प्रगतिशील साउती

प्रगतिशील साउती

प्रगतिशील साउती

कवितामा नारा नमिसाई कसरी प्रगतिशील हुन्छ ? बद्री भिखारीको पछिल्लो कविता संग्रह समुद्र–साउती यसको जवाफ हो। पुस्तकका ४० थान कवितामध्ये अधिकांश सिर्जनाको आधारभूमि हो, मूलधारमा चलिरहेको विमर्शले बिराएको बाटोलाई सच्याउन जरुरी देख्ने कविको अन्तर्दृष्टि। समाजमा चलेका विकृत संस्कारलाई सही बाटोमा ल्याउने प्रयासलाई प्रगतिशील मान्नेहरूका लागि भिखारीका कविता प्रगतिशील हुन्।

‘आमा र देश’, ‘विचार र चिन्तन’, ‘समय र स्वतन्त्रता’, ‘प्रेम र प्रकृति’ तथा ‘प्रकृति र जीवन’ उपशीर्षकगत खण्डहरूमा विभाजित यस पुस्तकका सबैभन्दा शक्तिशाली र सम्झनलायक अधिकांश कविताहरू ‘विचार र चिन्तन’ खण्डमा छन्। राष्ट्रिय एकताका प्रतिमानहरूलाई अपमान गरेर नेपालीहरूको एकीकृत भावनामा ठेस पुर्‍याउने पछिल्लो एक दशकको अधोगतिशील सोच र व्यवहारको विरुद्धमा उभिएको कविता हो ‘भानुभक्त’। राष्ट्र भनेको भूगोलको चौघेरो मात्र होइन; यो त काल्पनिक आयामको एक भाषिक र सांस्कृतिक समुदाय हो भन्ने पछिल्लो विश्वविमर्शको काव्यिक अभिव्यक्ति हो यो कविता।

त्यस्तै प्रगतिशील हुनु भनेको कम्युनिस्ट संगठनको सदस्यताको प्रमाणपत्र बोक्नु मात्र हो भन्ने संस्कारको विकास हँुदै गएको नेपाली समाजको चेत खुलाइदिने जमर्को गरेको छ ‘तिम्रो हेडक्वार्टरमा पुगेर’ शीर्षक कविताले। ‘नागरिकता’ कविता नेपालको दशकौंदेखिको भूूराजनीतिक परिस्थितिमाथिको व्यंग्य हो भने ‘सिद्धार्थ’ कविता मानवीय प्रेमको महत्त्व नबुझेर बुद्धत्वको स्वाङ पार्ने ढोंगीहरूलाई गरिएको प्रहार। ‘ईश्वर’ कवितामा जीवनबाट भागेर मुक्तिको कामना गर्ने भगुवाहरूप्रतिको तीखो बाण र जीवनको मूल्यबोधको अभिव्यक्ति छ।

‘प्रेम र प्रकृति’ खण्डमा रहेको ‘मेनकाको डायरी’ वैचारिक रूपमा सशक्त कविता हो। हावाको बहावको उल्टो दिशामा यात्रा गर्न सक्ने र के ठीक, के बेठीक भनेर सानो स्वरमै भए पनि स्पष्ट भन्न सक्ने कविको क्षमताको उदाहरण हो यो। नारी स्वतन्त्रताको आवाजले नेपालको इतिहासमै सबैभन्दा बढी स्थान र उपलब्धि प्राप्त गरेको यो समयमा यस कविताले पुरुषबिना नारी सधैं अपूर्ण हुने (वा नारीबिना पुरुष अपूर्ण हुने) प्राकृतिक यथार्थको प्रस्तुति गरेको छ। ‘विश्वामित्र म तिमीलाई रोहवरमा राखेर निदाउन चाहन्छु’ भन्ने मेनकाको अभिव्यक्तिमा यो कविता टुंग्याइएको छ। नारी स्वतन्त्रता र समानता पुरुषलाई गाली गरेर होइन, नारी–पुरुषको आपसी सम्मानभावको प्रवद्र्धन गरेर हुन्छ भन्नु चाहिँ अबको प्रगतिशील विचार हो।

