शिव-पार्वतीको प्रेमकथा

शिव-पार्वतीको प्रेमकथा

शिव-पार्वतीको प्रेमकथा

स्वस्थानी ब्रत कथाका अगाडि प्रेमका सबै आख्यान मिथ्या लाग्छन्।

हिजोआज घरघरमा स्वस्थानी व्रतकथा पढिन्छ। पहिला–पहिला सनातन वैदिक धर्मावलम्बीहरूको घरघरमा यो कथा सुन्ने र सुनाउने चलन थियो। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन गरिने यो कथालाई माघ महात्म्य पनि भनिन्छ। माघको चिसोमा सुनाइने यो प्रेमकथाले परिवारभित्रका सदस्यहरूको जमघटको अवसर जुटाउनुका साथै पारिवारिक मेलको न्यानोपनको विकास गराउँथ्यो। यो क्रम प्रत्येक वर्ष एकै समयमा दोहोरिन्छ।

कथा सुन्ने नियम पनि कडा थियो। बेलुकाको खानपान सकेर भान्सा सफा गर्नुपर्ने, जुठा भाँडा राख्न नहुने, शुद्ध भएर कथा सुन्नुपर्ने, कथा सुरु भएपछि बोल्न र कथाका बीचमा उठेर हिँड्न नपाइने नियम थिए। कथा अँगेनाछेउको मझेरीमा बसेर सुनाइन्थ्यो। अहिलेको बैठक र टीभीको प्रतिस्थापित स्वरूप त्यतिबेला मझेरी र अँगेनो हुन्थ्यो। अँगेनामा आगो दन्केपछि परिवारका सदस्यहरू वरिपरि बस्थे। कथा परिवारका मुलीले सुनाउने चलन थियो। आगो सल्काउने, फूल टिप्ने, नैवेध तयार गर्ने र पूजा सामग्री ठीक पार्ने काम कनिष्ठ सदस्यको भागमा पथ्र्यो। कथा सुन्न सबै सदस्य उत्साहित हुन्थ्यौं।

सबैले आफ्नो जिम्मेवारीको काम सकेपछि कथा सुन्न बस्थ्यौं। कथावाचन सुरु गर्नुअघि वाचकले परिवारका कुनै सदस्य छुटे कि भनेर नियाल्थे, फूल, अक्षता सबैका हातमा राखिदिएर सरस्वती वन्दना सुनाउँथे अनि हातमा भएका फूलअक्षता पुस्तकमा चढाएर सबैले श्रद्धाले ढोग्थे। त्यसपछि कथा सुरु हुन्थ्यो। त्यतिबेला हामी बालबालिकाको ध्यान प्रसादमा हुन्थ्यो। महिलाको ध्यान गोमा ब्राह्मणीको जीवनीमा जान्थ्यो। गोमाको कथा आएपछि कतिपय ठाउँमा आमा, फुपुहरू कठैबरा ! भन्दै आँसु पुछ्थे। प्रत्येक दिन एक अध्यायको हिसाबले वाचन गरिने कथाको अन्त्यमा पनि कथाको सुरुमा आह्वान गरिएकी सरस्वतीलाई वन्दना गरी धन्यवादस्वरूप हातमा लिएका फूल, अक्षता चढाई पुस्तक ढोगेर मनमा भएका इच्छा पूरा होस् भन्ने कामना गरिन्थ्यो। त्यसपछि प्रसाद खाएर सुत्न जाने चलन थियो।

जे होस्, माघ महात्म्यको नामले प्रख्यात स्वस्थानी व्रतकथाले घर र परिवारबीचको सम्बन्ध सुधारका लागि प्रयोगात्मक रूपमा व्यावहारिक ज्ञान सिकाएको थियो। जस्तै– समयमै घर आउँनुपर्ने, सबैले सँगै बसेर खाना खानुपर्ने, सबै मिलेर घरधन्दा गर्नुपर्ने, सुत्न जानुअघि परिवारको मूली अघि बसेर एकले अर्काको कथा सुन्नु र सुनाउनुपर्ने त्यसपछि प्रसादीका रूपमा फलफूल, मिष्ठान्न आदि खाएर सौहार्दपूर्ण वातावरणमा छुट्टिएर सुत्न जानुपर्ने नियम स्वस्थानी कथाले बसालेको थियो।

उमेर बढ्दै जानेक्रममा स्वस्थानी व्रतकथा भन्ने शैली उही भए पनि समीक्षात्मक ढंगले सुन्न थालियो। समीक्षा भन्नेबित्तिकै कथाको सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गर्नुपर्ने हुन्छ। सत्तरी वर्षका शिव शर्मा ब्राह्मणले सात वर्षकी गोमालाई विवाह गरेको प्रसंगसँग हाम्री हजुरआमा र आमाको जीवन कथा ठ्याक्कै मेल खायो। स्वस्थानी कथाप्रतिको मोह खस्किँदै गयो। अनि आधुनिक साहित्यकारहरूद्वारा लिखित प्रेमकथाको दस्ताबेज उपन्यासहरू आफ्नै छायादेखि लुकाएर पढ्न थालियो। दुईचार अक्षर पढेको, सहरमा पसेको, विपस्यना ध्यान विधि सिकेको अनि पत्रकार र साहित्यकारको संगतमा फसेको व्यक्तिले स्वस्थानी कथा पढेर समय बर्बाद गर्ने कुरा पनि भएन। त्यसैले पछिल्लो समय स्वस्थानी कथा पढिएन, व्रत बस्ने सम्भावना नै रहेन।

