एकादेशकी माताहारी

एकादेशकी माताहारी

एकादेशकी माताहारी

(‘डिस्क्लेमर’– यो अनुभूतिले द्वन्द्वकालताकाको तिक्तता ओकल्नेछैन । तिक्तता उब्जिएमा त्यो तपाईंको पित्तको दोष हुनेछ । यो अनुभूतिले द्वन्द्वकालका घटनाको सत्य निरूपण ‘यसकारण’ हुनुपर्छ भनेर पनि कोट्याउनेछैन । कोट्टिएको लागेमा त्यो लेखककै चरम भावुकताको दोष हुनेछ । त्यसैले पीडक र पीडितबीच ‘मेलमिलाप’ होस् कि नहोस्, यसले बाल दिँदैन । किनकि यहाँ शान्तिभंग हुन नदिनु भनेकै ‘ऐया’ नभनी चुपचाप बस्नु हो । तसर्थ ओम शान्तिः ओम)

तर, मेरो दुःख यहीँबाट सुरु हुन्छ !  मान्नुस् नमान्नुस् चुपचाप बस्न सकिन्छ, चुपचाप बिर्सिन सकिन्न । नसकिने रहेछ । अझ मेरो केसमा त जति बिर्सिन खोज्यो, ‘बिर्सना’ खोजीखोजी मलाई भेटाइहाल्छ । अनि कहाँबाट बिर्सन पाउनु !

विक्रम संवत् २०५२ देखि २०६३ सम्मको समय एक दशक । यो एक दशक कसैका लागि ‘द्वन्द्वकाल’, कसैका लागि ‘जनयुद्ध’, विकिपिडियालीका लागि ‘गृहयुद्ध’ बुझिने गरिएको छ । भए पनि यसमा पिल्सिएकाको अनुभूतिचाहिँ एउटै छ– ‘घाउ’ । जनयुद्धकालीन घाउभन्दा पीडा अलि कम हुँदो हो । द्वन्द्वकालीन पीडित भन्दा आक्रोश बढ्दो हो । भोगाइको अन्तर्यमा भने दुखाइ नै छ ।

कसैलाई ‘पिल्सिएको’ शब्दमै आपत्ति होला । कोही ‘मुक्ति’मै जोड दिन तत्पर होलान् । कुरोको चुरो के भने ‘जनयुद्ध’ सक्किए पनि ‘शब्दयुद्ध’ जारी छ । किनकि एउटै शब्दले इतिहास लेखनमा आनका तान फरक पारिदिन सक्छ ।

द्वन्द्वकाल वा जनयुद्ध जे भने पनि योसित जोडिएको आ–आफ्नै अनुभूति छ अहिलेको पुस्ताको । समाजवादउन्मुख गणतन्त्र र सामाजिक न्यायसहितको लोकतन्त्रको उपलब्धिको कालीन तल लुकाइएको समाजको एउटा हिस्सा छ, जसले ‘द्वन्द्वपीडित’को परिचयपत्र ल्यामिनेसन गरीवरी बोक्नुपरेको छ । अर्कोतिर समाजका केही हिस्सा जनयुद्धपीडित पनि छन् । ‘विप्लव’ उर्फ नेत्रविक्रम चन्द जनयुद्ध पीडितका आला नमुना हुन् । राजनीतिक महत्वाकांक्षाको चुचुरोबाट ढुनमुनिएपछि अहंमा चोट पुग्ने नै भयो । र, त उनी एनसेलको टावरमा बम हानीहानी चित्त शान्त गरिरहेका छन् । नतिजा, उनको क्रोधाग्नि सैलुन चलाउने छोटु ठाकुरसम्मले व्यहोर्नुपरेको छ ।

तर, म द्वन्द्वपीडित होइन, न हुँ जनयुद्धको । तपाईंले भन्नुहोला, माओवादीले अछाममा मलाई बन्धक बनाएको कुरा नि ? हो झट्ट सुन्दा म पीडितको कोटिमा पर्नुपर्ने हो । वा त्यतिवेलाको मेरो अभिव्यक्तिमा तपाईंले पीडाबोध गरेको हुनुपर्छ । त्यतिवेलाको लागि त्यही सत्य भए पनि आजको दिनसम्म आइपुग्दा यो ‘कमेडी अफ इरर्रस’ बन्न पुगेको छ ।

‘कमेडी अफ इरर्रस’– खासमा यो सेक्सपियरको नाटक हो । नाटकको प्लट केही यस प्रकार छ । एकजोडा जुम्ल्याहा भाइहरू जन्मिनेबित्तिकै एउटा घटनामा छुट्टिन पुग्छन् । एउटाको हुर्काइ धनी परिवारमा र अर्काको दासको घरमा हुन्छ । जब उनीहरू ठुला हुन्छन् परिस्थितिवश तिनीहरूको अदलाबदली हुन्छ । र, त्यसपछि सुरु हुन्छ उनीहरूलाई लिएर अरू पात्रको झुक्किने सिलसिला ।

ए बाबा ठाकुरे ! भनेर तपाईंलाई थुप्रै हिन्दी फिलिमहरूको याद आइरहेको होला । तर, खासमा यो बिकाउ आइडिया सेक्सपियर गुरुकै हो । हिन्दी र हलिउडे सिनेमामा यो प्लट फत्तलफाँडो भइसके पनि अंगे्रजी भाषामा यसले उखानटुक्काको रूप लिएको छ । अंग्रेजी उखानकोशमा यो शीर्षकले विशेष परिस्थिति जनाउँछ । ‘कमेडी अफ इरर्रस’ भन्दा हामीले के बुझ्नुपर्ने हुन्छ भने मान्छेको चिनारी भुलवश यताउति पर्न गएमा त्यसबाट उब्जिने गडबडी । र, यही गडबडीको सिलसिला नै हास्यास्पद हुन जान्छ । यसर्थ ‘कमेडी अफ इरर्रस’ ।

तर, कमेडीको अमानवीय पक्ष के हो भने हेर्ने र सुन्नेलाई काउकुती लागे पनि भोग्नेको बाह्र बजिरहेको हुन्छ । त्यसको भुक्तभोगी म आफैँ नभइदिएको भए यतिको तत्वज्ञान हुँदैनथ्यो होला । तत्वज्ञान भए पनि के र ! यो परिस्थिति झेल्न म अभिशप्त छु । किनभने यो ममाथि आइलागेको दशा हो, जसमा थोरैतिनो दोष मेरो पनि छ ।

मेरो गल्ती खास यत्ति थियो– एघार कक्षामा म आर्थर कोनान डोयलको जासुसी कथा पढेर हायलकायल भएकी थिएँ । काल्पनिक जासुस सेरलक होल्मस मलाई माथ्लो तल्लाकी गनगने घरबेटीभन्दा वास्तविक लाग्न थाल्यो । एकरात ‘द हाउन्ड अफ बास्करभिल’ पढेपछि सेरलक होल्मसप्रतिको आसक्ति उधुम चुलियो । अनि रातको एक बजे मनले एक्कासि इच्छ्यायो, जासुस बन्न पाए पनि हुने !

