पार्टी एकतापछि नेकपा केन्द्रीय सदस्यहरुले बैठकमा देखेका ५ भिन्नता

पार्टी एकतापछि नेकपा केन्द्रीय सदस्यहरुले बैठकमा देखेका ५ भिन्नता

पार्टी एकतापछि नेकपा केन्द्रीय सदस्यहरुले बैठकमा देखेका ५ भिन्नता

बुधबार (१५ माघ) देखि सुरु भएको सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भएको छ । ३ जेठ ०७५ मा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएपछिको यो दोस्रो बैठक भए पनि प्रकृतिको दृष्टिले यसलाई पहिलो बैठक मानिएको छ । किनभने, पार्टी एकताकै दिन (३ जेठ ०७५) भएको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहणमात्र गराइएको थियो, विषयवस्तुबारे त्यतिबेला छलफल भएको थिएन ।

३ जेठ ०७५ अघि नेकपाको केन्द्रीय कमिटीमा रहेका नेताहरु फरक फरक पार्टी (एमाले र माओवादी केन्द्र) को बैठकमा सहभागी हुने गर्थे । यस पटक उनीहरु सँगै छन् । पूर्व पार्टी (एमाले र माओवादी केन्द्र) मा छदाँ हुने केन्द्रीय कमिटी बैठक र पार्टी एकतापछि भएको यस पटकको बैठकमा के फरक देखिन्छ, यस विषयमा हामीले पूर्व एमालेतर्फबाट नेकपा केन्द्रीय सदस्य बनेकी दिलकुमारी (दिलु) पन्त र पूर्व माओवादी केन्द्रबाट केन्द्रीय सदस्य बनेका हेमराज भण्डारीसँग कुरा गरेका छौँ ।

हार्दिकता र अन्तरघुलन
पन्त : दुई पार्टीको कार्यदिशा एउटै भए पनि हाम्रो पृष्ठभूमि फरक थियो । पहिले हामी मैदानमा थियौं, यो बैठकले हामीलाई एक ठाउँ ल्याएको छ । यसरी दुवै फरक पृष्ठभूमिका साथीहरू एकै ठाउँमा भेट हुँदा एक किसिमको छुट्टै अनुभूति हुँदो रहेछ ।

‘पूर्व’ भेद हामीले राख्न नखोजे पनि परिचय दिने क्रममा एक–अर्कालाई नचिन्ने देखिएको छ, परिचय हुँदै छ । तर घनिभूत हुन बाँकी छ । हामी चिनजानकै पुरानै साथीहरूसँग बस्ने गरेका छौं । नयाँपन यो पनि हो ।

अर्को कुरा, पार्टीको सङ्गठन सबैतिर बनिसकेको छैन । ‘तेरो–मेरो’ भन्ने  सकिएको छैन । त्यसले गर्दा ‘मैले काम यो गरेँ भनेर आउन सक्ने स्थिति छैन ।

केन्द्रमा केही कमिटीहरूको एकता भए पनि तल्लो स्तरमा एकीकरण हुन सकेको छैन । कतिपय जिल्लाहरु एकीकरण भए पनि पुरानै कार्यदलले चलाइरहेको छ । यसलाई मिलाएर सबै कमिटीहरु एकता भए ‘पूर्व’ भन्ने शब्द नै रहँदैनथ्यो । सबै एकता नभएकाले अहिलेको बैठकमा साथीहरूबीच ‘पूर्व’ भन्ने सोच रहेको छ । बैठकमा यसको केही छनक पाइन्छ । यसले गर्दा साथीहरूमा केही अन्योल बाँकी रहेको महसुस गरेकी छु ।

भण्डारी : हामी फरक फरक समूहबाट आएको भए पनि बैठक र छलफलको क्रममा हार्दिकता र अन्तरघुलनको राम्रो देखिएको छ ।  हामी पूर्वमाओवादी केन्द्रबाट आएका साथीहरुबीच जस्तो हार्दिकता देखिन्छ, त्यस्तै हार्दिकता पूर्व एमालेबाट आउनु भएका साथीहरुसँग पनि छ ।  यद्यपी, संख्याका हिसाबले पहिलेको भन्दा अहिले बढी भएकाले सबै साथीहरुसँग भेटघाट र छलफल गर्न सकिएको छैन् ।