यसपालि स्वस्थानी व्रतकथा पढें। पहिलो अध्यायमै ब्रह्मतत्वको ज्ञानबारे जानकारी रहेछ। संसारको परिकल्पना ब्रह्मा, विष्णु र महेश्वरबाट भयो। त्यसको परिचालनका लागि सृष्टिको रचना गरियो। सृष्टिलाई निरन्तरता दिन ब्रह्माले सृष्टिको जिम्मा लिए, विष्णुले पालनको र महेश्वरले संहारको। अनि विष्णु र शिव अजर अमर रहे तर ब्रह्माचाहिँ उत्पत्ति र विनाशको प्रक्रियामा गए। जन्मेपछि मर्नुपर्ने र मरेपछि जन्मनुपर्ने सृष्टिको चक्रलाई सृष्टिको नियम भनियो। संहारपछिको सृष्टिका लागि चाहिने वीज शिवले लिंगमा स्टोर गरे।

त्यही वीज ओसिलो पारिराख्नुपर्ने हुनाले शिवलिंगमा जल चढाउने गरिएको रहेछ। स्वस्थानीको पहिलो अध्याय पढेपछि यस कुराको ज्ञान भयो। यसैका आधारमा संसारको सृष्टि नियाल्दा माथि आकाश, तल धरतीका बीचमा सृष्टि (वनस्पति र प्राणीको उत्पत्ति र अन्त्य)। कुनै पत्रिकाको सम्पादकीय त्यस पत्रिकाको मुटु भएजस्तै स्वस्थानी व्रतकथाको निचोड पहिलो अध्याय हो भन्दा अति नहोला ?

त्यसपछि शिव र सतीको विवाह प्रसंगबाट रोमान्टिक पाराले कथा अघि बढ्छ। विवाहमा गरिएको छलकपट, विवाहपछि श्रीमान्– श्रीमतीबीचको प्रेम, समर्पण र विछोड अनि फेरि पुनर्मिलन यी आदि हुँदै कथा सकिन्छ। स्वस्थानी कथा भन्नेबित्तिकै ७० वर्षका शिव शर्मा ब्राह्मणले सात वर्षकी गोमासँग विवाह गरी अलपत्र पारेर मरेको प्रसंग सबैको दिमागमा अमिट छापजस्तै गरी बसेको छ। तर यो गुरुप्रसाद मैनालीको परालको आगो कथाभन्दा कत्ति फरक छैन।

प्रेममा सबै कुरा जायज हुन्छ। घुर्की, दंग्याई, ठट्टा आदि–इत्यादि। स्वस्थानी व्रतकथाको निचोड भनेकै आफ्नै पिताको मुखबाट पतिको निन्दा सुन्न नसकेर सतीदेवीले यज्ञकुण्डमा हाम फालेर आत्मदाह गर्नु अनि त्यो दृश्य देख्नासाथ पागल भएका शिवजीले पत्नीको लास बोकेर हिँड्दा सतीदेवीको शरीरका अंग ठाउँठाउँमा खसेर विभिन्न नामका तीर्थस्थल बन्नु। सतीदेवीको योनि पतन भएको भारत आसामको राजधानी गुवाहाटीस्थित कामारूप कामाख्या मन्दिर र सतीदेवीको गुह्य पतन भएको नेपालको गुह्येश्वरी मन्दिर विश्वकै शक्ति पीठहरूमध्ये महत्वपूर्ण शक्तिपीठ मानिन्छ।

शिवजीको त्यो पागलपन देखेर सतीदेवीले पुनः हिमालय पत्नी मेनकाको कोखमा वास लिएर पार्वती भएर जन्मिन् र महादेव पती पाऊँ भनी परिवारभित्र खुलेर विद्रोह गरिन्। पहिलाका तिनै शिव र सती पछिल्लो विवाहपश्चात् महादेव–पार्वती भए। कथा यतिमै रुमलिएको छ। हिजोआज हामी जसलाई लभ भन्छौं, त्यो आराध्यदेव महादेव–पार्वतीकै प्रेमबाट उत्पत्ति भएको देखिन्छ। कथाका प्रमाणस्वरूप सतीदेवीका अंग पतन भएका नेपाल र भारतका विभिन्न ठाउँहरू आज पनि पवित्र तीर्थस्थलका रूपमा प्रख्यात छन्। त्यसैले नेपाली समाजमा स्वस्थानी व्रतकथाको गहिरो छाप छ।

admin

leave a comment

Create Account



Log In Your Account