‘छोराको गृहकार्य’ र ‘सिराहा’, ‘समय’ जस्ता कविता पनि यस संग्रहको मूलधारको वैचारिक प्रवाहसँग तादात्म्य राखेरै सुन्दर र सशक्त भएका छन्। मानिसको जीवनको अन्तिम लक्ष्य खुसी र आनन्दको प्राप्ति नै हो र यो प्राप्ति मन प्रफुल्ल भएपछि मात्र सम्भव छ। ‘तिमीले राम्रो भनेपछि’, ‘जस्तो जस्तो’ र ‘हिँड्दा हिँड्दै’ कविताले ठीक यही मानवीय यथार्थको काव्यीकरण गरेका छन्। मनबाटै सहज रूपमा प्रस्तुत भावनाको अभिव्यक्तिले मात्र साहित्यको सिर्जना हुन्छ भन्ने प्रमाण हुन् यी कविता।

‘अन्तिम संवाद’, ‘शरणार्थी’, ‘चरिगुहा’, ‘बुख्याँचा’ र ‘आमाको अनुहारमा देशको चित्र’ पढ्न लायक अन्य थप कविता हुन्। यी कवितामा उपयुक्त बिम्ब प्रयोगलाई प्रतीकको तहमा उतार्न सक्ने कविको क्षमताको प्रमुख भूमिका छ।

एकाएक एउटा अनुहार मान्छेबाट तस्बिर बन्यो र भित्तामा झुन्डियो। ‘चिसो घाम’ शीर्षक कविताको बिसाउनीका यी हरफहरूले मान्छेको जीवनको अन्त्यको प्रभावकारी र अर्थपूर्ण चित्र उतारेका छन्। सुन्दर र सटिक बिम्बको प्रतीकीकरणकै शक्तिले प्रसिद्ध भएको कविता ‘ऐना’बाट सुरु भएको यो संग्रह यस्तै शैलीले रोचक भएको छ।

तथापि बलजफ्ती लेखिएका हुनाले पूर्णकविता बन्नै नसकेका उदाहरण पनि छन् संग्रहमा। ‘चोर औंला’, ‘समय र स्वतन्त्रता’, र ‘अस्तित्व’ यी कविताले कविको जबर्जस्तीले कविता सिर्जना हुँदैन भन्ने प्रमाणित गरेका छन्। कविता भइसक्न बाँकी छँदै संग्रहमा छिरेका कविता हुन्, ‘तलाउ छेउमा बूढो मान्छे’, ‘हामी पनि बूढाबूढी हुनेछौं’, ‘बादलसँग’, ‘आशमायाको आशा’, ‘पहिलोपल्ट’, ‘अस्तित्व’ र ‘बाँकी सपना’।

संग्रहको नाम समुद्र–साउतीले पनि यस्तै शैलीगत र वैचारिक काव्यिक सशक्तता बोकेको छ। समाज यस्तो समुद्र हो, जसमा एउटा कवि आइसवर्गजस्तो बाँचेको हुन्छ। अनि उसले रचना गर्ने कविता त्यही आइसबर्गको पानीमाथि देखिने टुप्पोको सौन्दर्य जस्तो। त्यसकै आकर्षण र चाल हेरेर कविको सम्पूर्णताको अनुमान लगाउँदै समाजको यथार्थको मनन् र मूल्यांकन गर्ने हो पाठक र श्रोताले। कविताको आवाज सडकको होहल्ला होइन; यो त प्रेमिल साउती हो भन्ने यथार्थलाई मनन् गरेपछि मात्र एउटा सर्जक कवि बन्न सक्छ भन्ने चिन्तनको काव्यीकरण पनि हो यो शीर्षक।

काव्यको आस्वादन गर्र्न सक्नेहरूका लागि यो संग्रहका निकै कविता मार्मिक छन्। समग्रमा कवि भिखारी संकेतमा भन्न सक्ने, शब्दको सदुपयोग गर्न सक्ने, अनावश्यक वर्णनको भारी बोकाएर कवितालाई अपांग नबनाउने, प्रकृतिको केन्द्रीयतामा बिम्ब, विचार, शैली र भावको निर्माण र विस्तार गर्न सक्ने क्षमताले यस संग्रहको काव्यिकता निर्माण गरेका छन्।


– डा. रामजी तिमल्सिना

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account