नगरवधूको बकपत्र

नगरवधूको बकपत्र

नगरवधूको बकपत्र

एकाबिहानै

घरबाट आमाको फोन आउँछ

बाको गरिखाने हलगोरु

लडे भीरबाट र भए भुतुक्कै

 

अघिल्लो साल पहिरोले

निलेथ्यो खर्लप्प एक हलको पाखोबारी

 

कसले काटोस् खर ?

कसले छाओस् छानो ?

 

साउदीको कैदबाट फर्केनन् दाइ

घर थचक्क बस्यो

छिमेकीको पालीमा

शरणार्थी छन् आमा, बा र बूढी हजुरआमा

 

घर धान्नु छ

आफू बाँच्नु छ

पठाउनु छ हजुरआमालाई दमको ओखती

 

आम्दानी चुपचाप बस्छ

खर्च दौडिरहेको हुन्छ

महँगी बत्तिरहेको हुन्छ

 

महिना मर्ने बित्तिकै

ढोका ढकढकाउन आइपुग्छन् घरबेटी

 

आदिम तराजुमा चामल तौलिँदै

पुलुक्क मुखमा हेर्दै

सम्झाउँछन् रासन साहू–

महिना मर्दै छ, है

 

मेरै कोठाका पाहुनाहरू

मेरै कमाइमा हप्तौं बिताएर

गाउँ पुगेपछि

सुन्छु– काट्छन् मेरै कुरा

भन्छन् रे– सहरमा म अस्मिता बेच्दै छु

 

यहाँ सहरमा

दाँत झरेका

ढाड कुप्रिएका

अनुहारमा समयका वक्ररेखा कोरिएका

मोटा चस्मा नाकको डाँडीबाट

झर्नै लाग्दासमेत

हेर्ने गर्छन् चस्माको सिरानबाट

पुष्ट छाती, पुष्ट नितम्ब र पुष्ट शरीर

राता–राता चिल्ला गाला

 

सुन्नुहोस् महाशय !

यो सहरमा

म अस्मिता हैन

जवानी बेच्दै छु

 

यदि बिक्री हुँदो हो त अस्मिता

किन तल्लो गाउँको फूलमती

भोकभोकै मर्थिन् उमेर ढल्केपछि ?

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account