को हुन् भानुभक्तका घाँसी ?

को हुन् भानुभक्तका घाँसी ?

को हुन् भानुभक्तका घाँसी ?

भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर, बुद्धि कस्तो ।
मो भानुभक्त धनी भइकन आज यस्तो ।।

भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो अंशले चर्चासँगै धेरै प्रश्न पनि जन्मायो । कविताका पात्र घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ । उनको सम्मानमा तनहुँको एउटा गाउँपालिकाको नाम नै ‘घाँसीकुवा’ राखिएको छ । तर, को हुन् ती घाँसी ? तिनको परिचय के हो ? घर कहाँ हो ? भानुभक्तले यी प्रश्नको उत्तर कतै छाडेका छैनन् ।

मोतीराम भट्टका अनुसार भानुभक्तले ‘घाँसी’ कविता वि.सं. १८९१ मा लेखेका हुन् । कविता लेखिएकै एक सय ८४ वर्षभन्दा बढी भएछ । नेपाली पाठक यति लामो समयसम्म परिचयविहीन घाँसीको प्रशंसा गरिरहेका छन् ।

त्यसो त नेपाली साहित्यका कतिपय अध्येता भानुभक्तले जानीबुझी घाँसीको परिचय लुकाएको आरोप पनि लगाउँछन् । भानुभक्तले घाँसी पात्रलाई त्यही एउटा कवितामा मात्र प्रयोग गरेका छन् । घाँसी दलित वा जनजाति भएकाले भानुभक्तले परिचय लुकाएको हुन सक्ने केही विद्धान्हरूको मत छ ।

०००
निर्देशक प्रभाकर न्यौपानेले गत वर्ष ‘रात चिन्र्या भानु’ नाटक शिल्पी थिएटरमा झन्डै एक महिना प्रदर्शन गरे । नाटक उनले नै लेखेका थिए । नाटक लेख्नुअघि अनुसन्धानका क्रममा प्रभाकर तीन महिना भानुभक्तको जन्मगाउँ चुँदीरम्घा बसे।

नाटकको सुरुवाती दृश्यमा भानुभक्त र घाँसीको सालिक देखाइएको थियो । घाँसी झ्याप्प दारीवाला थिए । आर्य अनुहार थियो । निर्देशक न्यौपाने भन्छन्, ‘चुँदीरम्घामा मैले पनि घाँसीबारे धेरै सोधखोज गरेँ । त्यहाँका स्थानीयले घाँसी बाहुन नै भएको जानकारी दिए । एक स्थानीयले उनको नाम नरनारायण रानाभाट भएको बताए । त्यही कारण आर्य अनुहारको दारीवाला घाँसीको कल्पना गरेँ ।’

त्यसो त घाँसी ठाडामगर भएको भन्ने पनि छन् । साहित्यकार बालकृष्ण समले आफ्नो नाटक ‘भक्त भानुभक्त’मा घाँसीको नाम ठूले मगर लेखेका छन् । अध्येता भाइदाजु (प्रज्ज्वल सिन्धुलीय)ले घाँसी खड्गबहादुर ठाडामगर भएको बताए । तर, भाइदाजुसँग घाँसी खड्गबहादुर ठाडामगर नै भएको बलियो प्रमाण भने छैन । उनी भन्छन्, ‘मैले पढाउनु परेपछि घाँसीबारे खोजी गरेँ । कुनै पत्रिकामा उनलाई खड्गबहादुर ठाडामगर लेखेको पाएँ, अनि त्यही भन्दै हिँडेको हुँ, घाँसीकुवाभन्दा अलि पर ठाडामगरहरूको बस्ती पनि छ रे ।’

०००
मुग्लिनबाट ४० किमि पश्चिम पृथ्वी राजमार्गतिर अघि बढेपछि ‘घाँसीकुवा’ लेखिएको बोर्ड देख्न सकिन्छ । सडकभन्दा केही तल तनहुँको बुल्दीखोला किनारामा भएको कुवा घाँसीले खनाएको मानिन्छ । त्यसको संरक्षणका लागि ‘घाँसीकुवा संरक्षण समिति’ पनि बनाइएको छ । सो समितिलाई समेत घाँसी को हुन् भन्ने जानकारी छैन ।

समिति अध्यक्ष तीर्थराज भट्टराई घाँसीको परिचय आफूहरूले पनि खोजिरहेको बताउँछन् । ‘घाँसीकुवामा भानुभक्त पानी खान आएका थिए । त्यहीँ भानु र घाँसीबीच वार्ता भएको थियो । घाँसीले बनाएको चौतारो पनि छ । यी सबै सूचनाको स्रोत मोतीराम भट्ट नै हुन्,’ भट्टराईले भने, ‘योभन्दा बढी सूचना छैन, उनको परिचय र घर हामी पनि खोजिरहेका छौँ ।’

