यी हुन् मनोज बोगटीलाई मन परेका पाँच कविता

यी हुन् मनोज बोगटीलाई मन परेका पाँच कविता

यी हुन् मनोज बोगटीलाई मन परेका पाँच कविता

हस्तक्षेप–साहित्यिक लेखनका एक सदस्यसमेत रहेका मनोज बोगटी, दार्जिलिङका कवि हुन् । बिम्ब गोष्ठी, घाउका रङहरू, पसिनाको छाला, गीतको रिस, आँखाबाहिर, काफरे अमेरिकाजस्ता उनका कवितासंग्रह निक्कै चर्चित छन् । उनको ‘लाइफ अ बटरफ्लाई’ कथासंग्रह भर्खरै निस्किएको छ । बोगटीलाई मन परेका पाँच कविता :

तिमी त यहाँ नचिनिने भएछौ
अगमसिंह गिरीको यो कविता भारतीय नेपालीहरूको ‘एन्थम कविता’जस्तो लाग्छ । पहिचानको खोजी गरिरहेका संसारभरिका जो कोहीका लागि पनि यो कविताले स्पर्श गर्छ । जतिवेला म यो कविता पढ्छु, विश्वभरि आफ्नो अस्तित्वको दाबी गरिरहेका सबै अल्पसंख्यकको लडाइँ सम्झन्छु । नेपाली मूलका र नेपाली भाषी भारतीयले गरिरहेको पहिचानको आन्दोलन र राजनीतिको बीजस्रोत पनि यही कविता हो । भारतमा मुक्तिबोधले ‘तिमी कहाँ छौ ?’ भनेर सोधिरहेका वेला यही कवितामार्फत अगमसिंह गिरीले पनि भारतीय नेपालीहरूलाई ‘तिमी तिम्रै देशमा चिनिने छैनौ’ भनिरहेका थिए । उनीहरूलाई पहिचानको खोजी गर्न यही कविताले सिकाएको हो ।

यो देश मृत्यु उपत्यका होइन
नवारुन भट्टाचार्य, अभिनेता बिजोन भट्टाचार्य र लेखक महाश्वेता देवीका छोरा हुन् । यिनी बंगाली क्रान्तिकारी एवं -याडिकल सौन्दर्यशास्त्रका लागि प्रतिबद्ध लेखक पनि हुन् । जब मैले उनको ‘यो देश मृत्यु उपत्यका होइन’ पढेँ, तब मैले बुझेँ, कवि हुनु भनेको जीवन र समाजको जिम्मेवारी लिनु पनि हो । नवारुन समाजप्रति अनुत्तरदायीलाई घृणित प्राणी मान्छन् ।
७० को दशकमा कलकत्तामा आठजना विद्यार्थीको हत्या गरिएको थियो । उनीहरूको ढाडमा लेखिएको थियो, ‘देशद्रोही’ । नवारुनले त्यतिखेर देशप्रेम र देशद्रोहबीच हुर्किरहेको देशले हातमा हतियार बोक्नु कुनै पनि समाजका लागि स्वस्थकर नरहेको देखे । देश जुन संकटको सम्भावना बोकेर हिँडिरहेको छ र मौन छ समाज, यो जीवन र समाजप्रिय स्थिति होइन । यसैकारण, नवारुनले यो कवितामार्फत समाजप्रतिको उत्तरदायित्वको वकालत गरेका छन् । मलाई यही कविताले समाजप्रति हुनुपर्ने एक कविको प्रतिबद्धताबारे सिकाएको छ ।
सबैभन्दा खतरनाक’
अवतारसिंह पासको यो कविता मौन बस्नुको खतराका विषयमा केन्द्रित छ । मानिसले सपना पछ्याउन छाडेका दिन जीवनको कुनै माने रहँदैन । जीवनलाई प्रेम गर्न सपनाले नै सिकाउने हो । जीवनमा प्रेम निभ्नु हुँदैन । जीवनलाई प्रेम गर्नेहरूले नै समाजलाई प्रेम गर्ने हो । समाजलाई प्रेम नगर्नेहरू त मुर्दा हुन् । मुर्दा नितान्त निर्जीव हुन्छ । तर, मानिस जिउँदै पनि मुर्दा हुन्छन् । जो जीवनलाई प्रेम गर्दैन, जो समाजलाई प्रेम गर्दैन, जो संवेदनालाई प्रेम गर्दैन, जो सर्वजनिन अनुभूतिलाई जीवनबाट निषेध गर्छ, ती सबै जिउँदा मुर्दा हुन् । पास भन्न चाहन्छन्– सपना मरेपछि मानिस जिउँदो मुर्दा बन्छ । जिउँदो भइराख्न सपनालाई मर्नबाट जोगाइराख्नु अनिवार्य छ । सपनाका हत्याराबाट सपनालाई कसरी जोगाउने ? त्यसका लागि निरन्तर पढिरहनुपर्ने कविता हो यो ।

