यसरी बन्दै छ औषधि बोक्ने नेपाली ड्रोन

यसरी बन्दै छ  औषधि बोक्ने नेपाली ड्रोन

यसरी बन्दै छ औषधि बोक्ने नेपाली ड्रोन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको तीनकुनेबाट दायाँतिर लागेपछि काँडेतारले घेरिएको जस्तापाताको लामो टहरो छ । कालो रंग मूलढोकामै रहेको साइनबोर्डमा लेखिएको छ, राष्ट्रिय आविष्कार केन्द्र ।

म्यागासेसे पुरस्कार विजेता महावीर पुनले स्थापना गरेको संस्था हो, राष्ट्रिय आविष्कार केन्द्र । १ कात्तिक, ०७६ मा उद्घाटन भएको केन्द्रले विज्ञान र प्रविधिको सम्बन्धमा नयाँ खोज तथा आविष्कार गर्ने लक्ष्य लिएको छ ।

टहरोको मूलढोकाभित्र पस्नासाथ बायाँतिरको कुनामा निकै व्यस्त देखिन्छन्, हुम्लाका प्रकाश सिंह । उनी ड्रोन निर्माणमा तल्लीन छन् । हुम्लामै रहँदा ‘आविष्कार केन्द्रबारे सुनेका उनी यसमा संलग्न हुन काठमाडौं आएका हुन् । आफ्नो गाउँ निकै दुर्गम र विकट रहेको बताउँदै ड्रोनबाट औषधि गाउँसम्म पुर्‍याउन सके ठूलो उपलब्ध हुने सोचेर केन्द्रमा आएको उनी बताउँछन् । ‘मेरो गाउँमा अझै गाडी पुगेको छैन, औषधि नपाएर पनि बिरामीको मृत्यु हुन्छ । औषधि पुर्‍याउने ड्रोन निर्माण सहभागी हुन पाउँदा खुसी लागेको छ,’ प्रकाश भन्छन् ।

ड्रोन निर्माणमा सक्रिय अर्का युवा हुन्, सोभान श्रेष्ठ । पुल्चोक इन्जिनियरिङ कलेजबाट ०७४ मा इलेक्ट्रिक कम्युनिकेसनमा इन्जिनियरिङ गरेका सोभान पढाइ सकिएपछि जागिर खाँदै गर्दा केन्द्रमा पुगेका हुन् । उनी ड्रोन ‘कन्ट्रोल’ गर्ने सफ्टवेयरको विकासमा लागिरहेका छन् । सोभानको भनाइमा ड्रोनको सफ्टवेयरसँग हार्डवेयरले काम गर्न सक्ने गरी परीक्षणको काम भइरहेको छ । ‘सफ्टवेयर तयार भइसकेको छ । हार्डवेयर परीक्षणका क्रममा ड्रोन बिग्रिन्छन्, भाँचिन्छन् । त्यसैले अहिले धेरै ड्रोन बनाएर परीक्षण गर्दैछौँ,’ उनी भन्छन्, ‘अब केही महिनामै ड्रोनलाई कार्यक्षेत्रमा पु¥याउने योजनासहित काम गरिरहेका छौँ ।’

पुल्चोक क्याम्पसबाटै रोबटिक्स इन्जिनियरिङ गरेका हुन्, धरानका स्वाइन श्रेष्ठले । उनले पनि जागिर खोज्नुको साटो आविष्कार केन्द्रको बाटो रोजे । र, ड्रोन निर्माणमा तल्लीन छन् । ‘काम गर्दै जाँदा नयाँ कुराको अनुभव हुने र त्यससँग नयाँ कुराको आविष्कार हुने भएकाले आएको हुँ,’ उनी भन्छन् ।

स्वाइनका अनुसार, विदेशबाट ल्याउँदा एउटा ड्रोनको एक लाख रुपैयाँ पर्छ । केन्द्रमा भने त्यसको आधामै ड्रोन निर्माण भइरहेको छ । ‘सहज होस् भने फ्लाइट कन्ट्रोलर र मोटरलगायतका प्रविधि बाहिरबाट ल्याएका छौँ,’ उनी भन्छन्, ‘तर, ड्रोनका डिजाइन र आइडिया हाम्रै हो ।’  पुल्चोक इन्जिनियरिङ कलेजबाटै इलेक्ट्रिक इन्जिनियरिङ गरेका सुरज कार्कीले केन्द्रका अध्यक्ष पुनसँगै ड्रोन निर्माण दस्ताको नेतृत्व गरिरहेका छन् ।

यस्तो बन्दै छ ड्रोन  
सामान्यतया ड्रोन तीन किसिमका हुन्छन् । एउटा पंखा भएको ‘सिंगल रोटर’, धेरै पंखा भएको ‘मल्टी रोटर’ र फिक्स्ड विंग । हेलिकप्टरजस्तै सोझै उडान र अवतरण गर्न सक्ने ड्रोनहरू सिंगल र मल्टी रोटर हुन् । यस्ता ड्रोनले बढी ब्याट्री अथवा इनर्जी खर्च गर्छन् । सामान्यतया यसलाई हेलिकोप्टरसँग तुलना गर्न सकिन्छ ।

