भारतको धार्मिक नगरी वाराणसी

भारतको धार्मिक नगरी वाराणसी

भारतको धार्मिक नगरी वाराणसी

अच्युत पुरी
वाराणसी |

गंगातटमा बाबा विश्वनाथको पवित्र भूमि वाराणसी । नदी, धार्मिक आस्था र मानव सभ्यतालाई नजिकबाट नियाल्न हामी उत्सुक थियौँ । सबै सिट भरिभराउ गरेर उडेको बुद्धको जहाजमा हामी चारजनाबाहेक सबै यात्रु भारतीय थिए । सिमसिम पानी पर्दापर्दै जहाज वाराणसी उड्न तम्तयार थियो । त्यहीवेला एक भारतीय यात्रु वर्षायाममा मनमोहक देखिएका नजिकका डाँडाकाँडा देखाउँदै भन्दै थिए, ‘आहा कस्तो सुन्दर ! चारैतर्फ डाँडैडाँडाले ढाकेको सहर काठमाडौं ।’ उनले आफ्नो समूहका अन्य साथीलाई त्यसतर्फ ध्यानाकर्षण गराए ।

१८ असार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको एटिआर ४२ जहाज वाराणसीका लागि उड्यो । अनि, त्यही विमानमा थियौँ हामी चारजना सञ्चारकर्मी । हिन्दू धर्मावलम्बीका लागि दुई पवित्र केन्द्र पशुपतिनाथको भूमि काठमाडौं र विश्वनाथको भूमि वाराणसीलाई बुद्धले नियमित उडानमार्फत जोडेको छ ।

करिब एक घन्टाको उडानपछि जहाज वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । पुर्खाले ज्ञान आर्जन गरेको, नेपाल र नेपालीसँग निकट नाता जोडिएको वाराणसी हामी सबैका लागि नौलो थियो । भारत भ्रमणमा जाँदा नेपालीले भिसा लगाउनुपर्दैन र भारतीय नागरिकले नेपाल आउँदा पनि ।

विमानस्थलको अध्यागमनमा पासपोर्ट बोकेर जाने नेपालीलाई खास समस्या छैन । तर, पुरानो नागरिकता बोकेर जाँदा भने अध्यागमनका कर्मचारीले अलि बढी सोधखोज गर्छन् । नयाँ नागरिकतामा अंग्रेजी भाषाको समेत प्रयोग भएकाले समस्या हँुदैन । त्यसकारण जहाजबाट भारत जाँदा सकेसम्म पासपोर्ट नै बोक्दा अध्यागमनमा झन्झट नहुने रहेछ । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भने पासपोर्ट अनिवार्य छ ।

गंगा सयर
झिसमिसेमा वाराणसी ब्युँझिने क्रममा थियो । सडकमा मट्का चिया पाक्न थालिसकेको थियो । सडकमै सुतेका बलिया साँढे र बाबाजीहरूको हरेरामले वातावरणमा रौनकता थप्दै थियो । होटेलबाट करिब १० किलोमिटर यात्रापछि हामी गंगाकिनार पुग्यौँ । गंगामा डुंगाबाट यात्रा गराउने र यहाँको महिमा जानकारी गराउने जिम्मा अर्जुन साहनीले लिए ।

२५ सय २५ किलोमिटर लामो गंगा नदी भारतको सबैभन्दा ठूली नदी हुन् । करिब ७ किलोमिटर लामो किनारमा ८४ घाट छन् । त्यसमध्ये असमीघाट, दश्वमेयघाट, आदिकेशवघाट, पञ्चगंगाघाट र मणिककर्णिकघाट निकै महत्वपूर्ण रहेको साहनी बताउँदै थिए । गंगातटमा पुग्दा हिन्दू धर्मावलम्बीले भगवान्कै आँगनमा आइपुगेको अनुभू्ति गर्न सक्छन् । वाराणसीको गंगातटमा तत्कालीन राजाहरूले मन्दिर र घाट निर्माण गर्न लगाएका थिए । यी पुरातात्विक सम्पदा आज पनि अविरल, अटल र सगौरव उभिएझैँ देखिन्छन् ।

विश्वनाथ बाबाको दर्शनपछि हामी होटेल फर्कियौँ । ब्रेकफास्टपछि दुर्गा मन्दिर, हनुमान मन्दिर, बनारस हिन्दू विश्वविद्यालयलगायत मन्दिर र आसपासको भ्रमणले पूर्ण धार्मिक यात्राको अनुभूति गरायो ।

