सात अञ्चल ४५ जिल्लाको परिकल्पना

सात अञ्चल ४५ जिल्लाको परिकल्पना

सात अञ्चल ४५ जिल्लाको परिकल्पना

स्वदेश तथा विदेशबाट औपचारिक शिक्षा हासिल गर्ने पहिलो पुस्ताका नेपालीमा पर्ने उपेन्द्रमान मल्लले राणा र पञ्चायतकालीन समय राम्ररी बुझेका थिए

मानवशास्त्री डोरबहादुर विष्टका मिल्ने मित्र भएकाले विष्टको वृत्तचित्र बनाउने सिलसिलामा उपेन्द्रमान मल्लसँग पहिलो भेट सन् २०११मा भएको थियो । अभिव्यक्त गर्ने शैलीबाट पहिलो भेटमै प्रभावित भइयो । नेपालको भूगोल, इतिहास, समाज, संस्कृति र समग्र पञ्चायतकालीन समयमाथिको पूर्ण जानकार थिए, उनी । तत्पश्चात्, धेरैपटक गफिन उनको निवास धाउने सिलसिला चल्यो । छोटा–छोटा विवरणलाई पनि सूक्ष्म रूपमा केलाउँदै बृहत् संरचनासँग जोडेर विश्लेषण र समाख्यान गर्न सक्ने सीप थियो, मल्लमा । अर्कोतर्फ, कुनै विषयको गम्भीर विमर्श भइरहँदा एक्कासि रोचक किस्सा र उक्ति जोडेर संवादमा परिणत गरिदिनुहुन्थ्यो । यस क्रमिक संगतबाट मैले मल्ललाई खरो स्वभावको स्पष्ट वक्ताका रूपमा पाएँ ।

धेरैपटकको संवादमा मैले केही अनुसन्धानकर्मी र समाज वैज्ञानिकलाई पञ्चायतकालीन समय नजिकबाट नियालेको र भोगेका व्यक्तिको श्रुति कथन लिँदै त्यसलाई रेकर्डिङ गर्नुपर्ने बताइन्थ्यो । लामो समय अध्यापन र पञ्चायती प्रशासनमा आबद्धता जनाएका मल्लको जीवनवृत्त एकत्रित गर्ने ठूलो इच्छा थियो । यसै सिलसिलामा सन् २०१६मा अमेरिकाको एल विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी अमेरिकी मित्र एमी जोन्सनसँग मिलेर धेरैपटक मल्लसँग अन्तर्वार्ता गरियो । एमीको अनुसन्धानको अभिरुचिमा पञ्चायतकालीन समय परेकाले हामी दुवैले सहकार्य गरेका थियौँ । ती अन्तर्वार्ता रेकर्डिङ गरिएका थिए र त्यसको प्रतिलेखनमा हामीले धेरै समय खर्चेका थियौँ ।

राणाकालीन र पञ्चायतकालीन समय राम्ररी बुझेका र जिएका थिए, मल्लले । स्वदेश र विदेशबाट औपचारिक शिक्षा हासिल गर्ने पहिलो पुस्ताका नेपालीभित्र पर्छन्, उनी । सन् १९३२मा गुच्चा टोलको नेवार परिवारमा जन्मिएका उनका बाबु खड्गमान मल्ल नेपाल भाषा प्रकाशिनी समितिमा शिक्षक थिए । दरबार हाईस्कुलबाट औपचारिक शिक्षा सुरु गरेका मल्ल सन् १९४७को एसएलसीमा बोर्ड फस्ट भएका थिए । त्रिचन्द्र कलेजबाट भूगोलमा आइए गरेका उनले भारतको पटनाबाट बिए र भूगोलमा प्रथम श्रेणीमा एमए उत्तीर्ण गरी नेपाल फर्किए । फर्किएलगत्तै उनले त्रिचन्द्र कलेजमा भूगोल विषय अध्यापन गर्न थाले ।

