विश्व आर्थिक मञ्चमा प्रधानमन्त्रीले भने ‘आर्थिक विकासमा नेपाललाई पर्खने सुविधा छैन’

विश्व आर्थिक मञ्चमा प्रधानमन्त्रीले भने ‘आर्थिक विकासमा नेपाललाई पर्खने सुविधा छैन’

विश्व आर्थिक मञ्चमा प्रधानमन्त्रीले भने ‘आर्थिक विकासमा नेपाललाई पर्खने सुविधा छैन’

प्रधानमन्त्री केपी ओलीले आर्थिक विकासका दृष्टिले नेपाललाई पर्खने सुविधा नरहेको बताएका छन् । स्विट्जरल्यान्डको डाभोसमा मंगलबार सुरु विश्व आर्थिक मञ्चमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दक्षिण एसियामा रणनीतिक दृष्टिकोण’ शीर्षकको सेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकको सबै पक्षलाई तीव्र रूपमा विकास गर्नुपर्नेछ ।

चीन, भारत, बंगलादेशलगायत सबै मुलुकसँग हामी नयाँ सम्झौता गरिरहेका छौँ र नयाँ स्तरको सम्बन्ध बनाएर अघि बढिरहेका छौँ ।’ आन्तरिक रूपमा हामी तीव्र आर्थिक वृद्धि हासिल गर्न, जनतालाई सेवा दिन र भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधारको काम गरिरहेको पनि उनले बताए । सरकारले आफ्नो सम्पूर्ण ध्यान जनताको जीवनस्तर उकास्नलाई दिएको पनि उनले बताए । ‘त्यस्तै वातावरण संरक्षणमा दिएका छौँ । त्यसो हुँदा हाम्रो विकासका गतिविधि, जनकेन्द्रित, प्रकृतिकेन्द्रित छ । हाम्रो विकास–नीति सन्तुलनमा छ,’ उनले भने ।

सार्क सम्मेलन छिटो होस्
प्रधानमन्त्री ओलीले सार्कको शिखर सम्मेलन चाँडै सम्पन्न गर्न नेपालले पहल गरिरहेको पनि बताए । ‘सार्कको अध्यक्षका हिसाबले हामी सार्क शिखर सम्मेलन चाँडै नै आयोजना गर्न चाहन्छौँ । यस क्षेत्रका मुलुकबीच सबै क्षेत्रमा सहकार्य बलियो भएको हेर्न चाहन्छौँ,’ उनले भने । नेपालले यस क्षेत्रका मुलुकबीच राजनीतिक समझदारी कायम गराउन सक्दो प्रयास गरिरहेको पनि उनले बताए । ‘सार्क मुलुकले समझदारी बढाउनुपर्नेछ, असमझदारी घटाउनुपर्नेछ । विश्वास बढाउनुपर्नेछ, अविश्वास घटाउनुपर्नेछ । हामीले क्षेत्रीय व्यापार बढाउनुपर्नेछ,’ उनले भने ।

ओलीकै सेसनमा भारतको रिजर्भ बैंक अफ इन्डियाका पूर्वगभर्नर रघुराम राजनले दक्षिण एसियामा २५ वर्षमा औसत ७ प्रतिशतको असाधारण आर्थिक वृद्धि हासिल भएको बताए । ‘तैपनि यी मुलुक एकआपसमा जोडिएका छैनन् । दक्षिण एसियामा विश्वासको समस्या छ । त्यसलाई कसरी कम गर्न सकिन्छ त्यो प्रश्न हो,’ उनले बताए । सार्क मुलुकबीच ऊर्जाको क्षेत्रमा सहकार्यमार्फत विश्वास बढाउन सकिने धारणा पनि उनले राखे । ‘नेपालबाट कुनै बन्दरगाहको प्रयोगविना नै सीधै बंगलादेशमा व्यापार गर्न सकिन्छ, त्यो अवसर नेपाललगायत मुलुकले उपयोग गर्नुपर्छ,’ उनले भने ।

दीर्घकालीन रूपमा क्रसबोर्डर सप्लाई–चेन निर्माण गर्न आवश्यक छ । ट्यारिफ र नीतिमा खुला ग-यो भने सबै मुलुकले लाभ लिन सकिन्छ । भारतबाट नेपालमा पर्यटक बढी गए र नेपालबाट भारतमा त्यसैगरी पर्यटक जाँदा दुवैलाई फाइदा हुन्छ ।  अफगानिस्तानका प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहले दक्षिण एसियाली मुलुकले आपसमा व्यापार गर्नुभन्दा अफ्रिका वा दक्षिण अमेरिकी मुलुकसँग व्यापार गर्न सजिलो भएको बताए । ‘त्यसैले यो क्षेत्र सम्भवतः संसारकै सबैभन्दा कम एकीकृत क्षेत्र हो । यी मुलुकले विकास गर्न आपसी सहकार्य बढाउनुपर्नेछ,’ उनले भने ।

