अनुवादको डगरमा नेपाली साहित्य

अनुवादको डगरमा नेपाली साहित्य

अनुवादको डगरमा नेपाली साहित्य

अमेरिकामा बसे पनि अमेरिकी साहित्यकारहरूसँग मेरो खासै भेट भएन। अंग्रेजी भाषाको म त्यत्रो ज्ञानी नभएको हुँदा मैले अंग्रेजीका लेखकहरूलाई खोजी पनि गरिनँ। त्यहाँ यहाँजस्तो चाहँदैमा कसैलाई भेट्न पनि सकिँदैन रहेछ। भेट्नु पर्दा विशेष कारण देखाएर निकै पहिलेदेखि नै समय लिनुपर्छ। समयको अत्यन्तै अभाव भएको देश हो त्यो। त्यहाँ म नेपाली साहित्यिक संघसंस्थाहरूको नजिकमा मात्र रहेँ।

अमेरिका बसाइको मेरो पाँच वर्षको उपलब्धि भनेको नेपाली भाषामा पाँचवटा किताब लेखियो र एउटा फिल्मका लागि कथा लेखियो। यिनमा फुटकर लेखहरू समावेश छैनन्। वास्तवमा म त्यहाँ पूर्णकालिक लेखककै रूपमा रहेँ। नेपाली भाषामा किताबहरू लेख्नेबाहेक राधा उपन्यासको अंग्रेजी अनुवादलाई छाप्ने काम पनि गरियो। त्यसको अनुवाद महेश पौड्यालले गरेका हुन्। उपन्यासको अनुवाद तयार भइसक्दा पनि त्यसलाई त्यहाँ कसरी छाप्न सकिएला भन्ने कुरा बुझ्न नै दुई वर्ष लाग्यो। नेपाली लेखकहरूले अमेरिकामा अंग्रेजी किताब छापेको खासै अनुभव धेरैसँग नभएकाले पनि मलाई त्यति समय लाग्यो। केही स्थापित नेपाली मूलका अंग्रेजी लेखकहरू भए पनि उनीहरूसँग सम्पर्क हुन सकेन। लगातारको लामो प्रयत्नपछि केही प्रकाशकसँग सम्पर्क हुन सक्यो। त्यसपछि त प्रकाशकहरूका ईमेलको लस्कर नै लाग्न थाल्यो। अमेरिकामा दुई खालका प्रकाशनहरू हुँदा रहेछन्। एक खालका ती जो निजी प्रकाशन हुन्, जसले लेखकसँगै पैसा लिएर छाप्छन् र बिक्री गरेर रोयल्टी दिन्छन्। तिनीहरूले किताब लिएको दुई महिनाभित्रमा छापिसक्छन् र अनलाइन मार्केटिङ गर्छन्।

ती प्रकाशनलाई कपी एडिटिङ, पेज सेटिङ, कभर डिजाइनिङ र आईएसबीएन नम्बर लिनका लागि मैले जम्मा एघार सय नौ डलर दिनुपर्‍यो। यसो गर्न जरुरी थिएन, तैपनि त्यो पुस्तकको बुक रिभ्यु गर्न अतिरिक्त पन्ध्र सय डलर तिरियो। प्रत्येक घण्टा ज्यालामय हुनाले यताजस्तो उता त बिनापैसा कसैलाई केही काम लगाइन्न। लगाए पनि गर्दैनन्। पैसा पनि एक किस्ता पहिल्यै दिनुपर्छ, काम सकेर दिने हैन। पैसा तिर्न डराउनु पर्दैन। कामको ग्यारेन्टी छ। मान्छे भेटिनु पर्दैन। मान्छे चिन्नु पनि पर्दैन। ऊ जहाँ भए पनि फोन र ईमेलमा कुरा हुन्छ। कामको सिलसिलामा मलाई कहिले दक्षिण कोरिया, कहिले अस्टे«लिया, कहिले कताबाट फोन आइरहन्थे। त्यहाँका प्रकाशकहरूले सस्तोमा काम गराउन अमेरिका बाहिरबाट पनि काम गराउँदा रहेछन्। रमाइलो त के भने उनीहरूले पहिले नै तिम्रो किताब फल्नो दिन छापिन्छ भनेर भनेका थिए र त्यही दिन किताब छापिएर अनलाइनमा पुग्यो। बाटोको म्याद राखेर पाँच दिनमा लेखकप्रति पाँच थान मेरो ठेगानामा आइपुगेको थियो।