समयका हिसाबले पनि यो बैठक पहिलेका भन्दा लामो समय चलेको छ । यसरी पाँच–पाँच दिनसम्म पूर्वमाओवादीको केन्द्रीय कमिटी बैठक बसेको थिएन । पाँचदिनमा धेरै साथीहरूबीच नजिकबाट कुराकानी गर्ने माहोल पनि मिलेको छ ।

व्यवस्थापन
भण्डारी : झण्डै ४ सय ५० जना साथीहरूलाई राखेर १५ समूहमा छलफल गराउनु व्यवस्थापनका हिसाबले धेरै जटिल काम हो । तर, व्यवस्थापन पक्षमा औंल्याउनै पर्ने गरी त्यस्तो कमजोरी पाइएको छैन ।

पहिले हामी पेरिसडाँडामा कुशन बिछ्याएर भूइँमै केन्द्रीय कमिटी बैठक बस्थ्यौं । अहिले बस्नका लागि कुर्सी छ, सजिलै भएको छ । ‘कम्फर्टेबल फिल’ गरेका छौँ ।

इन्टरनेट, टाइप गर्ने सुविधा, खाना, बासस्थानको व्यवस्था पहिले पनि हुँदैनथ्यो । अहिले पनि आफैंले व्यवस्थापन गर्नु परेको छ ।

पन्त : पहिले पनि बैठकका क्रममा केन्द्रीय सदस्यहरुलाई खाने, बस्ने व्यवस्था हुँदैनथ्यो, अहिले पनि छैन । हामी सडकमा, चाैरमा कार्यक्रम गरेर आएका हुँदा बस्नकै लागि त्यस्तो समस्या छैन । पहिला महिला, जुनियर कार्यकर्तालाई अलिक विभेद गरिन्थ्यो । अहिलेको बैठकको मञ्चमा त्यस्तो विभेद महसुस गरेकी छैन । कुर्सीको व्यवस्थापन पनि पहिलेभन्दा राम्ररी गरिएको थियो ।

शीर्ष नेताहरूसँग देखादेख
भण्डारी : माओवादी केन्द्रमा छँदाको बैठकमा शीर्ष नेताहरूलाई आफ्नै आँखा अगाडि देख्न पाइन्थ्यो । अध्यक्ष र शीर्ष नेताहरूको ‘बडी ल्याङ्वेज’ र हाउबाउ प्रत्यक्ष देखिन्थ्यो । अहिलेको बैठकमा त्यस्तो देख्न पाइएको छैन ।

१५ वटा समूह बनाएर भिन्न–भिन्न ठाउँमा छलफल गरिएकाले पनि यस्तो भएको होला । यही कारण साथीहरूबीच नै प्रत्यक्ष सल्लाह गर्न, धारणा राख्न पनि पाइएको छैन । किनकी साथीहरु फरक फरक समूहमा हुनुहुन्छ । पूर्वमाओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा भने छलफलमा सहभागी सबै साथीहरूबीच बैठक नसकिएसम्म विभिन्न समयमा प्रत्यक्ष छलफल हुन्थ्यो ।

पन्त : यति ठूलो बैठकमा ४ सय ४१ जनाले नै बोल्न सम्भव हुने कुरा भएन । कुरा धेरै थिए, १/२ मिनेटमा नसकिने भएपछि समूह छुट्याइएको थियो । टोली नेतासँग हामी सबै सदस्यले १० मिनेट कुरा राख्यौं । टोली नेताले अध्यक्षज्यूलाई चाहिँ २० मिनेटमा कुरा राख्नु भएको थियो ।

पहिलेको केन्द्रीय कमिटी बैठकमा यस्तो हुँदैनथ्यो । सबै सदस्यहरूसँग छलफल गरेर आफ्ना कुरा आफैं राख्न सकिन्थ्यो । समूहमा रहेका २९ जनाको कुरालाई बुँदामा टिपेर २० मिनेटभित्र राख्दा केही बुँदामा स्पष्ट र सदस्यले भन्न चाहेजस्तै गरी कुरा आउन नसकेको जस्तो लाग्छ ।