उनको सेसनमा अफगानिस्तानका प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाह, भारतका पूर्वगभर्नर डा. रघुराम राजन, युरोपेली टेलिकम कम्पनी टेलेनर ग्रुपका अध्यक्ष सिग्भ बे्रक सहभागी थिए । ओलीले मंगलवारै चाइना ग्लोबल टेलिभिजन नेटवर्क, जर्मनीको डिडब्ल्यू टिभीलगायत विश्वका केही प्रतिष्ठित मिडियालाई अन्तरर्वार्तासमेत दिएका छन् । त्यस्तै, आयोजकले दिएको रात्रीभोजमा पनि उनले सहभागिता जनाए ।
भियतनामका प्रधानमन्त्रीसँग द्विपक्षीय भेट, जी२० प्रतिनिधिमन्डलसँग अन्तरक्रिया
प्रधानमन्त्री ओलीले बुधवार भियतनामका प्रधानमन्त्री गुएन जुआन फुकसँग द्विपक्षीय भेटघाट गर्ने उनको प्रतिनिधिमण्डलमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । दुई प्रधानमन्त्रीको बीचमा द्विपक्षीय व्यापार तथा लगानीका विषयमा कुरा उनले उनले बताए । त्यस्तै, मंगलवारै प्रधानमन्त्रीले विश्वका ठूला आर्थिक शक्ति मुलुकहरूको संगठन जीट्वान्टीका प्रतिनिधिमण्डलसँग अनौपचारिक छलफल गर्ने छन् ।

‘प्रधानमन्त्रीले विश्वका ठूला लगानीकर्ताहरूसँग पनि छलफल गर्नुहुनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको मुख्य जोड नेपालको वर्तमान अवस्थाबारे विश्वलाई बुझाउनु र नेपालप्रति विश्वभरका लगानीकर्ताको ध्यान तान्नु हुनेछ,’ मन्त्री ज्ञवालीले भने । मंगलवारै प्रधानमन्त्रीले ‘प्रजातन्त्रको भविष्यको आकार निर्धारण’ विषयक अर्को शेसनमा समेत आफ्ना विचार राख्नेछन् ।

के भने केपी  ओलीले डाभोसमा ? 
नेपाल भर्खरै नयाँ चरणमा प्रवेश गरेको छ । राजनीतिक र आर्थिक रूपमा नेपाल तीव्र रूपमा परिवर्तन भइरहेको छ । नेपालले आफ्ना छिमेकीहरूसँग राम्रो सम्बन्ध स्थापित गरेको छ । क्षेत्रीय संगठनहरूमा पनि हामीले नयाँ ढंगले काम गरेका छौँ । उनीहरूसँगको सम्बन्धलाई पनि नयाँ उचाइमा पु-याएको छ । हालै नेपालले नयाँ संविधान जारी गरेको छ, जसमार्फत हामीले संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत गरेका छौँ ।

संविधानअनुसार हामीले केही कानुन निर्माण गर्नुपर्ने थियो । अब हामीले संविधानको परिकल्पनाअनुसार संगठनात्मक संरचनलाई परिवर्तन गर्ने काम सम्पन्न गरेका छौँ । अब हामी हाम्रो सम्पूर्ण प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित भएका छौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेका छौँ र त्यो हासिल गर्न हामी पूर्ण रूपमा लागेका छौँ । र, हामीले अर्थतन्त्रका सबै क्षेत्रमा नयाँ नीति लागू गरेका छौँ, नयाँ चरणको सुधार सुरु गरेका छौँ । सामाजिक क्षेत्रमा पनि हामीले सुधार गरेका छौँ । हामीले हालै सामाजिक न्यायमा केही नीति सुरु गरेका छौँ । न्याय, समानता, महिला सशक्तीकरण तथा वञ्चितीकरणमा परेकालाई अगाडि ल्याउने विषयलाई हामीले प्राथमिकता दिएका छौँ ।

अब हामी एउटा नयाँ चरणमा पुगेका छौँ, जहाँ हामी अत्यन्तै आशावादी छौँ । र, हामीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पहल गरिरहेका छौैँ । क्षेत्रीय सहकार्य र विकासको कुरा गर्दा दक्षिण एसिया महान् सभ्यता र शिक्षित मानिस भएको क्षेत्र हो । हाम्रा अत्यन्तै उन्नतस्तरको ज्ञान भएका पुर्खाबाट हामी दीक्षित हुँदै आएका छौँ ।

