हारेका च्याम्पियन

हारेका च्याम्पियन

हारेका च्याम्पियन

चर्चा जित्नेकै मात्र हुन्छ, यो सत्य होइन । केही खेलाडी यस्ता छन्, जसले खेलकुदको मर्म मर्न नदिन आफ्नो जितको जानाजान बलिदानी दिए । खेल मैदानभित्र उनीहरूले देखाएको इमानदारिता, साहस, आत्मविश्वास र मानवीय भावना सिंगो मानव समुदायका लागि अनुकरणीय छ । जित–हारबाट खेलकुदको परिभाषा बदल्ने अर्थात् ‘स्पोर्टस्म्यानसिप’ देखाउने केही खेलाडी यस्ता छन् :

इमानदार जुडी गेनेस 
१९३२ को लस एन्जलस ओलम्पिकमा फेन्सिङकी जुडी गेनेसले स्वर्ण जितेको घोषणा भइसकेको थियो । अस्टे«लियाली इलेस प्रिइसविरुद्धको प्रतिस्पर्धात्मक फाइनलमा २१ वर्षीया बेलायती खेलाडी गेनेसलाई विजेता ठहर त गरियो, तर निर्णायकले यस खेलमा प्रिइसका दुई प्रहारबापतको अंक नै जोडेका थिएनन् । गेनेसले नै यसबारे उनीहरूलाई जानकारी दिइन् र आफू रजतमै खुसी हुने बताइन् । इमानदारीले स्वर्ण गुम्यो, तर विश्व खेल इतिहासमा उनको प्रतिष्ठा आज पनि उच्च छ ।

प्रतिस्पर्धीलाई नै सल्लाह 
१९३६ को बर्लिन ओलम्पिकले जर्मन धावक लुट्ज लङ र अफ्रो– अमेरिकी जेस्से ओवेन्सको मित्रताको अर्थ सम्झाउँछ । जर्मन चान्सलर हिटलरले ओलम्पिकलाई नाजी पार्टीको शक्ति र ‘आर्य मात्रै’ नीति प्रवद्र्धन गर्ने अवसरका रूपमा लिएका थिए । आफ्नो देशका यहुदीलाई प्रतिस्पर्धाबाटै वञ्चित गर्ने नाजी पार्टी अमेरिकी अश्वेतसँग घरेलु खेलाडी हारेको हेर्न कदापि चाहँदैनथ्यो, तर यसले लुट्जलाई फरक पार्नेवाला थिएन ।

उनले स्वर्ण पदक जितेनन्, तर सबैको मन जिते । एथलेटिक्सको लङ जम्पतर्फ सुरुवाती राउन्डमा विश्व कीर्तिमानी ओवेन्सले दुईपटक फल खेलेका थिए । थप एकपटक फल खेल्दा ओवेन्स बाहिरिने र लुट्जलाई स्वर्ण जित्न सहज हुने थियो । तर, तेस्रोपटक लुट्जसँग नै सल्लाह मागेर ओवेन्सले सही जम्प मारे । उनी फाइनलमा छनोट मात्रै भएनन्, लुट्जलाई नै हराएर स्वर्ण जिते । ओवेन्सले यस ओलम्पिकमा कुल चार स्वर्ण जितेका थिए । ‘लुट्ज लङसँगको २४ क्यारेटको दोस्ती अगाडि मैले जितेका कप र स्वर्ण फिक्का हुन्,’ ओलम्पिकको समाप्तिपछि ओवेन्सले भने ।

खुला हृदयका मोन्टी
१९६४ को विन्टर ओलम्पिकमा बबस्लेडतर्फको दुईजनाको प्रतिस्पर्धामा इटलीका योउजेनियो मोन्टीले फराकिलो हृदय देखाए । ब्रिटिस खेलाडी टोनी न्यास र रोबिन डिक्सन आफ्नो स्लेडको बोल्ट भाँचिएपछि प्रतियोगिता छाड्नुपर्ने अवस्थामा थिए । मोन्टीले आफ्नो स्लेडबाट बोल्ट निकालेर उनीहरूलाई दिए । यस प्रतिस्पर्धामा अन्ततः न्यास र डिक्सन नै च्याम्पियन भए, मोन्टी र उनको टिमले कांस्य पदकमा चित्त बुझायो । त्यसपछि इटलीमा मोन्टीको ठूलै विरोध भएको थियो ।

