सार्वजनिक जमिन बचाऊ

सार्वजनिक जमिन बचाऊ

सार्वजनिक जमिन बचाऊ

केही वर्षदेखि काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा बस चल्दैनन् । पहिले बसपार्क रहेको क्षेत्रमा टिनको बार हालिएको छ । भित्रबाट केही क्रेनले चियाइरहेका छन्, तर भित्र के काम हुँदै छ भन्ने बाहिरबाट देखिन्न । काठमाडौं महानगरपालिकाले टावरसहितको व्यापारिक कम्प्लेक्स बनाउन दिएको भनिए पनि निर्माण कार्य अहिलेसम्म अघि बढेको छैन । यता, त्यही निर्माणका लागि ठाउँ खाली गरिएकाले टुँडिखेलस्थित खुलामञ्चको पूर्व– उत्तरपट्टिको भागमा बसपार्क बनाइएको छ । बसपार्कको उत्तरपट्टि लहरै सटर राखेर कसैले भाडा उठाइरहेको छ । टुँडिखेलको संरक्षण र रेखदेखको जिम्मेवारी महानगरपालिकाको पर्छ । आधा भाग टुँडिखेल निर्माणसम्बन्धी कामका लागि प्रयोग भएको छ । बाँकी आधा भागमा बसपार्क रहेको छ । यो बसपार्कलाई पनि ठगी खाने भाँडो बनाएर लुछिएको छ । महानगरपालिका प्रमुख र वडाध्यक्षसमेत यसमा हस्तक्षेप गर्नुको साटो एक– अर्कालाई दोष देखाएर पन्छिने गरेका छन् । सार्वजनिक जमिन ओगटेर निजी मुनाफाका लागि मनपरी ढंगमा प्रयोग गर्नेहरू कति शक्तिशाली बन्दै गएका छन् भन्ने यो एउटा उदाहरण मात्र हो । खुलामञ्चमा व्यापारका लागि ठड्याइएका टहरामाथि ढिलै भए पनि महानगरपालिकाले शनिबार दिउँसो डोजर चलाएको छ । महानगरको यस आकस्मिक कदमले सार्वजनिक जमिन हडपेर व्यक्तिगत लाभका लागि उपयोग गर्नेहरूलाई एकपटक सोच्न बाध्य बनाउनेछ ।

सार्वजनिक जग्गा राज्यशक्तिका आडमा विभिन्न व्यक्ति र शक्तिले हत्याउने तथा सार्वजनिक जमिन घट्दै र नासिँदै जाने प्रवृत्ति पछिल्लो समय निकै बढेको छ

नेपालमा सार्वजनिक जग्गा राज्यको शक्ति प्रयोग गरेर विभिन्न व्यक्ति र शक्तिले हत्याउने र सार्वजनिक जमिन घट्दै र नासिँदै जाने लुटाहा प्रवृत्ति पछिल्लो समय निकै बढेको छ । खासगरी काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा जमिनको मूल्य बढ्दै जाँदा र बसाइँसराइका कारण जमिनको माग बढ्दै जाने क्रममा यस्तो मिचाहा प्रवृत्तिले प्रश्रय पाउन थालेको हो । पहिलेका सार्वजनिक चौर, पोखरी, गौचरन, नदी किनारका जमिन यस्ता अतिक्रमणको चपेटामा परेका छन् । हालै मात्र सार्वजनिक भएको बालुवाटारमा रहेको सरकारी जमिन व्यक्तिका नाममा सरेको प्रकरणले भूमाफियाहरू कसरी सार्वजनिक जमिन ओगटेर रातारात धनी हुने ध्याउन्नमा सरकार र राजनीतिक दललाई प्रभावित गर्न सफल हुन्छन् भन्ने एउटा उदाहरण देखाएको छ । कुनै पनि सार्वजनिक जमिन ओगट्न र त्यसलाई व्यक्तिका नाममा सार्न राज्यशक्तिको सहयोगविना सम्भव हुन्न । चन्दा र घुसको माध्यमबाट राजनीतिक दल, नेता, मन्त्री, प्रशासकलाई प्रभावित गर्ने र सबैले हैसियतअनुसारको भाग खाएर जनताको सम्पत्ति लुट्ने गरिएकैले काठमाडौं उपत्यकामा मल्लकाल या त्यसअघिदेखि बनेका सार्वजनिक स्थल साँघुरिँदै गएका छन् । भुइँचालोको समयमा सार्वजनिक जमिन नपाएर सडकमा वास बस्न बाध्य भएको घटना पुरानो भएको छैन ।

सहरमा खेल मैदानको नितान्त अभाव छ । साँघुरा गल्लीमा हातमा ब्याट र बल या खुट्टामा फुटबल लिएर सवारी छल्दै खेलिरहेका बालबालिका र किशोरकिशोरीलाई हेर्दा, साँझ– बिहान टहलिन र बसेर विगत उग्राउन नपाएका वृद्धवृद्धाले हाम्रो सहरलाई गिज्याइरहेका छन् । तैपनि सम्बन्धित पक्षले चेतेर यस प्रकारको लुट रोक्न र सार्वजनिक जमिन जोगाउन ध्यान दिएको नपाइनु दुःखद कुरा हो । यस्तो अवस्था पोखरालगायत पुराना सहरमा पनि उत्तिकै छ । देशभर जारी यो लुट नियन्त्रण गर र सार्वजनिक जमिन जोगाऊ अन्यथा नाफाको बजारले निचोरेर सार्वजनिक स्थल खुम्च्याउँदै लाने र सीमित व्यक्तिलाई मोटो बनाउने यो प्रवृत्तिले सहरलाई बस्नलायक रहन दिनेछैन ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account