टाइम ट्राभल : भूत र भविष्यको यात्रा कति सम्भव ?

टाइम ट्राभल : भूत र भविष्यको यात्रा कति सम्भव ?

टाइम ट्राभल : भूत र भविष्यको यात्रा कति सम्भव ?

अक्षय कुमार, ऐश्वर्या राय बच्चन र आदित्य रोय कपुर अभिनित सन् २०१० को बलिउड चलचित्र ‘एक्सन रिप्ले’मा बन्टी (कपुर)ले आमा माला (राय) र बुबा किसन (कुमार) बीचको सम्बन्ध बिग्रिएर सम्बन्ध विच्छेदसम्म पुग्न थालेपछि विगतमा गएर उनीहरूको सम्बन्ध बिग्रिनुको कारण के थियो भन्ने पत्ता लगाई सो कारण निर्मुल पार्न हजुरबुबा एन्थोनी गोन्जाल्भेज (रणधीर कपूर) ले आविष्कार गरेको टाइम मेसिनको सहायताले विगतको यात्रा गर्छ । आफ्नो आमाबाबुको विवाह हुनुभन्दा अगाडिको विगतमा पुगेर मालालाई किसनको सच्चा प्रेमको अर्थ बुझाउन ऊ सफल हुन्छ र सोही टाइम मेसिनको प्रयोग गरी पुनः वर्तमानमा फर्किंदा आफ्नो आमाबुबा खुसीसाथ जीवन बिताइरहेको पाउँछ ।

टाइम मेसिन अर्थात् भूत र भविष्यको यात्रा गर्न मिल्ने मेसिनको परिकल्पना यस्ता बलिउड–हलिउड चलचित्रहरू तथा साहित्यहरूमा प्रशस्त छन् । टाइम मेसिनको परिकल्पना सबैभन्दा पहिले बेलायती साहित्यकार एच जी वेल्सले गरेको बताइन्छ । उनीभन्दा अगाडि पनि ‘समय यात्रा’ (टाइम ट्राभल) को परिकल्पना नगरिएको भने होइन । तर, प्रचलित साइन्स फिक्सनमा र वैज्ञानिकहरूमाझ नै पनि टाइम ट्राभलको सम्भावनाबारे विचारविमर्श भने सन् १८९५ मा एच जी वेल्सको उपन्यास ‘द टाइम मेसिन’को प्रकाशनपछि मात्र हुन थालेको मानिन्छ । तर, के एच जी वेल्सले परिकल्पना गरेजस्तै वा हलिउड–बलिउडका चलचित्रहरूमा देखाइएजस्तै टाइम ट्राभल गर्न सकिन्छ त ? के विगतमा गई आफूले गरेका गल्तीहरू सच्याउन सकिन्छ त ? के भविष्यमा गएर मानव सभ्यताको यात्रा कहाँसम्म पुग्नेछ भन्ने अहिले नै थाहा पाउन सकिन्छ त ?

टाइम ट्राभल गर्न सकिन्छ कि सकिन्न भन्ने कुरा थाहा पाउन पहिला समयको विशेषताबारे बुझ्नुपर्ने हुन्छ । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनभन्दा अगाडि सबैले समय भनेको सबैका लागि समान हुन्छ भन्ने कुरा विश्वास गर्थे । या भनौँ, समय व्यक्तिअनुसार फरक हुनुपर्ने कारण नै कसैले देखेका थिएनन् । समय भनेको त घटनाहरूको गति हो, जुन निरन्तर एकै गतिमा भूतबाट वर्तमान र वर्तमानबाट भविष्यमा चलिरहन्छ; र यही घटनाहरू घट्ने गतिलाई मापन गर्नका लागि हामीले वर्ष, महिना, दिन, घन्टा, सेकेन्डमा विभाजित मात्र गरेका हौँ; यो गति कहिल्यै पनि परिवर्तन हुँदैन, कसैका लागि पनि परिवर्तन हुँदैन । कुनै घटना दुई व्यक्तिले अवलोकन गरिरहेका छन् भने त्यो घटना दुपै व्यक्तिका लागि एकै समयमा सुरु हुन्छ र एकै समयमा अन्त्य हुन्छ । त्यसैले उनीहरूका लागि समय फरकफरक हुने कुरै आउँदैन । त्यसैले आइन्स्टाइनभन्दा अगाडि समयलाई कुनै भौतिक इकाइको रूपमा नभई हाम्रो कल्पनाका रूपमा अथवा भनौँ, अस्तित्व वा घटनाहरूको निरन्तर प्रगतिका रूपमा बुझिन्थ्यो ।