आलोचकहरूलाई जवाफ दिँदै उनले भने, ‘न्यासले मसँग बोल्ट लिएकाले जितेका होइनन् । उनीहरू चाँडै कुदेकाले जितेका हुन् ।’ मोन्टीले चारसदस्यीय टोलीको प्रतिस्पर्धामा पनि यस्तै स्वार्थरहित भावना देखाए । यहाँ क्यानेडेली टोलीको स्लेडको पिन खराब भएको थियो । मोन्टीले उद्धार नगरेको भए उनीहरू पनि डिसक्वालिफाइड हुने थिए । यस प्रतिस्पर्धामा पनि क्यानडाको टिम पहिलो र मोन्टीको टोली तेस्रो भयो । मोन्टीले पिर्रे डी कोउबर्टिन मेडल पाए । आधुनिक ओलम्पिक खेलका संस्थापक पिर्रे डी कोउबर्टिनको नाममा स्थापित यो पदक उदाहरणीय प्रदर्शन गर्नेलाई दिइन्छ ।

डेभिड प्योर्लीको साहस 
१९७३ को घटना हो, फर्मुला वानअन्तर्गत डच ग्रान्ड प्रिक्समा बेलायती चालक प्योर्लीले आफ्नै देशका प्रतिस्पर्धी खेलाडी रोजर विलियम्सनको स्पोर्टस् कार बारमा ठोक्किएर आगलागीमा परेको देखे । उनले तत्कालै आफ्नो कार रोके, प्रतिस्पर्धा त्यागेर सहयोग गर्न अघि सरे । पहिले आगोमा जलिरहेको गाडीलाई धकेलेर रोजरलाई निकाल्न प्रयास गरे, नसकेपछि आफ्नो कारबाट ग्यास सिलिन्डर झिके र आगो निभाउन थाले । उद्धारकर्ताहरूले सम्हालिन आग्रह गर्नुका बाबजुद प्योर्लीको ध्यान ज्यान बचाउनमै केन्द्रित थियो । उनले यसक्रममा हात हल्लाएर अन्य प्रतिस्पर्धीलाई पनि सहयोगका लागि रोकिन आग्रह गरेका थिए, तर कोही रोकिएनन् । आगलागीमै रोजरको ज्यान गयो । यस घटनाको १२ वर्षपछि विमान दुर्घटनामा प्योर्लीको पनि मृत्यु भयो । तर, उनले देखाएको साहस विश्वले बिर्सनेछैन ।

दयालु लेमिउ 
१९८८ मा सिओल ओलम्पिकअन्तर्गत सेलिङतर्फको प्रतिस्पर्धा बुसान सहरको समुद्री क्षेत्रमा भएको थियो, ४७० र फिन क्लासतर्फको प्रतिस्पर्धा एकसाथ चलिरहेको थियो । एक्कासि हावा चल्यो, ४७० पुरुषतर्फका सहभागी सिंगापुरका जोेसेफ चान र सिउ सा हर चढेको डुंगा पल्टियो । यी दुई व्यक्ति डुंगाबाट पछारिएर घाइते भए । यस समय फिन क्लासतर्फका क्यानेडेली खेलाडी लरेन्स लेमिउ आफ्नो स्पर्धामा रेसको दोस्रो स्थानमा थिए ।