ठ्याक्क भूतहरू जागा हुने समय परेछ । असमयमा हत्या गरिएको जासुसको आत्माले सुन्न पुगेछ । ‘तथास्तु !’ भनी त हाल्यो । त्यो कुनै सितिमिती जासुसको भूत थिएन । अन्तर्राष्ट्रिय कुख्यात गुप्तचर साक्षात् माताहारीको भूत थियो । भूतको आशीर्वाद मान्छेमा लाग्दा दशा बन्दो रहेछ । अतः माताहारीको ‘तथास्तु’ मेरो लागि दोख बन्यो । र, एक वर्षपछि जब म मोडलिङ गर्न थालेँ, माताहारी दोख ममाथि मडारिन थाल्यो । त्यसपछि त के–के भयो, भयो । उदेकलाग्दो त के भने यो दोष वेला कुवेला ठोक्किन अन्मरिहाल्छ ।

कहाँ हुन्छ यस्तो ! तपाईंले भन्नुहोला । मैले पनि त भन्दै आएको छु, कहाँ हुन्छ यस्तो ? तर, जब दुईपाने श्यामश्वेत पत्रिकाले एउटी चञ्चले बालालाई अनुसन्धान विभागकी गुप्तचर भनेर खबर छाप्छ, त्यही खबरको हावागिरीमा अंग्रेजीवालाले पनि ठोकेरै मोडलिङ गर्ने गुप्तचर्नी नेपालकी माताहारी हुन् भनेर घोषणा गर्छ र सत्यतथ्य पत्ता नलगाई तत्कालीन विद्रोही पक्षले ती चञ्चलालाई गुप्तचर भनेर पक्राउ गर्छ, त भन्नुस् के चाहिँ हुन सक्दैन ! हुँदो रहेछ एकादेशमा ! अनि भइनँ त म एकादेशकी माताहारी !

२०५३ सालमा छिपछिपे पत्रकारले अजासु पत्रिकामा माताहारीको बिल्ला भिराउँदा मैले हलुका रूपले लिएकी थिएँ । एक त राष्ट्रिय अनुसन्धान विभागको गुप्तचर हुनु भनेको के हो, मलाई थाहा थिएन । अर्को, मलाई लागेको थियो यो झुट कसैले पत्याउँदैन । कठै ! त्यतिन्जेलसम्म पनि म स्कुले नैतिक शिक्षाको किताबी स्तरमा थिएँ । झुट कुन बिन्दुमा पुगेर सत्यको रूप धारण गर्छ, भेउपत्तो नाइँ ! त्यतिवेला मैले यो झुटो खबरको खण्डन गर्नुपर्ने । पत्रकार र पत्रिकामाथि मानहानिको मुद्दा लगाउनुपर्ने (‘युद्ध’का वेला राज्यको गुप्तचर हुनु भनेको दलाल हुनु हो अरे, यस्तै भनेका थिए ती कामरेडका सरदारले) ।

तर, आफ्नो सफाइमा दह्रो गरी नभिडेको हुँदा कथाले बायाँ मोड लियो । र, एकैचोटि २०६१ सालमा आएर क्लाइमेक्स बनिदियो । एकता कपुरको ‘चुइँगम’ सिरियलमा जस्तो । अनि त अछाममा गुप्तचरको झुटो आरोपमा साँच्चिकै समातियो । कामरेडका सरदारले दबाब दिएर मबाट बयान लिए । र, ‘हो म गुप्तचरै हुँ जनसरकार’ भन्ने व्यहोराको चिठी लेखाए । त्यसपछि सरदारले काठमाडौं गएर जागिर छाडिदिनु भनी बकम्फुसे सर्तमा अछामबाट रिहा गरे ।

अब आफू जागिरे भए पो राजीनामा दिनु ! तै कथालाई ‘देर आए, दुरुस्त आए’ मोडमा पटाक्षेप गर्नु थियो । मेरा तथाकथित ‘बोस’ गृह मन्त्रालयलाई गुहारियो । उसलाई प्रस्टीकरण गरिदिन अनुनयविनय गरियो । भनियो, निज अर्थात् ‘म’ रा.अ.वि.को गुप्तचर हो कि होइन, प्रस्ट पारियोस् । थलिएको गृह मन्त्रालयले दिक्क मान्दै गाह्रो गरी प्रस्टीकरण लेखिदियो ।

चौँतीस शब्दको एक लाइने व्यहोरामा भनिएको थियो– ‘निज रा.अ.वि.को कुनै पनि पदमा आबद्ध नरहेको सूचित गर्छौं ।’ आफू गुप्तचर नभएको खबर मैले एउटा राष्ट्रिय दैनिकलाई छापिदिन अनुरोध गरेँ । त्यत्तिका हैरानीका बाबजुद कथाले यति त माग्थ्यो । आखिर यो सबैको जिम्मेवार पत्रिकाको गैरजिम्मेवारपनको परिणाम थियो । तर, समाचारको कामुकता नकारात्मक हेडलाइनमा हुने गर्छ । त्यसैले यो अलिनो खबर पत्रिकाको पिछवाडतिर छापियो । सोह्रौँ पेजको उब्रीपाब्री छेउकुनामा ।