घाँसीकुवाको पार्कमा राखिएको सालिक काल्पनिक भएको उनले बताए । घाँसी मगर वा रानाभाट हुने सम्भावना भने नभएको उनको भनाइ छ । भट्टराईले भने, ‘बाहुन हुन् भनौँ भने त्यतिवेला बाहुनले अरूको काम गर्न जाने चलन थिएन, मगर बस्ती यता छैन, छेउमा दराईहरू छन्, उनीहरू वनारस पढेर आएका भानुसँग तर्क गर्ने क्षमता राख्दैनथे ।’

घाँसीकुवा संरक्षण समितिका सचिव अमृत पन्थले भने घाँसी पन्थ थरको हुन सक्ने बताए । सो क्षेत्रमा अहिले पनि पन्थहरूको बसोवास छ । घाँसीकुवा भएको जग्गा पन्थहरूकै हो । उनका अनुसार घाँसी पन्थ भएको श्लोक पनि सो क्षेत्रमा प्रचलित छ । ‘घाँसी पन्थ नै हुन्, पन्थ नभए दराई हुन सक्छन्, किनभने वरिपरि दराई बस्ती छ,’ उनले भने, ‘तर, अन्य जाति हुने सम्भावना छैन ।’

उता, भानुभक्तको जन्मस्थान चुँदीरम्घामा सरकारले ‘भानु जन्मस्थल विकास समिति’ स्थापना गरेको छ । त्यसले घाँसीबारे कुनै अध्ययन अनुसन्धान गरेको छैन । त्यसो त भानु जन्मस्थल विकास समिति र घाँसीकुवा संरक्षण समितिबीच कामको समन्वय पनि हुने गरेको छैन ।

भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक तथा चुँदीरम्घाका स्थानीय शंकर रानाभाटले घाँसीको परिचय पुष्टि हुने कुनै पनि तथ्य फेला नपरेको बताए । उनी भन्छन्, ‘कोही भन्छन् घाँसीलाई भानुभक्तले जंगलमा भेटाएका थिए, कोही भन्छन् उनी भानुभक्तकै घाँस काट्ने कामदार थिए, त्यो वेला घाँस बेच्ने चलन पक्कै थिएन ।’

०००
चुँदीरम्घाका नरनाथ आचार्यले ०१८ सालमा भानुभक्तको जीवनी लेखेका थिए । मोतिराम भट्टपछि घाँसीको बारेमा लेख्ने नरनाथ नै पहिलो थिए । उनी भानुभक्तका साँहिला बुबाका पनाति पनि हुन् । उनको पुस्तक ‘आदिकवि भानुभक्तको सच्चा जीवन चरित्र’मा घाँसीबारे चुँदीरम्घा र घाँसीकुवाआसपास चलेका अनुश्रुतिहरूलाई आधार बनाइएको छ ।

नरनाथ आचार्यले सो पुस्तकमा उल्लेख गरेअनुसार भानुभक्त ससुराली जाँदा बुल्दीखोला किनाराको बुल्दीफाँटमा घाँसीसँग भेट भएको थियो । अहिले दमौलीनजिक बुल्दीफाँटमै घाँसीले बनाएको भनिएको कुवा छ । बुल्दीफाँट भानुभक्तको ससुराली मानुङ जाने बाटोमा पथ्र्यो । भानुभक्त ससुराली जाँदा सो कुवामा घाँसीसँग भेट भएको नरनाथले उल्लेख गरेका छन् ।

०२८ सालमा पृथ्वी राजमार्ग बनाउँदा घाँसीकुवा भत्कियो । राजमार्ग चीन सरकारले बनाइदिएको हो । कुवाको महत्व नबुझ्दा भत्काएर सडक खनिएको थियो । स्थानीयवासीले तनहुँका तत्कालीन प्रजिअ राजेन्द्रपुरुष ढकाललाई घाँसीकुवाको महत्व  बताएपछि सडकको उत्तरपट्टि पानीट्यांकीजस्तो कुवा बनाउन लगाएको प्रा.डा. व्रतराज आचार्यले आफ्नो पुस्तक ‘आदिकवि भानुभक्त जीवनी र कविताको सम्परीक्षण’मा उल्लेख गरेका छन् । घाँसीकुवाको बोर्ड पनि राखियो । प्रा.डा. आचार्यका अनुसार ०४७ सालतिर दमौलीका केही युवा दार्जिलिङ भ्रमणमा गएका थिए । उनीहरूले दार्जिलिङको चौरस्तामा भानुभक्तको विशाल सालिक देखे । त्यसबाट प्रेरित भई उनीहरूले घाँसीकुवाको संरक्षणका लागि कुवा भएकै जग्गामा पार्क बनाउन खोजे । सो जग्गा स्थानीय पन्थ दाजुभाइ मोदनाथ, डोलराज र भोजराजको भएको व्रतराजले उल्लेख गरेका छन् । कुवा संरक्षण र पार्क निर्माणका लागि पन्थ परिवारले नै जग्गादान गरे । त्यहाँ राखिएको बोर्डमा अहिले पनि उनीहरूलाई जग्गादाताको रूपमा उल्लेख गरिएको छ ।

