानेको विश्वास छ । ‘जसरी मानिस प्रकृतितिर फर्किरहेका छन्, त्यसरी नै पुस्तकतिर फर्किनेछन्,’ उनी भन्छन्, ‘अहिले नै आत्तिइहाल्नु हुँदैन ।’

साहित्यकार राजन मुकारुङ भने पाठकलाई लेखकहरूले एकैठाउँमा जोड्न नसकेको बताउँछन् । ‘पठन संस्कृतिको विकासै हुन सकेन । खासमा लेखक पनि नश्लवादी भए, पाठक पनि,’ उनी भन्छन्, ‘तीन करोड जनसंख्यामा किताबचाहिँ पाँच हजारप्रति पनि बिक्री नहुने । हामीसँग जुन किसिमको राष्ट्रिय भनिएको संरचना छ, त्यसले मधेसको २५÷३० प्रतिशत जनसंख्यालाई जोड्नै सकेको छैन ।’

रातारात सेलेब्रिटी हुने लोभमा जो पनि लेखक बन्न थालेपछि बजार बिग्रिएको बुक हिल पब्लिकेसनका भूपेन्द्र खड्का बताउँछन् । ‘व्यापार, व्यवसाय गरेका व्यक्ति लेखक बन्छु भनेर दौडिएका छन् । यस्तै कारणले अहिलेको अवस्था आएको हो,’ उनी भन्छन्, ‘हाम्रोमा पठन संस्कृति नै छैन । बजारमा जे हल्ला आयो, सबै त्यसैको पछि दौडिन्छन् ।’

आत्मकथाको मारमा राम्रा किताब परेको उनको दाबी छ । ‘अहिले बजारले नयाँ चिज खोजिरहेको छ,’ उनी थप्छन्, ‘जसले गर्दा, अहिले त दुई–तीन हजार प्रति किताब बिक्री हुनु नै ठूलो कुरा भएको छ ।’ पुस्तक बिक्रीको पछिल्लो स्थिति त्यति सन्तोषजनक नभएको फाइनप्रिन्टका अजित बराल पनि बताउँछन् । भन्छन्, ‘बजारबाट पैसा उठाउन गाह्रो भइरहेको छ । बजार तताउन भए पनि राम्रो किताब आउन आवश्यक छ ।’

admin

leave a comment

Create Account



Log In Your Account