कसैले बाल दिएन । अरूले बाल दियोस् नदियोस् कम्तीमा कामरेडका सरदारले दिनुपर्ने हो । ‘हामीबाट गल्ती भयो, क्षमा पाऔँ’ भनेर त सकार्नुपर्ने हो । तर, चुँक्क नाइँ । पछिबाट थाहा भयो– म उनीहरूको कब्जामा हुँदाखेरि नै सरदारले पत्तो पाइसकेका थिए अरे, म गुप्तचर होइन भनेर । बित्थामा ! कम्ता धिक्कारेको थिइनँ मैले उनलाई । त्यो मानसिक तनाव, अपमान, प्यारानोवाको हदसम्म पुग्ने त्रास । कस्सम ! मैले त सोचेके थिएँ, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिन्छु । तर, नेलसन मन्डेलाले साउथ अफ्रिकाको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी भनेको मर्मले छोयो – ‘फरगिभ बट नट फरगेट ।’ अर्थात् माफ गर्नु, तर नबिर्सिनु । आउने पुस्तामा हिंसाको दुश्चक्र बल्झिन नदिन योजस्तो कठिन, तर चित्त शुद्ध गर्ने सुन्दर मार्ग अरू छैन यदि संक्रमणकालीन न्याय निरुपण हुने हो भने ।

ममाथि जो बित्यो सो बित्यो । मैले यो अध्याय बन्द गरेँ । लाग्यो, अब त माताहारी दोख मन्साइयो ।  तर, माताहारीको लीला । खेला त बल्ल सुरु भयो ! २०६३ साल, माघ महिना । इन्डियन एयरलाइनको फ्लाइटबाट म नयाँदिल्लीबाट काठमाडौं आउँदै थिएँ । यहाँ ओर्लिएपछि त्रिभुवन विमानस्थलको अध्यागमन डेस्कमा लामो लाइन थियो । सबैजना पासपोर्टमा छाप हान्न लाम लागेका थिए । चारवटा लाइनमध्ये कुनमा छिटो होला भन्दै म गम्न थालेँ । ‘तपाईं नेपाल टेलिभिजनमा प्रोग्राम चलाउने होइन ?’ भन्दै एकजना भलाद्मी मछेउ आए ।

टेलिभिजनमा मैले चलाउँदै आएको कार्यक्रम त्यतिवेला बन्द भइसकेको थियो । तर, भर्खर दुई वर्ष मात्र भएको थियो । त्यसैले धेरैैको सम्झनामा त्यो कार्यक्रम आलै थियो । ‘हो’ भन्दै मुस्कुराएँ । उनी बडो उत्साहित भए र हौसिँदै भने, ‘तपाईं  यहाँ कहाँ अलमलिराखेको त ! आउनुस् ।’ मलाई पछाडि लगाएर उनी सरासर डेस्कतिर बढे ।

अध्यागमनको लामो लाइन छिचोल्दै जब हामी डेस्कमा पुग्यौँ ती भलाद्मी छेउबाट डेस्कपछाडि छिरे । कर्मचारीको छेउमा गएर उनले खासखुस गरे । छाप हानिरहेको कर्मचारीले मलाई पुलुक्क हेरे । अनि चिनेको आत्मीय मुस्कान मतिर फैलाए । उनले मलाई छेउबाट आउन इसारा गरे । म पासपोर्ट लिएर उनीकहाँ पुगे । छाप हान्दै उनले टेलिभिजनमा मेरो प्रस्तुतिबारे प्रशंसा गरिरहे । म पनि मख्ख पर्दै ‘धन्यवाद’, ‘धन्यवाद’ भनिरहेँ ।

पासपोर्टको काम सकाएर जब म लगेज लिन तल्तिर लागेँ, यसो हेर्छु– तिनै भलाद्मी मेरो अघिअघि लाग्दै आएको । उनीसित गफिँदै म लगेज परिसरमा पुगेँ । उनैले ट्रली ल्याइदिए, जाँचपास गराइदिए, ट्याक्सी बोलाइदिए । म आभारी भएँ । ट्याक्सी चढ्नुअघि उनलाई धन्यवाद टक्याएँ ।

‘के को धन्यवाद ! यो त मेरो ड्युटी हो,’ उनले भने । यो फिल्मी डायलग फिलिममै सुन्दै आए पनि पहिलोपटक सुनेझैँ भावविभोर भएँ । त्यसपछि उनले आफ्नो पर्स झिके । पर्सबाट एउटा भिजिटिङ निकाल्दै भने, ‘तपाईं त हाम्रै मान्छे हो । फोन गर्दै गर्नुहोला नि ।’

एउटा टेलिभिजन कार्यक्रमले मलाई मान्छेहरूसित त्यसरी जोडिदिएकोमा म धन्य भएको थिएँ ।उनको कार्ड हातमै च्यापेर म उनीबाट बिदा भएँ । ट्याक्सी जब हुइँकियो मैले थकानको लामो सास छाड्दै झ्यालबाहिर हेर्न थालेँ । हातैमा लिइराखेको कार्ड राख्न प-यो भनेर मैले झोलाको चेन खोलेँ । र, राख्नुअगाडि कार्ड नियालेर हेरेँ । हे प्रभु ! आँखा फार्दै दिमागले फन्का मा-यो । त्यसो पो ! ती भलाद्मीको छवि मेरा आँखाअघि घुम्न थाल्यो । पुलिस कट कपाल, ढाकाटोपी सिउरेको, कटन पाइन्ट र सर्ट बर्दीझैँ टिमिक्क लगाएको । उनी त राष्ट्रिय अनुसन्धान विभागको गुप्तचर रहेछन् । भिजिटिङ कार्डअनुसार असइ परेछन् । अनि मलाई रा.अ.वि.को सहकर्मी ठानेछन् ।

मामिला गबडघच्च भएछ । मचाहिँ ‘मेरो गीत मेरो सन्देश’लाई माया गर्ने दर्शक भन्ठानेर उनको सहयोग लिइराखेको थिएँ । उनी भने सहकर्मीप्रतिको ड्युटी वहन गरिरहेका थिएछन् । जाँदाजाँदै उनले भनेको ‘तपाईं त हाम्रै मान्छे’को राज बल्ल पो खुल्यो । र, खुल्दै गयो तिनले अध्यागमन कर्मचारीसित गरेको खासखुसको कारण । ती कर्मचारीको मुस्कान पनि कुटिल लाग्न थाल्यो । कस्तो हुस्सू म ! तिनीहरूका सौहार्दता आफ्नै सुविधानुसार अथ्र्याउँदै रहेछु ।

मलाई फर्कीफर्की ती असइसित रिस उठ्न थाल्यो । आफूसँग काम गरे–नगरेको पनि थाहा हुँदैन र मान्छेलाई ? उनी त पत्रिकामा छापिएको ‘टेलिभिजन कार्यक्रमकी प्रस्तोतालाई माओवादीले ससर्त छाडेको’ खबरमै अध्कल्चिएका रहेछन् । त्यसपछिको फलोअप खबरमा म गुप्तचर नभएको प्रस्टीकरण पढ्दै नपढी मलाई सहकर्मी ठान्दै रहेछन् । साँच्चै एउटै संगठनमा काम गरेको–नगरेको पनि थाहा हुँदैन र कर्मचारीलाई ? यति ठोकुवाका साथ कोही कसरी विश्वस्त हुन सक्छ ? जति–जति सोच्यो त्यति नै मलाई सन्देह हुन थाल्यो । गृह मन्त्रालयको प्रस्टीकरण एउटा नाटक मात्र त होइन ? कतै मेरो नाममा कसैले भत्ता खाँदै बसेको त छैन?

