गण्डकी घुम्न आउनुस्

गण्डकी घुम्न आउनुस्

गण्डकी घुम्न आउनुस्

विश्वका हरेक मुलुकका आ–आफ्ना आम्दानीका स्रोत हुन्छन् । जस्तै, कृषि, उद्योग कलकारखाना, तेलखानी र सुन खानी आदि । यसरी हेर्दा विश्वका विकसित राष्ट्र फ्रान्स, स्पेन, अमेरिका, चीन, टर्की, इटली, मेक्सिको र बेलायतलगायत १० राष्ट्रले पर्यटन व्यवसायलाई उच्च स्थान दिएको पाइएको छ । यसले राष्ट्रिय ढुकुटीलाई बलियो बनाउनुका साथै बेरोजगारी न्यूनीकरणमा योगदान पु-याएका उदाहरण छन् ।

हाम्रो अर्थव्यवस्था मूलतः कृषिमा आधारित भए पनि जलस्रोत र पर्यटनले ठूलो महत्व् राख्छन् । त्यसैले ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्राप्तिको अभियानमा पर्यटनले ठूलो भूमिका खेल्न सक्छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेको छ । सन् २०१८ को तथ्यांक हेर्दा झन्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार झन्डै ७० करोड आम्दानी हुनुका साथै १० लाख युवाले रोजगारी पाएको देखिन्छ । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकमा भारत, चीन, अमेरिका र श्रीलंकाबाट तुलनात्मक रूपमा बढी देखिए पनि थाइल्यान्ड, कोरिया, अस्टे«लिया, स्पेन, नेदरल्यान्ड र बेलायतलगायत देशबाट पनि पर्यटक आएको देखिन्छ । सरकारले घोषणा गरेको सन् २०२० नेपाल भ्रमण वर्षले नेपालको भ्रमण गर्ने पर्यटक संख्यामा भारी वृद्धि हुने र त्यसले बेरोजगारी न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

नेपाल हरेक दृष्टिकोणले विश्वमै अनौठौ, दुर्लभ र सुन्दर मुलुक हो । यहाँको भौगोलिक, जातीय र धार्मिक विविधताले यसलाई एउटा जीवित संग्रहालय बनाइदिएको छ । तुलनात्मक रूपमा मध्यम आकारको मुलुक भए पनि सर्वोच्च शिखरसहित विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठवटा यहीँ छन् । साथै निकुञ्जको सन्दर्भमा पनि यसले आफ्नै विशेषता बोकेको छ । चितवन राष्ट्रिय निकुञ्जदेखि अन्नपूर्ण संरक्षण क्षेत्रका साथै सिकार खेल्न मिल्ने सुविधासहितको ढोरपाटन यहीँ छ । त्यसैमा घलेगाउँलगायत ग्रामीण होमस्टेले स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउन र सत्कार गर्न सफल भएका छन् ।

नेपालको सात प्रदेशमध्ये गण्डकीलाई नेपालको पर्यटकीय राजधानी भन्दा फरक पर्दैन । यसको मुख्य कारण हुन्, यहाँ विद्यमान प्रकृति र संस्कृति । उत्तरको छिमेकी मुलुक तिब्बतसँग जोडिएको कोराला नाकादेखि दक्षिण छिमेकी देश भारतसँग सीमा जोडिएको त्रिवेणी सुस्तासम्म यहाँ छ । यसरी, उच्च हिमाली भागदेखि समथर मैदान यहाँ अटाएको छ । यहाँका धौलागिरि, अन्नपूर्ण, मनासलुु, माछापुच्छ्रे, निलगिरि र गणेश हिमाल अनि तिलिचो, सिंगार, फेवा, बेगनास, र रूपाताल यही  प्रदेशमा पर्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पदयात्रा सुविधा, मुक्तिनाथ, बागलुङ भगवती मन्दिर, विन्ध्यवासिनी, मनकामना आलमदेवी र शाश्वतधाम मन्दिर, पाताले छाँगो र म्याग्दीको तातोपानी, घोरेपानी पदयात्रा र पुनहिलको हिमाल दृश्यावलोकनको अवसर यहीँ पाइन्छ । नेपालमा अन्त नपाइने छन्त्याल, बरामो र दुरा जातिको अस्तित्व यो प्रदेशका सांस्कृतिक सम्पत्ति हो । भुजुङ र सिक्लेसदेखि बारपाकका ठूला एकीकृत गुरुङ बस्ती स्वदेशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वका स्थान र संस्कृति हुन् । प्याराग्लाइडिङ, जिपफ्लाएर, बन्जी जम्पिङ, क्यानोइङलगायत हिमाल आरोहण र माउन्टेन बाइक राइडिङ पनि यस क्षेत्रमा प्रसिद्ध छ ।

गण्डकी प्रदेशभित्र तीन सय होमस्टेको क्षमता अभिवृद्धि एवं व्यावसायिकतामा अभिप्रेरित गर्ने हिसाबले प्रत्येक सामुदायिक होमस्टेलाई १० लाख अनुदान दिएर पर्यटनलाई थप उचाइमा लैजाने प्रयास गरिएको छ । गण्डकी प्रदेशभित्रको पर्यटन सम्भावनालाई प्राथमिकतामा राखेर अनुदानप्राप्त होमस्टेको अनुगमन र मूल्यांकन यो वर्ष गरिँदै छ । यसरी नै होमस्टेलाई स्थानीय उत्पादनसँग जोड्ने प्रदेशका पर्यटनमन्त्रीको योजना छ ।

यसै सन्दर्भमा सन् २०२० लाई नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले सन् २०१९ देखि २०२२ सम्मलाई पर्यटन वर्ष भनी घोषणा गरेको छ । यसलाई सफल बनाउनु हामी सबैको दायित्व हुन आउँछ । यस अवधिलाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यसको कार्यान्वयन पक्षलाई मध्यनजरमा राखेर हालै मात्र गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्य र संस्कृतिलाई सबैमाझ पु-याउन प्रचारात्मक काम सम्पन्न गरिएको छ । त्यसैले नेपालभित्र र बाहिरका सबै पर्यटकलाई गण्डकी प्रदेशको भ्रमण धेरै तरिकाले आनन्ददायी हुन सक्छ ।

admin

Related Posts

संसदमा नयाँ वरीयता, सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा

Comments Off on संसदमा नयाँ वरीयता, सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा

leave a comment

Create Account



Log In Your Account