तर, सन् १९०५ मा आइन्स्टाइनले प्रतिपादन गरेको विशेष सापेक्षतावादको सिद्धान्तले भने समयलाई हेर्ने हाम्रो आधारभूत बुझाइलाई नै परिवर्तन गरिदियो । सन् १८८७ मा अल्बर्ट ए मिसेलसन र एडवार्ड मोर्लेले गरेको एक अनुसन्धानले अन्तरिक्षमा प्रकाशको गति सम्पूर्ण अवलोकनकर्ताको लागि समान हुन्छ भन्ने तथ्य स्थापित गरेको थियो । यही तथ्यलाई पनि एउटा पूर्वाधार बनाएर आइन्स्टाइनले विशेष सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए । सो सिद्धान्तको एक नतिजा के हो भने समयको गति अवलोकनकर्ताको आफ्नो यात्राको गतिमा भर पर्छ । त्यसको मतलब अवलोकनकर्ता जति छिटो यात्रा गर्छ, स्थिर व्यक्तिको तुलनामा उसका लागि समय त्यति ढिलो चल्छ ।

यो तथ्य बुझ्न एउटा अवस्थाको परिकल्पना गरौँ, जहाँ रमेश तेज गतिमा चलिरहेको रेलभित्र यात्रा गरिरहेको छ भने मीना रेलबाहिर स्थिर अवस्थामा छे । रेलको भुइँमा एउटा बत्ती छ र बत्तीको ठीक माथि दलिनमा ऐना छ । अब रमेश र मीना दुवैले बत्तीबाट उत्पन्न हुने प्रकाश बत्तीबाट ऐनामा ठोक्किएर फेरि बत्तीमा फर्कनका लागि लाग्ने समय मापन गर्न लगाऔँ । कुनै गतिशील वस्तुले कुनै निश्चित दूरी पार गर्नका लागि लाग्ने समय त्यसको गतिमा भर पर्छ । रेलभित्र यात्रा गरिरहेको रमेशका लागि प्रकाशले पार गर्ने दूरी भनेको ऐना र बत्तीबीचको दूरीको दोब्बर हुन्छ ।

रेलबाहिर बसिरहेकी मीनाका लागि प्रकाशले पार गर्ने दूरी रमेशका लागि भन्दा बढी हुन्छ किनभने प्रकाशले रेल सँगसँगै छड्के दूरी पनि पार गरिरहेको हुन्छ । तर, प्रकाशको गति भने रमेश र मीना दुवैका लागि एउटै हुने भएर रमेश र मीनाले मापन गर्ने समय फरक हुन्छ । रमेशले मापन गर्ने समय कम हुन्छ भने मीनाले मापन गर्ने समय बढी हुन्छ । यसको मतलब रमेशका लागि समय ढिलो चल्छ भने मीनाका लागि छिटो । यसरी फरक अवलोकनकर्ताका लागि हुने समयको भिन्नतालाई वैज्ञानिक भाषामा ‘टाइम डाइलेसन’ भनिन्छ ।

टाइम डाइलेसनको एक परिणामको रूपमा ट्विन पाराडक्स निकै प्रख्यात छ । एक २५ वर्षे जुम्ल्याहा दाजुभाइमध्ये एकलाई पृथ्वीमै राखी अर्कोलाई एक रकेटमा प्रकाशको गतिनजिकको गतिमा अन्तरिक्षको यात्राको लागि पठाऔँ । अन्तरिक्षमा यात्रा गरिरहेका दाजुका लागि समय पृथ्वीमा बसिरहेको भाइका लागि भन्दा निकै ढिलो चल्छ । र, दाजु १० वर्षे यात्रा सकेर पृथ्वीमा फर्कंदा ३५ वर्ष पुग्छन् भने भाइ ८० वर्षका वृद्ध भइसक्छन् । यो अवस्थालाई वैज्ञानिकहरूले ट्विन पाराडक्स भन्छन्; तर खासमा यो पाराडक्स (विरोधाभास) नभई यथार्थ हो । यस्तो अनौठो तथ्यलाई अल्बर्ट आइन्स्टाइनले विशेष सापेक्षतावादको सिद्धान्तद्वारा गणितीय रूपमा पुष्टि गरेका थिए ।