मेरो आशंका सुल्झिनुको सट्टा उल्झिँदै गयो । उही ठाउँ, उही अवस्था, उस्तै मामिला । यसपालि म बुद्ध एयरबाट नेपालगन्ज जाँदै थिएँ । फ्लाइट अबेला हुने भयो । यात्रु लाउन्जमा जुनी काटिरहेझैँ बसिरहेको थिएँ । छेउको खाली सिटमा एउटी महिला आएर बसिन् । ‘कहाँ जान लाग्नुभयो ?’ बाट उनले वार्तालाप सुरु गरिन् । मैले आफ्नो गन्तव्य भनेपछि उनले पनि आफ्नो गन्तव्य खुलाइन् । उनको गन्तव्य थाहा पाएर मैले मुन्टो हल्लाएको मात्र के थिएँ, उनी भावुक हुन थालिन् । भनिन्, अहिले जान लागेको ठाउँ खास उनको थातथलो होइन । माओवादीले ०५८ सालमा उठिवास लगाएर सरेको भनिन् । त्यसपछि उनले थातथलोबाट रातारात भाग्नुपरेको घटना सुनाइन् । घटना बडो मार्मिक र साहसिलो थियो । सहानुभूति दर्साउँदै उनको भोगाइ सुन्दै गएँ । कुराकानीको अन्त्यमा उनले भनिन्, ‘तपाईं र मेरो दुःख उस्तै हो ।’

यो कुथुंग्री बुढेसकालका लागि साँचिराखेकी छु । अबको २० वर्षमा हामीले बाँचेको समयको कथा आखिर सुनाउनु नै छ । पश्चिम पहाडकी खाममगर्नी हजुरआमाले ‘लडाइँ’को गाथा सुनाउलिन् । बर्दियाको थारू गाउँमा बेपत्ता पारिएकाकी हजुरआमाले ‘पर्खाइ’को कथा सुनाउलिन् । हजुरआमा भइसकेकी म भने ‘सर्भाइभल’को कथा सुनाउनेछु ।

म वाल्ल परेँ, ‘कस्तो दुःख ?’ ‘राष्ट्रिय अनुसन्धान विभागको गुप्तचर हुनुको दुःख,’ उनले कुरो खोलिन् । भो’ त ! म कहाँको गुप्तचर हुनु ! मैले म रा.अ.वि.को कर्मचारी हुँदै होइन भनेँ । न पहिले थिएँ न अहिले हुँ भनेर जोड दिएँ । अनि आफ्नो सफाइमा सुरुदेखि अन्त्यसम्मको बेलीविस्तार लगाएँ । उनले मेरा कुरा ‘ए’, ‘ए’ भन्दै सुनिरहिन् । उनको मुहारको सपाट भावले थाहा हुन्थ्यो, उनले पत्याइराखेकी थिइनन् । उनले नपत्याएको देखेर म हैरान भएँ । मनमनै मुर्मुरिएँ । यस्तो नि हुन्छ !

माओवादीले मलाई ससर्त रिहा गरेको खबरले बाँकीको काण्ड पु-यायो । अघोषित रूपमा म भएभरका गुप्तचरका सहकर्मी भएछु । अब क–कसलाई सफाइ दिँदै हिडूँ ? टाढाबाट मलाई चिन्नेहरू मौका मिल्दा कुरैकुरामा सोध्छन् । तपाईं गुप्तचर हो र ? मचाहिँ घाँटीको नसा फुलाईफुलाई हरेक जिज्ञासुरामलाई सफाइ दिँदै आएकी छु । विरोधाभास त के भने बाहिरियाले पत्याए पनि रा.अ.वि.मै काम गर्नेहरूले सशङ्कित नजरले हेर्छन् ।

हद त त्यतिवेला भयो जब एउटा बिहेमा रा.अ.वि.बाट भर्खर रिटायर भएका मनुख्येसँग भेट भयो ।म बिहेको निम्तो मान्न एउटा पार्टीमा पुगेकी थिएँ । बिहेको पार्टी भनेको उस्तैउस्तै न हो । केहीसित परिचित हुनु, कोहीसित गफिनु, लाइन लागेकाहरूसित खानु । यही रीत पछ्याउँदै म पार्टीको हुलमुलमा घुलमिलिएको थिएँ । वा यसो भनुँ म घुलमिलिएको छु भन्ने मेरो भ्रम थियो । किनभने म आएदेखिन् मलाई एक जोडा आँखाले पिछा गरिरहेका थिए ।

जतिसुकै भिडभाड किन नहोस् बिहेको पार्टीमा एउटा क्षण यस्तो आइपुग्छ, जब तपाईं आफूलाई अचानक मासुको टुक्रा एक्लै चपाइरहेको भेट्नुहुन्छ । यस्तै क्षण थियो त्यो । एकजना कोटधारी मनिर आए, कानसम्म झुकेर खुसुक्क भने, ‘तपाईंसित उहाँले एकछिन कुरा गर्ने अरे ।’

सन्देश ल्याउनेको अनुहार हेर्दै नहेरी मैले उनको हातको इसारातर्फ हेरेँ । पालको कुनामा दुईजना सज्जन छातीमा हात बाँधेर बडो तमिजले बसेका थिए । मानौँ, उनीहरू बिहामा होइन, कुरा छिन्न बसेका हुन् । तिनका उमेर गमेर मैले अन्दाज लगाएँ, यी मैले चलाउने टेलिभिजन कार्यक्रमका दर्शक हुनुपर्छ । आफ्ना दर्शक भेट्दा मलाई खुसी नै लाग्छ– बाहेक तिनका अन्तिम प्रश्न छाडेर, ‘तपाईं कहाँ हराउनुभयो ?’