नेतृत्वसँग सम्बाद 
भण्डारी : पहिलेको बैठकमा अध्यक्षसहित शीर्ष नेताहरुसँग हाकाहाकी आफ्नो विचार राख्न सकिन्थ्यो । नेकपाको यो बैठकले त्यस्तो अवसर दिएको छैन । मलाई चित्त नबुझेको विषय यही हो । दुई जना अध्यक्षकै अगाडि बरू २/२ मिनेट भए पनि सबै सदस्यहरूलाई बोल्न दिएको भए राम्रो हुन्थ्यो ।
टोली नेताहरुले आफ्ना कुरा बढी प्राथमिकताका साथ सुनाउने गर्नुभएको छ । समूह छलफलका क्रममा आएका अरू साथीका कुराहरू जस्ताको तस्तै अध्यक्षलाई रिपोर्टिङ गर्ने काम हुन सकेन ।

पन्त : औपचारिक रूपमा पहिलो भनिए पनि अहिले भएको बैठक नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक हो । पहिले जसरी यो बैठकमा शीर्ष नेतृत्वसँग ठ्याक्कै आफैले भाव प्रकट गर्ने चाहिँ हुन पाएन । तर एउटा समूहबाट नआएका कुरा अर्को समूहबाट आएका छन् । त्यसलाई पनि यो मेरो भनाइ हो मेरो भाव हो भनेर बुझ्नु परेको छ । आफैंले प्रकट गरेको र अरूले रिपोर्टिङ गरेको कुरामा त फरक हुने भइहाल्यो ।

को नरम, को कडा
भण्डारी : पूर्वमाओवादीको बैठकमा हामी शीर्ष नेतालाई हाकाहाकी कुरा राख्थ्यौँ । अहिलेको बैठकमा के देखियो भने, पूर्वएमालेका साथीहरू कुराकानी राख्न अलिकति डराउनु भयो । उहाँहरूको ‘कल्चर’ के थियो, थाहा भएन । तर शीर्ष नेताहरूको आलोचना गर्ने, समस्या भन्ने तरिका हाम्रोभन्दा फरक रहेछ ।

बाहिर चर्को आलोचना गरे पनि कुरा राख्ने बेला उहाँहरू शीर्ष नेताहरुसँग नरम शैलीमा प्रस्तुत हुनुहुँदो रहेछ । हाम्रो चाहिँ त्यस्तो हुँदैनथ्यो । हामी बाहिर र भित्रै पनि कडा रूपमै शीर्ष नेताहको आलोचना गर्न डराउँदैनौं । अहिलेको बैठकमा मलाई यो विषय पनि अलिक अनौठो र नयाँ लागेको हो ।

पूर्वमाओवादीका तर्फबाट कुरा उठाउँदा वैचारिक रूपले उठाइयो । पूर्वएमालेका साथीहरुले भने प्राविधिक र व्यवस्थापकीय कुराहरू उठाउनु भयो ।

राजनीतिक प्रतिवेदनमा यहाँ यो पुगेन, समाजवादको व्याख्या पुगेन, जनवादको व्याख्या के हो रु पूर्व माओवादी केन्द्रका साथीहरुले ‘मार्क्सवाद, लेनिनवाद अनुसार विचार आउनुपर्‍यो’ भन्ने कुरा उठाउनु भयो ।  पूर्वएमालेका साथीहरू चाहिँ केन्द्रीय सदस्यहरूको सेवा–सुविधालगायतका प्राविधिक कुराहरूमा बढी केन्द्रित हुनुभयो ।

पन्त : मौका पायौँ भने हामीपनि लागेको कुरा बोलिहाल्छौं । हाम्रा (पूर्व एमालेतर्फका) साथीहरू पनि सिध्याउने गरेर कुरा गरिहाल्नुहुन्छ । उहाँ (पूर्वमाओवादीतर्फका) साथीहरूले पनि त्यस्तो तुच्छ शब्द प्रयोग गर्नु भएको सुनेको छैन । वहाँहरूमा त्यस्तो नकरात्मक कुरा मैले केही पाइनँ ।

यो बैठकबाट मैले के अनुभव गरेँ भने, सोच्ने र बुझ्ने धारणालाई हामीले अलिक फराकिलो बनाउनुपर्ने रहेछ । गुट भन्दा पनि आपसी सहिष्णुतालाई विकसित गर्नुपर्ने महसुस मैले गरेँ । ‘मैले गरेको मात्रै ठीक’ भन्ने भन्दा पनि ‘हामीले गरेको ठीक’ भन्ने भावना विकसित गर्नुपर्ने महसुस गरेकी छु ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account