विशेष सापेक्षतावादको सिद्धान्त र टाइम डाइलेसनको बुझाइपछि समयबारे हाम्रो आधारभूत बुझाइ खलबलियो । समय भनेको कुनै काल्पनिक चिज नभई यो एक भौतिक इकाइ भएको तथ्य स्थापित भयो । समय फरक व्यक्तिका लागि फरक हुन्छ र यो निरपेक्ष नभई सापेक्ष हुन्छ भन्ने तथ्य स्थापित भयो । र, एच जी वेल्सको टाइम ट्राभलको साहित्यिक परिकल्पना वैज्ञानिक रूपमै सैद्धान्तिक हिसाबमा सम्भव छ है भन्ने आशा पलाउन थाल्यो । त्यसैले विशेष सापेक्षतावादको सिद्धान्तको प्रतिपादनपछि टाइम ट्राभलको वैज्ञानिक अध्ययन नै सुरु हुन थाल्यो । हाल टाइम ट्राभलको विषयमा वर्षमा ५० भन्दा बढी वैज्ञानिक शोधपत्रहरू प्रकाशित हुन्छन् ।

विशेष सापेक्षतावादको सिद्धान्तले गणितीय रूपमा पुष्टि गरेको टाइम डाइलेसनको प्रयोगात्मक रूपमा पनि पुष्टि भएर प्रयोगमा पनि आइसकेको छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने स्मार्टफोनमा रहेको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीले यसै तथ्यको प्रयोग गर्छ । यदि जिपिएसमा टाइम डाइलेसनको विज्ञानको प्रयोग नगर्ने हो भने जिपिएसले हाम्रो स्मार्टफोनसित गर्ने सम्पर्कको समयमा फरक पर्न जान्छ र प्रत्येक दिन नै हाम्रो स्मार्टफोनको जिपिएसले देखाउने हाम्रो स्थान (लोकेसन) १०औँ किलोमिटर फरक हुन जान्छ ।

आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्तले पुष्टि गरिसकेको यही टाइम डाइलेसनको प्रयोग गरी टाइम ट्राभल गर्न सकिने वैज्ञानिकहरू बताउँछन् । वास्तवमा टाइम ट्राभल सफल पनि भइसकेको छ । रुसी अन्तरिक्षयात्री सर्गेई क्रिकलेभले अन्तरिक्षमा आठ सय तीन दिन ९ घन्टा ३९ मिनेट बिताएका थिए । उनी अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने व्यक्ति हुन् । अन्तरिक्षमा उनको यति लामो बसाइपछि पृथ्वीमा फर्कंदा उनले ०.०२ सेकेन्ड भविष्यको यात्रा गरे । अन्तरिक्ष बसाइका क्रममा पृथ्वीलाई करिब ३० हजार किलोमिटर प्रतिघन्टाको गतिमा परिक्रमा गर्दा उनले ०.०२ सेकेन्ड बराबरको टाइम डाइलेसन भोगे । सर्गेई क्रिकलेभले गरेको ०.०२ सेकेन्डको भविष्यको यात्रा अहिलेका लागि उल्लेखनीय नभए पनि यो टाइम ट्राभलको पहिलो पाइला भने हो ।