विश्वकै सबैभन्दा अग्लो सगरमाथादेखि बंगालको खाडीसम्म हामीसँग बृहत् विविधतासमेत छ । यो विविधताभित्र हामीसँग अत्यन्तै उर्वर भूमि र युवा जनसंख्या छ । यो जनसंख्याको लाभ भएका कारण विकसित हुन सक्छौँ । यो अवसरलाई सामूहिक रूपमा सदुपयोग गर्न हामीले क्षेत्रीय सहकार्य र क्षेत्रीय व्यापारलाई प्रवद्र्धन गर्नुपर्छ । हामीले समनता तथा त्यायसहितको समाज सिर्जना गर्नुपर्छ । सबैका लागि समान अवसर प्रदान गर्नुपर्छ । हामीले यस्तो विकासको अवधारणामा जानुपर्छ, जसबाट कुनै पनि मुलुक पछि नपरोस् ।

हामी लगानी आकर्षित गर्न चाहिरहेका छौँ । नवीन प्रविधिलाई निमन्त्रण दिन चाहिरहेका छौँ, प्रविधि हस्तान्तरणमा केन्द्रित भएका छौँ । साथै, क्षेत्रीय रूपमा कनेक्टिभिटी विस्तारमा पनि सक्रिय छौँ । हामी आसियनलगायत अन्य क्षेत्रका मुलुकसँग पनि व्यापार तथा लगानीमा सहकार्य गर्न चाहन्छौं । चार महिनाअघि मात्रै हामीले बिमस्टेकको शिखर सम्मेलन काठमाडौंमा गरेका छौँ र बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेका छौँ ।

यसको अर्थ हामी सार्कसँग मात्रै होइन, म्यानमार, थाइल्यान्डलगायत दक्षिण–पूर्वी एसियाली मुलुकसँग पनि जोडिएका छौँ । जहाँ हामी व्यापार बढाउन सक्छौं । हामी सडक, रेलगमार्ग, जलमार्गलगायत कनेक्टिभिटीका धेरै माध्यमलाई खुला गर्दै छौँ । यसरी हामीले हाम्रो स्रोतलाई प्रयोग गरेर तीव्र विकास हासिल गर्न सक्छौँ ।

सार्कको अध्यक्ष मुलुक भएको नाताले हामी यस क्षेत्रका मुलुकबीच राजनीतिक समझदारी कायम गराउन सक्दो प्रयास गरिरहेका छौँ । हामी कनेक्टिभिटी विस्तारमा पनि प्रतिबद्ध छौँ । हामी ट्यारिफ र ननट्यारिफ अवरोध कम गरी व्यापारमैत्री वातावरण बनाउन पनि छलफल गरिरेको छौँ । सार्क मुलुकले समझदारी बढाउनुपर्नेछ, असमझदारी घटाउनुपर्नेछ । विश्वास बढाउनुपर्नेछ, अविश्वास घटाउनुपर्नेछ । हामीले क्षेत्रीय व्यापार बढाउनुपर्नेछ । सार्कको अध्यक्षका हिसाबले हामी सार्क शिखर सम्मेलन चाँडै नै आयोजना गर्न चाहन्छौँ । यस क्षेत्रका मुलुकबीच सबै क्षेत्रमा सहकार्य बलियो भएको हेर्न चाहन्छौँ ।

अहिलेसम्म नेपाल आर्थिक विकासका दृष्टिले कमजोर अवस्थामा छ । राजनीतिक प्रणाली र अस्थिरताका कारण यो पछाडि परेको छ । तर, अब नेपालमा राजनीतिक स्थायित्व छ । हरेक क्षेत्रमा स्थायी नीति बनेका छन् । स्पष्ट नीतिहरू छन्, स्थिर सरकार छ । हामीले सार्वजनिक क्षेत्रलाई मात्रै होइन, निजी र सहकारी क्षेत्रलाई पनि उत्तिकै महत्व  दिएका छौँ ।

रोजगारी सिर्जना, बालबालिकालाई शिक्षा र युवालाई व्यावसायिक तालिमको अवसर प्रदान गरेका छौँ । नेपालमा काम गर्ने उमेरको जनसंख्या ६० प्रतिशतभन्दा बढी छ । त्यसो हुँदा नयाँ रोजगारी सिर्जना गर्नु महत्वपूर्ण छ । हाम्रो जनसंख्याको ठूलो हिस्सा रोजगारीका लागि विदेशमा छ । उनीहरूले त्यहाँ आर्जन गरेको सीपलाई समेत उपयोग गर्ने गरी हामी उनीहरूलाई देशमा फर्काउन चाहन्छौँ । त्यसका लागि उनीहरूलाई विभिन्न प्रोत्साहनसमेत दिइरहेका छौँ ।