खैर, मैले हुन्छ भनेँ । तीनवटा कुर्सी मात्र भएको अलग ठाउँमा हामी बस्न पुग्यौँ । सन्देशवाहकसहित दुईजना सज्जन मलाई बिचमा पारेर विराजमान भए । हेर्दै खुफिया जमघट लागिरहेको थियो । मसित भेट्न जो आतुर थिए, तिनी दुईमध्ये पाका थिए । कुराकानीको सुरुवात तिनैले गरे । पहिला सुरु उनले नेपाल टेलिभिजनमा कार्यक्रम हेरेको उत्साह व्यक्त गरे । त्यसपछि ०६१ सालको अछाम काण्डमा आएर रोकिए । यो बिन्दुमा पुगेर उनले मलाई के भएको थियो भनेर सोधेनन् । कसरी बन्धक बनाइएँ भनेर पनि कोट्याएनन् । उनको जिज्ञासा माओवादीले मसित के–के गरे भन्नेमा थियो ।

आफू ‘अरेबियन नाइट्स’को कथाझैँ जताबाट पल्टाए पनि नयाँ अध्याय सुरु भइहाल्नेजस्तो । बिहाको माहोल, आफूले बेरेको साडीको तानतुन कसकास अनि ती सज्जनको जिज्ञासा । पिसाब च्यापिरहेको वेलाको सपनाजस्तो ‘सररियल’ लागिरहेको थियो । तर, ती सज्जनको मुहारको गम्भीरता पनि कदर गर्न लायकको थियो । सो मैले आफ्नो भोगाइ काँटछाँटेर उनलाई सुनाएँ । जनसरकारका सरदारले शारीरिकभन्दा मानसिक यातना दिएको उनलाई भने । ती सज्जन तिखा मसिना आँखा पार्दै सुनिरहे ।

मेरो कथन सुनिसकेपछि उनले आफ्नो पालो आएझैँ गरे । उनी भने विस्तृतमा चालू भए । उनले आफू राष्ट्रिय अनुसन्धान विभागबाट रिटायर भइसकेकोबाट सुरु गरे । रोल्पामा सरुवा हुँदा माओवादीको फन्दामा परेका रहेछन् । कुनै कारबाही हुनुअगावै उनी फन्दाबाट फुत्केका रहेछन् । उनको किस्सा बडो रोमाञ्चकारी थियो । अरूवेला हुँदो हो त म चाख मानेर सुन्थेँ होला । त्यस समयमा मेरो ध्यान अर्कै कुराले कचपचिएको थियो ।

आफ्नो किस्सा उनले यसरी सुनाइरहेका थिए, मानौँ म पनि उनीजस्तै गुप्तचर हुँ । र, फिल्डमा पाएको दुःख एक–अर्कालाई सुनाउँदा तोड केही कम हुने होस् । उनले एकचोटि पनि सोधेनन्, म गुप्तचर हुँ कि होइन भनेर । बरू अन्त्यमा एउटै कुरा सोध्लान् जस्ता थिए– अहिले कुन पोस्टिङमा ? हदै भयो । मैले त्यसपछि प्वाक्क लाएर भनेँ, ‘तर, मलाई चाहिँ बित्थामा गुप्तचर बनाए ।’

त्यसपछि तिनैजनाको ध्यान मतिर तानियो । रिटायर सज्जन टाउको एकातिर ढल्काएर मलाई हेर्न थाले । बाँकीका दुईजनाले बल्ल मलाई सोधे– म कहाँ, कसरी र किन माओवादीको बन्धक बन्न पुगेँ ?   मैले आफ्नो रामकहानी सफाइ दिएझैँ सुनाएँ । त्यसरी भन्छु भनेर सोचेको त थिइँन, तर त्यसै सुनिन गयो । मलाई ती रिटायर सज्जनको टाउको ढल्काइ खुराफाती लागिरहेको थियो ।

मलाई सुनिसकेपछि तीनैजनाले मुन्टो हल्लाए । एकछिनलाई मौन भए । त्यसपछि आफू–आफूमा भन्न थाले । ‘खास रा.अ.वि मा काम गर्नेहरूले आफू त्यहाँ काम गर्छु भनेर भन्दैनन् नि । कसैले थाहा पाए भने पनि ‘हैन’ भनेर तर्किहाल्छन् । तर, फलाना त्यहाँ काम गर्छ भनेर कसरी लिक आउट हुन्छ ?’

उनीहरू अर्कै मान्छेको बारेमा कुरा गरेझैँ मेरै कुरा गरिरहेका थिए । यसबाट थाहा हुन्थ्यो, उनीहरू थप अन्योलमा परे । न गुप्तचरको आरोपलाई नपत्याउन सकिरहेका थिए, न मलाई पत्याउन सकिरहेका थिए । रातभरि रामायण सुनायो, सीता कसकी जोई भन्दा रावणकी ! कुरो न कन्थोमा अघिदेखि बकबक गर्दै रहेछु । मलाई चिडचिड हुन थाल्यो । त्यहाँबाट उठेर मैले आफ्नो बाटो तताएँ ।

धेरैलाई आफ्नो यो समस्या राखेपछि एउटा कुराचाहिँ स्पष्ट भयो । रा.अ.वि. मा काम गर्ने गुप्तचरहरूलाई एक–अर्काबारे थाहा नहुने रहेछ । आफूले काम गरेकोबाहेक अरू को–को कार्यरत छन् वा छैनन् भन्ने गोप्य हुने रहेछ । सार्वजनिक रूपमा म गुप्तचर हुँ वा म होइन भन्दा झनै रहस्यमयी बनिँदो रहेछ । त्यसो भए म के गरूँ ? चुप लागेर बसूँ भने ठाडै गुप्तचर भइने । म गुप्तचर होइन भनेर घोक्रो सुकाउँदा, सशंकित नजरले हेरिने ।

म जति ‘होइन होइन’ भनी सफाइ दिन्छु, मान्छेहरू ‘हो कि हो कि’ भन्दै मन मैल्याउँछन् । अब यो ‘कमेडी अफ इरर्रस’ नभए के त ? तर, तपाईंलाई थाहा छ, एउटा समय यस्तो थियो जब म आफैँ आफूदेखि सशंकित भएकी थिएँ । त्यो म भर्खर माओवादीबाट छुटेर आएको समय थियो ।

