भूमिगत साहित्य

भूमिगत साहित्य

भूमिगत साहित्य

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको पुस्तक ‘महापतन’ गत असोजमा प्रकाशित भयो । उनी आफैँ भने झन्डै दुई वर्षदेखि पूर्ण रूपमा भूमिगत छन् । उनको पुस्तक रातो खबर प्रकाशन गृहले बजारमा ल्याएको थियो । उनी राजनीति र लेखन दुवैमा उत्तिकै सक्रिय भएको प्रमाण हो, महापतन । यसअघि उनको ‘वैज्ञानिक समाजवाद’ पुस्तक बजारमा आएको थियो । त्यसो त नेकपाका अन्य नेता पनि धमाधम पुस्तक प्रकाशन गरिरहेका छन् । दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पुस्तक ‘प्रकाण्ड संकलित रचना’को पहिलो खण्ड प्रकाशित छ । धर्मेन्द्र बाँस्तोलाको पुस्तक पनि प्रकाशित भइसकेको छ । हेमन्तप्रकाश वली र सन्तोष बुढामगर प्रकाशनको अन्तिम तयारीमा छन् ।

भूमिगत राजनीतिमा लागेकाले पुस्तक लेख्नु नौलो होइन । पञ्चायतकालमा पनि धेरै लेखकले भूमिगत अवस्थामै पुस्तक प्रकाशन गरेका थिए । ती अधिकांश वामपन्थी थिए । कांग्रेस त्यतिवेला पनि खुला राजनीतिमै थियो । उनीहरू राजनीतिक विषयमा साहित्य लेख्दैनथे । त्यही कारण कांग्रेससमर्थित लेखकले भूमिगत भएर लेख्नु नपरेको नारायण ढकाल बताउँछन् ।

पञ्चायतकालमा छद्म नाममा लेखेर त्यही नामबाट चर्चित थिए, प्रदीप नेपाल । उनी सञ्जय थापाका नाममा लेख्थे । सञ्जय थापाकै नामबाट उनका सात उपन्यास, तीन कथासंग्रह र तीनवटै निबन्धसंग्रह प्रकाशित भए । सञ्जय थापा नाममा लेखिएका ‘मुक्ति’, ‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘देउमाईको किनारमा’लगायत पुस्तक निकै चर्चित भए ।

०४६ सालको जनआन्दोलनपछि प्रदीप नेपाल सार्वजनिक भए । वास्तविक नामबाटै पुस्तक प्रकाशन गर्न थाले । प्रदीप नेपाल नामबाट प्रकाशित पहिलो पुस्तक ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’ हो । तर, सञ्जय थापाका पाठकलाई उनी प्रदीप नेपाल हुन् भनेर विश्वास गर्नै गाह्रो भयो । त्यसो त तत्कालीन नेकपा मालेका नेताले समेत उनी सञ्जय थापा हुन् भनेर थाहा पाएका थिएनन् । उनको पार्टी नाम सुवर्ण थियो ।

उनी आफैँले न्वारान गरेको नाम हो, सञ्जय थापा । यसको रोचक कहानी सुनाउँछन्, उनी । ०३७ सालमा उनी तत्कालीन नेकपा मालेमा थिए । ‘आफ्नो नाममा लेख रचना छाप्नु आफैँलाई ठूलो बनाउने प्रपञ्च हो’ भन्ने पार्टीको मान्यता थियो । त्यसैले पत्रिकामा लेख्ने छुट थिएन । तर, उनी नलेखी नसक्ने । भूमिगत भएर कुनै मगरगाउँ पुगेका थिए । सञ्जय थापामगरको नाममा लेख लेखेर काठमाडौंबाट निस्कने ‘सुस्केरा’ पत्रिकामा पठाए । सम्पादक थिए, रघुजी पन्त । उनले प्रदीप नेपालका अक्षर चिनिहाले । पछाडिको मगर हटाएर छोटो बनाइदिए । तर, उनले सञ्जय थापाको परिचय पार्टीमा खोलिदिएनन् । त्यसपछि पुस्तक नै त्यही नाममा छापिए ।