विशेष सापेक्षतावादको सिद्धान्तको प्रकाशनको १० वर्षपछि सन् १९१५ मा आइन्स्टाइनले सामान्य सापेक्षतावादको सिद्धान्तको प्रतिपादन गरे । सामान्य सापेक्षतावादको सिद्धान्तको अवधारणा अनुसार, गुरुत्वाकर्षण भनेको कसैले कसैलाई तान्ने शक्ति होइन । यो त वक्राकारको अन्तरिक्षले पैदा गर्ने एउटा परिणाम हो । अन्तरिक्ष वक्र भएको स्थानमा हामी गुरुत्वाकषर्णको अनुभव गर्छौं । यसरी अन्तरिक्षलाई वक्र गर्ने काम भने पिण्ड भएको कुनै पनि वस्तुले गर्छ । धेरै पिण्ड भएका ब्ल्याकहोल, तारा, ग्रहहरूदेखि लिएर तपाईं–हामी जस्ता कम पिण्ड भएका वस्तुहरूले पनि आफूवरिपरिको अन्तरिक्ष वक्र पार्छ । पिण्ड जति ठूलो छ, त्यसले आफूवरिपरिको अन्तरिक्ष त्यति नै धेरै वक्र पार्छ ।

हामीले अन्तरिक्षको कुरा गर्दा अन्तरिक्षलाई समयसित अलग रूपमा बुझ्छौँ । वास्तवमा अन्तरिक्ष र समय एक–अर्कामा जोडिएर रहेका छन् । अन्तरिक्षको कुनै भागमा असर पार्ने केही कार्य गर्दा त्यहाँको समयमा पनि असर पुग्छ । यो भनेको कुनै वस्तुको आकार र त्यसको आयतनबीचको सम्बन्ध जस्तै हो । कुनै वस्तुको आकार, अर्थात् त्यसको लम्बाइ, चौडाइ वा उचाइमा परिवर्तन ग-यौँ भने त्यसको आयतनमा पनि परिवर्तन आउँछ । त्यसैले अन्तरिक्ष र समयलाई अलग्याएर हेर्न मिल्दैन । यसलाई अन्तरिक्ष–समय भन्नुपर्छ । अन्तरिक्ष र समय जोडिएर रहने यस तथ्यलाई वैज्ञानिकहरूले सन् २०१० मा एउटा प्रयोगमार्फत पुष्टि गरिसकेका छन् । उनीहरूले एउटा पारमाणविक घडीलाई यहाँ पृथ्वीको सतहमा राखे भने दुरुस्तै त्यस्तैै खालको अर्को पारमाणविक घडीलाई पृथ्वीको सतहभन्दा केही माथि अन्तरिक्षमा राखे ।

उनीहरूको हिसाबअनुसार पृथ्वीमा राखिएको घडीभन्दा अन्तरिक्षमा राखिएको घडी एक वर्षमा एक सेकेन्डको १ अर्ब भागको एक भागबराबरको समय चाँडो चल्छ । यो भनेको ती घडीहरू बिग्रिएको कारण भएको नभएर पृथ्वी नजिक अन्तरिक्ष–समय बढी वक्र हुने हुँदा त्यसले समयलाई पनि प्रभाव पारेको कारण भएको हो । त्यसैले कम गुरुत्वाकर्षण भएको स्थानभन्दा अत्यधिक गुरुत्वाकर्षण भएको स्थानमा समय ढिलो चल्छ । फलस्वरूप पृथ्वीभन्दा कैयौँ गुणा बढी गुरुत्वाकर्षण भएको स्थानमा, उदाहरणका लागि कुनै ब्ल्याकहोलको नजिक, केही समयका लागि रहँदा पनि पृथ्वीमा वर्षौं बितिसकेको हुन्छ र उसले भविष्यको यात्रा गरेको भन्न सकिन्छ । चर्चित हलिउड फिल्म ‘इन्टरस्टेलर’मा यसै सिद्धान्तको प्रयोगको चित्रण गरिएको थियो । फिल्ममा अन्तरिक्षयात्रीहरूले गार्गान्चुवा नामक ब्ल्याकहोललाई परिक्रमा गरिरहेको एक ग्रहको यात्रा गर्दा उक्त ग्रहमा एक घन्टा बिताउँदा पृथ्वीमा सात वर्ष बितिसकेको हुन्छ ।

हलिउड–बलिउडका चलचित्रमा देखाइएजस्तै टाइम ट्राभल गर्न सकिन्छ ? के विगतमा गई आफूले गरेका गल्ती सच्याउन सकिन्छ ?