युद्ध
सिनान अन्तनुको यो कविता पढ्दा लाग्छ, बगदाद जीवनभरि युद्धको घाउ बोकेर जिउने ठाउँ हो । अशान्ति बगदादलाई बानी भइसक्यो । युद्धले समाजका मूल्य कसरी नष्ट गर्दै जान्छ ? सामाजिक मनोविज्ञानका क्षेत्रमा यसले कसरी खेल्छ ? उनका कविता पढ्दा थाहा हुन्छ । जब मैले युद्ध कविता पढेँ, त्यसले धेरै महिनासम्म बिसञ्चो बनायो ।

आमा कफन बुनिरहेकी छन्, तर पेटको बच्चाको निम्ति जब यो पंक्ति पढ्छु, मलाई युद्धप्रति असाध्यै घृणा जाग्छ । सारा मूल्य नष्ट गरेर युद्धमार्फत देखिएको सपनाको के अर्थ रहन्छ ? कुनै आमा पेटको बच्चालाई लिएर जुन सपना देख्छिन्, त्यो सपना संसारका सबैभन्दा सुन्दर सपनामध्ये एउटा हुनुपर्ने हो । आमाले ससाना खुट्टामा लगाउने मोजा बुन्नुपर्ने हो ।

भर्खर केश उम्रिरहेको टाउकोका लागि टोपी बुन्नुपर्ने हो । मखमली धागोले स्विटर बुन्नुपर्ने हो । तर, बगदादका आमाहरू त कफन पो बुन्छन् ! युद्ध सपना मार्ने हत्यारा हो । कुनै पनि कविले समाज र समयलाई कसरी लेख्नुपर्छ ? समाजको मूल्य स्थापनाका लागि अन्तरविरोधलाई कसरी पाठकसम्म पु-याउनुपर्छ ? यो बुझ्नका लागि पनि म यो कविता पढ्ने गर्छ‘ ।

तिमी के जान्दछौ
निर्मला पुतुल झारखण्डकी आदिवासी कवि हुन् । निर्मला तथाकथित ‘सभ्य’ समाजका विरूद्ध त लडिरहेकी छिन्, आफ्नै समुदायका अन्धविश्वाससित पनि पौँठाजोरी खेलिरहेकी छिन् । ‘तिमी के जान्दछौ ?’ शीर्षकको कविता पढेपछि पितृसत्ताले महिलालाई गर्ने ‘डोमिनेसन’को पल्लो हदसित परिचित हुन पाएको थिएँ । ‘पितृसत्ताको डोमिनेसन’त म सधैँ देखिरहन्थेँ, तर गहिरिएर हेरेको थिइनँ । कुनै पुरुष जब नारीलाई मेसिनका रूपमा लिन्छ, नारीभित्र कसरी विद्रोह उठ्छ र त्यसलाई पितृसत्ताले कसरी दबाउँछ ? यो कविताले सरल बोलीमा धेरै गहिरोसित बताउँछ । निर्मला पुतुल नारीवादीले पछ्याउनुपर्ने कवि हुन् । नेपालीमा निर्मलाजस्ता कवि कहिले आउने होला भन्ने मलाई सधैँ लागिरहन्छ ।

admin

leave a comment

Create Account



Log In Your Account