हामीले विभिन्न क्षेत्रमा बाहिरबाट लगानी आकर्षित गर्ने प्रयास गरिरहेका छौँ । उत्पादनमूलक क्षेत्र र बढी उत्पादन दिने क्षेत्रमा बाहिरबाट लगानी आओस् भन्ने हामी चाहन्छौँ । त्यसले मुलुकको उत्पादकत्व बढाउनेछ भने रोजगारी सिर्जनासमेत गर्नेछ । यसरी हामी हाम्रो आर्थिक वृद्धिदर बढाउँदै छौँ । आगामी केही वर्षमै नेपाल विश्वमै सबैभन्दा उच्च आर्थिक वृद्धिदर भएको मुलुक बन्ने विश्वास हाम्रो छ । किनभने हामीसँग यस किसिमको अवसर छ ।

हाम्रोमा युवा जनशक्ति छ, हामीसँग प्राकृतिक स्रोत छ । हामीले कनेक्टिभिटी विकास गर्दै छौँ । चीनसँग पनि हामीले कनेक्टिभिटी बढाउने सम्झौता गरेका छौँ, त्यसअनुसार पूर्वाधार विस्तार हुँदै जानेछ । भारततर्फ पनि हामीले कनेक्टिभिटी बढाउँदै छौँ । त्यस्तै, हामी जलमार्ग पनि बनाउँदै छौँ । चीन र भारत दुवैतर्फ रेलमार्ग निर्माण गरिरहेका छौँ । सूचना प्रविधिको क्षेत्रमा पनि हामी काम गरिरहेका छौँ । यी सबै क्षेत्रमा हामी युवाहरूलाई अवसर प्रदान गर्दै छौँ, रोजगारी सिर्जना गर्दै छौँ । हामी आर्थिक विकासका कुरा मात्रै गरिरहेका छैनौँ, त्यसलाई मूर्त रूप दिन एकदमै बलियो ढंगले कामसमेत गरिरहेका छौँ ।

हामी वातावरणको प्रश्नमा पनि उत्तिकै सजग छौँ । हामीसँग हिमाल छ । कुल जमिनको ४५ प्रतिशत जंगल छ । १५ प्रतिशत जमिन हिउँले ढाकिएको छ । त्यसैले जलवायु परिवर्तनको जोखिममा हामी सजिलै पर्ने सम्भावना छ । राजस्थानबाट तातो हावा बहेर आउँछ र हाम्रो हिमालमा आएर चिसो बन्छ । यो प्रक्रियाका कारण हिमाल पग्लिरहेको छ । त्यसले हिमाललाई मात्रै होइन, नदी र नदीआसपासका बासिन्दालाई पनि जोखिममा पारेको छ । गंगा नदीमा बग्ने पानीमध्ये बर्खामा ४० प्रतिशत र हिउँदमा ७५ प्रतिशत नेपालबाट बगेर जान्छ । हाम्रो ६० प्रतिशत जमिनले वातावरणलाई स्वच्छ राख्न मद्दत गरेको छ । जलवायु परिवर्तनको असरबाट संरक्षण गरेको छ । त्यसो हुँदा वातावरणमा पर्ने नकारात्मक प्रभावका विषयमा हामी सचेत छौँ ।

निष्कर्षमा हामीले हाम्रो जनताको जीवनस्तर उकास्नलाई पूरा ध्यान दिएका छौँ । जनताको जीवनस्तर बढाउन ध्यान दिएका छौँ । त्यस्तै, हाम्रो प्रकृति संरक्षणमा दिएका छौँ । त्यसो हुँदा हाम्रो विकासका गतिविधि जनकेन्द्रित, प्रकृतिकेन्द्रित छ । हाम्रो विकास सन्तुलनमा छ । नेपालबारे कुरा गर्दा हामीलाई पर्खने सुविधा छैन । हामीले मुलुकको सबै पक्षलाई तीव्र रूपमा विकास गर्नुपर्नेछ । चीन, भारत, बंगलादेशलगायत सबै मुलुकसँग हामी नयाँ सम्झौता गरिरहेका छौँ र नयाँ स्तरको सम्बन्ध बनाएर अघि बढिरहेका छौँ । आन्तरिक रूपमा हामी तीव्र आर्थिक वृद्धि हासिल गर्न, जनतालाई सेवा दिन र भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधारको काम गरिरहेका छौँ ।

-Naya Patrika

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account