अर्को खालको प्रकाशनलाई टे«डिसनल भन्दा रहेछन्। तिनीहरूसम्म चाहिँ नयाँ लेखक पुग्न सक्दा रहेनछन्। तिनीहरूले सम्पूर्ण खर्च आफैं बेहोर्छन् र लेखकको रोयल्टी पनि पहिल्यै भुक्तान गर्छन्। निजी प्रकाशनहरूले हार्ड बुक छापेर बजारमा लाँदैनन् तर यी प्रकाशनहरूले भने किताबहरूलाई छापेर बिक्रीका लागि पुस्तक पसलहरूमै पुर्‍याउँछन्। ट्रेडिसनल प्रेसको नजरमा पर्न पनि निजी प्रकाशनकै बाटोबाट जानुपर्ने रहेछ। अमेरिकाका ठूल्ठूला लेखकहरूले पनि पहिला निजी प्रेसबाटै यात्रा थालेका अनेकौं उदाहरण भेटिन्छन्। मैले यस्ता प्रकाशनहरूसँग पनि सम्पर्क गरेँ तर उनीहरूले खासै रुचि राखेनन्। उनीहरूले पहिला छापिएका पुस्तकका केही नमुना मागे, जो मसँग थिएन। सायद भविष्यमा अरू पुस्तकको काम गर्नु परे, अब ‘राधा’लाई देखाउन सकिएला। अमेरिकाबाट किताब छाप्न लेखक अमेरिकामा हुनैपर्छ भन्ने रहेनछ। लेखकको कुनै प्रतिनिधिले अमेरिकामा बसेर प्रकाशनसँग सम्पर्क गरिदिए पुग्छ। यसको ताजा उदाहरणका लागि गत वर्ष अमेरिकाको आई युनिभर्स भन्ने प्रकाशनले प्रतीक ढकालको ‘वियोन्ड द हिमालय’ भन्ने कृति प्रकाशित गर्‍यो। त्यसका लागि अमेरिका निवासी कवि तथा गीतकार ज्ञानेन्द्र गदालले सम्पर्क व्यक्तिको रूपमा काम गरिदिएका थिए। कसैलाई त्यसरी किताब छाप्ने विचार भए म त्यस्तो बाटो देखाइदिन सक्छु।

संसारमा जजसको जति पनि आर्थिक उन्नति भएको छ, सबै विश्वासको आधारमा भएको छ। पहिला त हामी कसैलाई विश्वास नै गर्न सक्दैनौं। गरिहाल्यांै भने पनि त्यसले धोका नै दिने सम्भावना बढी हुन्छ। काम गर्नुभन्दा ठग्नु र झुक्याउनुमा हाम्रो मेहनत बढी खर्च भइरहेको हुन्छ। तर, विदेशमा सबैले विश्वास गर्ने जाति भनेकोचाहिँ नेपाली नै हो। म सोच्थेँ, इमानी नेपाली जति सबै विदेश आएका हुन् कि विदेश आएपछि उनीहरू इमानी भएका हुन् ? देशमा पनि हामी त्यस्तै इमानी र विश्वासिलो हुन सके हाम्रो आर्थिक उन्नति हुनमा कुनै समय लाग्दैन।