त्यसो त नेकपा मालेका शीर्ष नेता पनि अनेक नाममा लेखरचना र कविता प्रकाशन गर्थे । झलनाथ खनाल जेएन हिमालीका नाममा कविता छाप्थे । मदन भण्डारी पनि कवि थिए । उनका शार्दूलविक्रिडित छन्दका कविता श्वेत शार्दूल नामबाट छापिन्थे । प्रदीप ज्ञवाली शीतबिन्दुका नाममा कविता र लेखरचना प्रकाशित गर्थे । उनको ‘सहयात्री’ उपन्यास पनि प्रकाशित भएको थियो । पञ्चायतकालमा हत्या गरिएका नेत्रलाल अभागीको कविता ‘सतिसाल मात्र ठिङ्ग उभिन्छ’ त्यसवेला चर्चित थियो । पञ्चायतकालमै मुकुन्द न्यौपानेका केही नाटक पनि प्रकाशित भए ।

लेखनमा सबैभन्दा बढी सक्रिय भने प्रदीप नेपाल नै थिए । संगठन गर्न गाउँ–गाउँ पुग्दा देखेका दृश्यले लेख्न बाध्य भएको उनी बताउँछन् । उनले रतुवा खोलाको डिलमा बसेर रत्नकुमार बान्तवाको सम्झनामा ‘देउमाईको किनारमा’ पुस्तक लेखे । त्यो रत्नकुमारको हत्या भएकै ठाउँ हो ।

माओवादी जनयुद्धका वेला पनि भूमिगत रूपमा धेरै साहित्य लेखिए । संकटकालअघिसम्म कृष्ण सेन ‘इच्छुक’, पूर्णविरामलगायत धेरै कवि लेखक खुला रूपमै पत्रिका प्रकाशन गर्न र साहित्य लेख्न सक्रिय थिए । भूमिगत भएर लेखनमा सबैभन्दा सक्रियचाहिँ डा. ऋषिराज बराल थिए । ०५८ सालदेखि भूमिगत भएका बरालका दुई कथासंग्रह ‘सैन्य उपहार’ र ‘पैयुँ फुल्न थालेपछि’ मात्र होइन, एउटा समालोचना र अर्को संस्मरणको पुस्तक जनयुद्धकै वेला प्रकाशित भए । भूमिगत अवस्थामा नै लेखेको उपन्यास ‘समरगाथा’ भने शान्तिप्रक्रियापछि मात्र प्रकाशित भयो ।

उनले भूमिगत हुँदै प्रकाशित गरेको ‘फेरि लाल भञ्ज्याङमा उभिएर’ कृतिले विवाद नै निम्तिएको थियो । सो पुस्तकलाई तत्कालीन नेता नेत्रविक्रम चन्द ‘विप्लव’हरूले जलाएका थिए । डा. बराललाई कारबाहीको मागसमेत गरेका थिए । उनको युद्ध डायरी ‘सलाम रोल्पा’मा यी सबै घटनाको वर्णन गरेका छन् । उनी युद्धका वेला रोल्पा, रुकुम, सल्यान बस्दा १६ भदौ ०६० देखि २९ वैशाख ०६३ सम्म लेखिएका डायरी हो, ‘सलाम रोल्पा’ । ती भीषण दिनहरूमा पनि उनी सकेसम्म दैनिक डायरी लेख्थे ।

युद्धका वेला दिमाग एकदमै चलायमान हुने हुँदा लेख्न समस्या नभएको उनी बताउँछन् । सेल्टर बसेकै ठाउँमा लेख्ने, पढ्ने चलन थियो । माओवादी आधार इलाकामा त सोलारबाट चलाउने गरी कम्प्युटर नै जोडिएका थिए । ल्यापटप पनि थिए ।उपल्लो तहका नेतालाई सहयोगीका रूपमा ‘स्टाफ’ दिने चलन थियो । आफूलाई पनि पार्टीले १७–१८ वर्षको ‘स्टाफ’ दिएको उनी बताउँछन् । ती सहयोगीले किताब बोकिदिने, चिया, नास्ता बनाउन सघाउने गर्थे । उनी किताब मात्र राखेको १० किलोको झोला बोकेर हिँड्थे ।

युद्धका वेला माओवादी लेखकका पुस्तक र अन्य पत्रपत्रिका प्रायः दिल्लीबाट छापिन्थे । डा. बरालका तीनवटै पुस्तक दिल्लीमा छापिएका थिए । कतिपय पत्रपत्रिका लखनउमा पनि छापिन्थे । तर, लखनउमा नेपाली गुप्तचर पनि पुग्ने हुनाले त्यति सुरक्षित नभएको बराल बताउँछन् ।

