के म लेखक बन्‍न सकुँला ?

के म लेखक बन्‍न सकुँला ?

के म लेखक बन्‍न सकुँला ?

प्यारी किट्टी !

यहाँ आएपछि त्यत्रो समय स्कुलको पढाइमा किन मेहनत गरेँ, अहिले छक्क पर्छु। युद्धको अन्त्य त अत्यन्त टाढा छ। अन्त्यको कुरा पनि परीकथा जस्तै असम्भव लाग्छ। सेप्टेम्बरसम्ममा पनि युद्ध सकिएन भने म स्कुल छोड्दिन्छु। दुई वर्ष पछाडि परेर के पढ्नु?

शनिबारसम्म मेरो दिनमा, रातमा, सपनामा र कल्पनामा पिटर मात्रै थियो। त्यस दिन म अत्यन्तै दुःखी भएँ। पिटरसँग हुँदा पनि आँसु थामेर बसेकी थिएँ। कागतीको सर्बत पिउँदै भान डानसँग हाँसे। त्यसबेला उत्साहित र प्रसन्न थिएँ तर एक्लो हुनेबित्तिकै मलाई बेस्कन रुन मन लाग्यो। रात्रि–पहिरन लगाएर भुइँमा पल्टिएँ। पहिले प्रार्थना गरेँ। त्यसपछि घुँडा खुम्च्याएर हातमा टाउको अड्याएँ र चिसो भुइँमा डल्लो परेर बसेँ अनि रोएँ। ठूलो आवाजमा पो रोएछु। तुरुन्तै आफूलाई सम्हालेँ अनि आँसु पुछेँ। पल्लो कोठाकाले म रोएको सुनून् भन्ने चाहन्नथेँ। त्यसपछि मैले हिम्मत बढाउन आफैंसँग कुरा गर्न थालेँ। तर, यति मात्रै भन्न सकेँ, “मैले गर्नैपर्छ, गर्नैपर्छ, गर्नैपर्छ…।” असहज तरिकाले बसेको हुनाले म अररो हुन पुगेकी थिएँ। उठ्न खोज्दा खाटको छेउमा लडेँ। साढे दस बज्नुअघि भुइँबाट उठेर ओछ्यानमा बसेँ।

अब मैले पढ्नैपर्छ। ज्ञानको दायरा बढाउन र आफूलाई व्यस्त राख्न मैले मेहनत गरेर पढ्नुपर्छ। म पत्रकार बन्न चाहन्छु। मलाई थाहा छ, म लेख्न सक्छु। मैले लेखेका केही कथा राम्रा छन्, ‘गुप्त भवन’ बारे मैले लेखेको विवरण रमाइलो छ। म राम्रो लेख्छु भनेर पुष्टि गर्ने थुप्रै कुरा डायरीमा पनि छन्। तर, ममा वास्तविक प्रतिभा छ कि छैन, त्यो देखिन बाँकी नै छ।

‘इभाको सपना’ मैले लेखेको सबैभन्दा राम्रोे परीकथा हो। यो कहाँबाट फुर्‍यो, मलाई थाहा छैन। ‘केडीको जीवन’ का पनि धेरै खण्ड राम्रा छन् तर समग्रमा त्यो गतिलो छैन। म आफ्नो कामको तीक्ष्ण र उत्तम समालोचक हुँ। आफूले लेखेको कुन राम्रो, कुन ठीकठीकै र कुन नराम्रो भन्ने समीक्षा आफैं गर्न सक्छु। पहिले चित्र कोर्न नसक्दा म पछुतो मान्थेँ। तर, लेख्न सक्छु, यो सन्तोष लिने विषय हो। मसँग अखबारमा लेख्ने वा किताब लेख्ने प्रतिभा छैन भने पनि आफ्नै लागि त लेख्न सक्छु नि !

जीवनमा धेरै कुरा हासिल गर्न चाहन्छु। आमा, श्रीमती भान डान र अन्य सामान्य महिलाझैं जिन्दगी बिताउने म कल्पनासम्म गर्न सक्दिनँ। पति र बालबच्चाका लागि मात्र म बाँच्न सक्दिनँ। मैले कुनै महत्त्वपूर्ण चिजप्रति समर्पित हुनैपर्छ।

म मृत्युपछि पनि बाँच्न चाहन्छु। लेख्ने सीप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु। लेखनले मलाई अभिव्यक्त गर्न र आफूलाई विकसित तुल्याउन सम्भव बनाएको छ।

लेख्दाखेरि म सबै कुराबाट मुक्त हुन्छु। मेरा दुःख गायब हुन्छन्। ममा नयाँ हिम्मत पलाउँछ। तर, सबैभन्दा ठूलो प्रश्न छ, म गतिलो कुरा लेख्न सकुँली? पत्रकार वा लेखक बन्न सकुँली? लेखक बन्ने लक्ष्य छ। लेखेपछि म आफ्ना विचार, आदर्श र कल्पनालाई पुनः प्राप्त गर्न सक्छु।

‘केडीको जीवन’ मा मैले धेरै पहिलेदेखि केही गरेकी छैन। मेरो दिमागमा कथालाई कसरी अगाडि बढाउने भन्ने कुरा स्पष्ट छ। खै किन हो, मेरो कलमले कथा उसै गरी बढाउन सक्दैन। यो कथा अधुरै पनि रहन सक्छ। यसलाई रद्दीको टोकरीमा फाल्ने वा अगेनोमा हाल्ने अवस्था पनि नआउला भन्न सकिन्न। यो कल्पना भयानक छ। आफैंलाई भन्ने गर्छु, “१४ वर्षको उमेरमा यति कम अनुभवले तँ दर्शनको विषयमा कसरी लेख्न सक्छेस्? ”

तर, नयाँ जोसका साथ म फेरि लागिपर्छु। म सफल हुनेछु, किनभने मभित्र लेख्ने प्यास छ।

तिम्रो एन


मंगलबार, ११ अप्रिल १९४४

प्यारी किट्टी !