रेस झन्डै आधा सकिएको थियो, सिंगापुरे खेलाडी डुबेको देखेपछि उनले डुंगा मोडे । उनीहरूलाई पानीबाट निकालेर उद्धारकर्मीको प्रतीक्षा गरे । जब उद्धारकर्ता आइपुगे त्यसपछि यी खेलाडीलाई किनारामा लगेर सुरक्षित छाडिदिए । अनि, बल्ल हिट चरणको प्रतिस्पर्धा सुरु गरे । उनले २२औँ स्थानमा रेस पूरा गरे । यद्यपि, अन्तर्राष्ट्रिय याट रेसिङ युनियनले लेमिउको साहसको कदर गर्दै उनले जुन ठाउँमा रेस छाडेका थिए, त्यतिवेलाकै उनको पोजिसनलाई आधार मानेर दोस्रो ठहर ग-यो । यसका बाबजुद पनि लेमिउ समग्रमा एघारौँ स्थानमा सीमित भए । तर, पदक वितरण समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष जुवान एन्टोनियो समरान्चले लेमिउलाई ‘स्पोर्टस्म्यानसिप’, त्याग र साहसका लागि ‘पिर्रे डी कोउबर्टिन मेडल’ प्रदान गरे ।

डेरेकको इच्छाशक्ति
१९९२ को बार्सिलोना ओलम्पिकमा अर्को दुर्लभ दृश्य देखियो । बेलायती खेलाडी डेरेक रेडमन्ड ४ सय मिटरतर्फ कडा प्रतिस्पर्धामा थिए । झन्डै आधा दौड सकिएपछि ह्यामस्ट्रिङमा समस्या देखियो । उनी ट्रयाकमै लडे, बाँकी सबै प्रतिस्पर्धी उनलाई उछिनेर अघि बढे । तर, रेडमन्डले हार मानेनन् । पीडाका बाबजुद उठेर फेरि दौडने प्रयास गरे । स्ट्यान्डमा बसेर आफ्नो असह्य पीडा नियालेका बाबु जिम रेडमन्डले धेरै खप्न सकेनन्, उनी म्याच अफिसियलहरूले रोक्ने प्रयास गर्दा–गर्दै स्ट्यान्डबाट ट्र्याकमा आए । छोरालाई समातेर फिनिसलाइनसम्म पु-याए । छोराको लक्ष्य पूरा गरेरै छाड्ने स्वभाव र बाबुको स्नेह देख्नेहरूले दर्शकदीर्घाबाट उठेर सम्मानभाव प्रकट गरे । कहिल्यै हार मान्नुहुन्न भन्ने उदाहरण यो घटना बन्यो । बेलायत सरकारले सन् २०१२ मा लन्डन ओलम्पिकको टर्च बोक्ने व्यक्तित्वहरूको सूची जारी गर्दा जिमको नाम पनि समावेश थियो ।

प्रतिस्पर्धीलाई सहयोग 
२०१६ को रियो ओलम्पिकमा न्युजिल्यान्डकी निक्की हामब्लिन र अमेरिकी अब्बे डिअगोस्टिनोको दोस्ती हेर्न लायक थियो । ५ हजार मिटर दौडको हिट चरणमा झन्डै ३ हजार मिटर कुदेपछि उनीहरू एक–आपसमा ठोक्किए । डिअगोस्टिनोले उठेर न्युजिल्यान्डकी प्रतिस्पर्धीलाई सहायता गर्न खोजिन्, तर सकिनन् किनकि उनको एंकलमा ठूलै चोट लागेको थियो । त्यसपछि हेमब्लिन उठिन् र उनले डिअगोस्टिनोलाई पनि उठाइन् । अनि दुबैले भावुक भएर एकअर्कालाई अंगालो हाले । उनीहरूले फिनिसलाइनसम्म एक–अर्कालाई सहयोग गरे । ‘स्पोर्टस्म्यानसिप’को कदर गर्दै दुवैलाई फाइनल खेल्ने अवसर दिइयो, तर डिअगोस्टिनोले लिगामेन्ट च्यातिएका कारण खेल्न सकिनन् । हामब्लिन १७औँ नम्बरमा आइन् र आयोजकले यी दुवैलाई ‘ओलम्पिक फेयर प्ले अवार्ड’बाट सम्मानित ग¥यो । ‘पहिले उनले मलाई सहयोग गरेकी थिइन्,’ हेमब्लिनले दौडपछि भनिन्, ‘मैले पनि उनलाई सहयोग गर्ने कोसिस गरेँ ।’

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account