विद्यार्थी राजनीतिबाट तत्कालीन माओवादीको केन्द्रीय नेतृत्वमा पुगेका लेखनाथ न्यौपानेले पनि भूमिगत कालमा दुईवटा पुस्तक लेखे । ०६१ सालमा पहिलो पुस्तक ‘अखिल ज्ञान’ लेख्दा उनी पश्चिम नेपालमा थिए । रोल्पा, प्युठान, दाङतिर घुम्दै लेखे । अर्को संस्मरणात्मक पुस्तक ‘तिमी अमर भयौ’ भने लखनउ बसेर लेखे । ०६१ सालतिर पश्चिम कमान्ड जानुअघि लखनउ पुगेका थिए । उनले त्यहीँ श्रीमती उर्मिला अधिकारीको हत्या भएको सुने । अनि लखनउमा नै एक महिना बसेर सो पुस्तक लेखे । उनका दुवै पुस्तक शान्तिप्रक्रियामा आएपछि मात्र प्रकाशन भए ।

युद्धकालमा पुस्तक प्रकाशन गर्न गाह्रो भएकाले पछि मात्र प्रकाशन गर्नुपरेको लेखनाथ बताउँछन् । उनले जस्तै युद्धकै वेला प्रदीप वालाचनले लेखेको संस्मरण ‘नलेखिएका गाथाहरू’ भर्खरै प्रकाशित भएको छ ।

लेखनाथ, प्रदीपजस्ता नेता अहिले खुला राजनीतिमा छन् । यतिवेला भूमिगत भएका विप्लव नेतृत्वको नेकपाका नेतालाई भने प्रकाशनको समस्या छैन । त्यसो त नेकपाको जनवर्गीय संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया भने नेताहरू भूमिगत नभएको जिकिर गर्छन् । उनी भन्छन्, ‘उहाँहरू भूमिगत हुनुभएको होइन जनताबीच नै हुनुहुन्छ, हामी छापामार युद्धमा होइन एकीकृत संघर्षमा छौँ, भूमिगत हुनै पर्दैन ।’ कतिपय नेता गाउँमा गाईको दूध खाएर जनताको घरमा बसेर काम गरिरहेको उनले बताए ।

गाउँमा नेताहरूको लेखाइ पनि व्यवस्थित भएको थपलियाको भनाइ छ । विप्लवको पछिल्लो पुस्तक ‘महापतन’ दुई सय ४० पेजको छ । उनले यो पुस्तक ल्यापटपमै लेखेका हुन् । अघिल्लो पुस्तक ‘वैज्ञानिक समाजवाद’ पनि ल्यापटपमा नै लेखेका थिए ।

महासचिव थपलियाका अनुसार नेकपाका अधिकांश नेता लेख्न ल्यापटप प्रयोग गर्छन् । नेकपा नेता तथा साहित्यकार अनिल शर्मा विरही भने कलमले डायरीमा लेख्छन् । विरहीको पछिल्लो पुस्तक ‘समकालीन साहित्य र संस्कृति’ हो । थपलिया भन्छन्, ‘प्रायः नेता प्रविधिमैत्री हुनुुहुन्छ, ल्यापटपमा लेख्नुहुन्छ, अनिल शर्मा विरही भने कलमले लेख्नुहुन्छ ।’

केही वर्षअघिसम्म नेकपा नेताका पुस्तक आफूखुसी छापिन्थे । तर, अहिले त्यसरी पुस्तक प्रकाशन नगर्न पार्टीले निर्देशन दिएको छ । जथाभावी प्रकाशन गर्दा विषयवस्तुको बुझाइ र प्रस्तुतिमा एकरूपता नभई फरक ढंगले विचारको सम्प्रेषण हुन थालेपछि प्रकाशन विभागमार्फत काम गर्न थालिएको थपलिया बताउँछन् । प्रकाशन विभाग प्रमुखको जिम्मेवारीमा गुणराज लोहनी छन् । उनी आफैँ पनि लेखक हुन् ।

नेकपाका अधिकांश नेताको पुस्तक सम्पादन भने थपलियाले नै गरिदिन्छन् । थपलिया प्रगतिशील लेखक संघको केन्द्रीय उपाध्यक्षसमेत हुन् । भर्खरै उनको गैरआख्यान ‘खोर’ बजारमा आएको छ । गत वर्षको निर्वाचनमा सरकारले उनलाई २५ दिन हिरासतमा राखेको थियो । आफूले हिरासतभित्रका अनुभूति समेटेर संस्मरणात्मक निबन्ध लेखेको थपलियाले बताए।iyao

admin

leave a comment

Create Account



Log In Your Account