हामी कसैले पनि रातमा यस्तो खतराको सामना गर्नु परेको थिएन। साँच्चै नै ईश्वरले हाम्रो रक्षा गरे। पुलिस हाम्रो गोप्य दराजसम्मै आइपुगेको थियो, ठीक अगाडि बत्ती बलेको थियो। तैपनि हामी त्यहाँ रहेको पत्तो पाएन। ‘गुप्त भवन’ मा बम खस्यो भने हामीलाई हाम्रो मात्रै चिन्ता हुन्छ। तर, हामी समातियौं भने हाम्रा असल र निर्दोष संरक्षकहरूले पनि दुःख पाउँछन्। यो घटनाले अनेकौं परिवर्तन ल्याइदिएको छ।

अहिले ‘गुप्त भवन’ मा बहस चलिरहेको छ। लापरबाही गरेको भन्दै क्रेलरले हामीलाई गाली गरे। हेङ्कले पनि यस्तो घटना हुँदा कसैगरी तलामुनि जान नहुने बताए। हामी लुकिरहेका छौं भन्ने कुरा हामीलाई बारम्बार स्मरण गराइन्छ।

हामी साङ्लोमा बाँधिएका यहुदी हौं।

हामी हलचल गर्न पाउँदैनौं।

हाम्रो कुनै अधिकार छैन।

तर, हामीले हजारौं जिम्मेवारी पूरा गर्नुपर्छ।

हामी यहुदीले आफ्ना भावना प्रदर्शन गर्नु हुँदैन।

सबै खालका असुविधाहरू गुनासो नगरी स्वीकार गर्नुपर्छ।

भगवान्मा भरोसा राख्नुपर्छ।

कुनै दिन त यो भयानक युद्ध समाप्त होला। निश्चय नै त्यो समय आउनेछ।

र, हामी फेरि मान्छे बन्नेछौं।

मात्र यहुदी रहनेछैनौं।

यो दण्ड हामीलाई कसले दियो? हामी यहुदीलाई अरूभन्दा फरक कसले बनायो? अहिलेसम्म यति भयानक तरिकाले कष्ट खेप्न हामीलाई कसले बाध्य बनायो? हामीलाई यहुदी बनाउने ईश्वर हुन्। यो कष्टबाट हामीलाई मुक्त गर्ने पनि उनै ईश्वर हुनेछन्। यस्तो दुःख भोगेर युद्ध सकिँदा यहुदीहरू अझै जीवित रहे भने उनीहरूलाई श्रापित होइन, उदाहरणका रूपमा लिइनेछ। कसलाई थाहा छ र, सायद हाम्रै धर्मबाट संसार र सारा मानिसले असल बन्न सिक्नेछन्। त्यही कारणले, मात्र त्यही कारणले अहिले हामीले कष्ट भोग्नुपरेको हुन सक्छ। हामी मात्र नेदरल्यान्ड्सवासी, वा मात्र बेलायती अथवा अन्य कुनै देशको प्रतिनिधि मात्र बन्न सक्दैनौं। हामी सधैं यहुदी रहनेछौं। हामीले यहुदी बनिरहनै पर्नेछ।

बहादुर बनौं ! हामी आफ्नो काममा सचेत बनौं र गुनासो नगरौं। एउटा न एउटा समाधान आउनेछ। ईश्वरले हामीलाई कहिल्यै एक्लो छोडेका छैनन्। युगौंदेखि संसारमा यहुदीहरू रहँदै आएका छन्। प्रत्येक युगमा उनीहरूले सास्ती भोगेका छन्। यसले उनीहरूलाई दृढ पनि बनाएको छ। कमजोरहरू असफल हुन्छन्। बहादुरहरू सधैं बाँचिरहनेछन्। उनीहरूलाई कहिल्यै हराउन सकिन्न।

त्यस रात मैले अब म मर्छु भन्ने महसुस गरेँ। मैले पुलिसलाई पर्खिएँ। युद्धमैदानको सिपाही झैं म यसका लागि तयार थिएँ। देशका लागि जीवन अर्पण गर्न इच्छुक थिएँ। तर, हामी बच्यौं। युद्ध सकिएपछिको मेरो पहिलो इच्छा डच नागरिक बन्ने हो। म यो देशलाई माया गर्छु, यहाँका मान्छे र भाषालाई माया गर्छु। यसका लागि रानीलाई नै पत्र लेख्नुपरेछ भने पनि म आफ्नो उद्देश्य पूरा नगरी हार मान्नेछैन।

म झन् आत्मनिर्भर बन्दै गएकी छु। कलिलै उमेरमा आमाभन्दा पनि हिम्मतिलो तरिकाले म जीवनको सामना गरिरहेकी छु। न्यायप्रतिको मेरो भावना अविचलित छ र उहाँको भन्दा दृढ छ। म के चाहन्छु, त्यो मलाई थाहा छ। मेरो लक्ष्य छ, विचार छ। मेरो धर्म छ र प्रेम छ। मलाई स्वतन्त्र छोडिदिने हो भने म सन्तुष्ट हुन्छु।

यदि ईश्वरले मलाई बचाए भने मैले आमाले भन्दा बढी कुरा हासिल गर्नुपर्छ। म महत्त्वहीन बनेर बस्नेछैन। सिंगो मानवजातिका लागि काम गर्नेछु। र, मलाई थाहा छ, सबैभन्दा पहिले मलाई हिम्मत र उत्साहको खाँचो छ।

तिम्रो एन।

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account