यसरी हेर्दा भविष्यको यात्रा गर्नु कुनै ठूलो कुरा रहेन । भविष्यको यात्राको लागि वैज्ञानिक सिद्धान्त हामीसँग छ; यसको प्रयोगात्मक अवरोध भनेको अहिलेका लागि प्राविधिक सीमाको रूपमा मात्र छ । किनभने भविष्यको यात्रा गर्नका लागि यात्रीलाई कि त अत्यन्त तेज गतिमा अन्तरिक्षमा पठाएर उसलाई फर्काउनुप¥यो, कि त अत्यधिक गुरुत्वाकर्षण भएको स्थानमा केही समय बिताउनुपर्‍यो ।

कति तेज गतिमा यात्रा गर्दा कति समयका लागि टाइम ट्राभल गर्छ भन्ने कुरा सामान्य गणितीय हिसाबमा निकाल्न सकिन्छ । तर, उल्लेखनीय रूपमा टाइम ट्राभलका लागि यात्रीको गति निकै तेज हुनुपर्छ, जसका लागि अहिले हामीसँग कुनै प्रविधि छैन । त्यस्तै, अत्यधिक गुरुत्वाकर्षण भएको स्थानमा पुग्न पनि अहिलेका लागि हाम्रो प्रविधि पर्याप्त छैन । मान्छे चन्द्रमाभन्दा पर पुग्न सकेको छैन । सन् २०३० को दशकमा नासाले मंगल ग्रहमा मानव पठाउने तयारी गरिरहेको छ । तर, त्यो पनि कति सम्भव छ, अहिले नै भन्न सकिने अवस्था छैन । कुनै ब्ल्याक होलनजिक पुग्ने कुरा त अहिलेको प्रविधिले सम्भव हुने कुरै भएन ।

यदि त्यस्तो प्रविधि हामीले विकास गरेकै खण्डमा पनि भविष्यको यात्रा गर्न त सम्भव छ, तर उक्त यात्रीलाई अहिलेकै समयमा फर्काउन भने असम्भव छ । उसलाई अहिलेको समयमा फर्काउनु भनेको उसको लागि भूतका यात्रा गर्नु हुन्छ । आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्तअनुसार कुनै पनि पिण्ड भएको वस्तुलाई प्रकाशको गतिमा यात्रा गराउन असीमित ऊर्जा आवश्यक पर्छ, जुन भौतिक रूपमा असम्भव छ । प्रकाशको गतिमा यात्रा गर्दा समय स्थिर हुन्छ; यात्रीले समयको अनुभव नै गर्दैन । तर, यदि उसलाई प्रकाशको गतिभन्दा बढी गतिमा यात्रा गराउने हो भने समय फर्किन्छ; त्यसको मतलब उसको भूतको यात्रा सुरु हुन्छ । तर, प्रकाशको गतिमा नै यात्रा गर्न सकिन्न भने त्यसभन्दा बढी गतिमा यात्रा कसरी गर्ने ?

सामान्य सापेक्षतावादको सिद्धान्तले वर्महोलको परिकल्पना गर्छ । वर्महोल भनेको अन्तरिक्षको एक ठाउँबाट करोडौँ किलोमिटर वा प्रकाश वर्ष टाढाको अर्को ठाउँसम्म तुरुन्तै पुग्न सकिने सुरुङमार्ग जस्तै हो । यो कुनै हचुवाको भरमा गरिएको कल्पना होइन । यो त सामान्य सापेक्षतावादको सिद्धान्तको एक गणितीय समाधानद्वारा परिकल्पित भौतिक रूपमै अस्तित्वमा रहन सम्भव एक अवधारणा हो । सन् १९८० को दशकमा भौतिकशास्त्री किप थोर्नले वर्महोलमार्फत् अन्तरिक्षको यात्रा गर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा ठूलो बहसको थालनी गरे । के वर्महोलमा भौतिक रूपमै अन्तरिक्षयान पठाएर अन्तरिक्षको यात्रा गर्न सकिन्छ ? कि यस ब्रह्माण्डको कुनै भौतिक नियमका कारण त्यो असम्भव हुन्छ ? के कुनै अतिविकसित सभ्यताले अन्तरिक्षका कुनै दुई स्थानबीच आफैँले वर्महोलको निर्माण गरी यात्रा गर्न सक्छ ?