२०६१ साल पुसको दोस्रो हप्ता म माओवादीबाट रिहा भएर काठमाडौं फर्किएँ । म भित्रैसम्म हल्लिएकी थिएँ । कालको आँखासित आँखा जुधाएर होइन, कालअघि थरथर काम्दै फर्काइएकी थिएँ । यही कमजोर मनस्थितिमा आफैँलाई म गुप्तचर लाग्न थालेकी थिएँ ।

अछाममा समातिएको पहिलो दिन म ठिकठाकै थिएँ । आफू गुप्तचर भएकाले बन्धक बनाइएको भनेर भन्दा म अवाक् भएकी थिएँ । अनि बल्ल पो याद आयो– आठ वर्षअघि पत्रिकाले छापेको झुटो खबर । ओहो ! कत्ति पुरानो कुरा लिएर बसेका । तर, त्यसको खण्डन त मैले फाटफुट अन्तर्वार्तामा दिएकै थिएँ । कामरेडका सरदारले त्योचाहिँ पढ्न भ्याएनछन् । खैर मैले आफू उनीहरूले ठानेजस्तो गुप्तचर नभएको खुलस्त गरेँ ।

यसपछि सुरु भयो मलाई तीन तहमा केरकार गर्ने सिलसिला । पहिलो तह थियो, गुप्तचर भएको सत्य मलाई सकार्न लगाउने । त्यसैले उनीहरूको प्रश्न ‘म गुप्तचर हुँ वा होइन ?’ बाट सुरु भएन । उनीहरू ठाडै म कुन पदमा कार्यरत छु भनेर -याख-याख्ती गर्न थाले । म अडिग रहेँ आफ्नो निर्दोषितामा । उनीहरूले भने सात–आठ घन्टासम्म लगातार एउटै प्रश्नले प्रहार गरिरहे । कहिले महिला आएर झपारेको छ, कहिले पुरुष आएर फकाएको छ । भए पनि थाकुन्जेल ‘म गुप्तचर होइन’ भनिरहेँ । मानसिक रूपमा म थिलथिलो हुँदै गएकी थिएँ ।

अनि सुरु भयो दोस्रो तहको दबाब । सबैभन्दा पहिला उनीहरूले म आगन्तुकबाट कैदीबन्दी बनाइएको जनाउ दिए । त्यसको लागि थ्री नट थ्री राइफल भिरेका तीनटा बर्दीधारी मिलिसिया मेराअघि ठड्याए । शौचालय जान, खानपिन गर्न, जनअदालतमा प्रस्तुत हुँदा यिनै बन्दुकधारीका पछि लाएर जानुपथ्र्यो । म दुस्मनको खेमामा बहादुरी देखाउन गए पो यी सबका लागि मनोवैज्ञानिक रूपमा तयार हुँदी हुँ । म त युद्धविरामको मौका छोपी स्नातकोत्तरको थेसिस लेख्न पुगेकी थिएँ । जनयुद्धका कारण महिलाहरूको सशक्तीकरण भएको परिवर्तनमाथि । अचानक यस्तो आइलाग्दा म त्रासले लगलगाउन थालेँ ।

केरकार कठोरबाट कठोरतम हुँदै गयो । उनीहरू एउटा घटना बारबार सुनाउन थाले । त्यो घटना म पुग्नुअघिको थियो । टीकापुरतिरका भर्खरका एकजना केटा तलैबाट समातिएर अछाम ल्याइएका रहेछन् । उनी रा.अ.विका गुप्तचर थिए अरे । माथि अछाममा पु-याएपछि जनसरकारको अदालतले भौतिक कारबाहीको दण्ड सुनाएछ । उनलाई पहाडको खाेँचबाट धकालेर सेती नदीमा खसाले अरे । त्यसरी खसाल्दा उनको मृत्यु हुन पुगेछ ।

यो केस मलाई कामरेडका सरदारले सगौरव सुनाएका थिए । ‘हामी पनि दुस्मनलाई छाड्दैनाैँ’ भन्ने खालको आक्रोश थियो उनमा । यसपछि भने केरकार गर्ने महिलाले पनि यो घटना तर्साईतर्साई सुनाउन थालिन् । यो घटना सुनाउनुको उद्देश्य स्पष्ट थियो । मैले म गुप्तचर भएको नस्विकारे मलाई पनि त्यही सजाय हुनेछ ।
मलाई भने किनकिन यो घटना उनीहरूले तर्साउन बनाएको कथाझैँ लागिरहेको थियो ।

त्यो बसाइँमा मलाई खाना खुवाउने जिम्मा एकजना सासू र बुहारीलाई लगाइएको थियो । उनीहरू मसित बोल्दैनथे । मिलिसियाहरू आफू–आफूमा भुल्दाचाहिँ सासूआमा नजिकिएर बोल्थिन् । तिनै आमाले मौका छोपेर खुसुक्क सोधिन्– ‘किन आयौ नि बा बाघका मुखाँ’ ?’ तिनको सहानुभूति मर्ममै लागेको थियो । किलकिलेमा गाँठो बनेर म घुँक्क भएकी थिएँ । मलाई मेरै आमाको वात्सल्य लाग्यो । नमिठो रुवाइ आयो । तर, मैले आँसु चुहाएर कमजोर देखाउनु थिएन । भलै म चुँडिनै लागेकी थिएँ । डरको साथसाथ मलाई भयंकर रिस पनि उठिराखेको थियो ।

आफूलाई सम्हाल्दै मैले ती आमालाई त्यही केटोका बारेमा सोधेँ । तिनलाई साँच्चिकै मारेका हुन् कि होइनन् भनेर जान्न चाहेँ । मारेका हुन् भन्छन् भन्दै तिनले खुइऽऽ गरिन् । बास्, मलाई मेरो मृत्यु अवश्यम्भावी लाग्न थाल्यो ।

मैले बराबर प्रतिवाद गर्न छाडेँ । तिनीहरूका कुरा बढी सुन्न थालेँ । मैले मौनता साँधे पनि गुप्तचरको आरोप स्वीकारेकी थिइनँ । बिस्तारै तिनले तेस्रो पारा अपनाए । भन्न थाले, मैले थाहा नपाईकन म गुप्तचर बनाइएको हुन सक्छु । अर्थात् घरका कोही मान्छे मेरो नाममा भत्ता खाँदै बसिराखेको हुन सक्छ । यस्तो हुनु सम्भव छ र ? मैले पत्याइनँ ।

