सकसबाट पहिल्याएको विमलाको सिर्जना यात्रा

सकसबाट पहिल्याएको विमलाको सिर्जना यात्रा

‘विमला तुम्खेवा आफ्नो लेखनलाई लिएर के कारणले सन्तुष्ट छिन् ?’
‘विमलाले बीसौँ वर्षदेखि आफ्नो कवितालाई
प्रेमीलाई जसरी प्रेम गरिहेकी छे ।’
‘दुई दशकको लेखन यात्रामा लेख्न  नसकेको कुरा ?’
‘सबै लेखकलाई मैले लेख्न चाहेको कुरा जिउँदो हुँदा नै लेख्न सक्दिनँ कि भन्ने भयले सताइरहन्छ ।’
०००
एउटा अनिश्चित यात्रा । यस्तो यात्रा जुन हिमालको फेदबाट खसेको सानो खोलाको जस्तो । जुन यात्राका लागि तमाम सामाजिक पर्खाल भत्काएर बग्नुपर्ने थियो, बगिन् । र विमला तुम्खेवा निरन्तर साहित्यिक यात्रामा छिन् ।

विमला तुम्खेवा, साहित्यकार

एउटा कविले के लेख्ने हो ? उनको उत्तर छ, ‘कुनै पनि कविले आफूले बाँचेको समाजको समय लेख्ने हो ।’ महिला लेखक/कविबारे उनको धारणा छ, ‘महिला कविले पनि पुरुषले उठाएकै कुरा उठाएका छन् । पुरुषलेभन्दा राम्रो तरिकाले पनि उठाएका छन् ।’

काठमाडौंमा विमलाका पदचापहरू
१४ वर्षको उमेरमा सेतो कपडा लगाएर सामाजिक मान्यतासँग विद्रोह गरिन् । रहस्यमय टापुजस्तो बनेर हिँड्न थालिन् । कारण के थियो त ? त्यसलाई दबाब दिने मुख्य कुरा थियो– कविता । त्यसैका कारण उनी कवि बन्न काठमाडौं पसिन् ।

साडीचोलो लगाएर कविता सुनाउन इटहरी आएकी विमला त्यतैबाट काठमाडौंका लागि हिँड्न् तयार भइन् । बसपार्क पुगेका वेला मिल्ने साथी, अस्मिता भण्डारीले उनलाई फर्काइन् । यसपछि त झनै काठमाडौं जाने व्याथाले उनलाई च्यापिरह्यो ।

०५५ सालमा ‘विमला तुम्खेवाका कविताहरू’ कविता संग्रह ल्याइन् । ०५७/५८ सालतिर आमासँग जिद्दी गरेर काठमाडौं आइछाडिन् । आमाले उनलाई २ हजार रुपैयाँ दिएकी थिइन् । त्यसवेला बसको भाडा ३ सय ७५ रुपैयाँ थियो । भात पकाउने भड्डु भाँडा, कराही, थाल र कपडाहरू पूर्वैबाट लिएर आइन् ।

काठमाडौं झर्दा उनीसँग ७ सय ५० रुपैयाँ बाँकी थियो । धरानमै चिनजान भएका साथी तुल्सी श्रेष्ठले लिएको फ्ल्याटको एउटा कोठामा बसिन् । त्यसपछि सुरु भयो जीवनको अर्को रहरलाग्दो, तर कठिन सिर्जनाको यात्रा । काठमाडौं आएपछि उनको ‘नदी, छाल र तरंगहरू’ (२०६०), ‘संस्मरण एउटा बूढो रूखको’(२०६५) प्रकाशित भए । यतिवेला उनी नयाँ संग्रहको तयारीमा छिन् ।

फकिरजस्तो जिन्दगी उत्सवजस्तो हुन्छ । जहाँ गए पनि भयो, जसरी बाँचे पनि भयो । तर, समाजतिर फर्किएपछि हामी नियमले बाँधिँदा रहेछौँ ।