हामी त पैसाको परिचालन पनि गर्नै जान्दैनौं। आफूले कमाएको कुरा बाँडेरै सक्छौं। भोलि अर्काले पनि त्यसरी नै बाँड्ला भन्ने कुनै आधार हुन्न। बारीमा कति मेहनत गरी खनेर, मल हालेर, थांग्रा हालेर, उन्नत बीउ कहाँसम्म पुगेर खोजेर ल्याएर तरकारी फलफूल रोप्छौं। फलेपछि आधाभन्दा बढी छरछिमेकीलाई बाँडेरै सक्छौं। एकपल्टमा एउटा फल्छ, त्यसलाई पनि बाँडेर सक्छौं। बाँडेन भने पनि उनीहरूले भन्छन् हेर, त्यसले बारीमा त्यस्तरी लौका काँक्रो फलायो, एउटासम्म पनि चाख्न दिएन। हामी आफूचाहिँ नरोप्ने उसको फलेको एक छाकको आश गरेर बस्ने। छिमेकीको रिसले त्यसलाई देखाई देखाई बजारबाट किनेर ल्याएर खान्छौं। न आफैं रोप्छौं, न छिमेकीको बारीको किनेर सहयोग गर्छौं। बजारबाटै किन्ने हो भने छिमेकीसँगै किन्दा के हानि छ र ? तर हाम्रो आरिस। पैसाको विनिमय गर्ने हाम्रो अभ्यास नै छैन। प्रत्येक कुरामा नगदको विनिमय हुनुपर्ने रहेछ। एकले अर्कोसँग जे कारोबार गर्दा पनि सहजै नगदको कारोबार गर्दा असजिलो नमान्नेबित्तिकै व्यवहार सजिलो भइहाल्दो रैछ। सबै कुरालाई आर्थिक कारोबारमा निश्चित गरी त्यसलाई विश्वासमा बदल्न सके कसैले पनि कसैसँग डराउनु वा शंकालु हुनै पर्दैन रहेछ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि अनुवाद नै अन्तिम हतियार हो। अब यस क्षेत्रमा लेखक, प्रकाशक, प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालयहरू सबै लाग्नुपर्छ।

कुनै पनि साहित्यलाई विश्व बजारमा पुर्‍याउने आधार भनेकै भाषान्तर हो। पुस्तकको उत्कृष्टता र अनुवादको स्तरीयता दुवैको सन्तुलन मिल्नुपर्छ। मूल भाषामा कृति राम्रो भएर मात्र हुँदैन। अनुवादको स्तरको आफ्नो छुट्टै महŒव हुन्छ। हाम्रोमा अहिलेसम्म लेखिएकै पुस्तकहरू पनि विदेशी भाषाका किताबसँग दाँजिएर उभिन सक्छन् तर तिनलाई त्यही स्तरको अनुवादको खाँचो छ। हाम्रा कृतिहरूलाई स्तरीय अनुवाद गर्न सक्नेहरूको कमी छ। अब हामीले राम्रा किताब विश्वबजारमा पुर्‍याउन राम्रा अनुवादकहरू तयार गर्नुपर्छ। राम्रा अनुवादकहरू तयार गर्न विश्वविद्यालयहरूको योगदान हुनु पर्‍यो। प्रज्ञाप्रतिष्ठानहरूले लगानी गर्नुपर्‍यो। सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयहरूको योगदान हुनुपर्‍यो। निजी प्रकाशकहरूले पनि यतातिर सोच्न थाल्नुपर्‍यो। अनुवादकहरू उत्पादन गर्ने तालिम र शिक्षण कक्षाहरू सञ्चालन हुनुपर्‍यो। निजी क्षेत्रहरूबाट पनि यस्ता कक्षाहरू चलाउन सकिन्छ।

अनुवाद गर्ने मान्छे कम्तीमा पनि दुइटा भाषाको त पारंगत नै हुनुपर्‍यो नि। अनुवादक आफैंमा एकदम नै बौद्धिक र प्रतिभाशाली व्यक्ति हुन्छ। अनुवाद व्यावसायिक र परम्परागत हुन नसकिरहेका कारणले यसलाई सामान्य ढंगबाट हेरिन्छ यहाँ। तर, अनुवादक नै त्यो मानिस हो, जसले संसारभरिको साहित्यसँग संसारलाई परिचित गराउँछ।