मलाई निरन्तर केरकार गरिराखेकी महिलाले त्यसपछि मेरो पितृ बुझाइदिइन् । मेरो जन्मघर, बाबुका दुइटी श्रीमती, म कतातिरपट्टिकी, कति भाइ छोरा, कति बहिनी छोरी, आमा र बुबाको अन्तरजातीय विवाह आदि–आदि । एउटा अनौठो डर ढाडभरि सलबलायो । यतिन्जेल आफू कसैको निगरानीमा रहँदै आएकोजस्तो, अलिकतिको दायाँबायाँले मुठ्ठीको माखो बनिनेजस्तो, कस्तो–कस्तो ! लाग्यो, यति सबै थाहा हुनेलाई मैले पत्तो नपाएका धेरै कुरा थाहा हुन सक्छ । अबचाहिँ सोच्न कर लाग्यो ।

के थाहा उनीहरूले भनेझैँ घरका कसैले भत्ता खाँदै पो बसेको छ कि ? बुबा वाणिज्यमन्त्री हुँदा ममाथिका दाइ र दिदीहरू सबै बेरोजगार थिए । मैले आफ्नो ग्यारेन्टी लिन सक्थेँ, अरूको कसरी लिन सक्नु ! वा मेरै आमालाई कसैले यसो गर्न पो उक्सायो ?

(यस्तो सोच्ने पाप पनि मैले गरेकै हुँ । थुक्क म !) उदेक ! सौतेनी दिदी र दाइहरूसितको मनमुटाव झनै गाढा हुँदै आयो । म आफ्नी आमाको छोरी हुँ भन्नेमा पनि शंका लाग्न थाल्यो । लाग्न थाल्यो, यिनैमध्येका कसैले मसित धोका गरिरहेका छन् । मलाई सबैमाथि अविश्वास जाग्यो । सबै मेरो ज्यानको दुस्मन हुन् झैँ लाग्यो ।

अनि मैले स्विकारेँ । म गुप्तचर बनाइएको हुन सक्छु । मेरो परिवारको कुनै सदस्यले गुप्त रूपमा भत्ता खाँदै बसेको हुन सक्छ । यो सत्य म पत्ता लगाउनेछु । त्यसपछि रा.अ.वि. बाट राजीनामा गर्नेछु । यत्ति स्विकार्नु के थियो, कामरेडका सरदारले मसित स्वीकारनामा लेख्न लगाए । जागिर छाड्ने सर्तमा मलाई रिहा गर्ने भए । (मेरो स्रोतअनुसार यतिञ्जेल उनलाई थाहा भइसकेको थियो अरे, म गुप्तचर सुप्तचर केही हैन) तैपनि उनले यो नाटक जारी राखे ।

हो, यही मनस्थितिमा म काठमाडौं फर्किएकी थिएँ । सबैसित त्रसित, आफैँदेखि सशंकित । यहाँ आएर पत्ता लगाउँदा माओवादीले भनिरहेको कुरा सबै मिथ्या साबित भए । तैपनि मेरो डर छयाङ्ङ भएन । गृह मन्त्रालयले म गुप्तचर होइन भनेर प्रस्टीकरण दिँदा पनि म गुप्तचरै हुँ कि क्या हो भन्ने लागिरहन्थ्यो कता–कता । म बाहिरफेर निस्किदिनथेँ । मलाई जनसरकारको भेलामा उनीहरूले दिएको चेतावनी याद आउँथ्यो । उनीहरूले म अब जता गए पनि पछ्याइनेछु भनेका थिए । मेरो गतिविधिमा नजर राखिरहने भनेर तर्साएका थिए ।

त्यसैले म बाहिर हुँदा पछाडि फर्कीफर्की हिँड्न थालेकी थिएँ । लाग्थ्यो, पछाडिबाट कोही आउँदै छ, मेरो काँधमा हात राख्नेछ र घिच्रो समाउनेछ । बाहिरफेर हिँड्नुपरे म हेलमेट लगाएर हिँड्थे । भिडमा छ्यासमिस सुराकीहरू हुन सक्छन् जस्तो लाग्थ्यो । हजुर ! यस्तो परिस्थितिलाई ‘प्यारानोवा’ भन्छन् । जुन पि.टि.एस.डी (पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर) को परिणाम हो । मभन्दा पनि दर्दनाक यातनाबाट गुजे्रका द्वन्द्वपीडितहरू छन्, जसलाई उपचारको सख्त खाँचो छ । (तर, यी त युद्धका ‘कोल्याटरल ड्यामेज’हरू हुन्, कसलाई वास्ता ? होइन त हजुर !)

मचाहिँ बिस्तारै सामान्य हुँदै आएँ । बडो नाटकीय छ यसको आपबिती । यो कुथुंग्री बुढेसकालका लागि साँचिराखेकी छु । अबको बीस वर्षमा हामीले बाँचेको समयको कथा आखिर सुनाउनु नै छ । पश्चिम पहाडकी खाममगर्नी हजुरआमाले ‘लडाइँ’को गाथा सुनाउँलिन् । बर्दियाको थारूगाउँमा बेपत्ता पारिएकाकी हजुरआमाले ‘पर्खाइ’को कथा सुनाउलिन् । हजुरआमा भइसकेकी म भने ‘सर्भाइभल’को कथा सुनाउनेछु ।

उपसंहार
काठमाडौं फर्किएपछि माओवादीले मलाई ससर्त रिहा गरेको खबर छ्यापछ्याप्ती भइसकेको थियो । एउटा राष्ट्रिय दैनिकको एन्कर न्युजमा छापिएपछि सत्य के हो भन्ने उत्सुकता झनै खुल्दुलियो । यसै सिलसिलामा कान्तिपुर टिभीको ‘फायरसाइड’ कायक्रममा अन्तर्वार्ता दिन आमन्त्रण गरियो । आफ्नो कुरा राख्न योभन्दा उत्तम मञ्च कहाँ हुन्थ्यो होला र ! म अन्तर्वार्ता दिन गएँ ।

अन्तर्वार्तामा प्रस्तोता भूषण दाहालले म कस्तो मानसिक अवस्थाबाट गुज्रिएँ भन्नेबारे खोतलेका थिए । मैले एक–एक केलाएँ । जुन बिन्दुमा पुगेर आफू मारिने भएँ भन्ने लागेको थियो, मैले खुलस्त भनेँ । मैले सुनाइदिएँ, त्यही गुप्तचर भनिएको केटोको घटना, जुन सुनाईसुनाई उनीहरूले मलाई त्रसित बनाएका थिए ।