फिक्स्ड विंग ड्रोनको काम गर्ने प्रक्रिया हवाईजहाजजस्तै हुन्छ । यसलाई उडान र अवतरण गर्न पनि हवाईजहाजजस्तै धावनमार्ग चाहिन्छ । आविष्कार केन्द्रमा निर्माण हुँदै गरेको फिक्स्ड विङ ड्रोन हो ।

आविष्कार केन्द्रका व्यवस्थापक सुनील बानियाँका अनुसार करिब दुई मिटर लामा पखेटा रहने ड्रोनको आकार पनि हवाईजहाजजस्तै हुनेछ । यसको पछाडिकोे भागमा औषधि राख्न मिल्ने सानो कोठा बनाइएको छ । त्यसको माथि ‘कम्प्युटराइज्ड सिस्टम’को ‘फ्लाइट कन्ट्रोलर’ राखिन्छ ।

ड्रोनको सबैभन्दा अगाडिको भागमा ब्याट्री रहन्छ । ब्याट्रीले इन्जिन चलाउने काम गर्छ । र, त्यसैको माध्यमबाट ब्याट्री राखिएको माथितिरको भागमा जोडिएका पखेटा घुम्दै ड्रोन उड्छ ।

केन्द्रमा निर्माण भइरहेका ड्रोनहरू पाँच किलोग्राम तौलका हुनेछन् । सबै ड्रोन कम्प्युटर प्रणालीबाट सञ्चालन हुनेछन् । यसका लागि आविष्कार केन्द्रभित्रै आवश्यक सफ्टवेयरको निर्माण भइरहेको छ । साथै, ड्रोनमा कम्प्युटर प्रणाली अथवा सफ्टवेयरसँगको सहकार्यका लागि ‘फ्लाइट कन्ट्रोलर’ पनि राखिएको छ । ‘निर्माण सम्पन्न भएपछि कुनै एक होम स्टेसनबाट ड्रोनलाई अर्काे ठाउँमा पठाउनुपर्‍योे भने त्यसबीचको दूरी, आवश्यक गति र दिशा कम्प्युटरमा होम स्टेसनबाटै सेट गरिन्छ । र, ड्रोन उडाइन्छ,’ बानियाँ भन्छन् ।

केन्द्रका अनुसार, ड्रोन हरेक ठाउँबाट एक सय मिटरको उचाइसम्म उड्नेछन् । २५ किलोमिटर टाढासम्म पुग्ने यिनको गति प्रतिसेकेन्ड १७ देखि २१ मिटर हुनेछ भने ४५ मिनेटसम्म उड्न सक्नेछन् ।

उडान र अवतरण
औषधि पुग्ने र पठाइने दुवै ठाउँमा ड्रोनका स्टेसन हुनेछन् । जहाँबाट पठाइने हो, ‘होम स्टेसन’ हो । कुनै जिल्ला अस्पताल वा नजिकको ठाउँ होम स्टेसन बनाएर कुनै स्थानीय स्वास्थ्य चौकी वा सेवा केन्द्रमा पुर्‍याइनेछ । होम स्टेसनमा ड्रोनसम्बन्धी सबै काम गर्न सक्ने जनशक्ति बस्नेछन् । उनीहरूले पठाउनुपर्ने ठाउँ, दूरी, गति सेट गर्छन् होम स्टेसनबाट ड्रोनलाई आकाशमा छोड्छन् ।

ड्रोनलाई आकाशमा प्रक्षेपण गर्नका लागि विशेष किसिमको प्रविधि पनि निर्माणाधीन अवस्थामा छ । त्यसले गुलेलीबाट मट्यांग्रा हुत्याएझैँ विशेष किसिमले ड्रोन आकाशतर्फ पठाउनेछ । होम स्टेसनबाट उडेको ड्रोन जब गन्तव्यमा पुग्छ, त्यहाँ रहेको जनशक्तिले ड्रोनबाट औषधि निकाल्छन् र ड्रोन फेरि ‘होम स्टेसन’ मै फिर्ता हुन्छ । केन्द्रका अनुसार, ड्रोन १५ देखि २० मिनेटमा अर्काे स्वास्थ्य केन्द्रमा पुग्नेछ ।

ब्याट्रीको क्षमताअनुसार, यो एकोहोरो २५ र दोहोरो १२ किलोमिटरको दूरीसम्म मात्रै उड्न सक्छ । ब्याट्रीसहित ड्रोनको तौल पाँच किलो हुने भएकाले यसले एक किलो मात्र औषधि बोक्न सक्नेछ ।