अनुवाद भन्नेबित्तिकै हामी अंग्रेजी भाषामा लाने भन्ने सोचिहाल्छौं। सबैतिर नै प्रायः अनुवादका लागि पहिलो प्राथमिकता अंग्रेजी भाषाले पाउने गरेको छ। अंग्रेजीमा लाँदा विश्वबजारमा छिटो पुग्छ भन्ने त हो तर अंग्रेजीभाषी मान्छे विश्वमा कति होलान् ?    युरोपमा बेलायतबाहेक अरू देशमा अंग्रेजी भाषा एक प्रकारले चल्दैन भने पनि हुन्छ। युरोपका प्रायः सबै देशले आफ्नै भाषा प्रयोग गर्छन्। सकेसम्म उनीहरू विदेशी साहित्यलाई आफ्नै भाषामा अनुवाद गरेर पढ्न मन पराउँछन्। हामीले अंग्रेजी भाषामा लैजाँदा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत, भारत आदि केही देशमा राम्रै चल्ला तर ती देशहरूबाहेक पनि धेरै मान्छेले बोल्ने अरू ठूल्ठूला भाषा छन्। जस्तै चीन र भारतमा मात्र पनि अरबौं मानिस छन्, हिन्दी र चिनियाँ भाषा पढ्ने बोल्ने। हामै्र छिमेकमा रहेका यत्ति धेरै पाठकहरू भएका भाषाहरू हुँदाहुँदै किन हामी छिरल्लिएको अंग्रेजी भाषामा मात्र लान खोज्छौं ? अंग्रेजीमा लान हाम्रो राम्रो क्षमता छैन भने राम्रो हिन्दीमा त लान सक्छौं नि। राम्रो हिन्दीबाट राम्रो अंग्रेजीमा कसैले पनि लैजान सक्ला। नत्र एउटै किताब छत्तीसवटा भाषामा कसरी पुग्छ त। आफ्नो मूल भाषाबाट बाहिर निस्कन सकियो भने अरू भाषामा जान कुनै गाह्रो छैन।

प्रज्ञाहरूले, विश्वविद्यालयहरूले राम्रा अनुवादकहरू जन्माउने काममा महŒवपूर्ण भूमिका खेल्नुपर्छ। ती अनुवादकले गरेका उत्कृष्ट अनूदित कृतिहरू त निजी प्रकाशकहरूले पनि सजिलै छापिहाल्छन् नि। विदेशी विश्वविद्यालयहरूमा पढ्न पठाउनुपर्छ। वर्षको १० जनालाई मात्र विभिन्न भाषाको अनुवादका लागि पढ्न पठाएमा धेरै जनशक्ति तयार हुन्छ। साहित्य पनि विदेशी मुद्रा कमाउने वस्तु हो भन्ने कुरा पहिला सरकारमा बसेका मानिसहरूले बुझेको हुनुपर्छ।

अनुवादको सन्दर्भमा कुरा गर्दा नेपालमा एउटा नराम्रो कुरा भइरहेको देखिन्छ। जस्तो राम्राराम्रा विदेशी किताबहरू स्तरहीन अनुवादकहरूबाट नेपाली भाषामा अनुवाद गराई बेचिइरहेको पाइन्छ। विदेशी किताबको कमजोर नेपालीमा अनुवाद गर्नाले नेपाली पाठकहरूसमेत कमजोर ज्ञानका सारथि हुन पुग्छन्। अर्कोतिर ती मूल लेखकहरूले यो कुरा थाहा पाएर अन्तर्राष्ट्रिय रोयल्टी अदालतमा विदेशी मुद्रा दाबी गरेर मुद्दा हाले भने यहाँका प्रकाशक वा वितरकहरूले त्यो तिर्न सक्लान् त ?   त्यसले त देशकै बदनाम हुनेछ। यसमा त सरकार नै चनाखो भएर यस्ता अनियमितताहरूलाई निरुत्साहित र नियन्त्रण गर्नुपर्छ। अर्काको बौद्धिक सम्पत्तिको दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुन्न। कपीराइट कानुन नबुझेर यस्तो भइरहेको होला भन्ने मलाई लाग्दैन। कुनै पनि किताब अनुवाद गर्दा मूल लेखकको स्वीकृतिबेगर गर्नै मिल्दैन। गर्नै हुँदैन पनि।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि अनुवाद नै अन्तिम हतियार हो। अब यस क्षेत्रमा लेखक, प्रकाशक, प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालयहरू सबै लाग्नुपर्छ। नभए हामीले आफूआफूमा बसेर हाम्रो लेखन अन्तर्राष्ट्रिय स्तरको छ भनेर गर्व गर्नुको कुनै अर्थ छैन।

-Annapurna

admin

leave a comment

Create Account



Log In Your Account