टेलिभिजनमा आफू पोखिइरहँदा मैले ती केटाको पनि नाम लिन पुगेँ । तर, मैले उनी मारिएको तथ्य प्रस्ट खुलाइनँ । माओवादीसितको डर यथावत् थियो ।
त्यो कार्यक्रम प्रसारण भयो । भोलिपल्ट घरको ल्यान्डलाइनमा मेरा लागि एउटा फोन आयो । मैले ‘हलो’ भन्दा फोन गर्नेले उताबाट आफ्नो परिचय भन्यो । म शिखदेखि नखसम्म चिसिँदै आएँ । हात लुला हुँदै गए, फोनको रिसिभर अहिले छुट्ला भरे छुट्ला झंँ भयो । उनी गुप्तचर भनिएको त्यही केटोकी आमा थिइन् । टेलिभिजनमा आफ्नो छोराको नाम सुनेपछि सन्न भइछन् र मलाई खोजीवरी सम्पर्क गरिछन् ।

उनले पहिला मलाई आफ्नो छोराका बारेमा भनिन् । कसरी तिनी आईएको जाँच सक्काएर पुर्खौली घर टीकापुर पुगेका थिए । त्यसपछि तिनी त्यहाँबाट अचानक गायब भए । खोजी गर्दा माओवादीले अपहरण गरेको कुरा परिवारले थाहा पाए । खोजिदिन चारैतिर हारगुहार गर्दा एउटा खबरसम्म चाहिँ पाए । अन्तिमपटक उनी अछामको रामारोशनमा देखापरे, अरे ।

उनकी आमाले यति भनिसकेपछि मलाई सोधिन्, ‘तिमीलाई अछाममा बन्धक बनाउँदा मेरो छोरालाई देख्यौ कि नाइँ ?’ मैले तिनलाई नदेखेको भनेँ ।
उद्विग्न स्वरमा उनले सोधिन्, ‘तिमी जसरी फर्केर आयौ, मेरो छोरो पनि आउँछ कि नाइँ ?’मेरो मुटु ढक्क भयो । उनी मारिसकिएको खबर उनको आमालाई कसरी भन्नु ! मलाई सत्य भारी भयो । त्यो भार तल पुरिएको मेरो आवाज भास्सियो । मैले गला साफ गरेँ । कुरा छल्न ‘आउँछ होला’ भन्ने आशयको बात गरेँ । ‘उसका बाबुले किरिया गर्न भनिरहेछन् । पशुपतिमा सबै ठिक्क पारिसक्यौँ । तर, मेरो मनले मानिरहेको छैन । तिमीले एकवचन मेरो छोरो जिउँदै छ भनिदियौ भने म किरिया गर्दिनँ ।’
म मौनतामा जड भई शून्य भइरहेँ ।
‘नानी मेरो छोरो मारिएको छ कि बाँचेको,
मलाई भनिदेऊ ।’

मेरा आँखा टिलपिलाउन थाले । रिसिभर समाइरहेको लुलो हात मैले च्याप्प कसेँ । आँत बलियो बनाउन सास रोकेँ र भनेँ, ‘उनी बाँचेका छन् । फर्की आउनेछन् ।’
एउटा लामो सास छोडिएको सुनियो । ‘छोरीलाई धेऽरै धेऽरै आशिष लागोस्, है छोरी !’ गिलो स्वरमा उनले भनिन् र मन नलाई–नलाई फोन राखिन् ।

म आफ्नो कोठामा फर्किएँ । ढोका लक गरेँ । छातीमा परेको गाँठो डाँको छाडेर फुकाएँ । त्यसदिन म बिरामी नपरुन्जेल रुइरहेँ । किन–किन आँसु नै नथामिने रुवाइ आयो । आजसम्म निथ्रिएको छैन । त्यो फोनवार्ता सम्झेर अहिले यो लेख्न बस्दा पनि आँसु भरभराएर आयो । सम्झ्यो कि ग्लानिले भरिएर आउँछु ।
१७ हजार नेपाली मारिएको सशस्त्र द्वन्द्वकाल सम्झिँदा मलाई पोल्ने भनेको यही एउटा सत्य हो । मैले बोलेको झुट । मैले बाँचेको सत्यभन्दा पनि ठूलो झुट ।
तर, मलाई लाग्दैन यस्तो झुट मैले मात्र बोलेकी हुँला ।

म सोच्छु, भैरवनाथ गणमा बन्दी बनाइएको कुनै एउटा विद्रोही थियो होला । ऊ पनि काकतालीले बाँचेर आएको होला । ऊसँगै समातिएको अर्को विद्रोही पनि होला । उसकी आमा छुटेर आउने विद्रोहीलाई भेट्न पुगिन् होला । त्यो विद्रोहीसित आफ्नो छोराका बारेमा उनले पनि सोधेकी होलिन् । ऊजस्तै उनको छोरो पनि फर्की आउँछ कि आउँदैन ? बाँचेको छ कि छैन ? कुशको लास बनाएर किरिया गरौँ कि नगरौँ ? यस्तै–यस्तै सोधेर उनी छताछुल्ल भएकी होलिन् ।

विद्रोहीले सम्झन पुगेको होला, सँगै थुनिएको साथीलाई । यातना दिईदिई लेथ्नो बनाएको उसको शरीरलाई । अन्तिमपटक उसलाई त्यहाँबाट लिएर जाँदा पछाडि बाँधिएका उसका जब्बर मुठ्ठीलाई । र, सम्झ्यो होला जाँदाजाँदै उसका आँखामा देखिएको काललाई । त्यसपछि विद्रोहीको भेट त्यो साथीसित कहिल्यै नभएको होला ।

उसले आमाको अनुहार एकपटक हे-यो होला । उनको मुहारमा साथीको अनुहार पाएको होला । साथीको एक अंश अझ पनि बाँचिरहेकोजस्तो लागेको होला । भएकोलाई बचाउन उसको मन पिरोलिएको होला । उसले पनि आफ्नो आँत बलियो बनाएको होला र भन्यो होला, ‘ऊ मारिएको मैले थाहा पाएको छैन । फर्की आउँछ होला ।’ त्यतिवेला विद्रोहीलाई लागेको होला एसएलआर बोक्नुभन्दा पनि ठूलो बहादुरी चाहिने रहेछ, एउटा बेपत्ता पारिएको छोराकी आमा अघिल्तिर उभिएर उनको छोरा फर्किआउनेछ भनेर ढाँट्न ।

admin

leave a comment

Create Account



Log In Your Account