डाँफेलेकमा दौडिने जुम्ली

डाँफेलेकमा दौडिने जुम्ली

डाँफेलेकमा दौडिने जुम्ली

कथा अलि पर प्राकृतिक सुन्दर छटाले सिँगारिएको नेपालझैँ लाग्ने देश स्विट्जरल्यान्डबाट सुरु हुन्छ । साइकल यात्राको क्रममा सन् २००६ तिर म स्विट्जरल्यान्डको जुरिच सहरमा थिएँ । एक दिन सहरको एउटा जुत्ता पसलमा छिरेको थिएँ, त्यहाँ एउटा बुढीऔँला निस्केर फुत्किन खोजिरहेकोजस्तो एकजोर जुत्ताको फोटो अत्यन्त सुन्दर फ्रेममा सजिएको थियो ।

मलाई जिज्ञासा लागेर त्यो फोटाको कथा सोधेँ । पसलेले मेरो जिज्ञासापछि नेपालको डाँफेलेकमा कुदीहिँड्ने हिमचितुवाको एउटा सुन्दर कथा सुनायो, ‘केही समय पहिला नेपालबाट एकजना प्रसिद्ध म्याराथन धावक यहाँको म्याराथनमा भाग लिन आएका थिए ।

म्याराथनको दिन उनको नाम उद्घोष भएपछि उनी त्यही बुढीऔंला  निस्केको जुत्ता कसेर दौडको अग्रपंक्तिमा उभिए । दौड सुरु भएपछि निकै लामो समयसम्म उनी अगाडि दौडिरहे । त्यो दौडलाई सञ्चारमाध्यमहरूले प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।

नेपालका हिमचितुवा उपनामले चिनिने धावक अन्य धावकलाई निकै पछाडि छाडेर दौडिरहेछन् । दौडको आधा भाग छिचोलिसकेपछि उनी अचानक चिप्लेर गाई फार्ममा खसेछन् । आफ्नो मनमौजीमा चरिरहेको गाईले नेपाली हिमचितुवा झरेको देखेर तर्सेछ र उनलाई चाकमा उधिनिदिएछ ।

केहीबेर आराम गरेर उनी फेरि दौडिए । उनको त्यो घटनालाई पनि हेलिकोप्टरबाट सञ्चारमाध्यमले निकै रोचकसँग प्रत्यक्ष समाचार बनाए । त्यही फाटेको जुत्ता लगाएर दौड पूरा गर्ने नेपाली धावकको जुत्ता चाहेको मूल्यमा किन्न खोज्यौँ, तर उनले ‘लाखै डलर दिए पनि दिन्नँ’ भने । त्यसपछि त्यो जुत्ताको फोटो मात्र खिच्न अनुमति माग्यौँ । फाटेको जुत्ता भिरेर उनी आफ्नै माटोमा फर्किए ।’

हिमचितुवा 
जुरिचको त्यो फोटो त्यही नेपाली धावक हिमचितुवाको जुत्ताको हो । हरिबहादुरले तीनपटक एभरेस्ट म्याराथन जितेर विश्व कीर्तिमान कायम गरे । आफ्नै माटोमा फर्किए । आफ्नो सीप र ज्ञानलाई त्यही माटोमा खेलिरहेका नानीहरूलाई सिकाए । अनि उदय भयो हिमचितुवाका नयाँ सन्ततिको विश्वरूपा, सुनमायाको । उदय हुँदै छ धीर र राममाया बुढाको ।

हरिबहादुर अझै थाकेका छैनन् । जुम्ली जैविक स्याउजस्तै उनीभित्रको उस्तै साहस र जोस मरेको छैन । उनलाई राज्यले एउटा खोइ के जाति तक्मा दिएको छ, जुन तक्मा उनी हरेक दसैँको सुकुटी सक्किएपछि हिउँदमा सुप उमालेर पिउँछन् ।
भदौको अन्तिम साता कर्णाली स्पोर्टस् क्लबले आयोजना गरेको जुम्ला रारा अल्ट्रा म्याराथनको दोस्रो संस्करणमा सहभागी हुन म पनि जुम्ला उक्लेको थिएँ ।

४९ किमि उक्त अल्ट्रा म्याराथनका लागि भारत, बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, डेनमार्कलगायत सयौँ स्वदेशी धावक जुम्ली माटोमा होमिएका थिए । २३५० मिटर उचाइमा रहेको खलंगा बजारबाट सुरु भएको रारा चुम्ने सपना बिस्तारै उचाइसँगै चुलिँदै जान्छ ।

गाउँको आँगनको डिलमा काँक्रो र स्याउ राखेर ‘खाइ जाऊ’ भन्दै जुम्ली महिलाहरू हाम्रो दौडलाई स्वागत गर्न हौसिएका थिए । मलगायत केही साथी अल्ट्रा म्याराथनको स्वाद चाख्न मात्रा मिस्सिएका थियौँ । पछिल्लो पंक्तिमा सुस्तरी दौडिएको देखेर हामीलाई गोठालाहरू ‘कति दिनमा पुग्न्या हौ’ भनेर जिस्काइरहेका थिए । उचाइसँग घुलमिल नभएका विदेशी धावकलाई पनि उत्तिकै कठिन भइरहेको थियो । डाँफे लेक पुग्नपुग्नै लाग्दा एकजना भारतीय धावक भन्दै थिए, ‘ए भी कोइ रास्ता हे !’