आफ्नै अनुहारको खोजी
काठमाडौंलाई उनले जसोतसो झेलिन्, तर काठमाडौंले सजिलै झेल्यो, उनलाई । ‘यहाँ त ढोका थुनेर खाना खाँदा रहेछन्,’ भन्ने उनले एउटा कमिटमेन्टका कारण कहिल्यै हरेस खाइनन् । यसबारे उनी भन्छिन्, ‘चित्त दुख्ने कुरा त काठमाडौंमा पाइलैपिच्छे भेटिन्छन्, तर मेरो कमिटमेन्टका कारण मैले ती कुरा त्यति ख्याल गरिनँ ।’

उनको बुझाइमा काठमाडौं सपनाकोभन्दा ज्यादा निराशाको सहर हो । यहाँ ठूला सपना बोकेर आइपुगेकाहरू अन्तिममा डिप्रेसनको सिकार हुन्छन् । विमलालाई डिप्रेसन त होइन, अभाव र आलोचनाले भने सधैँ सिकार बनाइरह्यो । कविता लेख्छु भनेर काठमाडौंमा लखरलखर विभिन्न कार्यक्रममा गइरहिन् ।

न्युरोडको पीपलकोटमा कवि/लेखकहरूको एउटा अखडा र बागबजारमा अर्को । कतिसम्म पनि भने उनीबारे एउटा किस्सा नै बनाएका थिए, ‘बिमलाले ढोकामा पुगेर नमस्कार नगरेको घर काठमाडौंमा छैन ।’ यसो भन्नुका पछाडि महिला भनेर हेपिएको होला या उडाइएको होला । तर, विरानो सहरमा पहिचान स्थापित गर्न कति संघर्ष गर्नुपर्छ, त्यसको सग्लो उत्तर थियो, त्यो किस्सा ।

फर्केर समाजतिर
करिब ७ वर्ष उनी जोगी भएर बाँचिन् । बेपर्वाह बाँचिन् । भन्छिन्, ‘फकिरजस्तो जिन्दगी उत्सवजस्तो हुन्छ । जहाँ गए पनि भयो, जसरी बाँचे पनि भयो । तर, समाजतिर फर्किएपछि हामी नियमले बाँधिदा रहेछौँ ।’ बिहे गरिन् । अहिले छोरी छिन् । आखिरी त्यत्रो ठूलो चुनौती लिएर जीवनको फरक उत्सव मनाउन हिँडेको मान्छे फेरि किन सामाजिक नियममा बाँधिन आइपुगिन् त ?

०७२ सालको भूकम्पको समय । आफ्नो भनेर सबैले एक–अर्कालाई समाते, जोगाए । तर, उनको त आफ्नो भन्ने आमाबाहेक कोही रहेनछ ! त्यसपछि उनलाई लाग्यो, परिवार भन्ने कुरा त चाहिने रहेछ । त्यसपछि यायावर जीवन बाँचेकी, राति–राति साथीहरूसँग काठमाडौंका गल्लीगल्ली चहारेकी उनी सामाजिक जीवनमा फर्किन् ।

इमानदार लेखन !
‘मैले कवितामा कहिल्यै ढाँटेर लेखिनँ । प्रेमको कुरा लेखेँ होला, कतै मलाई प्रेम भएको थियो होला । दुःख या पीडाको लेखेँ हुँला, त्यो पनि कतै मलाई भएको थियो होला । र, मजस्ता मान्छे दुनियाँमा कति होलान् ? मैले लेखेका कविता त्यसकारण उनीहरूले मन पराइदिन्छन्,’ विमला कविता लेखनबारे बोलिन् । तर, उनी त्यसरी विद्रोह गरेर समाजबाट अलग रहन्छु भनेर हिँड्दा पनि प्रेमबाट अछुत रहन सकिनन्, किन त ? एकछिन सोचेर भन्छिन्, ‘चेतना नै भएन भने मान्छे प्रेमबाट अछुत रहँदा रहेछन् ।’

admin

leave a comment

Create Account



Log In Your Account