पन्थ परिवारको जग्गामा कुवा भएकाले घाँसी उनीहरूकै पुर्खा हुनुपर्ने प्रा.डा. व्रतराज आचार्यको भनाइ छ । ‘उहाँहरूको जग्गामा अरूले कुवा खनाउने त कुरै हुँदैन नि,’ उनी भन्छन् ।

डोलराज पन्थले आफूलाई वंशावली पनि देखाएको व्रतराजले बताए । वंशावलीअनुसार उनीहरूका बुबाका हजुरबुबा लक्ष्मीप्रसाद भानुभक्तका समकालीन थिए । अर्तिउपदेश समकालीनले भन्दा बूढो पुस्ताले दिने हुँदा घाँसी लक्ष्मीप्रसादका बाबु चामुनारायण पाध्या (पन्थ) हुनुपर्ने व्रतराजको भनाइ छ । उनले भने, ‘समान तहकाले अर्ति दिँदैनन्, अर्ति दिन भानुभक्तभन्दा वरिष्ठ नै हुनुपर्छ भन्ने मेरो अनुमान हो । त्यसकारण उनी चामुनारायण पाध्या हुनुपर्छ ।’

पन्थहरूको अहिले पनि प्रशस्त खेतबारी छ । भानुभक्तले ‘घाँसी’ कवितामा ‘कुवा खने’ नलेखी ‘खनायो’ लेखेकाले मोतीरामले भनेजस्तो ती घाँस बेच्ने घाँसी नभएको व्रतराजको भनाइ छ । त्यतिवेला प्रायः घरमा गाईवस्तु प्रशस्त हुने हुनाले घाँस काट्न गएका वेला भानुभक्तसँग चामुनारायणको भेट भएको हुन सक्ने उनी बताउँछन् । तर, भानुभक्तले ‘घाँसी दरिद्री घरको’ भनेर कवितामा स्पष्ट लेखेकाले व्रतराजले भनेजस्तो घाँसी प्रशस्त जग्गाजमिन र गाईवस्तु भएका थिए भन्ने पुष्टि हुँदैन ।

०००
घाँसीलाई काल्पनिक पात्र मान्नेहरू पनि छन् । घाँसीले खनेको कुवा संरक्षणका लागि बनेको समितिका अध्यक्ष नै घाँसी भानुभक्तको काल्पनिक पात्र हुन सक्ने बताउँछन् । त्यो जमानामा पैसाको कारोबार नहुने र घाँस पनि बिक्री नहुने उनको भनाइ छ । ‘सबैको पेसा कृषि थियो । घाँस सबैले काट्थे । बरु अर्काको काम गरिदिएर ज्यालाको रूपमा अन्न पाउँथे । त्यसरी ज्यालादारीमा बाहुनले काम गर्दैनथे । कविले के–के लेखे, त्यो खोजेर भेटिँदैन,’ उनले भने ।

इतिहासकार बाबुराम आचार्यले पनि घाँसी वास्तविक पात्र भएको भन्ने मोतीराम भट्टको बयानमा शंका गरेका छन् । बाबुराम आचार्यले ००३ सालमा लेखेको ‘पुराना कवि र कविता’ पुस्तकमा ‘भानुभक्तप्रति भट्टजी’ खण्ड छ । त्यहाँ घाँसी र भानुभक्तको घाँस बेचबिखनसम्बन्धी संवाद तथ्यपरक नभएको उल्लेख छ । तनहुँमा घाँस काटेर बेच्ने चलन कहिल्यै पनि नभएको बाबुराम आचार्यको दाबी छ ।

भानुको जीवनमा आधारित नाटकका लेखक/निर्देशक प्रभाकर न्यौपाने पनि घाँसी काल्पनिक पात्र भएको बताउँछन् । भानुभक्तको वंशज भेटिएजस्तै घाँसीको वंशज नभेटिनु, घर कहाँ थियो कसैले भन्न नसक्नुले पनि उनी काल्पनिक पात्र हुन सक्ने प्रभाकरको भनाइ छ ।

त्यसो त घाँसीले खनेको कुवा कुन ठाउँमा थियो भन्ने पनि विवाद छ । चुँदीभन्दा माथि पैदल ४५ मिनेटको दूरीमा पर्ने डाँडाको कुवालाई पनि घाँसीकुवा दाबी गरिएको प्रभाकरले बताए । घाँसीकुवा संरक्षण समितिका सचिव अमृत पन्थ पनि तनहुँकै कतिपय ठाउँका स्थानीयले आफ्नो ठाउँको प्रचारका लागि घाँसीकुवा आफ्नै ठाउँमा भएको दाबी गरेको बताउँछन् । मध्यनेपाल र लमजुङको सीमामा पर्ने एउटा कुवालाई घाँसीकुवा दाबी गरिएको छ । त्यहाँ बोर्ड पनि राखिएको छ । यसले घाँसीको परिचय झनै अन्योलमा परेको छ ।

-Naya Patrika

admin

leave a comment

Create Account



Log In Your Account