गयामा पितृदान
हामी बोधगयाबाट झन्डै १७ किलोमिटर पर अवस्थित गयातर्फ लाग्यौँ । भगवान् विष्णुको पदचिह्नमा निर्माण भएको धार्मिक मान्यता बोकेको विष्णुपाद मन्दिर बिहारकै एक महत्वपूर्ण तीर्थस्थल मानिने रहेछ । यहाँ मानिस पितृदानका लागि पुग्छन् । भनिन्छ, ‘एकपटक गयामा पुगेर पितृको श्राद्ध गर्ने मानिसले हरेक वर्ष श्राद्ध गरिरहनुपर्दैन ।’ गयाका मन्दिरको भ्रमण सकेर हामी सोही दिन पुनः वाराणसी फर्कियौँ ।

के छ प्याकेज ?
बुद्ध एयरले काठमाडौं–वाराणसी रुटमा साताको दुई उडानमार्फत नियमित सेवा प्रारम्भ गरेको छ । यसले वाराणसी यात्रालाई निकै सहज बनाएको छ । बुद्धले दुईतर्फी १४ हजार रुपैयाँ हवाई भाडा र २५ हजार रुपैयाँमा वाराणासी प्याकेज बिक्री गरिरहेको छ । प्याकेजमा होटेल (बेड एन्ड ब्रेक फास्ट), यात्रा अवधिभर यातायात, एकपटकका लागि डुंगा सयर र साइटसिनको खर्च जोडिएको हुन्छ । यात्रा अवधिभर खाना, कोसेली र धार्मिक तथा ऐतिहासिक स्थल प्रवेशका लागि लाग्ने शुल्कको रकम भने यात्रु आफैँले बोकेर लैजानुपर्छ ।

कोसेली
बनारसी साडी विश्वप्रसिद्ध ब्रान्ड हो । यसलाई न्यूनतम एक हजार भारुमा किन्न सकिन्छ, बनारसमा । बनारसमा नेपालको तुलनामा सस्तो मूल्यमा लत्ताकपडा उपलब्ध हुन्छ । यात्रामा केही अतिरिक्त रकम बोकेर लत्ताकपडा खरिद गरी परिवार र साथीभाइलाई उपहार ल्याउन सकिन्छ । बनारसी मिठाइ र पान पनि नेपालमा मीठो उपहार बन्छ ।

गौतम बुद्धको साइनो बोधगयामा

वाराणसीबाट हामी करिब तीन सय किलोमिटर पर बोधगयाका लागि निस्कियौँ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको यो भूमि बिहार राज्यमा पर्छ । सडक यात्राका दौरान बनारसी पान, बनारसी आँप, बनारसी विर्यानी र लस्सीमा रमाउँदै हामी झन्डै ६ घन्टापछि बोधगया पुग्यौँ । सोही दिन हामी फाल्गु नदीको किनारस्थित बोधीवृक्ष, ८० फिट अग्लो भव्य महाबोधी मन्दिर र त्यसआसपासका अन्य संरचनाको अवलोकनमा लाग्यौँ ।

भगवान् बुद्धले यही बोधी वृक्षमुनि बसेर ध्यान गरेका थिए । टिकट काटेर मात्र क्यामराभित्र लैजान मिल्ने, तर मोबाइल लैजान रोक लगाइएको यो मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका लागि उत्तिकै आस्थाको केन्द्र रहेको आभास मिल्छ । यहा“ विभिन्न मुलुकले आफ्नै शैलीका गुम्बा र मन्दिर बनाएका छन् ।

सारनाथको शान्ति

भगवान् गौतम बुद्धले पहिलोपटक आफ्ना शिष्यलाई उपदेश दिएको सारनाथबाट यात्रा प्रारम्भ ग-यौँ । सारनाथमा पनि विभिन्न देशले आफ्नो पहिचान झल्किने गरी गुम्बा र मन्दिर बनाएका छन् । शान्तिभूमिको भ्रमणपछि हाम्रो टोली नेपालमा रहेका आफन्तका लागि कोसेली किनमेलमा लाग्यो । करिब ३ बजे बनारसबाट लालबहादुर शास्त्री विमानस्थलतर्फ लागेको राजुको गाडी ४ बजे विमानस्थल पु-यो । किनकि, हामीले साँझ ६ बजे काठमाडौं उड्ने बुद्ध एयरको जहाज भेटाउनु अनिवार्य थियो ।

#वाराणसी

admin

leave a comment

Create Account



Log In Your Account