थोर्नले यो बहस थालनी गर्नुभन्दा पहिले नै भौतिकशास्त्रीहरूमाझ के तथ्य स्थापित भइसकेको थियो भने वर्महोलको अस्तित्व सम्भव भए पनि त्यसको निर्माणपश्चात् तत्कालै त्यो विलय हुन्छ । त्यसबाट अन्तरिक्षयान र मान्छे त के प्रकाशले पनि यात्रा गर्न पाउँदैन, विलय भइहाल्छ । त्यसैले वर्महोलको मुख काफी समय खुला राख्नका लागि ‘अजीव पदार्थ’ (एग्जोटिक म्याटर) को ‘चौकोश’ राख्नुपर्ने हुन्छ । यो अजीव पदार्थ के हो, यो कस्तो हुन्छ भन्ने कुरा वैज्ञानिकहरूले अहिले नै बुझिसकेका छैनन् ।

तर, वर्महोल निर्माण गरी त्यसमा यात्रा गर्न सकेको खण्डमा प्रकाशको गतिभन्दा बढी गतिमा यात्रा गर्न सकिने हुन्छ किनभने वर्महोलको यात्रा त सर्टकट हो; अन्तरिक्षको एक ठाउँबाट अर्को ठाउँमा तत्कालै पुगिन्छ, मानौँ ती दुई स्थानबीच कुनै दूरी नै छैन । र, प्रकाशको गतिभन्दा बढी गतिमा यात्रा गर्न सकिने हुनाले समयको दिशा उल्टिन्छ र हामी भूतमा पुग्छौँ ।

तर, यो अहिलेका लागि भविष्यको यात्राजस्तो भौतिक रूपमा सम्भव, प्राविधिक रूपमा कठिन चिज मात्र भने होइन । भौतिकशास्त्री स्टेफन हकिङ्सका अनुसार भूतको यात्रा कुनै पनि रूपमा सम्भव छैन किनभने यसले ‘कारण र प्रभाव’को आधारभूत भौतिकीलाई नै अवज्ञा गर्छ । उदाहरणका लागि ‘एक्सन रिप्ले’कै अर्को अवस्थाको कल्पना गरौँ । यदि बन्टीले माला र किसनबीचको सम्बन्ध सुधार्न भनेर भूतको यात्रा गर्दा कुरा बिग्रिएर उनीहरूबीचको सम्बन्ध झन् बिग्रिएर उनीहरूबीच विवाह नै भएन भने ? त्यस्तो अवस्थामा त बन्टीको जन्म नै हुँदैन ।

यदि बन्टीको जन्म भएन भने त किसन र मालाबीचको सम्बन्ध सुधार्न उसले भूतको यात्रा गर्ने कुरै हुँदैन । बन्टीले भूतको यात्रा गर्न नसकेको अवस्थामा त फेरि बिग्रिएको सम्बन्धका बाबजुद माला र किसनबीच विवाह हुन्थ्यो र बन्टीको जन्म हुन्थ्यो । यो त सब विरोधाभास भयो । यो विरोधाभासलाई भौतिकशास्त्रीहरू ‘ग्रान्डफादर प्याराडक्स’ भन्छन् । र, ‘ग्रान्डफादर प्याराडक्स’ कै कारण भूतको यात्रा असम्भव भएको थुप्रै भौतिकशास्त्रीहरूको मत छ । यद्यपि, टाइम ट्राभलको सम्बन्धमा बर्सेनि कैयौँ वैज्ञानिक अनुसन्धानहरू हुन्छन् । के थाहा, कुनै दिन हलिउड र बलिउडका चलचित्रहरूमा देखाइएजस्तै टाइम ट्राभल सामान्य हुने पो हो कि ?

admin

leave a comment

Create Account



Log In Your Account