सन् १९५३कै कुरो हो, नेपालमा शेर्पाबारे अध्ययन गर्ने मनसायले बेलायतस्थित सोवासमा कार्यरत मानवशास्त्री क्रिस्टोफ भोन फ्युरर ह्यामिन्डोर्फ नेपाल आएका थिए । शेर्पाको प्रारम्भिक चरणको सर्वेक्षण गर्न आएका ह्यामिन्डोर्फलाई अंग्रेजी अनुवादक चाहिएको थियो । यसै सिलसिलामा मल्ल ह्यामिन्डोर्फ कहाँ पुगे र उनको सहयोगी भएर साढे तीन महिना सघाए । मल्ल, ह्यामिन्डोर्फ र उनकी पत्नी वेटी बर्नाडो काठमाडौंदेखि हिँडेर सिन्धुपाल्चोक हुँदै फारक र खुम्जुङ (अहिलेको सोलुखुम्बु) पुगेका थिए । यी तीनैजनाको यात्रा निकै रोचक छ । जसको बारेमा मल्लले एमी र मलाई सविस्तार सुनाएका थिए । छोटो–छोटो घटनालाई पनि त्यति विस्तृत रूपमा वर्णन गर्न सक्ने उनको स्मरणशक्ति तारिफयोग्य थियो । सन् १९५३ को विवरण सन् २०१६मा सुनाइरहँदा प्रत्येक ठाउँ, घटना, व्यक्तिको नाम र शेर्पा शब्दावली ठ्याक–ठ्याक प्रयोग गर्थे  ।

ह्यामिन्डोर्फको सन् १९६४मा प्रकाशित ‘द शेर्पाज अफ नेपाल’ र सन् १९९० मा प्रकाशित आफ्नो आत्मकथा ‘लाइफ अमोङग इन्डियन ट्राइब्सः एन अटोबायोग्राफी अफ एन एन्थ्रोपोलोजिस्ट’मा ह्यामिन्डोर्फले आफूलाई सघाएकोमा मल्लप्रति गहिरो कृतज्ञता प्रकट गरेका छन् । उनीसँगकै सानिध्यतामा मल्लले मानवशास्त्र विधा र त्यसले अपनाउने विधिमाथि गहिरो अभिरुचि बढाएका थिए । पछि मल्लले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट मानवीय भूगोलमा बिलिट डिग्री हासिल गरे । सन् १९५७मा उनले काठमाडौं उपत्यकाको मानवीय भूगोलमाथि अक्सफोर्डमा आफ्नो शोधपत्र बुझाएका थिए । यी सबै उपलब्धिको श्रेय उनले ह्यामिन्डोर्फलाई नै दिए ।

अक्सफोर्डबाट सन् १९५७मा नेपाल फर्किएपछि शिक्षण र सरकारी प्रशासकको भूमिकालाई उनले सँगसँगै लगेका थिए । सन् १९५४देखि १९५७सम्म उनी उद्योग र वाणिज्य मन्त्रालयमा कार्यबाहक सचिवको रूपमा कार्यरत रहे । सन् १९५७देखि १९७९सम्म त्रिचन्द्र कलेज र त्रिवि केन्द्रीय विभागमा भूगोल पढाए । सन् १९६७मा भूगोल र भूगर्भशास्त्र विभागमा उनी विभागीय प्रमुख भई काम गरे । सन् १९६१मा राजा महेन्द्रको क्षेत्रीय योजनाअन्तर्गत १४ अञ्चल ७५ जिल्लाको निरूपण गर्ने योजनाअन्तर्गत त्यसबखतको श्री ५ को सरकारले उनलाई त्यस योजनाको सचिवमा नियुक्त ग-यो । यस योजनामा हर्क गुरुङसँगको सहकार्यमा सक्रिय भूमिका खेलेका थिए । हर्क गुरुङसँगको उनको सहकार्य धेरैलाई थाहा छैन । पञ्चायतको यस विकास योजनाअन्तर्गत प्रमुख रणनीतिक योजना निर्माण गरिएका सात सदस्यीय समितिभित्र काम गर्ने अवसर र चुनौती दुवै थियो मल्लमा र उनले यो मौकालाई खेर जान दिएनन् ।

सामाजिक र आर्थिक विकासलाई सन्तुलित गर्न क्षेत्रीय योजनाको महत्वपूर्ण भूमिका थियो भनी मल्ल जिकिर गर्थे, तर १४ अञ्चल ७५ जिल्लाको अवधारणा कहाँबाट, कसरी आयो र कसले ल्यायो भनेर मल्लले आफैँले बुझेका थिएनन्

