प्रतिबद्धताअनुसारको लगानी भित्र्याउन दुई महिनाभित्रै निर्णय गरिने

सरकारले आगामी शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्तुत गर्ने भएको छ । विदेशी लगानी आह्वान गर्न ५० वटा सार्वजनिक तथा २७ वटा निजी क्षेत्रका परियोजनालाई सम्मेलनमा सोकेसका रूपमा अघि सारिएको हो ।

कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रका परियोजनामा लगानी आह्वान गरिने अर्थमन्त्री तथा नेपाल लगानी सम्मेलन निर्देशन समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिए । लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा रहेका सम्भावनालाई सोकेस परियोजनाका रूपमा अघि सारिएको बताए ।

अघि बढाइएका ७७ परियोजनामध्ये एक दर्जन परियोजनमा लगानीका लागि समझदारी तथा सम्झौता हुने उनले जानकारी दिए । ‘सोकेसिङका लागि पनि सम्मेलन आयोजना गरिएको हो, जहाँ सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ परियोजना हुनेछन्,’ उनले भने, ‘यसमध्ये १२ वटामा समझदारी तथा सम्झौता हुनेछ ।’ अर्थमन्त्री खतिवडाले कुन–कुन परियोजनामा सम्झौता गर्नेबारेमा भने खुलाउन चाहेनन् । उनले ०७३ को लगानी सम्मेलनको जगमा उभिएर सरकारले अहिले लगानी सम्मेलन गर्न लागेको बताए । विगतको सम्मेलनको लाभ लिएर अझ सुदृढ गर्दै यो सम्मेलन गर्न थालिएको उनको भनाइ छ ।

२ महिनाभित्र लगानी ल्याइने
सम्मेलनमा प्रस्तुत गरिने ७७ परियोजनामा लगानी गर्न चाहने लगानीकर्तासँग २ महिनाभित्रै सम्झौता गरिसक्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । ‘हामीले वेबसाइटमा परियोजना राखेका छौँ, त्यहीँबाट पनि लगानीका लागि आशय आउन थालेको छ, सम्मेलनपछि पनि आशयका लागि २० दिन समय दिइनेछ,’ उनले भने, ‘सम्मेलनमा आउने आशय तथा प्रतिबद्धतालाई २ महिनाभित्र कार्यान्वयनमा ल्याइनेछ ।’

मुलुकको मार्गचित्र कोर्ने सम्मेलन
अर्थमन्त्री खतिवडाले आसन्न लगानी सम्मेलनले मुलुकको समृद्धिको मार्गचित्र कोर्ने बताए । सम्मेलनबाट विभिन्न क्षेत्रमा लगानी आउने र त्यसले समृद्धिको मार्गचित्र कोर्ने उनले बताए । ‘यो सरकार र निजी क्षेत्रको साझा प्रयास हो, उत्सव हो’ उनले भने, ‘यसले नेपाललाई विश्वमा चिनाउनेछ, नेपालमा भएका अवसरबारे जानकारी दिनेछ र सरकार–निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच नेटवर्किङ बढाउनेछ ।’ दुईदिने सम्मेलनमा नेपाल सरकारका तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारबारे प्रस्तुति दिने, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरूले अनुभव सुनाउनेलगायतका सातवटा विषयगत सत्रहरू रहेका छन् ।

लगानी सम्मेलन गर्न ३ करोडभन्दा बढी लगानी
आसन्न लगानी सम्मेलनको लागत ३ करोड रुपैयाँभन्दा बढी हुने भएको छ । चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई २ करोड ९८ लाख रुपैयाँ छुट्याइएको थियो । तर, छुट्याइएको रकम अपुग भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । परियोजनाको सोकेस निर्माण, छपाइ, प्रचार–प्रसार, आउटसोर्सिङलगायत कार्यमा बजेट खर्च भएको हो । बोर्डले सार्वजनिक क्षेत्रका ५० परियोजनाको सोकेस तयार पारेको छ । एउटा परियोजना तयार गर्न ४–५ जना जनशक्तिको प्रयोग भएको उनले बताए ।

उत्साही निजी क्षेत्र
लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपालको निजी क्षेत्र उत्साही देखिएको छ । लगानी सम्मेलनलाई लक्षित गरी कानुनी तथा नीतिगत सुधार भएको भन्दै निजी क्षेत्र उत्साही भएको हो । आसन्न लगानी सम्मेलन नेपालका लागि सुवर्ण अवसर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताइन् । लगानी सम्मेलनले निजी क्षेत्रमा उत्साह थपेको उनले सुनाइन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ४० देशका लगानीकर्ता नेपालमा जम्मा हुनु आफैँमा ठूलो कुरा भएको उल्लेख गर्दै लगानी सम्मेलनले सकारात्मक माहोल सिर्जना गरेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानीको अनुकूल वातावरण बनेको उल्लेख गर्दै स–साना समस्याका पछि नलाग्न आग्रह गरे ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account