पछिल्लो पंक्तिमा सुस्तरी दौडिएको देखेर हामीलाई गोठालाहरू ‘कति दिनमा पुग्न्या हौ’ भनेर जिस्क्याइरहेका थिए । उचाइसँग घुलमिल नभएका विदेशी धावकलाई पनि उत्तिकै कठिन भइरहेको थियो ।

तीन घन्टाभित्र ३६९१ उचाइको डाँफे लेक पार नगरे धावकहरू अगाडि बढ्न नपाइने सर्त थियो । पहाडी उचाइसँग घुलमिल भएकाले मैले जेनतेन तीन घन्टाअगाडि नै डाँफे लेक पार गरेँ । ‘यो बाटो पार गर्न सक्छस् ?’ भन्दै छाती थापेर उभिएका अजंग पहाडहरूले हामीलाई क्या धाक लगाइरहेका थिए । ‘नडराऊ तिमीसँगै हामी छौँ’ भन्दै सल्लाघारीको संगीतले हामीलाई साथ दिइरहेको थियो । कञ्चन झरना र मधुर नदी सुसेली हाल्दै हामीलाई भेटौँलाझैँ बग्दै थिए ।

न्याउरीघाट पुगेपछि रेडियो सेटमा सूचना आयो, ‘पुष्कर दाइलाई कुनै हालतमा नछोड्नु, ठेल्दै, तान्दै नभए घिसार्दै ल्याउनु ।’ त्यसको कारणमा प्रमुख अतिथि मै थिएँ । एउटा कलिलो जुम्ली स्याउ मेरो समीप आएर फित्तिक–फित्तिक पछ्यायो । अब उसले मलाई घिसार्दै भए’नि रारा पु-याउनेछ । हामी चौथा पुग्दानपुग्दै रेडियोमा सञ्चार भयो– पाँच घन्टा १३ मिनेटमा धीर बुढाले रारा चुमे । हामी पछुवाहरूले बल्ल आधा बाटो काट्यौँ । आधा दिनको भोक शान्त पार्न चौथामा छ्याङ थियो अनि थियो चाउचाउ पनि, ‘पेट पूजा’ रे ।

दौडको भोकलाई क्यालोरी दिन हामीले एक–एक बटुको छ्याङ सिरिप्प पा¥यौँ । बुलबुले, डाभाबाट उक्लिँदै उक्लिँदै ४०१७ मिटरको चुचेमारा टेकेर २९८० रारा किनारमा टेक्दा ज्यान त आफ्नै हो नि भनेर चिमोट्नुपर्ने भएको थियो ।

दिनभरि पटक–पटक बेइमानी सिमसिमे पानी, सिल्चिप्ली खेल्ने पहिरो, जुकाहरूको रक्तिम मायालाई हामीले रारा चुमेपछि बिर्सियौँ । अनि भोक, प्यास र थकानलाई राराको पानीले सिञ्चन गरेपछि फेरि बिउँझ्यौँ । साइकलको सिटमाथि हेलमेटमा ठाँट्टिएर १०० किमि कुदेजस्तो होइन रहेछ, अल्ट्राम्याराथन । यो त मीरा राईहरूले आफ्नै पाइतालाले टेकेर दौडिने दुस्साहस हो । भोलिपल्ट बिहान चियागफमा अर्को दुस्साहसी कुरा सुनियो ।

जुम्ला सदरमुकाममा छोराको नागरिकता बनाउन गएकी एकजना ३९ वर्षीय महिलाले म्याराथन दौडमा सित्तैमा टि–सर्ट बाँडेको देखेर उनले पनि नाम लेखाइछन् र टी–सर्ट लिइछन् । किनकि उनलाई त्यही बाटो गाउँ फर्किनु थियो । गोल्डस्टार जुत्ता र कुर्तासुरुवालमा दौडिएकी चौथो भइन्– ‘उम्मकली बुढा ।’

उनी घर फर्किने वेला मैले सोधेँ, ‘बाटो खर्च छ ?’
‘छ, १०० रुप्पे, बुलबुले आलु खान्या हम ।’

कर्णाली रोग, भोक र अभावको भूमि हुँदै होइन । यो त मागी खाने झोलाको कथा मात्र बनिरह्यो । वास्तवमा कर्णाली जैविक माटोमा उम्रिएका, फक्रिएका दुस्साहसीहरूको क्रीडास्थल हो । राज्यले कर्णालीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउने हो भने विश्वस्तरीय खेलाडी उत्पादन गर्न देशलाई धेरै समय कुर्नुपर्दैन । अनि नेपाली खेल सुगन्धमा राजनीतिका तिता, पिरा, अमिला, टर्रा ¥याल नचुहिने हो भने साहसिक खेलले एक दिन नेपाललाई स्वर्ण पदक दिलाउनेछ । मीरा राई र सुनमाया बुढाका पछिल्लो पंक्तिमा दौडिनेहरू दौडिइरहनेछन्– स्वर्ण पदक चुम्न ।

admin

leave a comment

Create Account



Log In Your Account