सामाजिक र आर्थिक विकासलाई सन्तुलित गर्न क्षेत्रीय योजनाको निकै महत्वपूर्ण भूमिका थियो भनी मल्ल जिकिर गर्थे । तर, यो १४ अञ्चल र ७५ जिल्लाको अवधारणा कताबाट र कसरी आयो र कसले ल्यायो भनेर मल्लले आफैँले बुझेका थिएनन् । गुरुङसँगको संवादमा उनको व्यक्तिगत प्रस्तावना ७ अञ्चल र ४५ जिल्लामा सीमिति गर्ने थियो । तर, उनको यो अवधारणा कार्यान्वयन हुन सकेन । राजा आफैँले निर्णय गरिसकेका हुनाले उनले यस प्रस्तावलाई निरन्तरता दिन सकेनन् । यसै सिलसिलामा टोनी हेगनलाई सल्लाहकार बनाइयो ।

यदि यो निर्णय कार्यान्वयन हुनुअघि एकपटक मात्रै पनि राजा महेन्द्रसँग भेट्न पाएको भए राजालाई आफ्नो प्रस्ताव स्वीकार गर्ने बनाइदिने आत्मविश्वास आफूमा भएको उनले हामीलाई सुनाएका थिए । महेन्द्रउप्रान्त राजा वीरेन्द्रको पाँच विकास क्षेत्र विभाजन गर्ने कार्यमा पनि मल्लको आबद्धता थियो । त्यसैगरी, १९७९ देखि १९८९सम्म राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भई मल्लले विकासे काम पनि गरे । यसअन्तर्गत उनको सक्रियतामा नेपालको छैटौँ र सातौँ योजना आएको थियो । यिनै क्रममा मल्लले अध्ययन र अनुसन्धान गर्न नेपालका सबैजसो जिल्ला घुमेका थिए । यात्राको वर्णन गर्दा जीव, वनस्पति, समुदाय, संस्कृति र भूगोलको तथ्यांक र विवरण चाखलाग्दो तरिकाले प्रस्तुत गर्थे ।

सन् २०१६मा एमी जोन्सन र मैले लिएको अन्तर्वार्तालाई काँटछाँट गरी उनलाई पठाइन्थ्यो, उनले त्यसमा थप काम गर्थे । हामीले परिचयसहितको यस अन्तर्वार्ताको पूर्ण खाका बनायौँ र मार्टिन चौतारीबाट निस्कने द्वैवार्षिक जर्नल सिन्हासमा २०१७मा पठायौँ । जर्नलका सम्पादकले हाम्रो अन्तर्वार्तालाई समीक्षकमाझ समीक्षाका लागि पठाए । परिणामतः समीक्षकले वर्तमान अवस्थामा अन्तर्वार्तालाई छाप्न अयोग्य ठह-यायो । त्यसपछि हामीले त्रिविको सिनासबाट निस्कने जर्नलमा पठायाैँ । यो अन्तर्वार्ता छापिन्छ भनेर सो संस्थाको निर्देशकले हामीलाई आश्वासन दिनुभयो । तर, हालसम्म पनि सिनासको नियमित जर्नल निस्कन नसकेकाले यो अन्तर्वार्ता ‘धौलागिरी जर्नल’का सम्पादकलाई पठाइयो । ३० हजार शब्दको अन्तर्वार्ता निकै नै लामो भएको कारण जर्नलमा छाप्न सम्भव नभएको जानकारी गराइयो ।

कहीँ न कहीँ यो अन्तर्वार्ता छापिन्छ भन्ने आत्मविश्वास भएका कारण हामीले यस कुराको जानकारी मल्ललाई गराएनौँ । तर, उनी अन्तर्वार्ता कहिले छपिन्छ भनेर बारम्बार सोधिरहन्थे । उनको देहावसानको खबर सुन्दा अन्तर्वार्ता उनलाई पढाउन नपाएकोमा ग्लानी छ । अन्तर्वार्ता छापिने/नछापिने अन्योलकै बीच उनले हामीलाई छाडेर गए । १० मंसिर मंगलबार, तिथिले उनको जन्मदिन रहेछ । त्यसै दिन बिहान फेसबुकमा स्टाटस लेखी साथीहरूसँग च्याट गरेका रहेछन् । शौचालयबाट लामो समय बाहिर ननिस्किँदा परिवारले ढोका ढकढक्याउँदा ढोका खुलेन । ढोका फुटाउँदा उनले प्राण त्याग गरिसकेका रहेछन् । देहत्याग गर्दा उनले ८८ वर्षमा टेकेका थिए ।

admin

leave a comment

Create Account



Log In Your Account