यदि कुनै स्वास्थ्य चौकी १२ किलोमिटरको दूरीभन्दा टाढा छ भने त्यस्तो अवस्थाका लागि लागि दुइटा स्टेसन बनाउनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा सुरूको स्टेसनबाट दोस्रोसम्म पठाउने ड्रोनले विश्राम गरी फेरि उड्ने वा त्यहाँबाट अर्काे ड्रोन तेस्रो स्टेसनसम्म पठाइनेछ ।

आधुनिक प्रविधि प्रयोग गरेर निर्माण भइरहेको ड्रोनका स्टेसनहरू र आकाशमा उडिरहेका ड्रोनलाई इन्टरनेटको माध्यमबाट हेर्न सकिनेछ । कुन ड्रोन कहाँ उडिरहेको छ, कहाँ पुग्यो भनेर मोबाइलमा समेत हेर्न सकिनेछ ।

जहाँ औषधि पुर्‍याउनुपर्ने हो, त्यहाँ ड्रोनको अवतरणका लागि हवाइजहाजका लागि जस्तै ‘रनवे’ चाहिन्छ । आविष्कार केन्द्रले यसका लागि विशेष प्रकारको जाली (नेट) को प्रयोग गरी ड्रोनलाई त्यसैमा अवतरण गराउने योजना बनाएको छ । ड्रोन अवतरण गरिने ती जालीहरू चारवटा खम्बा गाडेर तिनमा टाँगिएका हुनेछन् । यसो गर्दा रनवे गराउँदा आउन सक्ने समस्या नरहने केन्द्रको भनाइ छ ।

यद्यपि, ड्रोन आकाशमा उडाउन स्थानीय विमानस्थल प्रशासनको अनुमति आवश्यक पर्ने कुरामा केन्द्रका अधिकारीहरू सचेत छन् । किनकि, आकाशमा उडिरहेको जहाजसँग ठोक्किन सक्ने भएकाले दुई सय फिटसम्मको उचाइमा ड्रोन चलाउने हो भने प्रमुख जिल्ला अधिकारीको र त्यसभन्दा अझ उचाइमा उडाउन गृह मन्त्रालयको अनुमति चाहिने व्यवस्था उड्डयनसम्बन्धी निर्देशिकाले गरेको छ । ‘आकाशमा ड्रोन र जहाजको भेट भए दुर्घटना हुन सक्छ,’ बानियाँ भन्छन्, ‘ड्रोनको उडान भर्नुअघि त्यस क्षेत्रको एयर कन्ट्रोलरसँग सम्पर्क गर्नुपर्छ र त्यहाँबाट अनुमति पाएपछि मात्रै ड्रोन उडाउन मिल्छ ।’

ड्रोन नै किन ?
मूलतः पहाडी मुलुक भएकाले नेपालको भौगोलिक अवस्था जटिल छ । सबै गाउँसम्म यातायातका साधन पुगेका छैनन् । यातायातका साधन सञ्चालन भएका ठाउँमा पनि समयमै स्वास्थ्य सुविधा छैनन् । सदरमुकाममा औषधि भए पनि दुर्गम स्थानको स्वास्थ्य केन्द्रमा औषधि पुर्‍याउन एक दिनै लाग्ने गरेको छ ।

यही समस्या मध्यनजर गर्दै आविष्कार केन्द्रले औषधि बोक्ने ड्रोनको परिकल्पना गरेको हो । ड्रोनबाट एउटा स्वास्थ्य केन्द्र (स्टेसन)बाट अर्काे केन्द्रमा १५–२० मिनेटमै औषधि पुर्‍याउन सकिन्छ । ‘औषधिको अभावमा समेत ज्यान गुमेको खबर सुनिन्छन्,’ ड्रोन विकास इकाइका व्यवस्थापक बानियाँ भन्छन्, ‘यस्ता घटना कम गराउन ड्रोनको प्रयोग उपयोगी हुनेछ ।’

पुन नेतृत्वको आविष्कार केन्द्रमा ६ वटा ड्रोन निर्माण भइरहेका छन् । जब ड्रोन तयार हुनेछन्, पहिलो प्रयोग पुनकै गृहजिल्ला म्याग्दीमा हुनेछ । यसको परीक्षण भने काठमाडौंमै हुने केन्द्रले जनाएको छ । परीक्षणको सफलतापछि म्याग्दी र त्यसपछि मकवानपुरमा प्रयोग गर्ने योजना छ । पुन ड्रोनको परीक्षण सफल हुनेमा निकै विश्वस्त देखिन्छन् । ‘म्याग्दी र मकवानपुरपछि ड्रोन सेवाको विस्तार कर्णाली र वरपरका विकट गाउँ–क्षेत्रमा हुनेछ,’ पुन भन्छन्, ‘ड्रोनको सफल परीक्षणपछि पूर्णरूपले प्रयोगसिद्ध भएपछि सरकारसँग आग्रह गरेर जिल्ला स्वास्थ्य कार्यालय र प्रत्येक गाउँ–वडाका स्वास्थ्य चौकीमा ड्रोनको प्रयोग गर्नेछौँ ।’

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account