यो वर्ष ६० हजारलाई सय दिनको रोजगारी

यो वर्ष ६० हजारलाई सय दिनको रोजगारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना रहेको बताएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दाहालले कार्यक्रमका लागि यो वर्ष पाँच अर्ब एक करोड बजेट विनियोजन भएको बताए । विनियोजित बजेटमध्ये ७० प्रतिशत रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्रीलगायतमा खर्च हुने उनले बताए । एक सय दिनको रोजगारी नभएको अवस्थामा बाँकी रकम निर्वाह भत्तास्वरूप दिनुपर्ने प्रावधान रहेकोसमेत उनले बताए ।

गत वर्ष झार उखेल्ने प्रकृतिका कामहरूमा बजेट खर्च भएको भन्ने गुनासो यो वर्ष नआउने पनि सहसचिव दाहालले स्पष्ट पारे । गत वर्ष कार्यक्रमको तयारी गर्नुपर्ने भएका कारण राम्रो काम हुन नसकेको स्वीकार गर्दै उनले यो वर्ष स्थानीय तहलाई गर्ने कामहरूको सूची पहिले नै पठाउनुपर्ने गरी निर्देशन गरिएको बताए । मागमा आधारित भएर बजेट जाने प्रक्रियाले यो वर्ष गुणस्तरीय काम हुने उनको विश्वास छ ।

मन्त्रालयले आफ्नो तीन महिने कार्ययोजना सार्जजनिक गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन हुने आयोजनाहरूको प्रभावकारी अनुगमन गर्ने जनाएको छ । सातैवटै प्रदेशमा रोजगारीका सम्भावनाहरूको पहिचान गर्न अध्ययन गरिने पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी औद्योगिक करिडोरलगायत मुलुकका विभिन्न स्थानमा त्रिपक्षीय सहभागितामा सामाजिक संवाद सञ्चालन गर्ने, बालश्रम, व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्य न्यूनतम पारिश्रमिक भुक्तानीलगायतका श्रम ऐन नियमको पालना भए÷नभएको सम्बन्धमा एक हजार उद्योगको अनुगमन गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

विदेशमा रहेको कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने, बीमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने र दुई वर्ष पुराना सबै संस्थागत उजुरीको छानबिन प्रक्रिया सम्पन्न गर्ने योजना पनि मन्त्रालयको छ । यसैगरी १० हजारलाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सीप तालिम प्रदान गर्ने, ओमानसँग द्विपक्षीय श्रम समझदारी गर्ने र आगामी तीन महिनामा १५ हजार रोजगारदाता तथा एक लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनेसहित २५ त्रैमासिक योजना मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account